कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०५

नेतृत्वको उमेर र विचारको विश्वविवाद 

सामाजिक मनोविज्ञहरू भन्छन्, ‘तिमीले जस्तो पनि परिवर्तन ल्याउन सक्छौ, तर एक्लै सक्दैनौं ।’ यही मसिनो कुरा आत्मसात् गर्न कथित लोकतान्त्रिक भनिएका नेताहरू तयार देखिँदैनन् ।
शुभशंकर कँडेल

नीतिको नियति 

देश र समाजलाई नीति अर्थात् आधारभूत रूपमा वैचारिकीले नै डोर्‍याउने हो । उन्नाइसौं शताब्दीदेखि विश्व राजनीतिक व्यवस्थाले मूलतः समाजवादी र पुँजीवादी दुई विचारधाराको विकास, बित्यास र भ्रष्टीकरणको चक्रमा प्रवेश गर्‍यो, जसले एक्काइसौं शताब्दीको तेस्रो दशक टेकेको छ ।

नेतृत्वको उमेर र विचारको विश्वविवाद 

दुई सय पचास वर्षभन्दा बढीको अमेरिकी स्थिर शासन प्रणालीदेखि अझै देश बनिनसकेका मध्यपूर्व, उत्तर अफ्रिकी, ल्याटिन अमेरिकी र केही एसियाकै संघर्षरत अर्धराज्यहरू हाम्रा अघि छन् । पहिलो र दोस्रो विश्वयुद्धलाई मूलतः अराजनीतिक शक्ति प्रदर्शनको तमासा भन्न पनि सकिन्छ । शीतयुद्धदेखि सन् १९९० सम्मका चार दशकको अवधि संसारभर राजनीतिक विचारधाराबीच शक्ति र राष्ट्र–राज्यका रूपमा चर्को प्रतिस्पर्धा र वैचारिक घर्षणको सुनौलो कालखण्ड हो । पछिल्लो समय विश्वभरका अनेकन् विचारपद्धति, धर्मान्धता र जातीय अहंकारका प्रहसनहरूलाई पुनर्परिभाषित गरेर फेरि पनि आधारभूत रूपमा दक्षिणपन्थ र वामपन्थ विचारधाराको बृहत्तर आयाममा राखेर हेर्न सकिन्छ ।

भूमि, जनसंख्या, सरकार र सम्प्रभुता राज्यका चार आवश्यक तत्त्व हुने अवधारणा सन् १६४८ को वेस्टफेलिया सन्धिले निर्धारण गरेपछि अलिक व्यवस्थित रूपमा विचारधाराका आधारमा शासन व्यवस्था सञ्चालन हुँदै आएको हो । प्लेटो, अरस्तु, सुकरातका विचारलाई मेक्याभेली, थोमस हब्स, लक, ह्युम, मन्टेस्क्यु, रुसो र मिल जस्ता राजनीतिक दार्शनिकको परम्परामाथि कार्ल मार्क्सले सन् १८४८ मा वैचारिक धक्का दिएपछि विश्व नै देखिने गरी दुई कित्तामा हुत्तिएको हो । समयक्रममा तिनीहरू मार्क्सवादी र गैरमार्क्सवादी वा समाजवादी र पुँजीवादीका रूपमा बुझिँदै आएको मान्न सकिन्छ । त्यसकै सुथरीे समातेर नेपालमा आधुनिक राजनीति हुँदै आएको छ ।

बीपी कोइराला र पुष्पलालका रूपमा समाज बाँडिएका बेला लोकतन्त्र र राजतन्त्रले घाँटी जोडेका कारण नै नेपाली राजनीतिको दिशा भ्रष्टीकरणतिर गएको हो । सर्वहारा वर्गको अधिनायकत्वको राजनीतिक विचारधाराले पुँजीवादी लोकतन्त्रको प्रतिस्पर्धात्मक तहमा छलाङ लगाएपछि नेपाली राजनीतिमा विचारभन्दा ‘डेलिभरी’ प्रमुख हो भन्ने भाष्य बन्न आइपुगेको छ । यद्यपि माओवाद, प्रजातान्त्रिक समाजवाद, उदारवाद, राष्ट्रवाद र धार्मिक शुद्धताका कथित जनै मिल्काउन भने अझै बाँकी छ ।

