कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२४

‘रामराम’ राष्ट्रवाद,  ‘रामराम’ राजनीति

भारतमा यतिखेर विपक्षी र बौद्धिक प्रतिरोधको कुनै प्रभाव बाँकी छैन । प्रतिपक्षी दलहरूले भारतको संविधानको मौलिकता वा क्रमशः हिन्दु राष्ट्रमा रूपान्तरण हुँदै गएको यसको लोकतान्त्रिक आवरणमाथि बहस गरिरहेका छैनन् ।
अच्युत वाग्ले

आज २२ जनवरी २०२४ इस्वी संवत् । हिन्दु धर्मका एक महत्त्वपूर्ण भगवान् अवतार रामको जन्मभूमि मानिएको भारतको उत्तर प्रदेशस्थित अयोध्या नगरमा (पुनः)निर्माण गरिएको भव्य राम मन्दिरको आजै उद्घाटन हुँदै छ । त्यहाँ स्थापना गरिएको ‘राम लल्ला’ अथवा पाँच वर्ष उमेर झल्किने बालस्वरूप रामको मूर्तिमा प्राणप्रतिष्ठा गरिँदै छ ।

‘रामराम’ राष्ट्रवाद,  ‘रामराम’ राजनीति

पत्थरनिर्मित मूर्तिमा हिन्दु परम्परा अनुसार विधिपूर्वकको धार्मिक अनुष्ठानद्वारा प्राण प्रतिष्ठापन (जीवन निःसृत) गरेपछि त्यो मूर्ति साक्षात् शक्तिमान् भगवान्मा रूपान्तरण हुन्छ भन्ने विश्वास त्यस धर्मका कट्टर अनुयायीहरूको छ ।

यो भव्य आयोजन अहिले विश्वव्यापी चर्चामा छ । यसको आयाम एउटा मन्दिरको उद्घाटन र एउटा मूर्तिको प्राणप्रतिष्ठाको धार्मिक अनुष्ठानभन्दा सम्भवतः अनगिन्ती गुणा फराकिलो र दूरगामी असरयुक्त हुने देखिँदै छ । मन्दिर निर्माणको ऐतिहासिक पृष्ठभूमि, यस प्रकरणको बलमा पुनः ‘एसर्ट’ गर्न खोजिएको धार्मिक–सामाजिक एकल हिन्दुवादी राष्ट्रिय पहिचान, गौरवपूर्ण पुनर्प्राप्ति (ग्लोरियस रिक्लेमेसन) र सम्पूर्ण प्रकरणमा अन्तर्निहित राजनीतिक अभीष्टहरूका कारण यसले संसारको ध्यान आकृष्ट गरेको छ । ‘प्रोजेक्ट’ प्राणप्रतिष्ठाको नेतृत्व वर्तमान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) ले गरेको छ ।

वर्तमान भारत सरकारले यसलाई सिंगो मुलुकको राष्ट्रिय उत्सव बनाउन हरसम्भव सबै उपाय अवलम्बन गरेको छ । केन्द्र सरकारले आज सोमबार आधा दिनको सार्वजनिक बिदा दिएको छ । कतिपय राज्य सरकारले पूरै दिन बिदा गरेका छन् । भारतका ५ लाखभन्दा बढी र विश्वभरका सयौं हिन्दु मन्दिरमा एकैसाथ उद्घाटनको उत्सव मनाउन र साँझमा भव्य दीपावली गर्न निरन्तर आग्रह गरिएको छ । मरिससका हिन्दु प्रधानमन्त्री प्रविन्द जगन्नाथले पनि आफ्नो देशमा दुई घण्टाको बिदा दिएका छन् । सीताको जन्मभूमि, नेपालको जनकपुरधामबाट उपहारहरू पठाइएका छन् । भारतीय रेल सेवाले प्राणप्रतिष्ठा समारोहमा सहभागी हुन चाहने नेपाली रामभक्तहरूका लागि बीस डब्बाको रेल गत शनिबार नै जनकपुर पठाएको छ ।

