कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

दलितमाथि अतिवाद कहिलेसम्म ?

वर्षौंदेखिको विभेद, शोषण, दमन, अत्याचार र अपमानले दबिएका दलितहरूमा कुन तहको रिस, आक्रोश र आवेग छ, त्यसको लेखाजोखा गर्न सकिँदैन । त्यो आक्रोश हिंसात्मक विद्रोहमा परिणत भयो भने आश्चर्य नमाने हुन्छ ।
सुशील बीके

दलितको घर, के घर
यसैले भत्काइन्छ र जलाइन्छ सहजै
दलितको शरीर, के शरीर
यसैले गरिन्छ हत्या, बिनाहिचकिचाहट
दलितको जीवन, के जीवन
यसैले बनाइन्छ नारकीय सधैं ।
अहिलेको समाज माथिका हरफभन्दा पृथक् देखिँदैन । छोइछिटो गर्ने र अपमान गर्ने तहबाट धेरै अगाडि बढेर दलितमाथिको विभेद अहिले अतिवादको तहमा उक्लेको छ ।

दलितमाथि अतिवाद कहिलेसम्म ?

अन्तरजातीय प्रेम र विवाह गर्दा जाजरकोटका नवराज विक तथा काभ्रेका अजित मिजार (जसको लास हत्या भएको करिब सात वर्ष हुँदा पनि अस्पतालमै छ) सहित दलित समुदायका दर्जनौं व्यक्तिको हत्या भएको छ । अधिकांशको हत्या पाँच वर्षयता भएको हो । दलित बालिका र महिलाको बलात्कार र हत्याको शृंखला झन् कहालीलाग्दो छ । हरेक दिन हरेक दलितले भोग्ने विभेद र अपमानको सीमा नै छैन ।

राज्यसंरक्षित विभेद बढीरहेको परिवेशमा ‘डिजिटल डिस्क्रिमिनेसन’ ले दलित समुदायलाई थप पीडा दिएको छ । आम रूपमा हुने अपमान, कुटपिट, विभेद, तिरस्कार, बहिष्कारबाट अगाडि बढेर हत्याहिंसाको तहमा पुगेको अतिवाद जुम्लामा घरमा आगो लगाउने र बझाङमा घर भत्काउने स्तरमा पुगेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रमा, जहाँ संविधानले सबै किसिमका विभेद वर्जित गरेको छ, जातकै कारण मानिसको हत्या गरिन्छ, घरमा आगो लगाइन्छ, भत्काइन्छ भने योभन्दा ठूलो अतिवाद अर्को के हुन सक्छ ?

अतिवादले निम्त्याउने भनेको द्वन्द्व र अराजकता नै हो । जसले दलितको घर भत्काए, उनीहरूका घर पनि त्यसरी नै भत्काइयो, घर जलाउनेहरूका घर पनि त्यसरी नै जलाइयो अनि जसले हत्याहिंसा र विभेद गर्छन्, उनीहरूविरुद्ध त्यही किसिमको प्रतिरोध गरियो भने अवस्था के होला ? समाज कता जाला ? विभेदकारी समाजले यसरी कहिल्यै सोचेको छ ?

अतिवादसँगै दण्डहीनताको पराकाष्ठा

वर्ण र जात व्यवस्थाले थिचिएको समाजमा दलितहरू कति निरीह अवस्थामा छन्, त्यो शब्दमा बयान गर्न कठिन छ । कुटपिट, अपमान, तिरस्कार, हत्याहिंसा र बलात्कार गरिन्छÙ गाउँनिकाला गरिन्छÙ बहिष्कार गरिन्छÙ नाकाबन्दी लगाइन्छÙ घरमा आगो लगाइन्छ, भत्काइन्छ । यस्तो कहालीलाग्दो र अत्यासलाग्दो जीवन बाँच्दै आइरहे पनि अधिकांश दलित केही गर्न नसक्ने अवस्थामा छन् । ‘मलाई विभेद गरे, कुटे, म अन्याय र अत्याचारमा परें’ भन्न मिल्ने ठाउँ छैन । सुनिदिने पनि कोही छैन । वर्ण र जात व्यवस्थाका अवशेष मनमस्तिष्कमा बोकेकाहरूको भीडमा दलितहरूका पक्षमा बोल्ने कोही छैनÙ उनीहरूलाई सुरक्षा दिने, संरक्षण गर्ने र न्याय दिने कोही छैन । राज्य मौन छ र विभेद गर्नेलाई कतिपय अवस्थामा राज्यले नै संरक्षण गर्ने गरेको छ । छुवाछुतका एकदुई घटना मात्र कानुनी प्रक्रियामा अगाडि बढ्नुले यही देखाउँछ ।

देशमा संविधान छ, कानुन छ, मानव अधिकार छ तर दलितमाथि चरम दमन, अतिवादी हर्कत रोकिएको छैन । कहिलेसम्म चुपचाप सहिरहने यस्ता अतिवादहरू ? कहिलेसम्म राज्य मूकदर्शक बनिरहने ? दलहरू, अधिकारकर्मी र समाज कहिलेसम्म रमिते बनिरहने ? अतिवादले कुन तहको सीमा नाघेपछि बोल्ने हो ?

