१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०८

योगमाया हिँडेको बाटो

हिजो सनातनी सामाजिक मान्यताका अनेक विभेदकारी लाञ्छना लगाएर इतिहासको मूल प्रवाहबाट पन्छाइएकी योगमाया र उनको आन्दोलन अहिले नेपाली सामाजिक जागरणको उदाहरणीय राजमार्ग बनेको छ ।
लेखनाथ भण्डारी1

योगमाया नेपाली सामाजिक जागरण अभियानकी अगुवा विद्रोही र चेतनाको दियोको पर्याय हुन् । योगमायाका सन्दर्भमा अगुवा, विद्रोही, चेतना र दियो गरी चारै उपमाको सान्दर्भिकता छ । समयले उनी अगुवा हुन् भने कर्मले विद्रोही, उद्देश्यले चेतना र परिणामले दियो ।

योगमाया हिँडेको बाटो

यो शताब्दीको पूर्वार्द्धबाट नेपाली समाजको रूपान्तरणको प्रक्रिया सुरु भएको थियो । राजा पृथ्वीनारायण शाहको नेतृत्वमा एकीकृत नेपाल राज्य शताब्दिऔं पुराना मान्यता, अन्धविश्वास, धर्मान्धता र विभेदकारी सामाजिक व्यवस्थामा जकडिएको थियो । ती विभेदपूर्ण सामाजिक सम्बन्ध, तिनको सुधारका लागि भएका प्रयासहरू र योगमायाको भूमिकाका सम्बन्धमा मातृका तिम्सिनाकृत ‘नेपाली सन्त परम्परामा योगमाया र सर्वार्थ योगवाणी’ (दोस्रो संस्करण, २०८०) मा क्रमबद्ध चर्चा गरिएको छ ।

नेपालमा समाज सुधारका धेरै आन्दोलन भएका छन् । त्यस्ता कतिपय आन्दोलनको इतिहास अझै पनि ओझेलमा परेको छ वा तिनलाई इतिहासको मूल प्रवाहमा समेटिएको छैन । करिब एक शताब्दीपहिले भोजपुरको अरुण नदीकिनारमा योगमायाको नेतृत्वमा सामाजिक बेथितिविरुद्ध सरकारसमक्ष विभिन्न माग राख्दै जागरण आन्दोलनको सुरुआत भएको थियो । तत्कालीन राणा प्रधानमन्त्रीले ती माग पूरा गर्ने आश्वासन त दिए तर कार्यान्वयन भने गरेनन् । त्यसैको विरोधमा योगमायाको नेतृत्वमा १९९८ असार २२ गते शनिबार हरिशयनी एकादशीका दिन ६८ जनाले अरुण नदीमा हाम फालेर देहत्याग गरे ।

योगमायाका बारेमा सामान्य जानकारी आधा शताब्दीभन्दा पहिलेदेखि नै बाहिरिँदै आएको भए पनि पर्याप्त आउन सकेको छैन । उनी सम्बन्धी धेरै पक्षको अध्ययन–अनुसन्धान हुन र लेखिन बाँकी छ तर यसबारे अध्येताहरूको चासो बढेको छ । अहिलेसम्मको अध्ययन र लेखन भनेको केही व्यक्तिको स्वयंसेवी प्रयास मात्र हो । त्यसरी स्वयंसेवी प्रयास गर्ने एक अध्येताको नाम हो— मातृका तिम्सिना ।

जनकलाल शर्मा, ज्ञानमणि नेपाल, उत्तम पन्त, बारबरा निम्री अजिज, निनु चापागाईं आदि अन्वेषकहरूले सुरु गरेको योगमाया उत्खनन कर्ममा गहिराइसम्म पुगेर ‘मोती’ खोज्दै गरेका अध्येता हुन्— तिम्सिना । यसोभन्दा यस उत्खनन कर्ममा उनी अघि वा पछि हिँडेका अन्य अध्येताले अन्यथा मान्नुहुन्न— ओझेलमा परेकी योगमायाको आन्दोलन, भूमिका र परिचयलाई राज्यको ढोकासम्म पुर्‍याउनमा उनको भूमिका महत्त्वपूर्ण छ । उनकै पछि लागेर यो पंक्तिकारले पनि योगमायाका बारेमा अध्ययन गर्ने अवसर पाएको हो ।

