२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

महिला फुटबलको अर्थराजनीति

यो खेलमा महिलाको रुचि भएन कि महिलालाई खेलाउन रुचि भएन ? पितृसत्ताको मारमा परेर महिला फुटबल कम रुचिकर भएको हो कि अन्य कुनै कारण छ होला ?
करुणा पराजुली

बालक, वृद्ध, धनी, गरिब, पूर्व, पश्चिम सबैमाझ फुटबल निकै लोकप्रिय छ । गत नोभेम्बरमा, विश्वकप फुटबल हुँदा यसको क्रेजले सबैलाई तानेको मात्र कहाँ हो र, मेस्सी, एम्बाप्पे, रोनाल्डो, नेयामर, मुलर, हेरी केन, लेवेन्डोस्कीजस्ता केटाहरूको नाम एकछत्र बन्यो । खेल हेर्ने क्रममा सामाजिक सञ्जालमा फिफाको अपडेट सर्च गरेकाले पनि होला, आर्टिफिसियल इन्टेलिजेन्समार्फत महिलाको विश्वकप फुटबल–२०२३ को फेसबुक पेज मेरो स्क्रिनमा आयो । उता पुरुषको फिफा विश्वकपको पेजमा ५० मिलियन लाइक, यता फिफा महिलामा भने १.४ मिलियन मात्र थियो ।

महिला फुटबलको अर्थराजनीति

पुरुष फुटबल संसारभर उत्सवका रूपमा देखा पर्छ भने महिला फुटबलले त्यो चर्चा र चासो पाउँदैन । गत महिना फिफा महिला फुटबलको वरीयतामा तीन स्थान माथि उक्लेको नेपाली टिमबारे होस् वा अप्रिल पहिलो साता नेपालले पेरिस ओलम्पिक–२०२४ को महिला फुटबलको पहिलो चरणको छनोट आयोजना गरेको खबर होस्, त्यति चर्चा भएन । फिफाको ३३ औं वरीयतामा रहेको भियतनामविरुद्ध नेपाली महिला टिमको खेल हेर्नेको घुइँचो पनि उति साह्रो थिएन ।

यो खेलमा महिलाको रुचि भएन कि महिलालाई खेलाउन रुचि भएन ? पितृसत्ताको मारमा परेर महिला फुटबल कम रुचिकर भएको हो कि अन्य कुनै कारण छ होला ? मलाई यो खोज्ने रहर जाग्यो ।

महिलाहरू फुटबल मैदानमा उत्रेको भने भर्खर होइन । हुन त अन्य प्रयत्न पनि थिए होलान् तर सन् १८९५ मा बेलायती महिला फुटबल क्लब (बीएलएफसी) लन्डनमा स्थापना भएपछि महिला फुटबलको आधुनिक इतिहास थालनी भएको भेटिन्छ ।

सन् १९१४ मा पहिलो विश्वयुद्ध सुरु भएपछि एलाइड फोर्सको नेतृत्व गरेको बेलायतले हतियारसँगै हजारौं पुरुषलाई फौजमा भर्ती गरायो । युद्धका लागि पुरुष घर र देश छोड्दै थिए । यसले गर्दा कारखानामा काम गर्ने मजदुरको संख्या कम भैरहेको थियो । यो परिवेशमा महिलाले पनि घरबाट निस्केर उद्योग र कारखानामा मजदुरी गर्न सुरु गरे । बेलायतभर फैलिएका हातहतियार, कपडा र अन्य कारखानामा कामदार महिलाको संख्या बढिरहेको थियो । यिनै कामदार महिलाले युद्धमा घाइते भएकाको उपचार र अन्य खर्चका लागि आफ्नो टोली बनाएर फुटबल प्रतियोगिता सञ्चालन गर्न थाले । युद्धको त्रासदीले घटाएको मनोबललाई उठाउनसमेत कतिपय ठाउँमा महिला र पुरुष मिलेर फुटबल प्रतियोगिता सञ्चालन गर्न थाले ।