एक दशकयता मोदीको प्रभावमा पूर्णतः एकोहोरिएको मूलधारको भनिएको भारतीय मिडियाले यो आयोजनलाई लगभग अद्वितीय राष्ट्रिय महत्त्वको तत्त्वावधानका रूपमा चित्रित गरिरहेको छ । यस्ता हजारौं राष्ट्रिय र अन्तर्राष्ट्रिय क्रम–उपक्रमहरू यो अनुष्ठानसँग जोडिएर आइरहेका छन्, जसको फेहरिस्त दिने यो आलेखको मुख्य उद्देश्य होइन । यसले केवल अबको भारतीय राजनीतिको धार र त्यसले संकेत गरेको खास गरी दक्षिण एसियाली उपमहाद्वीपको सन्निकट राजनीतिक संकथन (न्याराटिभ) को कलेवरका केही सम्भावित कडीलाई पर्गेल्ने यत्नसम्म गरेको हो ।

ऐतिहासिक पृष्ठभूमि

अयोध्यामा राम मन्दिरको यो पुनर्निर्माणले यति धेरै चर्चा पाउनुको प्रबल कारण यो चरम विवादित भूमिमा निर्मित हुनु हो । अहिले मन्दिर निर्माण भएको स्थानमा मुगल सम्राट् बाबरका पालामा, सन् १५२८–२९ मा निर्मित ‘बाबरी मस्जिद’ थियो । यसलाई १९९२ डिसेम्बर ६ तारिख अहिलेको भाजपा सहितका हिन्दुवादीहरूको उद्दण्ड भीडले मिट्टिमेल हुने गरी भत्काइदिएको थियो । कारण, यो मस्जिद नै त्यहाँ कम्तीमा एघारौं शताब्दीदेखि रहिआएको राम मन्दिर भत्काएर राम जन्मिएको गर्भगृहमाथि बनाइएको आरोप उनीहरूको थियो । भारतका कतिपय प्रतिष्ठित पुरातत्त्वविद्हरूले त्यो मस्जिदमा प्रयुक्त कम्तीमा बाह्रवटा खम्बा एघारौं वा बाह्रौं शताब्दीका हिन्दु वा बौद्ध मन्दिरको वास्तुकलाको प्रयोग भएको प्रमाणित गरेका थिए । सन् १८५५ मा मस्जिदको विषयलाई लिएर धार्मिक द्वन्द्व बढेपछि भारतमा रहेको अंग्रेज शासनले सन् १८५९ मा यसवरिपरि तारबार लगाएको थियो । सन् १९८६ मा राजीव गान्धी प्रधानमन्त्री हुँदा त्यहाँ हिन्दुहरूलाई पनि दर्शन गर्न दिने गरी सो परिसर खुला गरिएको थियो । सन् १९९२ मा भाजपाको राष्ट्रव्यापी रथयात्राका क्रममा मस्जिद भत्काइएलगत्तै भारतका विभिन्न सहरमा जातीय दंगा भड्किएको थियो । २ हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो ।

२०१९ नोभेम्बर ९ मा भारतीय सर्वोच्च अदालतका पाँच वरिष्ठ न्यायाधीशहरूले भारतीय पुरातत्त्व सर्वेक्षणको रिपोर्टका आधारमा सोह्रौं शताब्दीको मध्यमा बनेको मस्जिदको जगमुनि मन्दिरको संरचना रहेको भनी हिन्दु पक्षधरहरूले अदालतमा पेस गरेको दाबी पुगेको अथवा त्यहाँ राम मन्दिर बनाउन मिल्ने आशयको १ हजार ४५ पृष्ठको फैसला दिएका थिए । र, मुस्लिमहरूलाई मस्जिद बनाउन उपयुक्त ठाउँमा पाँच एकड जमिन दिन पनि आदेश दिइएको थियो । परिणामतः अहिले यो मन्दिर बन्न सम्भव भएको हो । यो मन्दिर निर्माणलाई भारतीय राजनीतिमा आफ्नो पकड नाटकीय गतिमा विस्तार गर्दै लगेको भाजपा, यही दलको नेतृत्वमा रहेको उत्तर प्रदेश सरकार र प्रधानमन्त्री मोदीले चरम भावनाप्रेरित योजनाका रूपमा द्रुत गतिमा सम्पन्न गर्न सघाएका छन् ।