दक्षिणपन्थको लहर

अमेरिकी राजनीतिमा दक्षिणपन्थको लहर सन् १९६४ को राष्ट्रपतीय निर्वाचनदेखि मुखर भएको हो । रिपब्लिकन पार्टीका उम्मेदवार ब्यारी गोल्डवाटरले राज्यले थाम्नै नसक्ने गरी ठूलो र भद्दा सरकार अमेरिकी जनताको स्वतन्त्रताविरुद्धको सबैभन्दा ठूलो खतरा हो भन्दै दक्षिणपन्थको वकालत गरेका थिए । तर लिन्डन जोन्सन जस्ता अनुभवी राजनीतिज्ञअघि टिक्न नसकेका गोल्डवाटरको त्यही मान्यता पछ्याएर कालान्तरमा रोनाल्ड रेगनले आफ्नो निर्वाचन अभियान मात्र चलाएनन्, ऐतिहासिक जित हासिल गरेर दुई कार्यकाल (सन् १९८१–८९) शासन गरे । त्यहीताका बेलायतमा प्रधानमन्त्री मार्गरेट थ्याचर (सन् १९७९–९०) र पश्चिम जर्मनीमा हेल्मुट कोल (१९८२–९८) ले विश्वमा दक्षिणपन्थी राजनीतिको हावा भरेका थिए । त्यसलाई जापानका सिन्जो आबे (सन् २०१२–२०) ले पछ्याए । यता भारतमा नरेन्द्र मोदी (सन् २०१४ देखि) र फिलिपिन्समा रोड्रिगो डुटेर्टे (सन् २०१६–२२) को उदयसँगै उदाएको शक्तिशाली राष्ट्रवादी लहर दक्षिणपन्थी लोकप्रियतावादका रूपमा दौडिरहेको छ । त्यति मात्र होइन, युरोपियन युनियनबाट बेलायतको बहिर्गमन र अमेरिकामा डोनल्ड ट्रम्पको विजय (सन् २०१६) र पुनः ट्रम्पको जुरमुराहटले कथित राष्ट्रवादको कलेवरमा विश्वलाई नै दक्षिणपन्थको नयाँ सुरुङतिर धकेलिरहेको मान्न सकिन्छ । मध्यपूर्वको टर्कीमा रिसेप एर्दोगान (सन् २०१४ देखि) को उदयप्रति शक्ति संघर्षको निहित स्वार्थका कारण उदारवादी लोकतान्त्रिक विश्व मानौं मौनव्रतमा छ ।

हालै अर्जेन्टिनी राष्ट्रपतिमा उग्रदक्षिणपन्थी विचारधाराका टेलिभिजन स्टार हाबिए मिले निर्वाचित भएका छन् । मिलेले त राष्ट्रिय मुद्रालाई कमजोर बनाउँदै मुलुकको अर्थतन्त्रलाई डामाडोल बनाउने सबैलाई फाल्नुपर्ने नारा नै तय गरेका थिए । अचेल नेपालमा पनि यस्तै सुनिन थालेको छ ।

सन् २०२३ को अन्तिम निर्वाचनबाट नेदरल्यान्ड्समा हिएर्ट विल्डरको उदय सामाजिक लोककल्याणकारी नर्डिक देशलाई नयाँ दक्षिणपन्थी धक्का हो । फिनल्यान्डमा दक्षिणपन्थी फिन्स पार्टी पहिलो बन्दै दोस्रो ठूलो पार्टीलाई प्रधानमन्त्री दिएर सत्तामा हालीमुहाली गर्न आइपुगेको छ । त्यसअघि इटालीमा ब्रुल्स्कोनीलाई माथ गर्ने गरी उग्र दक्षिणपन्थी फासीवादी विचारधाराकी जर्जिया मेलोनी प्रधानमन्त्री बनेकी छन् । अस्ट्रियामा त्यस्तै प्रवृत्तिको फ्रिडम पार्टीले लोकप्रिय मत हासिल गरेको छ । यथार्थमा आजको युरोप पश्चिमाको ‘सौतेनी सन्तान’ जस्तो बन्दै छ ।

