१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३०६

समाजवादी ध्रुवीकरणको महासंकट

नयाँ राजनीतिक पुँजी, नयाँ कार्यक्रम र नयाँ व्यवस्थापकबाट मात्र नयाँ आशाको सञ्चार गर्न सकिन्छ ।मुलुकको राजनीतिमा बनाइएको ‘अवसरवादको चौबाटो’ नै दलहरू बाँच्ने एक मात्र सुरक्षित बाटो हो भन्ने गलत बहसलाई पूर्णविराम दिनैपर्छ ।
मुमाराम खनाल

आज असारको पहिलो दिन । आजदेखि सूर्य मिथुन राशिमा प्रवेश गर्छ । सूर्य मिथुन राशिमा प्रवेश गरेपछि मिथुन संक्रान्तिको शुभारम्भ भएको मानिन्छ । र, हिन्दु धर्मावलम्बीहरूले यसै दिन सूर्यदेवको पूजाआजा र विशेष आराधना गर्छन् । किनकि मिथुन संक्रान्तिको दिन गरिएको पूजाआजाले सूर्यदेव प्रसन्न भएर सबै मनोकामना पूर्ण गर्छन् भन्ने धार्मिक मान्यता छ ।

समाजवादी ध्रुवीकरणको महासंकट

संयोग नै मान्नुपर्छ, नेकपा एमालेका तत्कालीन नेता घनश्याम भुसालले गत वर्षको असार १ गते आफ्नो समूहका कार्यकर्ता, समर्थक र शुभचिन्तकहरू भेला गरेर एउटा कार्यक्रमको आयोजना गरेका थिए । एमालेको निर्वाचन चिह्नलाई त्यसको शीर्ष नेतृत्वसँग जोडेर ‘सूर्यदेव’ मान्ने हो भने नेता भुसालले उक्त कार्यक्रममा सूर्यदेवको आराधना होइन, आलोचना गरेका थिए । र, आफ्नै पार्टीका ‘सूर्यदेव’ को आलोचनाको केन्द्रीय विषय थियो— पुनः वामपन्थी एकता । दुर्भाग्यको कुरा, विघटित नेकपालाई ‘वामपन्थी एकता’ मार्फत पुनः ब्युँताउने सपना देखेका भुसाल गत निर्वाचन आउँदासम्म एकाएक आफैं पार्टीविहीन हुन पुगेका थिए ।

मिथुन संक्रान्तिको दिन ‘सूर्यदेव’ आराधनाको ठाउँमा गरिएको आलोचनाले ‘कम्युनिस्ट एकता’ को भुसाल–मनोकामना पूर्ण हुने सम्भावना त थिएन नै, बरु त्यसबापत एमालेका ‘सूर्यदेव’ को श्रापले उनलाई पार्टीको कुनै कुनामा गएर थन्किएर बस्ने अवसरसम्म दिएन । अन्ततः, भुसालले निर्वाचन लड्न र राजनीति गर्न क्रमशः स्वतन्त्र र नेकपा (एकीकृत समाजवादी) को शरणमा जानुपर्‍यो । र, एमाले तथा माओवादी केन्द्रबीचको एकताका लागि भुसालद्वारा प्रस्तावित ‘माफी सप्ताह आयोजना’ को पनि दुःखद अवसान हुन पुग्यो । यस आलेखमा पंक्तिकारको अभिप्राय हाल एकीकृत समाजवादीका नेता भुसाल वा उल्लिखित ‘कम्युनिस्ट घटक’ हरूको एकताबारे कुनै टिप्पणी गर्नु भने होइन ।

