२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८३

‘अखण्ड भारत’ को सांस्कृतिक राजनीति

हिन्दु राष्ट्रवादको सांस्कृतिक राजनीति गरिरहेका संस्था, पार्टी र सरकारले सांस्कृतिक नक्सामार्फत चलाएको डिस्कोर्सको नेपथ्यमा हिन्दु साम्राज्य विस्तारको राजनीतिक स्वार्थ लुकेको दृश्य देख्न कठिन छैन ।
राजेन्द्र महर्जन

जसले ‘राम’ को नाममा, हिन्दु धर्म र सम्प्रदायको पक्षमा मोहनदास करमचन्द गान्धीलाई गोली हानेर मारे, उनको सपना थियो— ‘अखण्ड भारतको निर्माण’ । अखण्ड भारतको नाममा हिन्दु साम्राज्य विस्तार गर्ने मिसनमा लागेका मराठी ब्राह्मण नाथुराम गोड्सेले त्यो सपना पूरा भएपछि मात्रै आफ्नो अस्तु सिन्धु नदीमा बगाइयोस् भन्ने अन्तिम इच्छा जाहेर गरेका थिए । सन् १९४८ मा गोली हानी गान्धीको हत्या गरेका गोड्से आबद्ध रहेको राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) र त्यसको राजनीतिक एकाइ भारतीय जनता पार्टी (भाजपा) को मूल लक्ष्य हो— सन् २०२५ सम्म अखण्ड भारतको निर्माण गर्नु ।

‘अखण्ड भारत’ को सांस्कृतिक राजनीति

संसारकै सबैभन्दा ठूलो संगठनसम्म मानिन थालेको आरएसएस र यो संघ परिवारको छातामुनि रहेका भाजपा, विश्व हिन्दु परिषद् र बजरंग दल लगायतका सयवटाभन्दा बेसी संघसंस्था आगामी दुई वर्षभित्र गोड्सेको सपना साकार पार्न तल्लीन भएर लागेका छन्, हिन्दुत्वको नाममा राष्ट्रवादी सांस्कृतिक राजनीति गर्दै ।

गोड्सेको सपनाको बीजारोपण सन् १९२५ मा आरएसएसको स्थापनादेखि नै भएको हो, आरएसएसका विचारक तथा नेता विनायक दामोदर सावरकरले ‘माई ट्रान्सपोर्टेसन फर लाइफ’ पुस्तक लेखनमार्फत त्यस संगठनभित्र हिन्दु राष्ट्रवादको विषवृक्ष रोपेदेखि फैलिएको हो । र, संघ परिवारले ब्रिटिस साम्राज्यबाट स्वतन्त्र हुँदा अखण्ड भारत निर्माण गर्नुपर्ने नारा दिँर्दै आजाद भारतलाई आफ्नो धर्म–सम्प्रदायका आधारमा राष्ट्र बनाउने अभियान चलाएपछि उल्टै विभाजनकारी द्वि–राष्ट्रको आधार बनेको हो ।

‘अखण्ड भारत अमर रहोस्’

सावरकर र उनको संघ परिवारले अखण्ड भारतको नारालाई कहिल्यै त्यागेको देखिएन, बरु व्यक्ति र संघको नारालाई राज्यको नीति र सरकारको लक्ष्यका रूपमा स्थापित गर्न भरपूृर वैचारिक र सांगठनिक काम गरेको पाइन्छ । आफूलाई फाँसीको सजाय भएपछि अदालतमा ‘अखण्ड भारत अमर रहोस्’, ‘हिन्दु, हिन्दी, हिन्दुस्तानको जय होस्’ भर्न्दै गोड्सेले लगाएको नारा अचेल भारतको राज्य र सरकारबाट गुन्जिँदै छ । र, पछिल्लो चरणमा संघ परिवारका प्रमुख मोहन भागवतले सन् २०१४ देखि उठाउँदै आएको नेपालदेखि थाइल्यान्डसम्मको अखण्ड भारत (ग्रेटर इन्डिया) निर्माणको विचारलाई अब भारतको नयाँ संसद्भवनमा झुन्ड्याइएको मुरल (भित्तेचित्र) बाट कुनै न कुनै रूपमा मूर्तरूप दिने कोसिस भइसकेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पुरोहितहरूको भीडबीच ‘सेंगोल’ (धर्मदण्ड) स्थापित गर्दै नयाँ संसद्भवन उद्घाटन गरे । मोदीले अखण्ड भारतको नक्सासामु उभिएर उद्घोष गरे, ‘नयाँ बाटोबाट हिँडेरै नयाँ प्रतिमान गढ्ने काम हुन्छ । आज नयाँ भारत नयाँ लक्ष्य तय गर्दै छ ।’ संघका सबैभन्दा योग्य स्वयंसेवक र पूर्वप्रचारकबाट मुख्यमन्त्री र प्रधानमन्त्रीसमेत बनेका मोदी र संघ सञ्चालक मोहन भागवतहरूले देखेको ‘नयाँ भारत’ अखण्ड भारत हो ।

