कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

मन्साएको कालो भाले

ड्रग खानेले आफ्नो पार्टनर कहीा गएर पनि चिनेजस्तै भ्रष्टाचारीले कुनै स्थिति–क्षेत्रमा पनि साथी पाइहाल्दो रहेछ । खोलाको पानीले उक्लिने किनारा पाएजस्तै भ्रष्टाचारीले खाने बाटो पाइहाल्दो रहेछ । 
महेन्द्र पी‍. लामा

काठमाडौँ — उमेर निकै ढल्क्यो, देखेका–भोगेका–खपेका–सुनेका घटना र कुराहरू अन्तस्करणमा छचल्किरहन्छन्, पोखाउन मन पर्छ । भित्रैबाट भिजें, बाहिरैबाट सुमसुम्याएँ, टुप्पैबाट नियालें, फेदैबाट भोगें, भीरैबाट चढें; यसर्थ अनेकन् घटना–अनुभव लेख्नै मन पर्छ । ‘कान्तिपुर’ दैनिकमा गत केही सप्ताहदेखि ‘नक्कली भुटानी शरणार्थी प्रकरण’ शीर्षकमा छापिएका घतैलाग्दा–लाजैमर्दा राष्ट्र र राष्ट्रको अन्तर्राष्ट्रिय सम्बन्ध नै हल्लाउने समाचार–विश्लेषण आदि पढ्दा लेख्नैपर्ने भयो आफैंले देखेका भोटाङे शरणार्थीहरूका व्यथा ।

मन्साएको कालो भाले

भोटाङका राजा–विदेशमन्त्री–गृहमन्त्रीदेखि भारतका प्रधानमन्त्री–विदेश एवं गृहसचिव, पश्चिम बंगालका वरिष्ठ नेतादेखि नेपालका प्रधानमन्त्री, संयुक्त राष्ट्रसंघका अधिकारीदेखि हलिउडकी फिल्म अभिनेत्री एन्जेलिना जोली र भोटाङे शरणार्थीका वरिष्ठ नेताहरूदेखि बेलडाँगी आदि शिविरहरूमा बसोबास गर्ने भोटाङे नागरिकहरूसँग शरणार्थीहरूलाई शीघ्रभन्दा शीघ्र आफ्नो राष्ट्र भोटाङ फर्काउनुपर्छ भन्ने विषयमा लगभग दुई दशक नै कुराकानी गर्‍यौं । के, कहाँ, कसरी र किन भयो भन्ने पक्षहरू लेखें पनि । र लेख्न धेरै छ ।

‘नक्कली भुटानी शरणार्थी प्रकरण’ बाट राष्ट्रको टुप्पोमा बसेकाहरूले भुइँमुनि कसरी राष्ट्रहितविरोधी काम गर्दा रहेछन् भन्ने मात्रै नभएर, कसरी अति नै संवेदनशील मुद्दालाई भौतिक मज्जाका निम्ति दुरुपयोग गर्दा रहेछन् भन्ने कुरो स्पष्ट हुन्छ । यस प्रकरणले नेपालदेखि बाहिर रहेका नेपाली नागरिकहरूलाई समेत सताउने–अप्ठ्यारो पार्नेछ । दशकौं सताइएका भोटाङे शरणार्थीहरूलाई फेरि पीरमर्कामा धकेलिँदै छ ।