भाजपाको ‘राम’ राजनीति

धर्मको आडमा राजनीति गरेको जत्ति नै आरोप लागे पनि यो दल र यसको मातृ संगठन राष्ट्रिय स्वयंसेवक संघले आफ्नो हिन्दु राष्ट्रवादी एजेन्डालाई कहिल्यै ढाकछोप गरेका छैनन् । यसलाई एक दृष्टिले राजनीतिक इमानदारी नै भने पनि हुन्छ । त्योभन्दा उल्लेख्य के भने भाजपाको राजनीतिक उदयको सबभन्दा महत्त्वपूर्ण औजार नै उसले प्रदर्शन गरेको हिन्दु पक्षधरता र त्यसको प्रत्यक्ष अनुहार बनेको राम जन्मभूमि अयोध्यामा राम मन्दिर पुनर्निर्माण ‘प्रोजेक्ट’ भएको छ ।

सन् १९८६ मा हिन्दुहरूलाई दर्शनका लागि मस्जिद पस्न दिने राजीव गान्धीको निर्णय एउटा राजनीतिक सौदाबाजी थियो । मुस्लिम धर्मावलम्बी सम्बन्धविच्छेद भएका महिलाहरूका लागि अलग्गै भरणपोषण कानुन लागू भएपछि आक्रोशित हिन्दु भावनालाई शान्त पार्न उनले चालेको यो कदम उनी र उनको दल कांग्रेस (आई) का लागि प्रत्युत्पादक सावित भयो । त्यस बेला संघीय संसद्मा २ सिट मात्र भएको भाजपाले लगत्तैको चुनावमा ८८ सिट जित्यो । सन् १९९६ मा भाजपाले बनाएको अल्पमतको सरकार १६ दिनमै ढले पनि १९९९ मा बनेको अटलबिहारी वाजपेयी नेतृत्वको सरकार ६ वर्ष टिक्यो । १९९२ को बाबरी मस्जिद ध्वस्त पार्ने कदमको धर्मनिरपेक्ष बौद्धिक जगत्मा अत्यन्तै कठोर आलोचना निरन्तर थियो ।

तर, भाजपालाई संघीय संसद् र राज्यका विधानसभाहरूमा आफ्नो प्रभुत्व विस्तारको यात्रामा यी विरोधहरू अवरोधभन्दा कसै गरी सहायक भएको जस्तो देखिन्छ । सन् २०१४ यता नरेन्द्र मोदी भाजपाकै पूर्ण बहुमतका साथ प्रधानमन्त्री छन् । यसअघि कांग्रेसको प्रभुत्व भएका राज्यहरूमा क्रमशः भाजपाले सरकार बनाउने क्रम बढेको छ । अहिले ३१ मध्ये आधाजसो राज्यमा या त

आफ्नै नेतृत्व वा साझेदारीको सरकार छ । यसै वर्ष अप्रिल–मे महिनामा हुने चुनावबाट मोदी तेस्रो पटक प्रधानमन्त्री बन्ने अनुमान गरिँदै छ । यो मन्दिर उद्घाटन र प्राणप्रतिष्ठाको ब्रान्डिङमार्फत कुल जनसंख्याको ८० प्रतिशत हिन्दु धर्मावलम्बी रहेको भारतको धार्मिक आस्था र भावनालाई राजनीतिक उद्देश्यका लागि पुँजीकृत गर्न प्रधानमन्त्री मोदी अत्यन्तै सफल देखिएका छन् ।

विश्वको राजनीतिक इतिहासमै राजनीतिमाथि धर्मको सबभन्दा बलशाली प्रभाव रहेको छ । सत्रौं शताब्दी युरोपको ‘इन्लाटन्मेन्ट मुभमेन्ट’ ले राजनीतिमाथि क्याथोलिक चर्चको जबर्जस्त नियन्त्रणलाई कम गर्ने प्रस्ताव अघि सारे पनि धर्मलाई राजनीतिको सारथि, कारक वा निर्णायक बनाउने क्रम इरान वा भ्याटिकन जस्ता घोषित धर्मतन्त्र (थियोक्रेसी) हरूमा मात्र होइन, केही अपवाद छोडेर धर्मनिरपेक्ष भनिएका कैयौं लोकतन्त्रमा अद्यापि व्यापक अभ्यासमा छँदै छ । चुनावी परिणामहरू एकत्रित धार्मिक वा समुदाय पहिचानको मतले धेरै हदसम्म निर्णायक हुन्छन् । इजरायल, अमेरिका र बेलायत अथवा पाकिस्तान, इन्डोनेसिया र अस्ट्रेलिया जतातिरको कुरा गरे पनि पहिचान र समुदायमा आधारित राजनीति र मतको प्रभाव अझै उल्लेख्य छ ।