अल्पसंख्यकविरोधी भाष्य

पत्रकार युवराज घिमिरेको विचारमा, ‘महात्मा गान्धीका हत्यारा नाथुराम गोड्सेले सपना देखेको अखण्ड भारतको नक्सालाई नै आरएसएस र विश्व हिन्दु परिषद्जस्ता कट्टर हिन्दुत्ववादी संस्थाले आफ्नो आदर्श बनाएका छन् । यो नक्सामा नेपालसहित बंगलादेश, पाकिस्तान र भुटानको छुट्टै राजनीतिक अस्तित्वसमेत स्वीकार गरिएको छैन ।’ त्यसको खाँटी व्याख्या गर्दै आएका मोहन भागवतका अनुसार, सन् १९२५ देखि बनाउन खोजिएको अखण्ड भारत वा ग्रेटर इन्डिया हिन्दु धार्मिक पहिचानमा आधारित हुन्छ, जुन राष्ट्रमा बस्ने हरेक व्यक्ति हिन्दु हुन्छन् । भागवतका संघी नेता र विचारकहरू माधव सदाशिव गोलवलकर, केशव बलिराम हेडगेवार र सावरकरहरूले करिब एक शताब्दीअघिदेखि व्याख्या गरेको अखण्ड भारत वा हिन्दु राष्ट्र भनेको बहुसंख्यक निवासीद्वारा बन्छ–बनाइन्छ । जबकि अल्पसंख्यक, विशेष गरी मुसलमानहरूले आफ्नो अल्पसंख्यक स्थिति सहनैपर्छ, आफ्ना अधिकारको मान्यता बहुसंख्यकको उदारता र कृपामाथि निर्भर हुन्छ ।

हिन्दु राष्ट्र वा अखण्ड भारतको अवधारणा निर्माण गर्नेमध्ये एक गुरुजी गोलवलकरले ‘वी अर आवर नेसनहुड डिफाइन्ड’ किताबमा सन् १९३९ मै राष्ट्रनिर्माताको अहंकारसहित खरो शब्दमा घोषणा गरेका थिए, ‘एक शब्दमा, उनीहरू (मुसलमानहरू) ले विदेशी हुन छाड्नुपर्छ वा देशमा पूर्ण रूपमा हिन्दु राष्ट्रको अधीनमा बस्नुपर्छ । उनीहरूले कुनै दाबी नगरून्, उनीहरू कुनै विशेषाधिकारका पात्र नहोऊन् । कुनै प्राथमिकता दिने व्यवहार टाढैको कुरा भयो, नागरिक अधिकार पनि हुँदैन ।’

भागवत् होऊन् या मोदी, सबैजसो संघीहरूका नजरमा आफ्नो देशमा सयौं वर्षदेखि बस्दै आएका मुसलमान समुदायसमेत मुगल आक्रमणकारीहरूका उत्तराधिकारी वा जबर्जस्ती इस्लाम धर्मावलम्बी बनाइएका मूल हिन्दु हुन् । उनीहरूलाई विदेशी, विधर्मी, म्लेच्छका रूपमा हेर्ने संघीहरूको अखण्ड भारतमा इसाई, बौद्ध, पारसी र अन्य अल्पसंख्यकलाई गरिने व्यवहारको झलक ‘वी अर आवर नेसनहुड डिफाइन्ड’ मा प्रस्ट भाषामा लेखिएको छ, ‘राष्ट्र र यसको संस्कृतिको पवित्रता कायम राखिछाड्न जर्मनीले देशबाट शामी जाति यहुदीहरूलाई मेटाएर संसारलाई स्तब्ध गर्‍यो । यहाँ राष्ट्रको गौरवको सर्वोच्च अभिव्यक्ति भयो ।’