विश्वयुद्धका बेला बेलायतको ल्यान्कासरस्थित, ‘डिककेर’ कम्पनीको एउटा गोलाबारुद कारखानामा काम गर्ने अधिकांश मजदुरको मनोबल कमजोर हुँदै गएकाले, त्यहाँको उत्पादन घट्न थाल्यो । मजदुरको हौसला बढाउन कारखानाकै महिला र पुरुषबीच फुटबल खेलाइयो । त्यस प्रतियोगितामा महिलाले जिते । महिला र पुरुष मजदुरहरू मिलेर खाजा र ब्रेक टाइम सदुपयोग गर्दै कारखानावरिपरि फुटबल खेल्ने र एकअर्कामा सद्भाव बढाउने क्रम नै चल्यो । सोही कम्पनीका उपल्लो कर्मचारी अल्फ्रेड फ्र्यांकल्यान्ड आफ्नो कार्यकक्षको झ्यालबाट नियमित चलिरहने यी दृश्य हेरिरहन्थे । यसबाट प्रभावित भएर अल्फ्रेडले आफ्नै व्यवस्थापनमा ‘डिककेर लेडिज’ नामको महिला मजदुरहरूको फुटबल क्लब बनाए । स्थापनालगत्तै सन् १९१७ को क्रिसमसको दिन ‘अरुन्डेल कोर्टहार्ड फ्याक्ट्री’ विरुद्ध यस क्लबले ४–० को जित हासिल गर्‍यो । खेलबाट २०० पाउन्ड (जुन आजको मूल्यमा १३,९६६ पाउन्डसरह हुन्छ) उठ्यो । उक्त रकम सैन्य अस्पतालमा उपचारार्थ घाइते सैनिकहरूका लागि सहयोग गरियो । यसपछि यो फुटबल क्लब देशभर चर्चित हुन थाल्यो ।

डिककेर लेडिजले पहिलो विश्वयुद्धपछि पनि सानदार ढंगले खेल्दै गयो, यसबाट केही आम्दानी भइरहेको थियो । सँगसँगै उनीहरूले अन्य स–साना क्लब गठन गर्न देशभरका महिलाहरूलाई प्रेरित गर्दै थिए । खेलबाट उठेको पैसा डिककेर लेडिजले बेरोजगार भूतपूर्व सैनिक संकट कोषलाई सहयोग गर्थ्यो । यति मात्र होइन, युद्ध र आर्थिक संकटको मारमा परेका मजदुरहरूलाई पनि मद्दत गर्थ्यो । सन् १९२१ मा खानी मजदुरको हडतालमा पनि यी महिलाले सहयोग गरे ।

सन् १९२० को दशकमा, युद्धका कारण निम्तिएको आर्थिक संकटलाई देखाउँदै बेलायतमा सार्वजनिक क्षेत्रलाई निजीकरण गर्ने काम थालियो । यसको पहिलो सिकार बन्यो खानी क्षेत्र । १९२१ मार्च ३१ का दिन, युद्धकालमा राज्यको नियन्त्रण र स्वामित्वमा चलाइएका कोइलाखानी निजीकरण गर्ने औपचारिक घोषणा बेलायती प्रधानमन्त्री डेभिड लोयड जर्जको सरकारले गर्‍यो । आफ्नो स्वामित्वमा कोइलाखानी आएपछि मालिकले मजदुरको ज्याला घटाउने योजना सार्वजनिक गरे । खानी मालिकले मजदुरलाई या त घटेको ज्यालामा काम गर्नू या जागिर गुमाउनु भन्ने सर्त राखे । मजदुरले दुवै सर्त मानेनन् । मजदुर संगठनले आफ्ना श्रमिकलाई कामबाट फिर्ता बोलाए र हडतालको घोषणा गरे ।