खास गरी भारतीय हिन्दुहरूका हकमा मुस्लिम आक्रमणकारी र अंग्रेज उपनिवेशकारीहरूले उनीहरूको धार्मिक भावना, सभ्यता र पहिचानमाथि अनुचित थिचोमिचो भएको अनुभूति शताब्दीयौंदेखि चाङ लाग्दै गएको छ । सन् १०२५ मा मोहम्मद गज्नीले गुजरातको सोमनाथ मन्दिरमा आक्रमण र लुटपाट गरेयता विस्तार भएको मुगल साम्राज्य, सन् १६०० मा इस्ट इन्डिया कम्पनी अस्तित्वमा आएदेखि सन् १९४७ मा भारत स्वतन्त्र नहोउन्जेल बेलायती उपनिवेशवादले लादेको दमन र बाध्यात्मक धर्म परिवर्तनको साक्षी यो सापेक्षतः सहनशील र विविधतामा विश्वास गर्ने समाज बन्यो । हिन्दुत्व एउटा कठोर धर्मभन्दा पनि उदार सभ्यताका रूपमा अनेक रूप र स्वरूपमा अभ्यासमा रह्यो । इतिहाससँगको प्रतिरोध उचित होइन, तर मानिसले बदलाभावबाट सन्तुष्टि लिने पशुप्रवृत्ति त्याग्न सकेको छैन । हिन्दुहरूको खुसीको स्रोत त्यही प्रवृत्ति हो ।

बदलिएको भाष्य

अहिले मोदी र भाजपाले निर्माण गरेको राजनीतिको ‘राम भाष्य’ ले सहस्राब्दीदेखि दमित र अपहेलित त्यही धार्मिक र पहिचानको भावनाले आवाज पाएको र सभ्यताको गौरवमाथि पुनर्दाबी स्थापित हुँदै गएको व्याख्यानले आम स्वीकृति पाउँदै गएको देखिन्छ । धर्मभीरु, धार्मिक कट्टरपन्थीहरू त यो अभियानको अग्रमोर्चामा देखिने नै भए, रूढिवादमा विश्वास नगर्ने अथवा धर्म मान्दिनँ भन्नेहरू पनि आफ्नो विशिष्ट पहिचान मुखरित हुँदै गएकामा सन्तुष्ट र यसको समर्थनमा उभिनमा घाटा देख्दैनन् । यो स्वतन्त्र छनोटको मात्रै नभएर सत्ता, जीवनयापन र सामाजिक परिवेशले सुषुप्त रूपमा क्रमशः बाध्य पार्दै लगेको विषय बनेको प्रस्टै छ ।

बहुसंख्यकहरूको भावनालाई, कुनै प्रकारको वैचारिक वा धार्मिक कट्टरपन्थमा अनुवाद हुने हदसम्म नै किन नहोस्, गौरवमय उद्बोधनसँग र यस्तो उद्बोधनलाई राष्ट्रिय समृद्धिको महत्त्वाकांक्षासँग पनि घोल्न सक्यो भने त्यसो गर्न सक्ने राजनीतिक शक्तिका लागि राज्यसत्ताको आरोहण सहज हुन्छ । अहिले मोदीले अपनाएको रणनीति त्यही हो । उनले भारतको आर्थिक भविष्य उज्ज्वल छ, बदलिँदो विश्वव्यवस्थामा भारतको उपस्थिति थप प्रभावशाली हुँदै छ र आम मानिसको जीवनस्तर माथि उक्लँदै छ भन्ने अर्थराजनीतिक अवधारणालाई साथसाथै प्रचारमा लगेका छन् । परिणामतः धर्मनिरपेक्षता, अल्पमतको आवाज वा संविधानवाद आदि विपक्षीहरूले उठान गर्न चाहेका मुद्दा वाष्पीभूत भएका छन् । यही मानक सायद डोनाल्ड ट्रम्प, सी चिनफिङ वा भ्लादिमिर पुटिन आदिका हकमा पनि लागू होला ।