भारतमा ७३ वर्षीय मोदीले यही वर्षको मध्यमा हुने निर्वाचनबाट ह्याट्रिक गर्दै छन् । बंगलादेशमा शेख हसिनाले विश्व दक्षिणपन्थको यात्रामा नयाँ रेकर्ड बनाउँदै छिन् । यसरी ल्याटिन अमेरिका, युरोप, एसिया सबैतिर उग्रदक्षिणपन्थी विचारधाराको लोकप्रियता बढिरहेको छ । परम्परागत दलहरू नयाँ चुनौती सामना गर्न असफल हुँदा उग्र दक्षिणपन्थले टाउको उठाइरहेको मात्र छैन, लोकाचारको लोकतन्त्र र नागरिक स्वतन्त्रताका मूल्यहरूलाई संकटमा समेत धकेलिदिएको छ । पछिल्ला निर्वाचनमा मतदाताको रुझान हेर्दा यस्तो लाग्दै छ, विश्वमा सन् १९३० को दशकको पुनरुत्थान हुँदै छ ।

विश्वभर उग्र दक्षिणपन्थी विचारधारा तीन कारणले उदाइरहेको अमेरिकी प्राध्यापक सिन्थिया मिलर इद्रिसको निष्कर्ष छ, ‘उग्र राष्ट्रवाद, आप्रवासनको विरोध र मुस्लिमविरोधी जगमा उग्र दक्षिणपन्थी विचारधारा फस्टाइरहेको छ । उग्र दक्षिणपन्थी विचारधाराले समग्र आर्थिक संकटको दोष सरकारमाथि थोपर्दै सम्भ्रान्त वर्गलाई साधारण मानिसविरुद्ध खडा गर्छ । एक्लोपन र निराशाबाट गुज्रिरहेको युवा पुस्तासँग उसले छिट्टै सम्बन्ध गाँस्छ र युवालाई मुलुकका लागि योगदान गर्न भन्दै आफ्नो विचारधाराप्रति आकर्षित गराउँछ ।’ ‘तार्किकता, मानवता र उदार लोकतन्त्रमा पश्चिमा विश्वको अवतरण शान्तिपूर्ण नभएर विशाल नरसंहार र आतंकको जगमा भएको थियो । ती देशमा अहिले पनि राम राज्य अर्थात् युटोपियामा वर्णन गरिएको संसार स्थापित भएको छैन’ (पंकज मिश्रा, ‘एज अफ एंगर, अ हिस्ट्री अफ द प्रिजेन्ट,’ सन् २०१६) । तर उग्र दक्षिणपन्थको कहर दिनानुदिन आधुनिक हातहतियारसहित मानव नरसंहारको च्याम्पियन बन्ने प्रवृत्तिमा रोकावटको कुनै संकेत नदेखिनु विश्व विडम्बना हो । एडमन्ड बर्कको पुस्तक ‘रिफ्लेक्सन अन द रिभोल्युसन अफ फ्रान्स’ (सन् १९७०) र थोमस पेनका अमेरिकाको स्वतन्त्रता संग्राम र फ्रान्सको राज्यक्रान्तिका सन्दर्भमा प्रकाशित सामग्रीहरूले युरोप प्रस्ट रूपमा वाम र दक्षिणपन्थी विचारमा विभक्त भएको धारणालाई झन् राम्ररी उद्घाटित गरेका छन् ।