किनकि तत्कालका लागि विघटित नेकपाको इतिहासलाई एमाले र माओवादीले पुनः ब्युँताउने आधार कमजोर मात्र छैन, त्यसो गर्नु आवश्यक पनि छैन । राजनीतिक मुद्दा र कार्यक्रमभन्दा पर एमाले र माओवादीका दुई जना व्यक्तिवादी र महत्त्वाकांक्षी शीर्ष नेताहरूको स्वार्थमा आधारित एकताको भीमकाय भारले मृत्युवरण गर्न पुगेको नेकपा ब्युँताउनुपर्ने राजनीतिक कारण पनि छैन । तर, नेकपाको पार्थिव शरीरलाई तीन जना शीर्ष नेताहरूले बाँडीचुँडी गरेर एकएक टुक्रा लिएपछि पनि बाँकी टुक्राहरूमध्ये कुन चाहिँलाई मार्क्सवादको मन्त्र सुनाएर पुनर्जीवित गर्न सकिएला भन्ने भुसालको अलमल भने सकिएको छैन । यहाँनेर भने मेरो सरोकार रहेको छ ।

राजनीतिमा सर्वसाधारण नागरिक र सरोकारवालाका सरल प्रश्न र चासोहरूको जटिल उत्तर दिएर भाग्न जति सजिलो हुन्छ, समाधानसहितको उत्तर दिन त्यति नै गाह्रो । त्यसकारण, अधिकांश नेता कुनै पनि प्रश्नको सिधा र सरल जवाफ दिँदैनन् । अझ कम्युनिस्ट वा वामपन्थी एकताको कुरा गर्दा हरेक नेता आफ्नो तह र स्तरअनुसार विचार, राजनीति, संगठन, संस्कृति, कार्यशैली आदिजस्ता शब्दावलीमा लम्बेतान बहस गरिरहेका हुन्छन् । तर अन्त्यमा बहसकर्ताले सुइँकोसम्म नपाईकन वामपन्थी एकताको कर्मकाण्ड टुंगिइसकेको हुन्छ । जेसुकै अवस्था र सर्तमा पार्टी एकता भएको भए पनि नेता र कार्यकर्ताहरूले उत्साह र उत्सव मनाउँदा–नमनाउँदै शीर्ष नेतृत्वको पदीय बाँडफाँटको सम्झौतापत्रमा आएको अन्तरविरोधको आँधीले पार्टी एकता भंग भइसकेको हुन्छ । नेपालमा ‘कम्युनिस्ट’ वा ‘वामपन्थी’ एकता र विभाजनको व्यक्तिवादी प्रवृत्तिले उत्पन्न गरेको मनोदशा र परिणामको विस्मयकारी इतिहास छ ।

‘कम्युनिस्ट’ वा ‘वामपन्थी’ एकता र ध्रुवीकरणको उत्साहमा केपी ओली र पुष्पकमल दाहालले चिसो पानी खन्याएपछि अहिले ‘समाजवादी ध्रुवीकरण’ को मसिनो स्वर सुनिन थालेको छ । यद्यपि, नेपालका सन्दर्भमा यस्तो ‘समाजवादी ध्रुवीकरण’ ले पनि कम्युनिस्ट वा वामपन्थी शब्दकै पर्यायवाची अर्थ बोकेको छ । र, समाजवादी ध्रुवीकरणको केन्द्रमा छन्– आफैं अस्तित्वको संकटमा रहेका समाजवादी नामधारी घटकहरू । माधव नेपालको एकीकृत समाजवादी, उपेन्द्र यादवको जनता समाजवादी र बाबुराम भट्टराईको नेपाल समाजवादी समूहले समाजवादी ध्रुवीकरणका पक्षमा वकालत गर्न थालेका छन् । संयोगको कुरा, घुम्दैफिर्दै यस्तो समाजवादी ध्रुवीकरणको संकटपूर्ण समयमा घनश्याम भुसाल पनि एकीकृत समाजवादी पार्टीमार्फत आजको बहसमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिन आइपुगेका छन् ।