इतिहासको चरित्रले निर्माण गरेको सत्य सबैका लागि सधैं एउटै नहुन सक्छ । हिजोको सत्य आज बदलिनु, आजको सत्य भोलि सच्चिनु र नयाँ खोजिनु नै इतिहासको चरित्र हो । आज आफूसँग जति छ, त्यो पनि इतिहास हो र भोलि जति आफूसँग हुँदैन, त्यो पनि इतिहास नै हो । यस्ता दृष्टान्त मानव सभ्यताका अनेक घटनाले प्रमाणित गरेका छन् । मानव जातिको यो लीलामय चरित्र योगमायाको घटनासँग पनि सम्बन्धित छ । त्यसैले हिजो सनातनी सामाजिक मान्यताका अनेक विभेदकारी लाञ्छना लगाएर इतिहासको मूल प्रवाहबाट पन्छाइएकी योगमाया र उनको आन्दोलन पनि अहिले नेपाली सामाजिक जागरणको उदाहरणीय राजमार्ग बनेको छ । समाज विकास यस्तै अनगिन्ती अदृश्य गोरेटाहरूबाट निर्मित एकीकृत राजमार्गको यात्रा हो ।

लिखित इतिहास पनि पर्याप्त नलेखिएको र श्रुति इतिहासका स्रोतहरू पनि कमजोर हुँदै गएको समयमा यस कृतिका लेखक मातृका तिम्सिनाले योगमायाको आन्दोलनको अस्पष्ट गोरेटो फेला पारेका थिए । संयोग के भने, अरुण नदी किनारकी तपस्विनी थिइन् योगमाया भने तिम्सिना पनि अरुण नदीकै पानी पिएर अरुण उपत्यका आसपासमा हुर्केका हुन् । अरुण उपत्यकाको समाज–सभ्यता, जनजीवन, संस्कृति, इतिहासको अध्ययन–अनुसन्धान तथा यस भेकको पत्रकारिता, शिक्षा, राजनीति र विकासका अभियानमा पनि तिम्सिना ‘बेयरफुट भोलन्टियर’ का रूपमा अग्रसर छन् ।

योगमायाको ‘धर्म राज्य’ मागको आन्दोलन, उनको नेतृत्वमा भएको सामूहिक जलसमाधि अर्थात् आत्मदाह र त्यसको उद्देश्य वा प्रभावका बारेमा अढाई दशकयता भने प्रशस्त चर्चा हुँदै आएको छ । अहिले आएर राज्यको ढोकाभित्र प्रवेश पाएकै भए पनि योगमायाको सामाजिक न्यायको अर्थात् ‘धर्म राज्य’ मागको आन्दोलनले पूर्णता पाएको छैन । उनले उठाएका मुद्दाहरू आजका सामाजिक सुधारका आन्दोलनहरूमा पनि त्यत्तिकै ज्वलन्त समस्याका रूपमा उठ्ने गरेका छन् । योगमायाको समाजसुधारको आन्दोलनका पैरवीहरू सम्बन्धित सामाजिक अभियन्ताहरूको निजी प्रयास मात्र भएकाले योगमायाको आन्दोलन, उनको भूमिका र योगदानका बारेमा संगठित, व्यवस्थित वा विधिसम्मत अध्ययन तथा अभिलेखीकरण अझै हुन सकेको छैन । अहिले योगमायाका नाममा नेपाल सरकारले हुलाक टिकट पनि प्रकाशित गरेको छ । सरकारले नै योगमाया आयुर्वेद विश्वविद्यालय स्थापनाको औपचारिक प्रक्रिया सुरु गरिसकेको छ । उनका नाममा विभिन्न संस्था र पुरस्कारहरू स्थापना भएका छन् । अबका दिनमा अवश्य नै विश्वविद्यालयका तर्फबाट पनि प्राज्ञिक, वैज्ञानिक अध्ययन हुनेछ । यस्ता प्रयासहरू आपसी समन्वय तथा मित्रवत् वातावरणमा हुन सके योगमायाको सम्मान, मूल्यांकन र अपेक्षित परिणाम सहज हुन सक्छ ।

योगमायाको आन्दोलनको आधिकारिक दस्तावेज उनकै नाममा प्रकाशित ‘सर्वार्थ योगवाणी’ हो । यो कृति पहिलो पटक कहिले छापियो, यकिन छैनÙ विक्रम संवत् १९९५ मै प्रकाशित भएको अनुमान चाहिँ छ । तर विक्रम संवत् २०१२–१४ मा प्रकाशित कृतिहरू चाहिँ फेला परेका छन् । यसबाट तत्कालीन समाज, योगमायाको विद्रोहको उद्देश्य, त्यस बेलाका प्राथमिकता, भाषा, सामाजिक जीवन लगायतका विषयहरू अध्ययन गर्न सहयोग हुन्छ । इतिहासको एउटा कालखण्डमा सामाजिक जागरणका लागि भएको जीवन बलिदान, तत्कालीन समाज र आन्दोलनमा सहभागी भएकाहरूको सम्झना र सम्मानको दस्तावेजका रूपमा रहेको छ— ‘सर्वार्थ योगवाणी’ । उनले उठाएका सामाजिक जागरणका मुद्दाहरू हुन्— जातपातको भेदभाव, धनी र गरिबबीचको असमानता, साहुमहाजनको थिचोमिचो, महिलाप्रतिको असमानता, राजा–महाराजाहरूको लापरबाही, कर्मचारीहरूको ढिलासुस्ती, घूसखोरी आदिको अन्त्य र प्रकृति–वनस्पतिको संरक्षण ।