कल्पना गरिएको राष्ट्र

राजनीतिशास्त्री बेनेडिक्ट एन्डर्सनले भनेझैं, संघीहरूका आँखामा राष्ट्र भनेको एक धर्मले जोडेको काल्पनिक समुदाय हो; देश वा राज्यको जस्तो कुनै राजनीतिक सीमा र सार्वभौमिकता हुन पनि सक्छ, नहुन पनि सक्छ । उनीहरूले कल्पना गरेको अखण्ड भारत नामक राष्ट्रमा देश–देशको राजनीतिक सीमा र राज्यको सार्वभौमिकताभन्दा एकल धार्मिक पहिचान प्रबल हुन्छ । ऋग्वेदकालीन आर्य कबिलाका रूपमा देखिएको भरत जन वा वंशलाई आज सिंगो देश, पूरै उपमहाद्वीप र दक्षिण एसिया मात्रै होइन, आधा एसिया ढाक्ने खालको राष्ट्रका रूपमा अखण्ड भारतको कल्पना गर्न र आफ्नो जातीय–धार्मिक वर्चस्व विस्तारको सपना बुन्न कम महाभारत पक्कै भएको थिएन ।

इतिहासकार रामशरण शर्माका अनुसार, सिंगो देशलाई भरत नामक एक प्राचीन वंशका नाममा भारतवर्ष (भरतहरूको देश) नाम दिँदै, यहाँका निवासीलाई भरत सन्तति मान्दै प्राचीन कवि, दार्शनिक र शास्त्रकारहरूले यस देशलाई अखण्ड एकाइका रूपमा देखे । उनीहरूले हिमालयदेखि समुद्रसम्मको भूमिलाई सार्वभौम (सकल देशव्यापी) राजाद्वारा शासित क्षेत्रका रूपमा कल्पना गरे । कतिसम्म भने, हिमालयदेखि कन्याकुमारीसम्म, पूर्वमा ब्रह्मपुत्रको उपत्यकादेखि पश्चिममा सिन्धु नदीपारिसम्म आफ्नो राज्य फैलाउने चक्रवर्ती राजाहरूको यशोगान व्यापक रूपमा गाए । उनीहरूले भारतवर्षको जेजति कल्पना–जपना–तपना गरे पनि त्यसको कुनै विशेष इतिहास थिएन, कुनै राजनीतिक सीमा र सार्वभौमिकताको अभ्यास थिएन ।

दक्षिण एसियामा प्रवेश गरेको करिब ३५ सय वर्षपछि भरत वंशको महाभारतलाई विस्तार गर्दै अखण्ड भारतको त्यस्तो भाष्य बनाइएको छ, जुन सबैजसो गैरहिन्दु नस्ल, वंश, जाति, समुदाय, राष्ट्र र देशका लागि भारीभरकम हुँदै छ । अखण्ड भारतको नक्सांकन र संसद्जस्तो राजनीतिक सार्वभौमसत्ताको अभ्यास गर्ने स्थानमा त्यसको संस्थापनको विरोध भएपछि त्यो ‘राजनीतिक नक्सा नभएको’ प्रस्टीकरण दिइँदै छ । ‘राष्ट्र’ (नेसन) र ‘राज्य’ (स्टेट) को भिन्नता तथा राष्ट्र–राज्य (नेसन–स्टेट) बारे सामान्य राजनीतिक ज्ञान हुनेहरूले ठम्याउन सक्छन्— राष्ट्रको राजनीतिक सिमाना, भौगोलिक क्षेत्र र सार्वभौमिकताको अभ्यास नहुनु अनौठो होइन ।

पक्कै पनि भारत र नेपाल सरकारले भनेझैं यो मूलतः सांस्कृतिक नक्सा हो, जसको ऐतिहासिकता भने सन्दिग्ध र अविश्वसनीय छ । आरएसएससँग जोडिएका संघ–संस्था, भाजपा र मोदी सरकारले अखण्ड भारतका नाममा अहिले तत्काल विस्तार गर्न खोजेको ‘देश’ को भौगोलिकता वा राज्यको भूमि होइन, अखण्ड भारत नामक ‘राष्ट्र’ प्रति सम्मतिको भावभूमि हो । अखण्ड भारतको भौगोलिक नक्सासहित गरिएको करिब एक शताब्दी लामो प्रचारबाजीले देखाउँछ, अहिले देशविदेशमा त्यस्तो भावभूमि बनाउँदै छ, अरू समुदायको अस्मिता र देशको राजनीतिक पहिचानको अतिक्रमणलाई स्वीकार्यता पनि प्रदान गर्छ ।