नेतृत्व र विचारको विविधता

भ्रम र सत्यबीच एउटा पातलो रेखा हुन्छ भन्ने गरिन्छ । ठ्याक्कै यही कुरा वामपन्थ र दक्षिणपन्थका अर्थमा देखिन थालेको छ । जस्तो— आरक्षण र सकारात्मक विभेद वामपन्थीहरूको सामाजिक न्यायको मूल रणनीति हो भने आरक्षण र सकारात्मक विभेदका नाममा योग्यता, क्षमता र सफलतालाई प्रताडित गर्ने प्रणालीले राष्ट्र र समाजलाई निरन्तर पछाडि धकेलेर समाजमा गरिबी र अभाव फैलाउँछ भन्ने धारणा दक्षिणपन्थीहरूको छ । वामपन्थीहरू वञ्चना, शोषण, विभेद र असहिष्णुतालाई गरिबीको कारक मान्छन् । दक्षिणपन्थीहरू अज्ञानता, कुसंस्कार, फजुल खर्च, अल्छीपना र भाग्यवादलाई गरिबी र अभावको मूल कारक मान्छन् । ओस्लो विश्वविद्यालयकी प्राध्यापक क्यार्थिनले भनेकी छन्, ‘उग्र वामपन्थीहरू नारामा मात्रै सीमित भएको अवस्थामा यसले लोकतन्त्रलाई नै सर्वाधिक हानि पुर्‍याउँछ । लोकतान्त्रिक विधिबाट उदाएका उग्र दक्षिणपन्थीहरू कालान्तरमा अधिनायकवादी भएकै छन् ।’ तसर्थ विश्वव्यापी र सर्वस्वीकृत वामपन्थको व्यावहारिक रूपान्तरण अहिलेको आवश्यकता हो । यो उद्देश्य हासिल गर्न नेतृत्वले नतिजा र सेवा प्रवाहलाई प्रथामिकता दिनुपर्छ । ‘हार्वर्ड बिजनेस रिभ्यु’ मा सेप्टेम्बर २०२२ मा प्रकाशित ‘ह्वाट मेक्स अ ग्रेट लिडर ?’ शीर्षक आलेखमा अबको परिवर्तित विश्व परिप्रेक्ष्यमा नेतृत्वले तीन वटा आधारभूत भूमिका अनिवार्य रूपमा वहन गर्नुपर्ने निष्कर्ष निकालिएको छ— ‘आर्किटेक्ट, ब्रिजर र क्याटालिस्ट’ । यसको सुविचारित कार्यान्वयनले मात्र उग्र दक्षिणपन्थी युद्धउन्मादलाई रोक्न सक्ने आशा गरिएको छ ।

विश्व नेतृत्वका सन्दर्भमा विचार गर्दा नेल्सन मन्डेला आन्दोलनप्रति प्रस्ट थिए, मार्टिन लुथर किङमा आफ्नो सपनाबारे कुनै अलमल थिएन, महात्मा गान्धीलाई पूर्ण स्वराज कहाँ गएर टुंगिन्छ भने अनुमान थियो । लेनिन, माओ, होची मिन्ह आफ्नो आन्दोलन र गन्तव्यबारे सबैभन्दा प्रस्ट थिए । त्यही भएर संसारभर अहिले पनि उनीहरूलाई पढिन्छ । त्यो साम्राज्यवादविरोधी र आम मुक्ति आन्दोलनताकाको कुरा हो । तर अहिले चुनावी प्रतिस्पर्धाबाट कायम भएको प्रणालीमा डेलिभरी दिने विषयमा नेताको सफलता र असफलता नापिने युगमा हामी छौं । सत्य के हो भने, नेतालाई आफैं सबै विषय थाहा हुँदैन । तर, नेतालाई कुन विषय कसलाई थाहा हुन्छ भनेर जानकारी हुनैपर्छ । सामाजिक मनोविज्ञहरू भन्छन्, ‘तिमीले जस्तो पनि परिवर्तन ल्याउन सक्छौ, तर एक्लै सक्दैनौ ।’ यही मसिनो कुरा आत्मसात् गर्न कथित लोकतान्त्रिक भनिएका नेताहरू तयार देखिँदैनन् ।