अनौठो संयोग भनौं, एमालेका तत्कालीन अध्यक्ष माधव नेपाल, माओवादीका तत्कालीन वरिष्ठ नेता डा. बाबुराम भट्टराई र एमाले/माओवादीका तत्कालीन नेता उपेन्द्र यादवले नेतृत्व गरेका तीन वटै दलका नाम समाजवादी छन् । अर्को समानता के छ भने, कम्युनिस्ट पृष्ठभूमि रहेका उल्लिखित तीन वटै पार्टी अहिले अस्तित्वको महासंकटबाट गुज्रिरहेका छन् । नेकपाको विघटनपछि संविधान नै संशोधन गरेर एकीकृत समाजवादी दल बनेको थियो । तर गत निर्वाचनमा अनेक विजातीय गठबन्धनमा नारिए पनि राष्ट्रिय दल बन्न सकेन ।

एकातिर, नेताद्वय केपी ओली र माधव नेपालको व्यक्तिगत प्रतिक्रिया र तिक्तताका कारण एमालेसँग सम्बन्धविच्छेद गर्नैपर्ने र अर्कातिर अदालतले नेकपासमेत विघटन गरिदिएपछि माओवादीसँग नयाँ सम्बन्ध गाँस्न पनि नमिल्ने विचित्रको राजनीतिक परिबन्दमा परेर यो दलको जन्म भएको थियो । साँच्चै भन्ने हो भने नेकपाको विघटन, अदालतको फैसला र संविधानको संशोधनमार्फत बलपूर्वक जन्मिएको एकीकृत समाजवादी अहिले राजनीतिक अस्मिताको संकटमा छ । चाँडोभन्दा चाँडो कतै नजोडिने हो भने पार्टीको अधिकांश हिस्सा पुनः एमालेमा फर्किने भयबाट निःसृत समाजवादी ध्रुवीकरणमार्फत आफ्नो संकटलाई कतै बिसाउनका लागि एकीकृत समाजवादी आतुर देखिन्छ ।

पहिलो संविधानसभाको पूर्वसन्ध्यामा संघीयताको मागसहित मधेश आन्दोलनको जगमा जन्मिएको मधेशी जनअधिकार फोरमको एउटा हिस्सा हो– जनता समाजवादी । एकता र विभाजनको अटुट शृंखलाबाट गुज्रिन अभिशप्त यो दल पन्ध्र वर्षदेखि मधेशका अधिकारका नाममा निरन्तर सत्ता र शक्तिमा छ । जुनसुकै दलको नेतृत्वमा सरकार बनोस्, यसले मधेशको हिस्सा लिन कहिल्यै छोडेन । मधेश अधिकारको एकलौटी ठेकेदार भएको दाबी गर्दै निरन्तर सत्ताको तावेदारीमा रमाएको जनता समाजवादी दलको मुख्य नेतृत्व नै विगतको निर्वाचनमा पराजित भयो ।

एकातिर, उक्त दलले दाबी गरेका मधेशका मुद्दाहरू जहाँको तहीँ रहेपछि र अर्कातिर भित्रभित्रै गुम्सिएको मधेशको असन्तुष्टिलाई नेतृत्व गर्न सीके राउतको जनमत पार्टी अगाडि आएपछि जनता समाजवादी दल अस्तित्व संकटको भीरमा उभिएको छ । अघिल्लो निर्वाचनमा ओलीसँग गठबन्धन गरेर पराजित भएका उपेन्द्र यादव गत उपनिर्वाचनमा सत्ताधारी गठबन्धनसँग भीख मागेर सांसद बन्नुले यसको संकटको गहिराइ उजागर गर्छ । अर्को निर्वाचनसम्म पार्टीको अस्तित्वसमेत नरहने निश्चितप्रायः देखेपछि जनता समाजवादी पनि ‘समाजवादी ध्रुवीकरण’ मा आफ्नो राजनीतिक संकटलाई बिसाउन चाहन्छ ।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी समूह स्वयं एउटा दुःखदायी राजनीतिक कथाको पोको हो । माओवादी अध्यक्ष दाहालले दल र सरकारमा उचित स्थान नदिएर निराशाले छटपटिएका केही असन्तुष्ट र अक्षम माओवादीहरूको निराश समूहलाई लिएर नयाँ शक्ति बनाउने दाबीका साथ माओवादीबाट अलग भएका भट्टराईको राजनीतिक यात्रा पुनः दाहालकै दैलोमा पुगी भित्र पस्ने समय पर्खेर बसिरहेको छ । नयाँ शक्तिका थोत्रा चालकहरू घरबार चलाउनका लागि पालैपालो माओवादी केन्द्रमा फर्केपछि एक्ला भट्टराईको टेक्ने थलो उपेन्द्र यादवको जनता समाजवादी बनेको थियो । तर, उनले टेकेको ‘जनता समाजवादी’ बालुवाको ढिस्को पनि चाँडै खिस्कियो ।