‘विश्व हिन्दु सम्राट्’ को नीति

हिन्दु राष्ट्रवादको सांस्कृतिक राजनीति गरिरहेका संस्था, पार्टी र सरकारले सांस्कृतिक नक्सामार्फत चलाएको डिस्कोर्सको नेपथ्यमा हिन्दु साम्राज्य विस्तारको राजनीतिक स्वार्थ लुकेको दृश्य देख्न कठिन छैन । प्रधानमन्त्री पुष्पकमल दाहालले जस्तै गेरु वस्त्र धारण गरी महाकालेश्वरको लिंगपूजा र पशुपतिनाथको आराधना गर्न थालेपछि त्यस्तो दृश्य देख्न पनि नदेखिने दृष्टिदोषको समस्या उत्पन्न हुन्छ । सत्ता–स्वार्थ र सांस्कृतिक राजनीतिमा सादृश्यता भएपछि दृष्टि नै फेरिने तथ्य शाह–राणा शासनदेखि लोकतान्त्रिक गणतन्त्रसम्म प्रस्टै देखिएको छ ।

भुवनलाल जोशी र लियो ई. रोजका अनुसार, आरएसएससँग सम्बद्ध र सावरकर नेतृत्वको अखिल भारत हिन्दु महासभाले नेपाली शासकहरूलाई ‘विश्वको एक मात्र हिन्दु राष्ट्रका लागि’ सहयोग र समर्थन गर्ने तथा आफूलाई शुद्ध हिन्दु ठान्ने शाह–राणा शासकहरूले आफ्नो सत्ता–शक्ति टिकाउन भारतलाई हिन्दु राष्ट्र बनाउन क्रियाशील रहेका संघीहरूको प्रचारयन्त्र प्रयोग गर्ने काम गरेका उदाहरणको कमी छैन । ‘बडे गौ–ब्राह्मण र धर्मका एक मात्र स्वतन्त्र रक्षक राज्यका हिन्दु शासक भनी राणाहरूलाई हिन्दु महासभा गर्ने खुबै समर्थन’ गर्नेबारे टिप्पणी गर्दै धर्मरत्न यमिले ‘नेपालका कुरा’ मा प्रश्न उठाएका थिए, ‘राणाहरूलाई हिन्दु धर्मका संरक्षक, गौरव र हिन्दु शिरोमणि राजालाई मानी हिन्दु महासभाको सभापतिको पदसम्म दिनामा शान ठान्ने हिन्दु महासभाका धर्मपरायण भाइहरू सोच्नुस् कि नेपालमा कसको राज रहेछ ?’

नेपालका शासकहरूलाई हिन्दु महासभाले कहिले सभाकै सभापति, कहिले धर्मका संरक्षक, कहिले विश्व हृदयसम्राट् त कहिले विश्व हिन्दु सम्राट्को उपाधि दिएर हिन्दु राष्ट्र कायम गराइराख्ने र आफ्नो बृहत् स्वार्थ रक्षार्थ सहयोग जुटाउने कामको ऐतिहासिक रूपरेखा नै देखिन्छ । राणा प्रधानमन्त्री मोहनशमशेरबाट बच्चामै राजा बनाइएका ज्ञानेन्द्र शाहले दोस्रो पटक राजा भएका बेला २०६० सालमा विश्व हिन्दु महासंघले चढाएको ‘विश्व हिन्दु सम्राट्’ को उपाधि ग्रहण गर्दै अखण्ड भारतवालासँग गरेको सहकार्य विस्मृतिको गर्भमा गएको छैन ।