यति बेला दुनियाँभरमा देखिएको सबैभन्दा ठूलो समस्या राजनीतिमा उदाएको अराजनीति हो । यसको ज्वलन्त उदाहरण अमेरिका जस्तो विकसित समाजमा बाइडेन र ट्रम्प जस्ता वृद्धहरूको विकल्प नभेटिनु हो । यति बेला सारा पश्चिमा विश्लेषक र मिडिया किन नयाँ नेतृत्व अघि आएन भन्नेभन्दा पनि यिनै दुई वृद्धका कमजोरी लिपपोत गर्नमा लागिपरेका छन् । विश्वभर लोकतन्त्र र शासन प्रणालीको गुरु मानिने अमेरिकामा त एकसे एक क्लिन्टन र ओबामाहरू देखिनुपर्ने ? तर किन देखिइरहेका छैनन् त ? यो नै सबैभन्दा ठूलो पश्चिमी वैचारिक विडम्बना हो । भारतमा ७३ वर्षीय नरेन्द्र मोदीको विकल्पमा ८२ वर्षीय मल्लिकार्जुन खड्गेलाई अघि लगाउनुपर्ने बाध्यतामा छ विपक्षी गठबन्धन । बंगलादेशमा ७७ वर्षीया शेख हसिनाले लोकतन्त्रलाई लत्याएर आर्थिक विकास अघि बढाएको बखान चलिरहेको छ । पाकिस्तानमा नवाज सरिफ र आसिफ अली जरदारीको पुनरागमन हुँदै छ । इरान, टर्की, साउदी अरब र स्वयं इजरायलको दशा त दुनियाँका अघि छँदै छ । रुसमा ७२ वर्षीय पुटिन, चीनमा ७१ वर्षीय सी, ब्राजिलमा ७९ वर्षीय लुलाको शासन छ । सबैभन्दा बढी मुस्लिम जनसंख्या भएको देश इन्डोनेसियामा ६४ वर्षीय जोको विदो यसै वर्ष राष्ट्रपतिमा दोहोरिने दाउमा छन् । यी गैरपश्चिमा शासकहरूले दरिलो गरी नेतृत्व गरेको भाष्य बनेको छ, तत्तत् देशमा ।

यस्तो परिस्थितिमा नेपालमा नयाँ पार्टी वा युवा उमेर भन्ने बहस बकबासजस्तो लाग्नु कुनै पनि कारणले अस्वाभाविक होइन । नयाँ भनिएकामा केही समय गैससमा काम गरेको फुर्तीफार्तीबाहेक न कुनै विचार छ न त लोकलाज नै । परम्परागत पार्टीका प्रचण्ड (७१ वर्ष), देउवा (७८ वर्ष) र ओली (७३ वर्ष) लाई तत्कालै कसैले चुनौती दिने अवस्था छैन । वैकल्पिक भनिनेहरूका चिन्तन, डेलिभरी र कार्यशैलीमा समेत ‘बूढा नेताहरूको काम छैन’ भन्नेबाहेक कुनै नयाँपन नदेखिनु नेपाली राजनीतिकै दुःखान्त हो । बूढा नेताहरूलाई सराप्नेहरू नै बढ्ता अराजनीतिक र भ्रष्ट बन्दै जानुले राजनीतिमा उमेरका कारण विचार नयाँ बन्ने होइन भन्ने तर्कलाई थप बलियो बन्दै छ । झूटा प्रतिज्ञा नगर्ने व्यक्तिले सर्टकट लिन इन्कार गर्छ र यसको सट्टा सम्भव भएसम्म नैतिक र विवेकमा ध्यान केन्द्रित गर्छ । नेतामा उमेरभन्दा बढी आवश्यक तत्त्व हो— संज्ञानात्मक लचिलोपन, जसले उसको सोच बदल्न सघाउँछ, समस्याहरूलाई धेरै दृष्टिकोणबाट हेर्न वा एकैसाथ धेरै अवधारणा कल्पना गर्न सक्छ । यस्तो भएमा परिवर्तनहरूलाई सकारात्मक उचाइ दिन सहज हुन्छ । सांस्कृतिक विविधताप्रति सार्वजनिक सम्मान देखाउने हिम्मत संज्ञानात्मक ज्ञानले मात्र तयार गर्छ । उन्माद, आक्रोश र अराजनीतिक चिच्याहटले द्वन्द्वमै लैजाने हो ।

