कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेसको वामपन्थीकरण सम्भव छ ?

कांग्रेस बदल्नु भनेको पार्टीमा आबद्ध नेता–कार्यकर्ताको ठूलो पंक्तिलाई समाज रूपान्तरणको जटिल प्रक्रियामा इमानदारीपूर्वक र सेवाभावसहित समर्पित तुल्याउनु हो ।
उज्ज्वल प्रसाई

अनौपचारिक संवादका क्रममा एक दिन कांग्रेस नेता प्रदीप गिरिले सोधे, ‘केही वर्षपहिलेसम्म समाजको समग्र रूपान्तरण गर्छु भनेर क्रान्तिमा ज्यान आहुति दिन तयार हुनेमध्ये एक हजारजति मान्छे पनि बाँकी छैनन् अहिले ?’

कांग्रेसको वामपन्थीकरण सम्भव छ ?

शब्द ठ्याक्कै यिनै होइनन्, आशय यही थियो । ठोस संख्याको अपेक्षा गरेर सोधेका थिएनन् उनले यो प्रश्न । इमानदार प्रयत्न गरे समाज रूपान्तरण सम्भव छ भनेर विश्वास गर्ने, त्यस्तो उपक्रममा सहभागी हुन मिहिनेत गर्ने, विचार र ज्ञानमा भरोसा

राख्ने, पढ्ने र सोच्ने, लेख्ने र विमर्श गर्ने अनि आम जनतासँगको संवादमा क्रियाशील रहने मान्छेको खडेरी औंल्याउन उनले ‘रेटोरिकल’ प्रश्न गरेका थिए । बालकृष्ण खाँडले प्रतिनिधित्व गर्ने पछिल्लो पुस्ताको पतनको जर्जर यथार्थले गिरिको प्रश्न ज्यादा सान्दर्भिक बनाएको छ ।

गिरि रहेनन्, कांग्रेस र कम्युनिस्ट नामधारी पार्टीहरू छँदै छन् । गहिरिएर हेर्नेले देख्छ, दललाई दोहन–संयन्त्रका रूपमा बुझ्ने र सोही अनुसार व्यवहार गर्नेको बहुमतले पार्टी कब्जा गरेको छ । यसभन्दा फरक सोचेर क्रियाशील राजनीतिमा लाग्नेहरू अल्पमतमा छन्Ù बचेका जति शुभेच्छुक छन्, ती सबै निष्क्रिय र निराश छन् । लोकतन्त्रप्रतिको साँचो सम्मान, समताको आकांक्षा र समाजको न्यायपूर्ण रूपान्तरणका लागि सक्रिय हस्तक्षेपलाई राजनीति मान्ने हो भने, कांग्रेस र कम्युनिस्ट पार्टीहरू मृतप्रायः हुन् । केही सातापहिले प्राध्यापक कृष्ण खनालले लेखको शीर्षकबाटै अप्ठ्यारो तर जरुरी प्रश्न गरेका थिए, ‘नेपाली कांग्रेस विघटन किन नगर्ने ?’ उनको ‘विघटन गरिदिए हुन्छ’ मा मौजुदा कांग्रेस अस्तित्वमा रहनुको तुक छैन भन्ने आशय थियो । त्यसैले सोच्न जरुरी छ, रूपान्तरित कांग्रेस कति सम्भव छ ?

कांग्रेस बदल्नु भनेको पार्टीमा आबद्ध नेता–कार्यकर्ताको ठूलो पंक्तिलाई समाज रूपान्तरणको जटिल प्रक्रियामा इमानदारीपूर्वक र सेवाभावसहित समर्पित तुल्याउनु हो । कांग्रेस नेता गगन थापा भन्दै छन्— नेतृत्वमा हुनेहरू उदाहरण बन्न सके, पार्टीको रूपान्तरण सम्भव छ, मूल नेतृत्व सर्वथा कमजोर भएकाले पार्टी पतनको ओरालोमा लागेको हो । नेतृत्व परिवर्तन गर्न आफूले कुनै दुस्साहस वा त्याग गर्नुपर्ने भए त्यसका लागि तयार रहेको आशयसहित उनी बोलिरहेका छन् । थापाको बोलीमा सुझबुझ छ, साथै हतारो र आवेग पनि । कहिल्यै नभोगिएको संकटमा फसेको अनुभूति उनको भनाइमा अभिव्यक्त भएको छ । उनको आशय बेठीक छैन । मुख्य नेतृत्वमा बदलाव ल्याउनु आवश्यक हो, तर सोच्नैपर्ने अर्को जटिल प्रश्न छ र त्यो सधैं छुटिरहेको छ । सो प्रश्न गिरिले उठाएकै आशंकाको अर्को रूप हो ।