भ्रष्टाचारले कुन राष्ट्रलाई खाएन ? अमेरिकादेखि दक्षिण कोरियासम्म, ब्राजिलदेखि नेपालसम्म, भारतदेखि चीनसम्म सबैलाई यो क्षयरोगले सतायो । धेरै नेता, मानव समाज र संस्थाहरू यो क्षयरोगदेखि बाँचेका हुनाले नै विश्व सुचारु ढंगमा चल्दै छ । भ्रष्टाचारको दुर्गन्ध टुप्पादेखि फेदसम्म फैलिएको हुन्छ । भ्रष्टाचारमा संलग्न हुनेले अरू धेरैलाई आकर्षित गर्दो रहेछ । एकपल्ट भ्रष्टाचारको डोकामा पसेको मान्छे–संस्था कहिल्यै उम्किन सक्तैन रहेछ । लागूपदार्थ (ड्रग) खानेले आफ्नो पार्टनर कहीँ गएर पनि चिनेजस्तै भ्रष्टाचारीले कुनै स्थिति–क्षेत्रमा पनि साथी पाइहाल्दो रहेछ । खोलाको पानीले उक्लिने किनारा पाएजस्तै भ्रष्टाचारीले खाने बाटो पाइहाल्दो रहेछ । भ्रष्टाचारीले जिब्रामा घिउ, टाउकामा उपाय, हातमा मह, मनमा लोभ र खुट्टामा मोबाइल फोन बोकेर हिँड्दो रहेछ । शरीरभरि उपियाँ–जुम्रा बोकेर अघि बढ्दो रहेछ ताकि आफूसँग टाँसिनेलाई टोक्ने, ठुङ्ने र डस्ने कीराहरू सलबलाइहालून् । भ्रष्टाचारीलाई नोकरी नै नचाहिँदो रहेछ; कारण, इन्टरभ्यु नै नबसी टुप्पामै पुग्दो रहेछ । उसलाई शिक्षा र डिग्री नै खाँचो पर्दैन रहेछ किनकि डिग्री उसैले उत्पादन गरिहाल्छ । भ्रष्टाचारीको जात, जाति, धर्म र राष्ट्रियता त हुँदैन नै रहेछ; ऊभित्र पशुत्वका अभिन्न दुर्गुणहरूचाहिँ हुँदा रहेछन् । भ्रष्टाचारीको भाषा भ्रष्ट र इतिहास महाभ्रष्ट हुँदो रहेछ । आफूमा लागेको घीनलाग्दो आरोपलाई छोप्न अरूलाई कोर्ट–कचहरी, कीर्ते कागज र सामाजिक सञ्जालमा फसाउँदो रहेछ ।

विद्यार्थी छँदा मलाई एउटा सरकारी संस्थाले केही काम गर्ने मौका दियो । गरिसकेर कमाएको पैसा लिन जाँदा दिने मान्छेले ‘केही गर मेरो निम्ति अनि पैसा पाउँछौ’ भन्यो । ‘के गर्नु’ भनेर सोद्धा ‘एउटा क्याम्पा कोला पिलाऊ’ भन्यो । एक दिन मेरो साथीले फोन गरेर भन्यो, ‘एई, मेरी श्रीमती तीन दिन सरकारी अस्पतालमा भर्ना भइन् । सर्टिफिकेट माग्दा दुई सय रुपैयाँ माग्यो । भोलिपल्ट एउटा बन्द लिफाफामा बीस रुपैयाँ हालेर एक हातले सर्टिफिकेट लिएँ, अर्को हातले लिफाफा लिएँ । क्या झुक्कियो होला !’ एउटा ठूलै सरकारी टोलीमा हामी विकासखर्च कसरी कहाँ गरियो भन्ने अध्ययन–खोज गर्न गएका थियौं । खर्च गरिएका योजनामध्ये एउटा एघार किलोमिटरको बाटो निर्माण थियो । बाटो राम्ररी हेरेर सन्तुष्ट भएर फर्कियौं, काम राम्रो भएछ भनेर चियाचमेना गर्‍यौं । भोलिपल्ट बिहानै दुई स्थानीय व्यक्तिहरू आएर हामीलाई बाटाको लम्बाइ नाप्ने सुझाव दिए । अचम्मै लाग्यो । नभन्दै गएर बाटाको लम्बाइ नापेको त केवल नौ किलोमिटर रहेछ । बाटाको ठेकेदारले के गरेछ भने, हरेक किलोमिटरमा गाड्नुपर्ने माइलखुट्टीलाई ७७७ मिटरमै लगाइदिएछ । लगाउनुपर्ने थियो हरेक एक हजार मिटरमा । माइलखुट्टी हेर्‍यौं हामीले पहिले निरीक्षण गर्दा, ठीकै थियो । ठेकेदारले केही नगरी दुई किलोमिटरको पैसा सरकारबाट खाएछ । यसरी सबैले आआफ्ना स्तरमा विभिन्न तरिकाले साधारण जनता र सरकारबाट पैसा असुल्छन् । एउटा कानले सुन्यो, अर्को दुलोबाट फ्याँकिदियो । एउटा आँखाले देख्यो, अर्को आँखा नभा’को जस्तै गर्‍यो । कारण, भ्रष्टाचार–खाने मेलोको फेद मात्रै हुन्छ, टुप्पो अशेष हुन्छ; जन्मन्छ मात्रै, कहिल्यै स्वर्गबास हुँदैन ।