एक व्यक्तिसम्बद्ध केसलाई लिएर सारा परिवारको आस्था र विश्वासको छहारी, जीवनको उद्देश्य र सपना सञ्चालन गर्ने ठाउँ अर्थात् सिंगो घर नै जलाएर नष्ट पारिदिनु कुन हदसम्मको आपराधिक र विभेदकारी सोच हो ? दलितहरू केही हैनन्, यिनीहरूलाई जे गरे पनि हुन्छ भन्ने सोचको पराकाष्ठा हो यो । दलितले बनाएको घरमा बसेर, दलितले बनाएका सामग्री प्रयोग गर्दै दलितकै हत्या गर्ने, घर भत्काउने र जलाउने साहस र शक्ति कहाँबाट प्राप्त हुन्छ ? कानुन हातमा लिएर अतिवादी हर्कत गर्ने अधिकार कसले दियो ? यस्तो अक्षम्य अपराधको जति निन्दा गरे पनि कमै हुन्छ ।

जेलको छिँडीमा चिसो हावा खानुपर्नेहरू शिर ठाडो पारेर समाजमा हिँड्छन् । आत्मग्लानि हैन, गौरवबोध गर्दै सानका साथ हिँड्छन् । उल्टो पीडित दलितलाई धम्क्याउँछन्, जुन आजसम्मको दण्डहीनताकै परिणाम हो । कानुन कार्यान्वयन गर्ने निकायमा जात व्यवस्थाका ठेकेदारहरू हुनुको दुष्परिणाम हो यो । यो तहको अराजकता, उद्दण्डता र मनपरीतन्त्रविरुद्ध राज्य र समाज कहिले उभिन्छन् ?

आक्रोश र प्रतिरोधको सम्भावित दृश्य

छुवाछुतका घटना बढ्दा छन् । विभेद र पीडालाई गहिरोसँग महसुस गर्ने व्यक्तिहरू सामाजिक सञ्जालका कारण विश्वभरि नै बढ्दा छन् । लामो समयसम्म दास–गुलामको जीवन बिताएका दलितहरूमा समेत अहिले आक्रोश बढ्दो छ । वर्षौंदेखि विभेद, शोषण, दमन, अत्याचार र अपमानले दबिएका दलितहरूमा कुन तहको रिस, आक्रोश र आवेग छ, त्यसको लेखाजोखा गर्न सकिँदैन । त्यो आक्रोश हिंसात्मक विद्रोहमा परिणत भयो भने आश्चर्य नमाने हुन्छ ।

भारतीय सेनाबाट निवृत्त, ७२ वर्षे मेरा एक अभिभावक दलितमाथि देशव्यापी रूपमा भैरहेका अतिवादी हर्कतबाट आक्रोशित बन्दै बारम्बार भन्नुहुन्छ, ‘जसले दलितलाई विभेद गर्छ, ज्यादती गर्छ, उसको सशक्त प्रतिकार गर्ने योजना बनाऔं । म फ्रन्टलाइनमा बसेर लड्न तयार छु ।’ वृद्ध व्यक्तिमा त यस्तो आक्रोश छ भने देश–विदेश देखे–भोगेका, सचेत र सशक्त युवाहरूमा कति आवेग होला ? प्रकृतिले सुन्दर उपहारका रूपमा दिएको एक बारको जिन्दगीलाई अत्यन्त कष्टप्रद, कुरूप र नारकीय बनाइदिने व्यक्ति र समुदायलाई कुन दलितले बिर्सन सक्छ र क्षमा दिन सक्छ ?

