१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५

‘वर्गशत्रु’ सुन्दै यत्रो आतंक’

दलाल पुाजीवादले देश विकास गर्न सक्छ ? गरिरहेको छ ? जवाफ खोज्न अन्त कतै जानुपर्दैन, २०६२–६३ को परिवर्तनपछिका १८ वर्षको हाम्रो आफ्नै समाजलाई हेरे पुग्छ ।
झलनाथ खनाल

कान्तिपुर दैनिकको २२ भदौ २०८० को अंकमा ‘शत्रु सिद्धान्तको धङधङी’ शीर्षकमा जैनेन्द्र जीवनको लेख छ । लेखकलाई हाम्रो पार्टीभित्र एउटा नेता र उहाँका विचारहरूको पक्षपोषण गर्नुपर्ने र खास गरी मेराविरुद्ध त्यति क्षुद्र शैलीमा ‘निसाना’ लगाउनुपर्ने आवश्यकता किन पर्‍यो ? लेखका ‘जार्गन’ हरू पढ्दा लेखक मार्क्सवाद र समाजवादभन्दा कमसेकम १ लाख माइल टाढाका जस्ता लाग्छन् ।

‘वर्गशत्रु’ सुन्दै यत्रो आतंक’

उनको साइनो–सम्बन्ध भएकै पार्टीमा चर्काचर्का ‘द्वन्द्व’ हरू चलिरहेका देखिन्छन् । ती द्वन्द्वले उनलाई किन आकर्षित गरेनन् ? हाम्रो नवोदित पार्टीभित्र अहिले उनले भनेजस्तो कुनै द्वन्द्व पनि छैन । हामी त आ–आफूलाई लागेका विचार मात्र प्रस्तुत गरिरहेका छौं । त्यसैलाई ‘द्वन्द्व र झगडा’ बनाउँदै एउटाको पक्षपोषण र अर्काको क्षुद्रतापूर्ण विरोध गर्न उनी कसरी आइपुगे ? उनको विचारमा कम्युनिस्टविरोधी भावना त कुटकुट भरिएकै देखिन्छ, तर उनी हाम्रो नवोदित पार्टीलाई ‘फुटाउन’ किन उद्यत भइरहेका छन् ? उनले मलाई पनि केही प्रश्न गरेका रहेछन् । त्यसैले म प्रतिप्रश्नसहितको यो आलेख तयार पार्न बाध्य भएँ ।

फरक मत कति बेला बन्छ ?

कम्युनिस्ट पार्टीभित्र विभिन्न सवालमा विभिन्न विचार, दृष्टिकोणबीच छलफल चलिरहन्छ र चलाइरहनुपर्छ । यो एउटा जीवन्त पार्टीको आम अभ्यास हो । त्यसरी खास सवालमा पार्टीले बनाउनुपर्ने नीतिका बारेमा छलफल हुँदा कमिटीमा विवाद हुन सक्छ । त्यसमा एकरूपता आउन सकेन, मत अलगअलग भए, तर निर्णय नगरी भएको पनि छैन भने त्यस्ता सवालमा निर्णय गर्दा स्वाभाविक रूपले बहुमत र अल्पमत हुन्छ । त्यस बेला बहुमतको निर्णय पार्टी निर्णय हुन्छ । अल्पमत फरक मतका रूपमा कमिटीमा सुरक्षित हुन्छ । यस्तो अवस्थामा फरक वा भिन्न मत सृजना हुन पुग्छ ।

के बहस झगडा हो ?

पार्टीभित्र चल्ने बहसहरू भनेका ‘वादे वादे जायते तत्त्वबोधः’ गर्ने प्रक्रिया हुन् । बहस वा छलफल नगर्ने कम्युनिस्ट पार्टी नै हुँदैन । बुर्जुवा पार्टीहरू एउटा नेताको ‘हालहुकुम’ का आधारमा मात्र चल्न सक्छन् । उनीहरूमा नेता मालिकजस्ता र कार्यकर्ता दासजस्ता हुन्छन् । त्यहाँ बहस भइहाले ‘झगडा’ नै हुन्छ । तर कम्युनिस्ट पार्टी नेताप्रधान होइन, नीतिप्रधान हुन्छ । त्यसैले त्यसभित्र जीवन्त छलफल, वादविवाद तथा बहस हुन्छ र गर्नुपर्छ । त्यही प्रक्रियाबाट मात्र विचारको विकास हुन्छ । हामी अहिले महाधिवेशनको पूर्वघडीमा भएकाले त्यसै गर्दै छौं । तर यी लेखक बहस र छलफललाई ‘फुट र झगडा’ ठान्छन् । अझ त्यसैलाई ‘दुई नेता छुट्टिने’ मात्र होइन, ‘कहिले र कसरी छुट्टिन्छन् भन्ने रहस्य’ मात्र पर्खेर हेर्ने निष्कर्षमा पुग्छन् । बुर्जुवाहरू सधैं कम्युनिस्टहरू विभाजित हुनुपर्छ भन्ने दुष्टतापूर्ण सोच राखेर बसेका हुन्छन् । तर कम्युनिस्टहरू सिद्धान्तनिष्ठ ढंगले एकताबद्ध पनि हुन्छन्  ।