दार्जिलिङको ऐतिहासिक चिया कमानमा रगत–पसिना–आँसु सबै दिएर श्रमिकहरूले तीन दशकसम्म आफ्नो सानो दैनिक वेतनबाट काटेको प्रुभिडेन्ट फन्ड र ग्राचुटी चिया कम्पनीमा जम्मा गर्छन् । सबैको चाहना हुन्छ— चिया श्रमिकबाट अवकाश प्राप्त गरेपछि एउटा सानो कटेरो बनाउँछु, बेलुकी रक्सी पार्छु र भुटेको मासुसँग मज्जा गर्छु, छोराछोरी–श्रीमतीबाहेक औषधिमुलोमा खर्च गर्छु । अभाग्यवश, श्रमिकले जीवनभरि जम्मा गरेको पैसा–धन कम्पनीले धेरै वर्षदेखि दिनै छाड्यो । कुनै कम्पनी नै भाग्यो । सरकार र न्यायालयले केही गर्नै सकेनन् । धेरै श्रमिक आफूले सञ्चय गरेका धनको पोको नपाई–नदेखी बितेर गए । कम्पनीहरूले करोडौं रुपैयाँ लिएर भागे । नियम–कानुनले पनि उनीहरूलाई छोएन । ट्रेड युनियनका नेताहरूले अवाक् भएर हेरिरहे ।

चिया कमान बसालिएको लगभग १७० वर्ष पुग्यो । मालिक–कम्पनीहरू टन्न पैसा कमाएर लन्डन–न्युयोर्क र दिल्ली–कलकत्तामा उद्योगपति भएर बसेका छन् । त्यही चिया कमानमा पुर्खादेखि प्राण–पसिना बहाउने श्रमिकहरू भने आज पनि जाबो २५० रुपैयाँको दैनिक वेतनमा भोकै सुत्ने गर्छन् । घर छैन, अस्पताल छैन, जमिन–कटेरो छैन । कमान कंगाल बनाउने स्थानीय र राज्यका नेताहरू भने हिसाबै गर्न नसक्ने धनमा डुबिरहेका छन् । अब के गर्ने ? कम्पनीहरूले चिया कमान नै फलाम, लुगा, कोइला, सिमेन्ट बेच्ने व्यापारीहरूलाई बेचे । यिनीहरूलाई चियाको संगति–इतिहास–कथा–संस्कृति केही थाहा छैन, केवल अर्को दुहुना गाई बनाउने, सुकिसकेको चिया कमानबाट कसरी बाँकी रहेको दूध–मही निकाल्ने भन्नेतिर लागेका छन् ।

यी नयाँ व्यक्ति–कम्पनीहरूले चिया कमानमा त्यहाँका बाजे–बज्यूले कमाएर पनि नपाएको प्रुभिडेन्ट फन्ड–ग्राचुटी श्रमिकहरूले माग्दा भन्दा रहेछन्, ‘छोडेर गएको पुरानो कम्पनीले नै दिनुपर्छ । हिजो के भयो भन्ने घटनासँग हाम्रो केही सम्बन्ध नै छैन ।’ अर्थात्, ‘अर्को कम्पनीको बोझ हामीले किन उठाउने ?’ कुरा त्यहीँ सकिँदैन । भ्रष्टाचारको खेल यहीँ सुरु हुन्छ । कतिपय कम्पनीका मालिकहरूले चिया कमान किनेपछि नयाँ सिलसिला सुरु गरे । श्रमिकहरूलाई वेतन दिने नाममा र अवकाशप्राप्त श्रमिकहरूलाई नपाएको प्रुभिडेन्ट फन्ड–ग्राचुटी दिने नाममा नयाँ कम्पनीहरूले कमानका रूखपातधरि बेच्न थाले, मुडुलै बनाइदिए कति कमानहरू । जमिनसम्ममा निजी कामहरू गर्न थाले, जसले श्रमिक र चियापत्तीसँग केही सम्बन्ध नै राख्तैन । कमानका ट्रेड युनियनका नेताहरूसँग सम्झौता गरेर पुराना रूखपात काटेर अर्को धन्धा गर्न थाले । हामीले विरोध गर्‍यौं । दुई–तीनवटा कम्पनी त पोका चढाउन घरसम्म पुगे, कसैले थापेनन् । अर्थात्, चियापत्तीको बोटमा पनि अब भ्रष्टाचारको मलजल चढाइन थाल्यो । अब के नै रह्यो र ?