वास्तवमा उनले गठन गरेको नेपाल समाजवादी समूह भनेको उनको खुट्टाले जमिन प्राप्त गर्न नसकेको पीडा मात्र हो । र, भट्टराई आफ्नो संकटलाई बिसाउनका लागि एउटा खुट्टा मात्र भए पनि टेक्न मिल्ने राजनीतिक जमिनको खोजीमा छन् । हाललाई त्यस्तो जमिन समाजवादी ध्रुवीकरण हुन सक्ने र आफ्नो संकटको मोचन हुन सक्नेमा उनी आशावादी छन् ।

तर दुर्भाग्यको कुरा, माथिका तीनै थरी समाजवादी दलका शीर्ष नेताहरूको संकटमोचनको आशा माओवादी केन्द्रका अध्यक्ष दाहालको निगाहमा केन्द्रित छ । व्यक्तिवाद, अवसरवाद र सत्तालिप्साबाट निर्देशित माओवादी केन्द्र स्वयं राजनीतिक इतिहासको दुःखद दुर्घटनाको सन्निकट छ । तर, दुखिया समाजवादीहरूको संकट बिसाउने अन्तिम थलो पनि यही निरीह माओवादीबाहेक अर्को शक्ति छैन ।

नेकपा (माले) हुँदै शक्तिशाली बनेको एमाले र नेकपा (चौथो महाधिवेशन) हुँदै शक्तिशाली बनेको माओवादी हाँगो विक्रम संवत्को तीसको दशकदेखि समानान्तर शक्तिका रूपमा क्रियाशील रहेका वामपन्थी दलहरूका विरासत हुन् । पार्टीको इतिहास, सांगठनिक शक्ति र नेतृत्वको महत्त्वाकांक्षाको कोणबाट २०७५ सालमा सम्पन्न यिनीहरूबीचको एकताको ऐतिहासिक अर्थ थियो ।

किनकि त्यति बेला माथिल्लो नेतृत्वमा जेजस्तो सत्ता स्वार्थ र व्यक्तिगत महत्त्वाकांक्षा रहेको भए पनि उनीहरूको पार्टी एकताले त्यसका नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई असीम आशा, उत्साह र आत्मबल दिएको थियो । उनीहरूले नेकपा नामको पार्टीलाई विशाल बनाए, सरकार शक्तिशाली बनाए र प्रधानमन्त्री त झनै पराक्रमी बनाए । तर, परिणाममा प्राप्त के भयो ? विशाल पार्टीभन्दा ठूला समस्या, शक्तिशाली सरकारभन्दा भीमकाय संस्थागत भ्रष्टाचार अनि पराक्रमी प्रधानमन्त्रीभन्दा संसद् विघटन, पार्टी विभाजन र सरकार बहिर्गमनमा ऐतिहासिक पराक्रमको प्रत्याभूति ।