बुद्ध, योगमाया र भगत सर्वजित विश्वकर्मा हुँदै आजका दिनसम्म आइपुग्दा दलित आन्दोलनको मूल प्रवृत्ति शान्तिपूर्ण प्रतिरोध नै रहेको छ । यस्तो शान्तिपूर्ण प्रतिरोध हलो जोत्न बन्द गर्ने, आरनको टुँडो भाँचेर चुप बस्ने, मन्दिर प्रवेश गर्ने, पानी उभाउने, डेरीमा दूध भर्ने, सहभोज गर्ने, ज्ञापनपत्र बुझाउने, सडक प्रदर्शन गर्ने र अन्तिममा बन्द–हडताल गर्ने आदिमा सीमित छ । यो आन्दोलनले कहिल्यै हिंसा र विखण्डनको बाटो लिएको छैन । तर शान्तिपूर्ण र शालिन तरिकाले राखेका मागहरू न राज्यले सुनेको छ न समाजले ‘रियलाइज’ गरेको छ । सात दशक पुरानो आन्दोलनको समीक्षा गर्ने क्रममा आम दलित र त्यसमा पनि युवा पुस्ता शान्तिपूर्ण आन्दोलनले परिणाम ल्याउनेमा आश्वस्त छैनन् । उनीहरू जुनसुकै तहको प्रतिरोध गर्न पनि तयार हुनुपर्ने मत राख्छन् । अर्थात्, गैरदलितले गर्ने दमनजस्तै हिंसात्मक प्रतिरोध । कल्पना गरौं, उनीहरू आफूले बनाएका सबै घरेलु हतियार लिएर विभेद गर्नेहरूमाथि जाइलागे भने अवस्था कस्तो होला ? जुम्लाका मृगेन्द्रको घर जलाउनेहरूका घर पनि दलितहरूले जलाइदिए भने, बझाङका ओखेडाको घर भत्काउनेहरूका घर पनि त्यसरी नै भत्काइदिए भने के हुन्छ ? जसरी अहिले दलितमाथि चौतर्फी हमला भएको छ, हत्याहिंसा भएको छ, त्यसरी नै उनीहरू पनि हिंसात्मक प्रतिरोधमा लागे भने के होला ?

पछिल्लो समय समाजमा धेरै किसिमका बदलाव आएका छन् । पढ्नेलेख्ने दलितहरूको संख्या बढ्दो छ । विदेश गई आर्थिक अवस्था बलियो बनाउने क्रम पनि बढ्दो छ । मूलतः विदेशमा रहेकाहरूले त्यहाँको अवस्थासँग तुलना गरेर आन्दोलनलाई उठाउनका लागि गरिरहेको पहलले नेपालमा दबाब बढ्दो छ । राज्यका विभिन्न निकायमा दलितहरूको पहुँच र प्रतिनिधित्व पनि निरन्तर बढ्दो छ । यी सबका कारण समाजमा दलितहरूको शक्ति सम्बन्धमा पनि बदलाव आएको छ । अब दलितहरू पहिलाजस्तै गैरदलितसँग परनिरर्भर हुन नपर्ने अवस्था पनि बढ्दो छ । उनीहरूका अगाडि दास र गुलाम बन्नुपर्ने र जीउ–हजुर गर्नुपर्ने स्थिति साँघुरिँदो छ । यस परिवेशमा पढेलेखेको, देश–विदेश डुले–घुमेको र सशक्तीकरण भएको युवा पंक्ति सशक्त प्रतिकारको तयारीमा छ । यस्तो परिवेशलाई समाजका अध्येताहरू, राजनीतिक दलहरू र शासकहरूले कसरी लिन्छन् र सम्बोधन गर्छन्, त्यसैबाट दलित प्रतिरोधको स्वरूप निर्धारण हुने देखिन्छ ।

दलित युवाहरू अब पनि चुपै बसिरहँदैनन् । यसको केही संकेत त संविधान निर्माणको आसपासदेखि दलित दस्ता र दलित सेना बनाउने प्रयास भएबाटै मिलेको थियो । केही समयअघि कर्णालीमा दलित दस्ताले मार्चपास गर्‍यो । आत्मरक्षाका विभिन्न अभियान शुरु भएका छन् । यसको एउटै सन्देश हो— अहिलेका दलित युवाहरू विगतमा जस्तै सबै कुरा सहेर बस्नेवाला छैनन् ।

अन्त्यमा, अतिवादी घटनाक्रम यति अगाडि बढ्दा पनि राजनीतिक दलहरू, राज्यका निकायहरू, तीनै तहका सरकारहरू, अधिकारकर्मीहरू कानमा तेल हालेर बस्नु उदेकलाग्दो छ । संविधान र कानुनको कार्यान्वयन गरी सबै किसिमका विभेद र हिंसा अन्त्य गर्ने मुख्य दायित्व भएको यो पंक्ति कहिले ब्युँझिएला ? दलितहरूले हिंसात्मक विद्रोह सुरु गरेपछि कि त्यसअगावै ?

प्रकाशित : श्रावण ३१, २०८० ०६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु वर्षको ९ महिनामा वार्षिक लक्ष्यको ३२.२४ प्रतिशत मात्र विकास खर्च हुनुको अर्थ के हो ?