उपभोगको चरम आकांक्षी बनेको समाजको उल्लेख्य हिस्साले सार्वजनिक स्रोतको दोहनबाट कमाइने सम्पत्ति र त्यसको आडमा प्रदर्शन गरिने रवाफलाई वैधता प्रदान गरेको छ । त्यसरी आम वैधता आर्जन गर्नेहरू दलका नेता–कार्यकर्ता र ती वरपर भएका मान्छे नै हुन् । हिजै मात्र त हो, भ्रष्टाचारको कसुरमा प्रमाणसहित थुनिएको नेता रिहाइ हुँदा फूलमालाले पुरेर लावालस्करसहित कुनै समर जितेझैं झाँकी प्रदर्शन गरेको । ती माला उन्ने को हुन् ? ती लावालस्कर र जयजयकार गर्ने को हुन् ? यसबारे गहिरोसँग नसोची पार्टी रूपान्तरण सम्भव होला ? कस्टडीमा जाँदै गर्दा खाँडले लगाएको सर्जिकल मास्कपछिल्तिर लज्जाको पातलै भए पनि सतह थियो होला, टोपबहादुर रायामाझीले मुस्कुराउँदै हात हल्लाएर देखाएको विजयभावमा के थियो ? त्यो हात कसका लागि हल्लाइएको थियो ? सारा लोकलाई गिज्याउँदै उनले हल्लाएको हातलाई आशाका दृष्टिले हेर्नेहरूको संख्या कति छ र ती को हुन् ?

सतहमै हेरे पनि देखिन्छ, उपभोगका सबैभन्दा ठूला आकांक्षी पार्टीका नेता र कार्यकर्ता छन् । खाँडस्तरका नेता मात्रैको सवाल होइन यो, नगर र वडास्तरमा पार्टीको ट्याग झुन्ड्याएर हिँडिरहेका नयाँ–पुराना कार्यकर्ताले आफ्नो पहिचान र अस्तित्व नै दोहनमार्फत कमाएको सम्पत्तिका बलमा स्थापित गरेका हुन्छन् । आवरणमा सेवाभावको कताकति संकेत देखा परे पनि, सतहको पातलो पर्दा उक्काएर हेरे त्यहाँ दोहनकै लामो सिलसिला देखिन्छ । ठगी, कमिसन, तस्करी, नगर र वडामा चल्ने भागबन्डा, जग्गा दलाली, व्यापारीका ‘लाइन’ मिलाएर असुल्ने पैसा, कर्मचारीसँगको हिमचिमबाट सोहोरिने उठ्तीपुठ्ती — यी सबैमा नेता–कार्यकर्ताको सक्रिय संलग्नता हुन्छ । टिकटकजस्ता विद्युतीय सञ्जालबाट उदाएका रवि लामिछानेको रापताप दिन–प्रतिदिन बढेको थाहा पाएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तिर सरुवा खोजिरहेकाहरूमा दोहनको रसास्वादन गरिसकेकाहरूकै ठूलो हिस्सा छ ।

दोहनमा लहसिएका नेता–कार्यकर्ताको पंक्तिका लागि बीपी र पुष्पलाल ‘ब्रान्ड नेम’ हुन्, विचार होइनन् । आर्थिक प्रगति र विकास भनेको आफूले गर्न पाउने उपभोग्य सामान र सेवाको निरन्तर प्रवाह हो, आम मान्छेको प्रतिष्ठा र आत्मविश्वास उँचो बनाउने सवाल होइन । प्रतिष्ठित जीवन भनेको सुनका सिक्री र औंठी भिरेर सुकिला मोटरमा सयर गर्नु हो, ज्ञानसम्पन्न, शिक्षित र विवेकी हुनु होइन । समाजप्रति जिम्मेवार हुनु भनेको दौरा, सुरुवाल र ढाका टोपीमा सजिँदै फोटो खिचेर फेसबुकमा पोस्ट गर्नु हो, विभेद र वञ्चनारहित समाज निर्माणमा एउटा ठोस पाइलो अघि सार्नु होइन । गहकिला खोज र अनुसन्धानमा आधारित किताब पढ्नु र तीबारे विमर्श गर्नु पार्टीको काम गर्नु हुँदै होइन । आफूभन्दा उपल्लो दर्जाको र आफ्नो वर्तमान गुटको नेताको चाकडी गरेर फेसबुकमा ‘लेख्नु’ नै पार्टीका लागि महत्त्वपूर्ण काम गर्नु हो । थोरबहुत सीप र क्षमता भएकाले त्यही विद्युतीय सञ्जालमा कुनै नेताको हितमा झुटो प्रोपगान्डा सामग्री नीर्माण गर्नु नै पार्टीका लागि बुद्धिको उपयोग गर्नु हो ।