सिक्किममा भारत सरकारको प्रथम केन्द्रीय विश्वविद्यालय निर्माण गर्दाको अनुभव अति नै चाखलाग्दो छ । स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय सबैबाट आएका हामी सब यो सबैलाई छुने र पुग्ने हिमालय क्षेत्रको महत्त्वपूर्ण संस्था बनिनुपर्छ भनेर अघि बढ्यौं । नदेखिने दुई–तीन सिद्धान्तहरू अघि राख्यौं- यो विश्वविद्यालयमा शून्य भ्रष्टाचार हुनुपर्छ, अंग्रेजले छोडेको पियन–चप्रासीको संस्कृति लागू हुनु हुँदैन र जातपात, जाति, धर्म, लिंग, भाषा, आर्थिक पृष्ठभूमि आदिलाई टाढै राख्नुपर्छ । यस्तै आधारमा हामीले विश्वविद्यालयको प्रशासनिक नीति, भर्नाको गतिविधि, पाठ्यक्रमको खेस्रा, शिक्षक नियुक्तिको प्रावधान अनि विश्वविद्यालयका भौतिक ढाँचाहरूबारे व्यापक छलफल गरेर विस्तृत एवं गहिरो आधार तयार पार्‍यौं । शून्य भ्रष्टाचारको व्यावहारिक नीतिले सबैलाई आकृष्ट गरे पनि कतिपय व्यक्ति, संस्था र एजेन्टहरूलाई यो कुरो पटक्कै मन परेन । विश्वविद्यालयले आफ्नो यात्राको सुरुमै यसरी मक्खन खाने पार्टीलाई परतिरै राख्यो । वरिपरि भ्रष्टाचारको फूल सजिएको यो संसारमा हाम्रा कर्मठ कर्मचारी–शिक्षकहरूलाई दोकान–पसलमा गई विश्वविद्यालयका निम्ति केही किन्न लाग्दा पहिलो प्रश्न नै ‘तिमीहरूको कमिसन कति हो’ भनेर सोध्ने गर्थे । हाम्रा ती भरिला–पोसिला–फुर्तिला शिक्षक–कर्मचारीले ‘हामीसँग कमिसनको कुरै नगर, हाम्रो विश्वविद्यालयले शून्य भ्रष्टाचार (जिरो करप्सन) को नीति अपनाउँछ’ भन्दा ती पसलेहरूले नाक खुम्च्याउँथे अरे ! किनकि कमिसन दिएर सामानचाहिँ नक्कली दिने गर्थे, अब सक्कली र ओरिजिनल दिनुपर्‍यो । कठिन थियो त्यो स्थिति हामी सबैका लागि ।

विश्वविद्यालयले १५ करोड भारु स्थानीय सरकारलाई आधिकारिक रूपमा दिँदा पनि जमिन नै दिइएन । जबकि केन्द्रीय विश्वविद्यालय बन्दा राज्य सरकारले जमिन निःशुल्क उपलब्ध गराइनुपर्ने हुन्छ । केही भनेनौं । जमिन नदिइँदा पनि विश्वविद्यालयले लगभग २९ वटा विभिन्न विषयका विभाग–स्कुल स्थापित गरेर पूरा भारतवर्षबाटै विद्यार्थीहरूलाई आकर्षित गर्न थाल्यो । घर–बिल्डिङहरू किरायामा लिनुपर्‍यो । किरायामा दिनेहरू विश्वविद्यालयले कमिसन नमाग्दा घोरिन्थे, ‘यस्तो पनि हुँदो रहेछ त’ भन्थे । तर फेरि कतिपय बिल्डिङका मालिकहरू अझै लोभी हुन गए । बिल्डिङ लिनुअघि विश्वविद्यालयले विशेष सरकारी संस्थालाई निरीक्षण र नापजाँच आदि गर्न लगाउनुपर्थ्यो । अनि त्यही आधारमै किराया तय हुन्थ्यो । लोभी मालिकले निरीक्षण गर्ने अधिकारीलाई पैसा खुवाएर नापजाँच बढाई बढ्ता किराया लिएको थाहा पाएपछि हामीले मालिक र अधिकारी दुवैलाई कालो सूचीमा गाभिदियौं ।