सरकार, मालिक र आन्दोलनरत मजदुरबीच जुनको अन्तिमसम्म कुनै पनि सहमति हुन सकेन । हडताल र आन्दोलनले ज्यालाबिना मजदुर बाँच्नुपर्ने परिस्थिति भयो, जसले गर्दा आन्दोलनरत मजदुरको जीवन कष्टकर बन्दै गयो । ती मजदुर र तिनीहरूका परिवारको दैनिकीमा भएको कठिनाइ बुझेर डिककेर लेडिजले आफ्नो च्यारिटी खेलबाट उठेको रकम वेल्स र स्कटल्यान्डका खानी मजदुरलाई सहयोग गर्‍यो । मजदुरको दारुण जीवनलाई र उनीहरूको संघर्षलाई सहयोग गर्न फुटबल एउटा माध्यम बन्न थाल्यो । विभिन्न ठाउँमा मजदुरलाई सहयोग गर्नका लागि ‘पी सुप फुटबल’ अर्थात् मटर सुप फुटबल अभियान थालनी भयो । विशेष गरी बेलायतको ‘विगन’ र ‘लेई’ क्षेत्रवरपर, खानी मजदुर बसोबास गरिरहेका ठाउँमा किसानका खेतमा फुटबल खेल्न थालियो । यसबाट उठेको पैसा खानी मजदुरका बालबालिकालाई खुवाउनका लागि ‘सुप किचनहरू’ चलाउन प्रयोग गरियो । यसरी ‘महिला फुटबल’ मूलतः मजदुर संघर्षलाई साथ सहयोग दिने खेलका रूपमा प्रचलित भयो ।

खानी मजदुरको आन्दोलनमा महिला फुटबलको यो महत्त्वपूर्ण सहयोग र महिला खेलाडीको ऐक्यबद्धताले एकातिर खेलको लोकप्रियता बढ्दै थियो भने अर्कोतिर फुटबल काउन्सिललाई चिन्तित बनाएको थियो । यसरी महिला फुटबल एउटा खेल मात्र नभएर एक महत्त्वपूर्ण अर्थराजनीतिक विषय बन्दै थियो ।

त्यो बेला बेलायती औद्योगिक पुँजीवादको अग्रणी प्रतीक र ऊर्जाको मुख्य स्रोत कोइला थियो । तसर्थ कोइलाखानीमा कामदार धेरै थिए र त्यहाँको मजदुर संगठन पनि देशकै ठूलो र सशक्त थियो । खानीमा भएको निजीकरण र त्यसले मजदुरको ज्यालामा गराएको गिरावटविरुद्ध खानी मजदुर संगठनले देशव्यापी आन्दोलन घोषणा गर्‍यो । योसँगसँगै यातायात र रेलवेका मजदुर संगठन मिलेर श्रमिक वर्गबीच एकता अभिव्यक्त गर्न सन् १९१४ मा थालिएको ट्रिपल अलायन्सलाई पुनर्जीवित गर्ने प्रयत्न भयो । ट्रिपल अलायन्स भनेजसरी चल्न त सकेन तर खास गरी बढ्दो महँगी र बेरोजगारीका सिकार बनेका देशव्यापी मजदुरका परिवारमाझमा त्रिपक्षीय गठबन्धनको आवश्यकता महसुस हुँदै थियो । मजदुरबीच एकता गराउने सन्दर्भमा महिला फुटबलको भूमिका बढ्दै गएको कुराले यता फुटबल काउन्सिलमा रहेका कन्जरभेटिभका प्रतिनिधिहरूलाई पिरोलिरहेको थियो । मजदुरको बलियो एकता बन्दै जाँदा त्यति बेलाका प्रतिस्पर्धी राजनीतिक पार्टीहरूमध्ये लेबर पार्टीलाई मद्दत पुग्ने सत्तासीन कन्जर्भेटिभ पार्टीका सरकारी प्रतिनिधिले राम्ररी बुझेका थिए । सो समयमा डिककेर लेडिज टोलीका महिला खेलाडीहरू यति व्यस्त हुन थाले कि, उक्त वर्ष नौ लाख मानिसका सामु उनीहरूले ६७ खेल खेले । टोलीको व्यस्तताका कारण म्यानेजर अल्फ्रेडले बेलायतभरिबाट आएका १२० निमन्त्रणा अस्वीकार नै गर्नुपर्ने स्थिति आइलाग्यो । यो लोकप्रियताले उनीहरूले त्यति बेला राम्रो आम्दानी गरिरहेको स्पष्ट हुन्छ । र त्यो आम्दानी मजदुरहरूको हडताल र संघर्षमा प्रयोग भइरहँदा बेलायतको राजनीति मजदुरपक्षीय हुँदै जाने चिन्ता बेलायती पुँजीपति वर्ग र सत्तासीन वर्गमाझ उब्जिरहेको थियो ।