शिक्षा र स्वास्थ्यका पेचिला सवाल, प्रदूषण र प्रकृतिका जटिल प्रश्न, राज्यको चरित्रमाथि गहिरो विमर्श, उत्ताउलो राष्ट्रवादभन्दा परको गहकिलो भूराजनीतिक छलफलमा प्रवेश गर्ने एकरत्ती रुचि नभएको ठूलो पंक्ति नै मौजुदा दलको ट्यागधारी जत्था हो । त्यसैले जरुरी सवाल सबै नागरिकको ससानो समूहले आफ्नै मसिनो पहलमा उठाउनुपरेको छ । आम नागरिक ठगहरूबाट हेपिँदा होस् वा धूलोधूवाँको पर्दाले सहर छोपेर सास फेर्न गाह्रो बनाउँदा, पार्टीका नेता–कार्यकर्ता कतै देखा पर्दैनन्, तिनका भ्रातृ भनाउँदा संगठनहरू कतै अलप हुन्छन् र संगठनमा आबद्ध वा कुनै लाभ उठाउन पल्केका पार्टीका बुद्धिजीवी सबै शक्तिकेन्द्रका ढुकुवा बन्छन् ।

पार्टी रूपान्तरणमा यस्ता नेता–कार्यकर्ता कहिले र कसरी सहभागी होलान् ? वा, कुनै उपायले सभापति फेर्न सके यी सबैको एकैसाथ रूपान्तरण प्रक्रिया द्रुत भइहाल्ला ? सबै नेता–कार्यकर्तालाई एकसरो दीक्षित गरिसक्छु अनि पार्टीको नेतृत्व फेरुँला भनेर कम्मर कस्नु असम्भव होला, तर रूपान्तरणको काल्पनिकीमा आम नेता–कार्यकर्तामा फैलिएको विचारहीनता र ठेट्नोपनलाई प्रश्नका रूपमा स्वीकार नगर्दा त्यो प्रयत्न अपुरो र अर्थहीन हुन्छ । रूपान्तरणको सुरुआत गर्न पार्टीको शिरमै प्रहार गर्नु उपयुक्त ठानिएको हुन सक्छ, तर संगठनका सबै धमनीमा फैलिएको विषले शिरलाई कहिलेसम्म सग्लो छोडिराख्ला ? रूपान्तरणको बृहत् र सुदीर्घ काल्पनिकी निर्माण गरेर केही दुस्साहसिक काम नथाल्दा वर्तमानको आवेग र हतारो कुनै ठोस प्रभाव नपारी सेलाउनेछ । त्यो संकटलाई कामचलाउ परिवर्तनको अवसर बनाउने ताहुरमाहुर मात्र साबित हुनेछ ।

कांग्रेस पतनको सिलसिलालाई कुनै हस्तक्षेपबिना द्रुत बनाउँदा पो नयाँ र असल सुरुआत हुने ठाउँ बन्ला कि ? सोच्न यसरी पनि सकिन्छ । जे छिटछिटो गल्दै छ र झर्दै छ र त्यो सकिने निश्चित छ, त्यसलाई बचाउने अर्थहीन प्रयत्न गरेर पछुताउनुको के अर्थ ? यसरी सोच्नेहरूको संख्या पनि दिन–प्रतिदिन बढ्दै गइरहेको छ । तर, कांग्रेसका नाममा लेखिने निधनालेखमा केवल पार्टीका केही भ्रष्ट नेताको फेहरिस्त मात्र हुनेछैन । त्यहाँ सम्भवतः राजनीतिक र सामाजिक आन्दोलनप्रतिको तीव्र अविश्वसनीयता लेखिनेछ, विचार र सिद्धान्तको अर्थहीनता साबित गरिनेछ, रूपान्तरणका कार्यक्रम र योजना लगायत धेरै सवालको सामूहिक अन्त्येष्टिको खाका पनि लेखिनेछ । साथै, भएको थोरैतिनो लोकतान्त्रिक उपलब्धिका नामको मृत्युपत्रसमेत त्यो बन्न सक्नेछ । लोकतन्त्रद्वेषीका लागि मैदान पूर्णतया खाली गरिएको उद्घोष पनि त्यही निधनालेख हुन सक्नेछ । त्यसैले कांग्रेसको रूपान्तरण नै अहिलेका लागि सोच्नैपर्ने बौद्धिक प्रश्न हो ।