विश्वविद्यालयमा पहिल्यैदेखि समयमै आउनमा अनुशासन कायम गर्नलाई सिक्किममै पहिलो पटक सायद बायोमेट्रिक एटेन्डेन्स मेसिन लगायौं । को कति बेला आयो र गयो, सँगसँगै अन्य धेरै प्रशासनिक सुविधा अघि राख्यौं । हरेक कुरो सफा र देख्ने हिसाबले, टेन्डरमार्फत गुणवत्ताको कुरो किन्न थाल्यौं । एक दिन कहीँबाट फोन आएछ, ‘विश्वविद्यालयले बायोमेट्रिक मेसिन कतिमा कतिवटा किन्यो’ भनेर । फोन गर्नेलाई हाम्रो कार्यालयमै बोलाएर पूरा फाइल नै देखाइदिएछन् साथीहरूले । बिलको एक कपी मागेर लगेछ । पछि थाहा पायौं— त्यही मेसिन त्यस व्यक्तिले चार गुणा दाममा कैयौं संख्यामा किनेछ । हामी हास्यौं, भ्रष्टाचारको अर्को नमुना देखेर । खाने ऊ एक्लै थिएन अरे ! माथिसम्मै कमिसनको पैसा आफैं चढ्थ्यो अरे, अक्सिजनबिना नै !

एक दिन मलाई नै एउटा विदेशी दूतावासले भारत सरकारलाई पठाएको पत्र आयो । पत्र खोलेर पढें, लेखिएको रहेछ, ‘तपाईंहरूको विश्वविद्यालयले पीएचडी डिग्री दिन थालेको कति वर्ष भयो र कुनकुन विषयहरूमा यो डिग्री दिइन्छ ?’ डिग्री पाउनेहरूको सूची पनि मागिपठाएको रहेछ । बुरुक्कै उफ्रेर साथीहरूलाई पत्र देखाएँ किनकि भर्खरै मात्र एमए कार्यक्रम सुरु गरेका थियौं । पीएचडी डिग्री दिन त अझै पाँच–सात वर्ष लाग्थ्यो । जान्न इच्छुक भयौं, किन यस्तो पत्र आयो भनेर । थाहा पायौं, हाम्रो विश्वविद्यालयका नाममा डिग्री उत्पादन गरेर–छापेर विदेशमा पनि बेच्न थालिएछ, यस्तो कलिलो उमेरमै । एकपल्ट खुसी पनि लाग्यो, स्थापना भएको तीन वर्षमै हाम्रो संस्थाको नाम विदेशमा पनि पुगेछ भनेर । ठगी र भ्रष्टाचारको यत्रो ठूलो बजारमा कसरी जुझ्ने त ? उपाय निकाल्यौं । भारत सरकारले आफ्नो रुपैयाँ जुन सुरक्षित प्रेसमा छाप्छ, त्यहीँ नै हाम्रो विश्वविद्यालयले ठगीविहीन वाटरमार्क भएको सर्टिफिकेट छाप्नुपर्छ, ताकि कसैले फर्जी नबनाओस् । साथीहरूले बम्बईदेखि चार–पाँच घण्टा टाढा नासिकको सेक्युरिटी प्रेसमा गई दुई महिना नै लगाएर सिक्किम विश्वविद्यालयको वाटरमार्क र अन्य चोर्न नसक्ने प्रावधान भएका सर्टिफिकेटहरू बनाएर ल्याए । यस्तो सर्टिफिकेट वितरण गर्ने हामी भारतमै सायद पहिलो विश्वविद्यालय भयौं । जति पाँच सय–हजार रुपैयाँको नोट सुरक्षित, हाम्रो सर्टिफिकेट पनि त्यति नै सुरक्षित ।