युद्धउन्मादी नेतृत्व

बितेका दुई दशकमा ट्वीनटावर हमलाको प्रतिक्रियामा सुरु भएको नरसंहारको सिलसिला यति बेला पुनः गुम्दै गएको विश्वशक्तिको होडमा एकोहोरिएको छ । विश्व राजनीतिक मञ्चमा यति बेला ‘डान्स मकाब्रे’ अर्थात् मृत्युको रासलीला चलिरहेको छ । पुँजीवादी श्रेष्ठताको होडमा पछि परेकाहरू नै यस खाले कहालीलाग्दा र पाशविक घटनामा संलग्न छन् । यसले वर्तमान विश्वको सामाजिक अवस्था र नैतिक बल कमजोर भइरहेको बाहेक कुनै कुराको पुष्टि गर्दैन । मानिसलाई ‘मुक्तिदाता’ चाहिएको छ । कथित मुक्तिदाताहरू जातीय सर्वोच्चताका नाममा थप नरसंहार निम्त्याउँछन् । आजको युग आक्रोशको युग हुनुको कारण यही हो । त्यसकै विस्फोट मान्न सकिन्छ, मध्यपूर्व नरसंहारलाई ।

कुनै पनि घटनालाई पृथक् र निरपेक्ष रूपमा हेर्नु सबै हिसाबले त्रुटिपूर्ण अवधारणा हो । यसै कारण आधुनिकीकरणको प्रस्थापना नै त्रुटिपूर्ण रूपमा अघि बढेकामा आम समाजशास्त्रीहरूबीच सहमति देखिन थालेको छ । दुई राज्यको अवधारणाको नखरा देखाएर अमेरिकाले मध्यपूर्वमा नेतान्याहु र हमासको प्रवर्धन गरेकै कारण एक्काइसौं शताब्दीमा गाजपट्टीको शोकधुनबाट दुनियाँ स्तब्ध छ । यमनमा हुथी र संस्थापन, लेबनानमा हिजबुल्लाह र संस्थापन, प्यालेस्टाइनमा पीएलओ र हमासको शासनलाई पश्चिमी विश्वले समर्थन गरेर लोकतान्त्रिक प्रणालीकै चीरहरण गरेको छ । रुस–युक्रेन युद्ध यस शताब्दीको भूगोल कब्जाको पुनरावृत्तिको दुःखान्त प्रहसन बनेको छ । अर्कातर्फ चीन, रुस, भारत, ब्राजिल वा अरब विश्वसमेत हस्तक्षेपकारी भूमिका खेल्न चुकिरहेबाट विश्वभर नै नेतृत्वको गम्भीर संकट र अन्तर्राष्ट्रिय राजनीतिक संस्थाहरूको अवसान–उन्मुखता मात्र होइन कि ब्रिटनउड अर्डर समाप्तिको घोषणा मात्र बाँकी रहेजस्तो प्रतीत हुँदै छ ।

कुन उमेरको नेतृत्व कस्तो ?