फलस्वरूप काउन्सिलले कुनै पनि हालतमा मजदुर महिलाको फुटबलमा रोक लगाउने योजना बुन्न थाल्यो । सीधै महिलालाई खेलमा रोक लगाउँदा विरोध हुने बुझेर काउन्सिलले चलाखी गर्‍यो । त्यो थियो— प्रतिबन्धको वैज्ञानिक स्वरूपको कारण दिनु र त्यसका लागि महिला स्वास्थ्य विशेषज्ञको, महिला चिकित्सकको सहयोग लिनु ।

त्यति बेला हार्ले स्ट्रिटकी चिकित्सक डा. मेरी सार्लिबले फुटबल महिलाको शारीरिक बनावटका लागि सबैभन्दा अनुपयुक्त खेल भएको दाबी गरिन् । अर्की डा. एलिजाबेथ स्लोन चेसरले भनिन्, ‘फुटबल जुनसुकै बेला पनि नराम्रो खेल हो । यो पुरुषको तुलनामा महिलाका लागि अझ हानिकारक छ ।’ यस्ता भनाइ र दाबीलाई काउन्सिलले आफ्नो राजनीतिक अभीष्टका लागि प्रयोग गर्न थाल्यो । उसले यी तर्कको सहारामा ‘काउन्सिलमा महिला फुटबलबारे गुनासो आएकाले, काउन्सिल महिलाका लागि फुटबल अनुपयुक्त र त्यसलाई प्रोत्साहन गरिनु हुँदैन भन्ने दृढ धारणा व्यक्त गर्न बाध्य भएको’ बतायो । महिला फुटबलबाट भएको आम्दानीको ठूलो हिस्सा खर्चमा जाने र थोरै प्रतिशत मात्र परोपकारी काममा जाने हुँदा काउन्सिल अन्तर्गतका क्लबलाई उनीहरूको मैदानमा महिला फुटबल खेलाउन अस्वीकार गर्न अनुरोध गर्दै काउन्सिल बैठकले माइन्युट गर्‍यो । यो निर्णयसँगै १९२१ डिसेम्बर ५ मा बेलायती फुटबल एसोसिएसन काउन्सिलले महिला फुटबलमा प्रतिबन्ध लगायो ।