वर्गशत्रु’ भन्नै नहुने ?

वर्गशत्रु किटान गर्नुपर्छ, मुख्य प्रतिद्वन्द्वी चिन्नुपर्छ, समाजको सटीक वर्ग विश्लेषण गर्नुपर्छ भन्ने सुन्दा मात्र पनि बुर्जुवाहरू थर्कमान हुन्छन् । नेपाली समाज त अहिले पनि वर्गीय रूपले विभाजित छँदै छ नि । मानव समाज सधैं वर्गहरूमा विभाजित थिएन र सधैं वर्गहरूमा विभाजित पनि रहनेछैन । तर तीनवटा ऐतिहासिक कालमा वर्गशत्रुहरूको जन्म भयो । आदिम साम्यवादी कालमा कुनै वर्ग थिएन । कोही वर्गशत्रु पनि थिएन । दास प्रथा आएपछि दासका मालिकहरू मानव समाजकै पहिलो शोषक वर्ग, पहिलो शत्रु वर्गका रूपमा उदाए । त्यो वर्गलाई सामाजिक क्रान्तिले समाप्त पार्‍यो । फेरि सामन्तवाद विकसित भयो । सामन्त वर्ग अर्को शोषक वर्ग र जनताको शत्रु वर्गका रूपमा अघि आयो । त्यसलाई पनि पुँजीवादी क्रान्तिले समाप्त पार्‍यो । त्यसपछि पुँजीवादी समाज आयो । त्यहाँ अर्को शोषक वर्गका रूपमा पुँजीपति वर्गको उदय भयो, जुन तेस्रो शोषक वर्ग हो । अहिले नेपालमा दलाल पुँजीपति वर्ग सबैभन्दा ठूलो शोषक वर्ग हो र नेपाली जनताको शत्रु वर्ग हो । यी तीन वर्ग मानव समाजका शत्रु वर्ग हुन् । तिनीहरूलाई निर्ममतापूर्वक उन्मूलन नगरी समाज अघि बढ्दैन । के गर्ने, जैनेन्द्रजीलाई ‘वर्गशत्रु’ शब्दले नै त्यति विधि आतंकित बनाएको छ र मुटुमा आगोको ज्वाला दन्किन थालेको छ !

के पार्टीहरू ‘बहुवर्गीय’ हुन्छन् ?

‘धङधङी’ का लेखकलाई दलाल पुँजीवादी वर्गको हित कसरी हुन्छ भन्ने थाहा छ । त्यसैले अरू सबै पार्टीलाई उनी वर्गीय ठान्दैनन् । उनी कांग्रेस, एमाले, माओवादी, मधेशकेन्द्रित दल, समाजवादी पार्टी सबैलाई ‘बहुवर्गीय’ पार्टी ठान्छन् । यो उनको खाँटी दलाल पुँजीवादी दृष्टिकोण हो । विश्वव्यापी रूपमा के सत्य हो भने, यो समाजमा रहेको कुनै पनि विचार, संगठन वा पार्टीले यो समाजको कुनै न कुनै खास वर्गको प्रतिनिधित्व गरिरहेको हुन्छ । एउटै पार्टीले शोषक वर्ग र शोषित वर्ग दुवैको प्रतिनिधित्व गर्न कहीँ पनि सक्तैन । अहिले नेपाली समाजमा दलाल पुँजीपति, राष्ट्रिय पुँजीपति, निम्न पुँजीपति किसान र श्रमिक वर्गजस्ता पाँच वर्ग छन् । यो समाजमा रहेका सबै पार्टी कुनै न कुनै वर्गका प्रतिनिधि हुन्छन् र हुनैपर्छ । हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी) ‘बहुवर्गीय’ पार्टी होइन । यो नेपालको श्रमजीवी वर्गको पार्टी हो । यसले दलाल पुँजीपति वर्गबाहेक सबै वर्गको हितलाई भने प्रतिनिधित्व गर्छ । के विभिन्न वर्गस्रोतबाट सदस्यहरू आउनु नै ‘बहुवर्गीय’ पार्टी हुन्छ ? कमसेकम राजनीतिक वर्ग चरित्र निरूपणका आधारहरू बुझेर कुरा गरौं ।