कुनै पनि पार्टी समयका हिसाबमा पुरानो हुँदैमा निरपेक्ष रूपमा असफल र नयाँ हुँदैमा निरपेक्ष रूपमा असल हुँदैन । कुनै पार्टी नयाँ भएर पनि अलोकतान्त्रिक, अनुदारवादी, कन्जरभेटिभ, प्रियतावादी हुन सक्छ भने कुनै पुरानो भएर पनि लोकतन्त्रवादी, उदारवादी, बहुलवादी, प्रगतिशील र सदा जनपक्षीय हुन सक्छ । तत्कालीन सोभियत संघमा तीस वर्ष शासन गरेका जोसेफ स्टालिन ७७ वर्षको उमेरमा निधन हुँदा राष्ट्रप्रमुख थिए । ब्रेझनेभको ७५, आन्द्रोपोभको ७३ र चेर्नेन्कोको ७४ वर्षको उमेरमा निधन भएकै कारण ५४ वर्षीय

मिखायल गोर्वाचोभको हातमा नेतृत्व आएको थियो । उनले सोभियत संघको अन्त्येष्टि गरे । ब्रेझनेभकालीन समयामा सोभियत मन्त्रिपरिषद्का सदस्यको औसत आयु ७२ वर्ष थियो । ४० वर्षीय भोलोदिमिर जेलेन्स्कीलाई अमेरिकी उक्साहटमा युक्रेनको राष्ट्रपति निर्वाचित गराइएपछि त्यहाँको दशा के भइरहेको छ भन्ने बताइरहनैपर्दैन । युगोस्लाभ कम्युनिस्ट शासक मार्सल टिटो निधन हुँदा ८७ वर्षका थिए । आजीवन पार्टी नेतृत्वमा रहेका चिनियाँ नेता माओ निधन हुँदा ८२ वर्षका थिए । क्युबाका फिडेल क्यास्त्रोले भने निधन हुनु केही वर्षअघि आफ्ना वृद्ध भाइ राहुल क्यास्त्रोलाई सत्ता सुम्पेका थिए । राहुलले ८९ वर्षको उमेरसम्म शासन गरे । अमेरिकाकै नाकमुनिबाट उसलाई चुनौती दिने एकमात्र देश क्युबा नै हो ।

जो बाइडेन ७७ वर्षमा अमेरिकाको राष्ट्रपति चुनिए । यसअघि यो रेकर्ड उनकै प्रतिस्पर्धी डोनाल्ड ट्रम्पका नाममा थियो । ट्रम्प ७० वर्षको उमेरमा राष्ट्रपति चुनिएका थिए । उनीहरू अर्को रेकर्ड बनाउने दौडमा छन् । ट्रम्प र बाइडेनको शासनकालमा उच्चपदस्थ अमेरिकीहरूको औसत आयु ७७ वर्ष छ । जबकि बिल क्लिन्टन र बाराक ओबामाको कार्यकालमा यस्तो औसत आयु ५५ वर्ष थियो । ओबामा र क्लिन्टन नै सबैभन्दा कम उमेरमा अमेरिकी राष्ट्रपति निर्वाचित भएकामा गनिन्छन् । तर ४८ वर्षीय राष्ट्रपति ओबामालाई ६७ वर्षीय जो बाइडेनले उपराष्ट्रपतिका रूपमा धानेका थिए । ४७ वर्षीय राष्ट्रपति क्लिन्टनलाई ४५ वर्षीय उपराष्ट्रपति अल गोरले सघाएका थिए । क्लिन्टन–गोरको जोडी नै अमेरिकी इतिहासको शासकीय युवा जोडी हो । त्यति बेला राष्ट्रपतिपछिको सबैभन्दा शक्तिशाली मानिने पद विदेशमन्त्री भएर ६८ वर्षीय वारेन क्रिस्टोफरले सम्हालेका थिए । ‘जी फाइभ’ भित्रको देश फ्रान्समा इम्मानुयल म्याक्रों पहिलो पटक राष्ट्रपति निर्वाचित हुँदा ३९ वर्षका थिए । ४० वर्षभन्दा कम उमेरमा शक्तिशाली पाँच देशमध्येको राष्ट्रपति भएर औसत रूपमा सफल भएका उनी नै पछिल्ला उदाहरण हुन् । सन् १९८१ मा मलेसियामा महाथिर मोहम्मद पहिलो पटक प्रधानमन्त्री बन्दा ५६ वर्षका थिए । २२ वर्ष निरन्तर सत्तामा रहेर राजनीतिबाट संन्यास लिएको बताएका उनले १५ वर्षपछि फेरि सन् २०१८ मा ९३ वर्षको उमेरमा प्रधानमन्त्री बनेर नयाँ रेकर्ड बनाएका थिए । तर, उनले सन् १९८१–२००३ को अवधिमा जस्तो राम्रो कार्यसम्पादन गर्न नसकेकै कारण कार्यकालको बीचमै सत्ताबाट गलहत्तिनुपर्‍यो ।