यो व्यवहारलाई कतिले राज्यको लैंगिक विभेद भने । महिलाविरुद्ध पितृसत्तात्मक सोच राखेर गरिएको व्यवहार भन्दै कतिले लेख–रचना प्रकाशित गरे । कति पत्रिकाले त त्यही बेलाको ‘नट फर लेडिज’, ‘चेक टु गर्ल्स’ भनेर ब्यानर न्युज नै बनाए । तर वास्तवमा यो प्रतिबन्धको खास कारण दिनानुदिन बलियो बन्दै गएको श्रमिक आन्दोलनविरुद्ध लक्षित थियो । साम्राज्यवादी शक्तिको होड र प्रतिस्पर्धाले भएको पहिलो विश्वयुद्ध र पुँजीवादले चर्काएको हातहतियार व्यापारसँगै घरबाट हुत्तिएर कारखानासम्म पुगेका महिला आफैं संगठित हुँदै सुरु गरेको यो फुटबल खेल, त्यसले देशभरि पारिरहेको प्रभाव, त्यसले खानी मजदुरको आन्दोलनमा पुर्‍याएको सहयोग, त्यसले दिएको मजदुर एकताको सन्देश र आम मजदुर वर्गको संगठित प्रयत्नले उनीहरूको आर्थिक स्रोतमा बढिरहेको पहुँच र अन्तर्राष्ट्रिय ख्यातिले मजदुरहरू थप बलियो होलान् भनेर त्रस्त तत्कालीन पुँजीपति वर्गको हितरक्षामा तल्लीन बेलायती रूढिवादी तथा कथित उदारवादी सरकारको संरक्षणमा रहेको फुटबल काउन्सिलले रोक्न चाहेको कुरालाई मसिनो गरी निकै कम समीक्षा गरियो ।

यसरी गरिएको प्रतिबन्धको प्रभाव धेरै देशमा पर्‍यो । फलस्वरूप, महिला फुटबल २० औं शताब्दीको अधिकांश समय पूर्ण प्रतिबन्धित रह्यो । छिटफुट मैत्रीपूर्ण खेलबाहेक, महिलाका खुट्टाले फुटबल एसोसिएसनसम्बद्ध राम्रा मैदानहरूमा ५० वर्षभन्दा बढीसम्म टेक्नै पाएनन् । इङ्ल्यान्ड पुरुषको राष्ट्रिय फुटबल टिमले सन् १९६६ मा फिफा विश्वकपको उपाधि घरेलु मैदानमा उचाल्दा महिला फुटबल भने प्रतिबन्धित अवस्थामै थियो ।

समयक्रममा मजदुर वर्ग पक्षधरताको सवालबाट महिला फुटबललाई अलग्याइएपछि, महिला फुटबलमाथिको अर्थराजनीतिक कडीकडाउको सान्दर्भिकता कम भयो । बरु उल्टै, नाफाको अर्को क्षेत्रका रूपमा विकास हुने सम्भावना देखिँदै गयो । यसै क्रममा सन् १९७१ मा युरोपेली फुटबल संघ (यूएफए) को दबाबका कारण प्रतिबन्ध फुकुवा भयो र महिलाहरू सबै मैदानमा खेल्न थाले ।

यसरी महिला फुटबलले मजदुर वर्गपक्षधरताको अर्थात् वर्गसंघर्षको क्षेत्रमा सशक्त र सान्दर्भिक उपस्थितिको गौरव सँगालेको छ । हिजो बेलायती कारखानाका महिला मजदुरले हातमा बारुदको धूलो पुछ्दै, पुरुषकै साथ–सहयोगमा खेल्दै विकास गरेको महिला फुटबल शासक पुँजीपति वर्गको नाफाको स्वार्थमा नक्कली तर्क र विचारको जगमा प्रतिबन्धित गरिएको रहेछ । यो त मजदुर वर्गको ऐक्यबद्धता तोड्नका लागि पुँजीपति वर्गले रचेको षड्यन्त्र रहेछ । महिला फुटबललाई अर्थराजनीतिक कारणमा पुँजीवादी व्यवस्थाले प्रणालीगत बहिष्कार गरेको रहेछ । के थाहा, जुन रफ्तारमा महिला फुटबलले लोकप्रियता हासिल गर्दै थियो, त्यो रोक्न पुँजीपति वर्गले नसकेको भए, आज एकातिर महिला फुटबलको क्रेज र अर्कोतिर मजदुर वर्गपक्षीय विश्वव्यवस्था पो हुन्थ्यो कि ?

पराजुली अधिवक्ता हुन् ।

प्रकाशित : वैशाख १४, २०८० ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?