‘सर्वार्थ योगवाणी’ लाई लिएर पहिले हाम्रा अग्रज अध्येताहरू र यस पंक्तिकारबाट पनि योगमायालाई ‘कवि व्यक्तित्व’ का रूपमा गणना तथा मूल्यांकन गर्दै उनको काव्यकौशलको चर्चासमेत गरिएको थियो । तर अहिले आएर यसबारे पुनर्मूल्यांकन गरिनुपर्छ भन्ने लाग्छ । ‘सर्वार्थ योगवाणी’ का आधारमा योगमायाको काव्यिक व्यक्तित्वको मूल्यांकन गर्न हुन्न । त्यस बेलाको विद्रोहको अर्थात् योगमायासँग सहकार्य गर्ने तत्कालीन समाज र अगुवा तथा अनुयायीहरू सबैको समान दायित्व रहेको संयुक्त दस्तावेज हो— ‘सर्वार्थ योगवाणी’ । यो तयार पार्ने क्रममा उनकी छोरीले वर्षौंपहिलेका कुरा कसरी सुनाइन् ? उनका सहयोगी दण्डी स्वामी प्रेमनारायण भण्डारीले कसरी लेखे वा कसरी सम्पादन गरे ? उनका अन्य अनुयायीहरूले पनि केकति संशोधन सुधार गरे ? यसलाई भाषा–शैली सम्पादन गरी प्रेससम्म पुर्‍याएर ल्याउँदा कसरी पूर्णता दिइयो ? यी समग्र अवस्था र प्रक्रियाका आधारमा पनि कृतिको मूल्यांकन गरिनुपर्छ । यसमा संस्कृत र नेपालीमा भजन तथा नेपाली जनजीवनका परम्परागत लोकभाकामा आधारित शैलीमा धेरै प्रकारका सामाजिक विषयवस्तु समेटिएका छन् । तसर्थ ‘सर्वार्थ योगवाणी’ लाई योगमायाकृत काव्यकृतिका रूपमा भन्दा पनि तत्कालीन समयमा समाजसुधारका लागि गरिएको आन्दोलन (विद्रोह) को सामूहिक दस्तावेज अर्थात् प्रतिबद्धतापत्रका रूपमा लिनुपर्छ ।

यहाँ तिम्सिनाकृत ‘नेपाली सन्त परम्परामा योगमाया र सर्वार्थ योगवाणी’ को शीर्षक र सन्देशका बारेमा चर्चा गर्नु पनि सान्दर्भिक हुन सक्छ । सन्त परम्परा र तपस्विनी मार्ग योगमायाको व्यक्तिगत जीवनको पाटो होÙ उनको उद्देश्य र गन्तव्य चाहिँ सामाजिक न्यायको आन्दोलन र समतामूलक समाज स्थापना नै हो । उनको व्यक्तिगत जीवन, उनका अनुयायी, तत्कालीन समाज आदिको स्वरूप आ–आफ्नै चरित्रको पनि हुन सक्छ । अहिले हामीले नाम लिन सक्ने एक उदाहरणीय सत्याग्रही अर्थात् सामाजिक अभियन्ता हुन्— डाक्टर गोविन्द केसी । डाक्टर केसी स्वास्थ्य क्षेत्रको सुधारमा केन्द्रित सत्याग्रही हुन्Ù योगमाया समग्र समाजको सुधारमा केन्द्रित सत्याग्रही थिइन् । तर डाक्टर केसीको पेसा वा विज्ञता र उनको सत्याग्रहलाई सम्बन्ध जोडेर हेर्न मिल्दैन । योगमायाका सन्दर्भमा पनि व्यक्तिगत जीवनको सन्त वा तपस्विनी पाटो र सामाजिक सुधारको आन्दोलनका लागि गरेको सत्याग्रह र बलिदानलाई जोडेर हेर्दा अन्याय पो हुने हो कि ?