भारतका प्रदेश–प्रदेश धाउँदै भाजपाका मुख्यमन्त्रीलाई दर्शनभेट दिँदै हिँडेका ज्ञानेन्द्र शाह होऊन् या भारतका कट्टरपन्थीहरूले व्यापक रूपमा उचालेको हिन्दुत्वको वैचारिकीलाई उनका पिता राजा महेन्द्र, उनीहरूले हिन्दु राष्ट्रको घोषणाका साथ गरेको राजनीतिक–सांस्कृतिक प्रयोगको पृष्ठभूमिमा राजसंस्था र महासभासँगै आरएसएससँगको बलियो सञ्जाल र सहकार्य उजागर हुन सक्छ । ‘असिल हिन्दुस्थाना’ बनाउने क्रममा नेपाललाई पहिले नै हिन्दु राष्ट्रको संवैधानिक घोषणासहित करिब आधा शताब्दीदेखिको अभ्यासले आरएसएस, तिनको हिन्दु राष्ट्रवाद र अखण्ड भारत निर्माणको सपनालाई मलजल गरेकामा शंका छैन ।

भारतीय सपना र रणनीतिको प्रतिवाद

सत्ता–स्वार्थ र धर्म–जातिको हितका कारण कति हदसम्म असंवेदनशील होइन्छ, नेपाली शासकका विचार–व्यवहारबाट थाहा हुन्छ, विशेषतः आरएसएसद्वारा प्रायोजित सपना र रणनीतिका सन्दर्भमा । ‘न्हि काःगु नं मस्यू, न्हाय् ध्यंगु नै मस्यू’ (सिँगान पुछेको पनि थाहा छैन, नाक काटेको पनि थाहा छैन) भन्ने नेपालभाषाको उखान उनीहरूका हकमा लागू हुन्छ । आरएसएसको हिन्दु राष्ट्रवादले फैलाएको अखण्ड भारत निर्माणको सपना र रणनीतिले आफ्नो सत्ता–स्वार्थसँगै हिन्दु र हिन्दु राष्ट्रकै प्रवर्द्धन गर्नेछ भन्दै दंग हुँदै बस्दा धेरै कुरा गुम्ने खतरा हुन सक्छ । ‘यो त राजनीतिक होइन, सांस्कृतिक र ऐतिहासिक नक्सा मात्रै हो नि’ भन्दै आनन्दसँग बस्दा समयान्तरमा आफूले शासन गर्ने भूमि र भावभूमि नै गुम्ने खतरालाई समेत हेक्का नराखिएको तथ्य टीठलाग्दो छ ।

आरएसएसको सपना र रणनीतिको प्रतिरोध गर्नु भनेको जस्तालाई तस्तै गर्नु होइन, ‘ग्रेटर इन्डिया’ को नक्सा टाँग्ने भाजपा सरकारलाई देखाउन आफ्नो कार्यालयमा ‘ग्रेटर नेपाल’ को नक्सा टाँस्नु होइन । इँटाको जवाफ पत्थरले दिने बालेन शैलीले नेपाली र नेपाली शासकहरूलाई वीर मात्रै होइन, महावीर नै बनाउला, तर राजनीतिक र कूटनीतिक मामिलामा बुद्धू बनाइराख्ने खतरा पनि हुन्छ । कुनै ऐतिहासिकता नभएको भारतवर्ष वा अखण्ड भारतको नक्साजस्तै, गोर्खा साम्राज्यले केही वर्ष कब्जा गरेका उत्तरीबाहेकका भूभाग नियोजित रूपमा देखाइएको ‘ग्रेटर नेपाल’ को पुयाली ख्वाबले रणनीतिक रूपमा पनि नेपालको सार्वभौमिक र भौगोलिक अखण्डतालाई सुरक्षित गर्दैन ।

‘ग्रेटर नेपाल’ नक्सा प्रदर्शन गर्ने प्रतिक्रियात्मक जवाफले भाजपा सरकार र भारतको बलमिच्याइँका कारण जन्मिने इन्डोफोबिया (भारत–घृणाको उन्माद) को तुष्टि पनि होला, इन्डोमेनिया (भारत–प्रेमको उन्माद) लाई टक्कर दिइएको मानिन पनि सक्ला, तर सुधीर शर्माले भनेझैं, ‘अखण्ड भारत’ का नाममा सुरु भएको विस्तारवादी बलमिच्याइँको प्रतिवाद भनेको नेपाल सरकारले भारत सरकारलाई कूटनीतिक नोट पठाउनु र नक्साप्रति नेपालको असहमति र विरोध औपचारिक रूफमा दर्ज गर्नु हो ।

प्रकाशित : जेष्ठ ३०, २०८० ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?