के मार्क्सवाद–लेनिनवाद ‘कालातीत’ भइसक्यो ?

जैनेन्द्र जीवनजस्ता पुँजीवादी व्यक्तिहरूलाई मार्क्सवाद–लेनिनवाद ‘पुरानो भएको’ र ‘डेट एक्सपायर भएको’ लाग्छ । सोभियत मोडलको समाजवाद असफल हुँदा यस्ता ‘बुद्धिजीवी’ हरू ‘इतिहासको अन्त्य भयो’ भनेर कुर्लिन पनि पुगेका थिए । तर मार्क्सवाद–लेनिनवाद भनेको विज्ञान हो । यो मानव समाजको विकास र रूपान्तरणको विज्ञान हो । जीवन्त विज्ञान कहिल्यै पुरानो हुँदैन । विज्ञानले पत्ता लगाएका नियमहरू पनि विषय र सन्दर्भ अनुसार पुराना हुँदैनन् । पृथ्वी सूर्यको वरिपरि घुम्छ भन्ने नियम पुरानो हुन्छ ? बुद्धले २६०० वर्षअघि भन्नुभयो, ‘संसार अनित्य छ ।’ यो पनि विज्ञान हो । के यो पुरानो हुन्छ ? मार्क्सले ‘प्रकृति, समाज र विचार चिन्तनका सबै कुरा त्यसभित्र रहेका अन्तरविरोधबाट विकास हुन्छन्; अन्तरविरोध नभएको कुनै कुरा हुँदैन’ भन्नुभयो । के यो नियम पुरानो हुन्छ ? पुँजीवादबाट समाजवाद अनिवार्य आउँछ भन्ने निष्कर्ष पनि पुरानो भएको छैन । ठीक त्यसरी नै मार्क्सवाद–लेनिनवाद एउटा जीवन्त विज्ञान हो । यसले समाज परिवर्तनको बाटो देखाइरहेको छ र देखाइरहनेछ । दलाल पुँजीवादको सरापले विज्ञान कालातीत हुँदैन । बरु पुँजीवादी व्यवस्थाचाहिँ कालातीत भैसक्यो ! अब बिस्तारै त्यसको अन्त्य हुन्छ र विश्वमा समाजवाद हावी हुँदै जानु आवश्यक छ । हरेक रात समाप्त भएपछि बिहान घाम झुल्किनु जति अनिवार्य छ र यो जति सत्य हो, पुँजीवादले आफ्नो विध्वंसको आधार आफैं तयार पार्ने र समाजवादको स्थापना भइछाड्ने त्यति नै निश्चित छ । त्यसैले मार्क्सवाद–लेनिनवाद ‘पुरानो भएको’ पनि छैन, ‘डेट एक्सपायर’ भएको पनि छैन; आउने दिनमा त्यो झन् सशक्त र भरभराउँदो हुनेछ ।