प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुने अमेरिकी प्रणालीमा ६० वर्ष नपुग्दै जर्ज वासिङ्टन (५७ वर्ष), अब्राहम लिंकन (५२ वर्ष), फ्र्यांकलिन रुजवेल्ट (५१ वर्ष) जस्ता दर्जनभन्दा बढी सफल र असल राष्ट्रपतिको रेकर्ड छ । अर्कातिर, संसदीय प्रणालीबाट बेलायतका विन्स्टन चर्चिल (७७ वर्ष), भारतका जवाहरलाल नेहरू (५८ वर्ष), न्युजिल्यान्डकी ज्यासिन्डा अर्डन जस्ता प्रधानमन्त्रीको उदाहरण नभएको होइन । ३७ वर्षको उमेरमा प्रधानमन्त्री बनेकी आर्डनले ४२ वर्षको उमेरमा स्वैच्छिक अवकाश रोजेकी छन् । उनको क्षमता र सफलताबारे मूलतः पाँच वटा निष्कर्ष निकालिएको छ— गर्न हुने र नहुने कार्यहरूको प्रस्ट सीमांकन, मातृत्वपूर्ण भावना, दृढता र आत्मविश्वास, सादगीपूर्ण जीवनशैली र व्यवस्थापकीय कला । सिंगापुरमा ३६ वर्षको उमेरमा प्रधानमन्त्रीमा उदाएर लगातार ३० वर्ष सफल शासन गरेका ली क्यान यूले सानो र गरिब बन्दरगाह सहरलाई विश्वकै प्रमुख वित्तीय केन्द्र बनाए । संसदीय लोकतन्त्रको जननी बेलायतमा ४३ वर्षमा प्रधानमन्त्री बन्न सफल ऋषि सुनकले सफल बन्न प्रधानमन्त्री भइसकेका ५८ वर्षीय डेभिड क्यामरुनलाई विदेशमन्त्री बनाएर जोबन धान्नुपर्ने बाध्यता देखिएको छ ।

नेल्सन मन्डेलालाई एकपल्ट सोधियो, ‘तपाईं यति महान् नेता हुनुको पछाडि प्रेरणाको स्रोत को हो ?’ उनले जवाफ दिए, ‘मेरा बुवा । मेरा बुवा एउटा गाउँको मुखिया हुनुहुन्थ्यो र म उहाँसँगै गाउँभेलामा जान्थें । म बुवाको दुई गुण सधैं ध्यान दिएर हेर्थें । पहिलो, उहाँ सधैं गोलो घेरा बनाएर बस्नुहुन्थ्यो, सबैलाई समान रूपमा व्यवहार गर्नुहुन्थ्यो र छलफलमा सहभागी गराउनुहुन्थ्यो । दोस्रो, उहाँ पहिला सबैको कुरा सुन्नुहुन्थ्यो, अनि अन्तिममा मात्रै आफू बोल्नुहुन्थ्यो । मैले पनि त्यही सिकें  ।’ के आजको नेतृत्वले यति सामान्य तर सबैभन्दा कठिन बानी अवलम्बन गर्ला ?

प्रकाशित : पुस २४, २०८० ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?