निराशाको विन्दुमा फेरि एक पटक उनै प्रदीप गिरितर्फ फर्कौं । माथि उल्लिखित संवाद अघि बढ्दै जाँदा, उनले वामपन्थमा रुचि भएका युवाबारे चासो व्यक्त गरे । परिवार र प्रविधि, अर्थ र पर्यावरण, शिक्षा र स्वास्थ्यजस्ता अनेक विषयबारे आलोचनात्मक ढंगले सोचिरहेका तन्नेरीबारे गफ गर्न खोजे । जे छ, त्यसभन्दा राम्रो गर्ने मनसुबासहित यस्ता पेचिला प्रश्नमा प्रवेश गर्ने साहस देखाउनु नै वामपन्थ हो । गिरिको आशयलाई बुझ्ने गगन थापाजस्ता कांग्रेसीले विभिन्न पेचिला विषयमा चिन्तनरत देशभित्र र बाहिरका युवासँग घनीभूत र उपयोगी संवाद सुरु गर्ने सृजनात्मक कार्यक्रम सोच्न सक्दैनन् ? ती वामपन्थीमा कोही अराजकतावादमा रुचि भएका होलान्, कोही मार्क्सवाद र माओवादका अध्येता होलान्, कोही नवमार्क्सवादमा चिन्तनरत वा कोही गान्धीवादी । कम्तीमा, यसरी सोच्ने तन्नेरीहरू दोहनचक्रको दाँती हुँदैनन्, सुनका सिक्री र औंठी प्रदर्शनका भोका हुँदैनन् । नेतृत्व कौशल प्रमाणित गरेर संवादको खुला स्पेस खोल्न सके, त्यस्ता युवा बृहत् संवादमा सहभागिता जनाउन पक्कै नअनकनाउलान् । यस्ता युवालाई कांग्रेसको औपचारिक सदस्य बनाउने लालसा नराखी संवादमा सहभागी गराउन सकिँदैन ? सभापति फेर्ने हतारो र आवेगबीच पनि नेपाली कांग्रेस पार्टीलाई कम्तीमा केही महिनाका लागि नै भए पनि एउटा खुला र चलायमान विमर्श डबलीका रूपमा अघि सार्न नसकिँदो हो ?

तलतलसम्म फैलिएको दोहनको विषलाई मत्थर बनाउन सनातनी कांग्रेसका नजरमा विरल देखिने यी नयाँ युवाहरूको आवाज बन्न सक्छ । यिनले उठाउने नयाँ राजनीतिक सवालले संगठन सञ्चालनको पुरानो ढाँचा भत्काउने उत्साह अहिले निष्क्रिय र निराश बसेका पुराना निष्ठावान् कांग्रेसीमा भरिदिने सम्भावना पनि हुन्छ । अरू केही नभए, गगन थापाकै पुस्ताका केही नेता — जो अद्यापि भरोसालायक छन् — को वामपन्थीकरण सम्भव तुल्याउनेछ । बाँकी रह्यो एउटै प्रश्न— गगन थापा र विश्वप्रकाश शर्माहरूलाई कांग्रेसले अलि पुरानो विगतमा धारण गरेको वामपन्थी रूपदेखि कतिको डर लाग्छ ? वामपन्थजस्तो शब्द र यसले संकेत गर्ने आशय स्वयं तर्साउने भूत बन्दैन भने, बाँकी रहेको ऊर्जा खपत गर्ने त्यता हो कि ? गिरिको प्रश्न स्वयं वामपन्थी थियो ।

प्रकाशित : जेष्ठ १२, २०८० ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?