हाम्रो जिरो करप्सन नीतिसँग धेरै जना नाखुश थिए । विशेष गरी भारत सरकारको परियोजनामा आँखा र औंला गाडेरै माथि पुगेकाहरू–बाँचेकाहरू सिक्किम विश्वविद्यालय भन्नासाथ अनुहारमा रिसका बीस–पच्चीस मुजा पार्थे । यिनीहरूले सोचेका थिए, अर्को चाका आयो, मह काढ्न पाउँछौं भनेर । तीमध्ये पनि चाका काढ्नेहरूका माउ त रीस–आरिस–ईर्ष्या–घमन्डले उन्मत्त नै भए । कसरी विश्वविद्यालयको जरा काटेर लडाऔं भन्नेतिर धेरै लागे पनि । मेरै बदनाम गर्नलाई पनि विभिन्न हतियार प्रहार गरियो । कसैले ‘यो त नेपालको नागरिक हो’ भनेर, ढाका टोपी लगाएको किर्ते नागरिकता बनाएर भारत सरकारका विभिन्न प्रमुख मन्त्रालयमा पठाए । ‘नेपालको नागरिक भारत सरकारको अति नै महत्त्वपूर्ण राष्ट्रिय सुरक्षा सल्लाहकार समितिमा कसरी सदस्य हुन सक्छ ? आईएएस, आईपीएस छान्ने इन्टरभ्यु बोर्डमा कसरी बस्न सक्छ ?’ भनेर किर्तेपत्र पठाए । किर्ते नागरिकताको एउटा कपी फेला परेपछि मैले त्यस नागरिकता पत्रमा एघारवटा कुराहरू भूल लेखिएका रहेछन् र ‘यी भूल यसरी सुधार अनि नागरिकतापत्रको दोस्रो संस्करण छापेर सबैलाई बाँड’ भनी गुँडभित्र बसेको भालेलाई नै पत्र पठाएपछि मात्रै ती चुप्प बसे ।

जिरो करप्सनले तिनलाई साँच्चै बिझाएछ । सरकारले दिएको म बस्ने घरवरिपरि लगाइएका च्यादरहरू उखालिए, ढोकाकै अघि नजिकैको नालीको फोहोर जम्मा गरिदिए, मेरो गेटमा लागेको कुलपतिको नेमप्लेट चोरेरै लगे । कहिल्यै नदेखेका विद्यार्थीहरूको विरोध आयोजना गरियो । त्यो मात्रै कहाँ हो र, यो कलिलो कोर्ट–कचहरीसम्म पनि विश्वविद्यालयलाई जबरजस्ती तानेर लगे । मैले विदेशमा पढाउँदा पाएको तलबको सर्टिफिकेटसम्म आयकर विभागलाई पठाइयो, पठाउनेको नामै नलेखी । साथीहरू, विद्यार्थीहरू र कर्मचारीहरूलाई धम्काउन थालियो । म अगुवा भएर भन्नैपर्थ्यो, ‘विश्वविद्यालयको एक जना मात्रै शिक्षक–विद्यार्थी–कर्मचारीलाई हात लगाएर हेर, कहाँ कति कहिले भण्डाफोर हुन्छ ?’ केहीले पनि नभ्याउँदा एक दिन म बसेको घरमा एउटा केटो कालो भाले लिएर जबरजस्ती प्रवेश गरेको खबर पाएँ । मलाई भाले चढाउन आएको रहेछ । ‘म त कुखुरा खाँदिनँ’ भनें । अनकनाई–अनकनाई भाले बोकेर वापस गयो त्यो केटो । भाले निक्खुर कालो थियो । कि त त्यो पूजा गरेर मन्साएको भाले थियो कि कुलपतिले भालेको घूस खायो भनी आरोप लगाउनलाई मकहाँ पठाइएको थियो ।

प्रकाशित : जेष्ठ २, २०८० ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?