सामाजिक न्यायका लागि तत्कालीन राज्यका नीति, बेथिति र निरंकुशताविरुद्ध भएका यस्ता आन्दोलनहरूको स्वामित्व ती आन्दोलनहरूबाट स्थापित राज्यले लिनु सम्बन्धित आन्दोलनको सफलता हो । तर त्यस्ता धेरै आन्दोलनको परिणामबाट स्थापित भएका राज्यसत्ताहरूले त्यस्ता आन्दोलनहरूको स्वामित्व ग्रहण गर्नुपहिले केही न्यूनतम आधारभूत पक्षहरूको ख्याल र तिनका मान्यताहरूको पालना गर्नुपर्छ । राज्य पक्षले त्यस आन्दोलनको आधिकारिक अध्ययन गर्नु र अभिलेख राख्नुका साथै तथा त्यस क्रममा भएका हिंसा, दमन र क्षतिका लागि सम्बन्धित पक्षहरूसँग सार्वजनिक रूपमा क्षमायाचना तथा दुःख प्रकट गर्नुपर्छ । मात्रा हेरी मापदण्ड बमोजिमको क्षतिपूर्ति वा संरक्षणका अन्य विकल्प सम्बन्धित पक्षलाई उपलब्ध गराउनुपर्छ ।

योगमायाको नेतृत्वमा भएको आन्दोलनमा उनका साथै ६८ जनाले एकैसाथ जलसमाधि लिएर जीवन बलिदान गरेका थिए । उनीसँग जेल परेका रत्नमानको कैद अवस्थामै निधन भएको थियो । यसमा सहभागीहरू सबैको सम्मान र सम्झनाका लागि उपयुक्त स्थानमा सार्वजनिक पार्क–बगैंचा आदि निर्माण गर्नुपर्छ । आन्दोलन र तिनमा सहभागी हुनेहरू र जीवन उत्सर्ग गर्नेहरूको सम्मान र अपनत्व ग्रहणका लागि राज्यको यो एउटा प्राथमिक दायित्व हो ।

योगमाया आफ्नो जीवनको मध्यकालमा भारतको असमस्थित फूलबारी गएर बसेकी, त्यहाँ घरबार गरेकी, छोरी जन्मिएकी र साधना आदि गरेर नेपाल फर्किएकी थिइन् । तर उनी असममै फूलबारी भनिएका चार–पाँच स्थानमध्ये कहाँ चाहिँ गएकी थिइन्, त्यहाँ के गरिन्, उनको भूमिका र प्रभाव त्यहाँ कस्तो छ भन्ने अहिलेसम्म हामी कसैको जानकारीमा छैन । अबको शोध यता पनि केन्द्रित हुनुपर्छ । राज्यले उत्तेजना, आवेग वा अरूका लहैलहैमा लागेर होइन, आफ्नो स्रोतसाधनको उपलब्धताले भ्याएसम्म सबै प्रकारका अनुत्तरित प्रश्नहरूको उत्तर आफैंले खोज्न र आफ्नो मौलिक दस्तावेज बनाएर त्यसको पारदर्शी अभिलेखीकरण गर्न सक्नुपर्छ ।

योगमायाको जीवनकालमा फोटो खिचिएको पाइएको छैन । उनलाई चिनेजानेकाहरूसँग सोधेर–बुझेर बनाइएका फोटाहरू आ–आफ्ना तरिकाले परिमार्जन गर्दै प्रयोग गरिएको पाइन्छ । त्यसरी अलग–अलग प्रयोग गर्नुभन्दा योगमायासँग सरोकार राख्ने संस्था र अध्येताहरूको समन्वयमा एकै प्रकारको फोटो प्रयोग गर्नु राम्रो हुन्छ । योगमायाले हिजो जुन उद्देश्यले जुन बाटो हिँडेकी थिइन्, ती बाटाहरू बन्द गरेर उनलाई राज्यले काखी च्याप्दैमा उनको उद्देश्यले पूर्णता पाउँदैन । उनको भूमिका र योगदान जुन पक्षलाई अगाडि बढाउने र जुन कुराको सुधार हुनुपर्नेमा थियो, तिनलाई किनारमा राखी एकोहोरो जयजयकार मात्र गर्दा पनि उनको आन्दोलनले सफलता पाएको भनेर खुसी मनाउन हुँदैन । योगमायाको आन्दोलन, उद्देश्य, योगदान र भूमिकाको सम्मानका लागि उनलाई खोपीकी देवी बनाएर पूजा गर्ने होइन, उनी हिँडेको बाटो हिँड्न सक्नुपर्छ ।

प्रकाशित : असार २२, २०८० ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?