भारतमा यतिखेर विपक्षी र बौद्धिक प्रतिरोधको कुनै प्रभाव बाँकी छैन । प्रतिपक्षी दलहरूले भारतको संविधानको मौलिकता वा क्रमशः हिन्दु राष्ट्रमा रूपान्तरण हुँदै गएको यसको लोकतान्त्रिक आवरणमाथि बहस गरिरहेका छैनन् । विरोधी दलका तर्क प्राणप्रतिष्ठामा धार्मिक विधि पुग्यो वा पुगेन भन्ने जस्ता किनाराका खोंचतिर फसेका छन् । सन् १९९२ मा मस्जिद भत्काइँदा भारतमा धार्मिक उग्रवादको उदय भएको कोणको सम्पादकीय नीति अपनाएका सबै ठूला मिडियाले अहिले राम मन्दिरको पुनर्निर्माणलाई राष्ट्रिय आवश्यकताका रूपमा चित्रण गरेका छन् । यसरी हिन्दु पुनरुदयको अपरिहार्यता यतिखेर भारतमा एकांगी संकथन (मोनोलिथिक न्याराटिभ) बन्दै गएको छ । अरू आवाज, विचार र सामाजिक पहिचान यसमा समाहित हुन वा समर्पण गर्न अभिशप्त बन्दै गएका छन् । यो हिन्दुवादी पहिचान अभियानको एकल नायकका रूपमा नरेन्द्र मोदीले राजनीतिक लाभ लिँदै र पाउँदै छन् ।

नेपालमा प्रभाव

भारतपछि नेपाल मात्रै विश्वमा बहुसंख्यक हिन्दु आबादी भएको राष्ट्र हो । छिमेकमा हुने सबै अपेक्षित–अनपेक्षित परिवर्तनको प्रभावबाट यो अछुतो रहन सम्भव छैन । यो सभ्यताका वाहकहरू सामान्यतः हिन्दु पहिचानको उद्बोधनबाट व्यक्त–अव्यक्त रूपमा सन्तुष्ट देखिन्छन् । नेपालमा पनि हिन्दु धर्मलाई औजार बनाएर राजनीतिक दुनो सोझ्याउन आतुर विशेषतः दक्षिणपन्थी शक्तिहरू अझै चलायमान छन् । एकपछि अर्को सरकारले राष्ट्रिय पहिचान र समृद्धिको भावना एवम् राष्ट्रिय साझा महत्त्वाकांक्षालाई आकार र आवाज दिन नसकेकाले अधीर मतदाताहरू कुनै सहजै उपलब्ध विकल्पको खोजीमा छन् ।

यस्तो परिस्थितिमा धर्मको नारा राजनीतिको मूल निर्णायक बन्ने सम्भावना प्रबल छ । यसका संकेतहरू धेरै कोणबाट, यथेष्ट मात्रामा सतहमा देखिइसकेका छन् । मुलुकको राजनीति कुनै पराया धर्म, परम्परा वा धर्म परिवर्तनको सहायक हुनुको सट्टा आफ्नै धर्म र सभ्यतासापेक्ष हुनु के नराम्रो हो र भन्ने प्रश्न असहज होइन, तर धर्मान्ध नाराले लोकतन्त्र र गेरु वस्त्रको छायाले तर्कसांगिक बौद्धिकतालाई ओझेलमा पार्‍यो भने त्यसले सभ्यताको प्रवर्द्धनभन्दा मानमर्दन गर्ने जोखिम अत्यधिक रहन्छ । यो जोखिम भारतमै पनि उत्तिकै छ । तथापि एउटै फरक के हो भने, नेपालमा शून्यमा रहेको राष्ट्रिय आकांक्षा र प्रगतिको भोक त्यहाँ बदलिँदो राष्ट्रिय पहिचानसँगै जुर्मुराएर उठेको छ । नेपालको राजनीति चिरनिद्रामा छ ।

प्रकाशित : माघ ८, २०८० ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?