झट्ट हेर्दा नेकपाको गठनले पार्टी र सरकार ठूलाजस्ता देखिए पनि यथार्थमा उनीहरूको पार्टी र सरकार ठूलो थिएन । पार्टी र सरकारको समस्या र भ्रष्टाचार ठूलो थियो । त्यसैले हालसालै घटित यस्तै घटनाहरूको थप भद्दा नक्कलका रूपमा कथित समाजवादी ध्रुवीकरणको देखासिकीले अब कुनै परिणाम नदिने निश्चित छ । माओवादी केन्द्रको मुख ताकेर बसेका संकटग्रस्त समाजवादी कम्पनीहरू आफैं दिवालिया बनिसकेका छन् । दिवालिया समाजवादी कम्पनीहरूको निजी संकटको मर्जरबाट कुनै परिणाम निस्किने सम्भावना हुँदैन । नयाँ राजनीतिक पुँजी, नयाँ कार्यक्रम र नयाँ व्यवस्थापकबाट मात्र नयाँ आशाको सञ्चार गर्न सकिन्छ ।

मुलुकको राजनीतिमा बनाइएको ‘अवसरवादको चौबाटो’ नै दलहरू बाँच्ने एक मात्र सुरक्षित बाटो हो भन्ने गलत बहसलाई पूर्णविराम दिनैपर्छ । विघटित नेकपा र त्यसको वरिपरि परिक्रमा गरिरहेका ‘वामपन्थी’ उपग्रह र अन्य उल्का पिण्डहरूलाई ‘समाजवादी ध्रुवीकरण’ को सैद्धान्तिक अमृतपान गराएर पुनः ब्युँताउने परिकल्पनाबाट कमसेकम मित्र घनश्याम भुसालचाहिँ बाहिर निस्किनुपर्छ । ‘सूर्यदेव’ आलोचनाले जसरी उनलाई एमाले पार्टीबाट मुक्त गर्‍यो, त्यसरी नै बेहोरिएको राजनीतिक अभिशापबाट उनी आफैं मुक्त हुनुपर्नेछ । किनकि भुसालले भन्दै आएको ‘दलाल पुँजीवाद’ र आजका समाजवादी, वामपन्थी र कम्युनिस्टहरूबीच कुनै भेद बाँकी छैन ।

आजको कुनै पनि दलले समाजवादी वा वामपन्थी विकल्प दिँदैन । चुनावदेखि चुनावसम्म, सत्तादेखि सत्तासम्म र भ्रष्टाचारदेखि भ्रष्टाचारसम्मको रोटेपिङमा घुमिरहेका यस्ता दलहरूको गठजोडबाट प्राप्त हुने बलले मुलुक र नागरिकलाई दुर्बल बनाउन मात्र भूमिका खेल्छ । हो, मित्र घनश्याम भुसालले भनेजस्तै आजको राजनीतिमा एउटा ‘जंगी पुनर्गठन’ को आवश्यकता छ । तर, त्यस्तो जंगी पुनर्गठन आफैं संकटग्रस्त कथित समाजवादी समूहबाट कदापि सम्भव छैन ।

किनकि आजका कम्युनिस्ट, वामपन्थी र समाजवादी समूहहरू यति धेरै बोझिला छन् कि तिनलाई बोक्न मान्छे होइन, गधा चाहिन्छ । ‘जुन कुरा हामी जान्दैनौं, त्यो कुरा हामी मान्दैनौं’ भन्ने मूढाग्रह बोकेको नेतृत्वको भारी बोक्न गधा बन्नुबाहेक अर्को विकल्प हुन्न । पार्टीको आन्तरिक लोकतन्त्र र मुलुकको लोकतान्त्रिक प्रक्रिया भनेका सहज आवागमनका लागि नदीमा बनाइएका पुलजस्तै हुनुपर्छ ।

तर, आजका पार्टीहरू सहज आवागमनका पुल रहेनन् । नेताले पुलमै घर बनाए र आवागमन अवरुद्ध बन्यो । या त पुलमा बनेका नेताका घर भत्काएपछि मात्र नदीको अर्कोपट्टि पुग्न सकिन्छ वा अर्को नयाँ पुल बनाउनुपर्छ । त्यसकारण कथित समाजवादी ध्रुवीकरण आफैंमा महासंकटको ध्रुवीकरण मात्र साबित हुनेछ ।

प्रकाशित : असार १, २०८० ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?