लेनिनका कुरालाई ‘ब्रह्मवाक्य’ मान्ने

हामी कम्युनिस्टहरू तथ्यहरूका आधारमा सत्य पत्ता लगाउने विज्ञानलाई मान्छौं । हामी कसैका भनाइलाई पनि ‘ब्रह्मवाक्य’ मान्दैनौं । मार्क्स र एंगेल्सका भनाइलाई पनि विश्लेषण गरेर बुझ्छौं; लेनिन र माओका भनाइहरूलाई समेत विश्लेषण गरेर बुझ्छौं । हाम्रो देशका नेताहरू क. पुष्पलाल, क. मनमोहन अधिकारी, क. मदन भण्डारी लगायत कसैका भनाइलाई पनि हामी ‘ब्रह्मवाक्य’ मान्दैनौं । सत्य साबित भएका विज्ञानसम्मत कुरालाई मात्र हामी अनुसरण गर्छौं । ज्ञान, विज्ञान र प्रविधिजस्ताको राष्ट्रिय सिमाना हुँदैन; ती मानव जातिका सम्पत्ति हुन्छन् । असल कुरा जोकसैबाट पनि सिक्न सक्छौं र आफ्नो समाजलाई समृद्धितर्फ लान प्रतिबद्ध हुन्छौं । बुर्जुवाहरू ‘ब्रह्मवाक्य’ का भ्रमहरूबाट पनि मुक्त भए हुन्छ । हामीलाई विज्ञानको प्रयोग गर्दै अघि बढ्न कुनै बुर्जुवाको अर्ती–उपदेशको आवश्यकता छैन । यो ब्रह्माण्डमा न कुनै ‘ब्रह्मा’ थिए न कुनै ‘ब्रह्म वाक्य’ । बुर्जुवा पार्टीहरू पो नेताप्रधान हुन्छन् र नेताका भनाइलाई ‘ब्रह्मवाक्य’ मान्छन् ।

चीन–भियतनाममा ‘पुँजीवादी अर्थ व्यवस्था’ ?

चीन र भियतनाममा ‘पुँजीवादी अर्थव्यवस्था अपनाउँदै चामत्कारिक आर्थिक विकास’ भैरहेको देख्नुले जैनेन्द्र जीवनको दृष्टिकोण एकलकाँटे, संकीर्ण र पूर्वाग्रही रहेको बुझ्न सकिन्छ । सोभियत मोडलको समाजवाद विघटन भएपछि चीन, भियतनाम, क्युबा, लाओस, उत्तरकोरिया सबै समाजवादी मुलुकले अर्को कुनै मोडलको अनुसरणबाट होइन, आफ्नै देशका विशेषता अनुसारको समाजवादी मोडल विकास गरिरहेका छन् र त्यसमार्फत ‘चामत्कारिक विकास’ गर्दै छन् । समाजवादी बाटो अनुसरण गरेकै कारण चीनजस्तो विशाल देशले गरिबी उन्मूलन गर्न सक्यो । के कुनै पनि पुँजीवादी मुलुकले गरिबी उन्मूलन गर्न सकेको छ ? पुँजीवादी लोकतन्त्रको मसिहा ठानिने अमेरिकामा करोडौं जनतालाई बस्ने बाससम्म छैन; उनीहरू थोत्रा कारमा जीवन बिताउन बाध्य छन् । पुँजीवादले विश्वभरिका जनता र राष्ट्रमाथि कस्तो भयावह शोषण, दमन, आक्रमण, हत्या, हिंसा गरिरहेको छ भनी देख्ने दृष्टि जैनेन्द्र जीवनसँग छ ?

सामन्तवादविरुद्ध लड्ने क्रममा पुँजीवादले प्रगति गरेको थियो, तर अब त्यसका दाह्रानंग्रा हल्लिसकेका छन् । अब समाजवाद नै विश्वको बाटो हो । अब समाजवाद नै नेपालको पनि बाटो हो । समाजवाद नै हामी सबैको भविष्य पनि हो । दलाल पुँजीवादले नेपाली समाजलाई एक इन्च अघि लादैन । बीसौं शताब्दीमा सुरु भएका समाजवादी मोडलहरू सही बाटो लिएर अघि बढ्दा झन् भरभराउँदा र झरिला हुँदै गएका छन् र जान्छन् । समाजवादका नयाँनयाँ मोडलहरू विकसित हुँदै जान्छन् । हामी नेपालमा ‘नेपाली विशेषताको समाजवादी नमुना’ विकास गर्न कटिबद्ध छौं । के दलाल पुँजीवादले देश विकास गर्न सक्छ ? गरिरहेको छ ? जवाफ खोज्न अन्त कतै जानुपर्दैन, २०६२–६३ को परिवर्तनपछिका १८ वर्षको हाम्रो आफ्नै समाजलाई हेरे पुग्छ । आज कस्तो दर्दनाक अवस्थामा पुग्दै छ देश ! यो सबै दलाल पुँजीवादको करामत हो । आउने दिनमा हाम्रो देशको स्थिति अझै दर्दनाक हुन सक्छ ।

प्रकाशित : आश्विन १०, २०८० ११:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?