कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११७

जब स्वप्नद्रष्टा नै बदलिए

कमजोरी थाहा पाउने, त्यहीँ खेल्ने र उपयोग गर्ने, अन्तरविरोधका छिद्रहरू खोज्ने र उपयोग गर्ने प्रचण्डको राजनीति रह्यो । उनको कला अरूले पनि नसिक्ने कुरै रहेन । सोचको पेटेन्ट राइट हुँदैन ।
नरेन्द्रजंग पिटर

यो समाजले अक्सर अपराधीलाई माफ गर्छ तर स्वप्नद्रष्टालाई भने कहिल्यै माफ गर्दैन । - ओस्कर वाइल्ड 
आज म नोस्टाल्जियाले सताइएको छु । संसद्को पुनःस्थापना २०६३ वैशाख ११ गते भयो । परिस्थिति छिनछिनमै फेरिँदै गयो । अवस्था संवेदनशील भएकाले ढुक्क हुने सकिँदैनथ्यो । १२ गते सम्झिएँ, “म एकाएक ‘आतङ्ककारी’ बाट नागरिकमा फेरिएँ ।

जब स्वप्नद्रष्टा नै बदलिए

अब के गर्ने ?” हामी सामान्य माओवादी कार्यकर्ता रनभुल्लमा पर्‍यौं, मझौला नेताहरू अन्योलमा परे । हामी खुला समाजमा देखियौं, फेरियौं । सामाजिक अन्तरघुलन हुन गाह्रो पर्‍यो । भद्रगोलकै अवस्था रह्यो ।

युद्धका मोर्चाहरू फेरिए । सामान्य कार्यकर्ता के गर्ने, के नगर्ने अवस्थामा पुगे । एउटा डरको अन्त र अर्कोको सुरुआत भयो । डर भन्ने जिनिस पनि यस्तो रहेछ कि, डर देखाउने, खेद्ने, तर्साउने, लखेट्नेदेखि डराउन छोड्यो भने डर देखाउनेहरू नै डराउन थाल्दा रहेछन् ।

सरकार मात्रै हैन, सत्ताको चित्र र चरित्र नै फेरिइसकेको थियो । समाजको हरेक पक्षले प्रभावित बनेर फरक धारणा बनाइसकेको थियो । समरयात्राबाट सार्वजनिक जीवनमा फर्कंदा नयाँ संसारमा आएझैं लाग्यो । त्यो आशा, सपना, विश्वास, आकाङ्क्षा, प्रतिबद्धता र दायित्व फेरिएझैं लाग्यो । म सार्वजनिक जीवनमा चर्चित भए पनि पदीय रूपमा सामान्य थिएँ । खुला रहेर भूमिगत जीवनमा सक्रिय भएको थलोमा भूमिगत जिन्दगीबाट खुला हुनुपर्दा एउटा महाभारत फत्ते गरेर फर्केझैं लाग्यो ।

महत्त्वाकांक्षा त नयाँ अवस्थाको चालकशक्ति हुन्छ नै । उपलब्धिको रक्षा गर्दै सम्भावनामा टेकेर अग्रगमन र शान्तिको रोडम्यापलार्ई व्यावहारिक रूप दिन नेतृत्वसामु चुनौतीहरू थिए । नयाँ सन्दर्भ, भिन्न परिवेश थियो । शब्दहरूका अर्थ, मित्र र दुश्मनका परिभाषा फेरिए । जटिल र ‘रहस्यमय’ शैलीलाई सरल–सहज बनाउँदै जानु आवश्यक भयो । विचारहीन कलाबाजसँग भिड्न कलासहितको विचारवान् टिम आवश्यक थियो । वैचारिक र व्यावहारिक उपलब्धिलार्ई विपक्ष एक थोपा रगत नबगाई, एउटै गोली नपड्काई तहसनहस र ध्वस्त पार्न चाहन्थ्यो । गोलीको लडाइँ बोलीले लिँदा ‘मैदान–ए–जङ्ग’ टेबल सङ्घर्षर्मा फेरियो ।

कौतूहल थियो- माओवादीले केके न गर्ला ! अभिजातहरू त्रसित थिए, भुइँमान्छेका सपना र महत्त्वाकाङ्क्षा ह्वात्तै बढेका । माओवादीका पनि टुटेका सम्बन्ध र पुराना आचरण जोडिँदै ग्रन्थिहरू रसाउन थाले । मूलधारको राजनीतिमा आएकाले देश, विदेश र शक्तिकेन्द्रहरू चकित थिए । शान्तियात्रामा योजनाविहीन नेतृत्वलार्ई क्रान्तिकारी महत्त्वाकाङ्क्षाको व्यवस्थापन गर्नुपर्ने चुनौती थियो । एकातर्फ आदर्श, अर्कातर्फ समाजमा परेको बजार संस्कृतिको चेपुवामा रहेका अतृप्त ग्रन्थिहरूलाई आदर्शवाचनले रोक्न सक्दैनथ्यो ।

२०६३ जेठ ४ गतेको प्रतिनिधिसभा बैठकले राजतन्त्र निलम्बनसहित महत्त्वपूर्ण ऐतिहासिक घोषणा गर्‍यो । नेपाली विशेषताको ‘म्यानाकार्टा’ पनि भनियो । तब असार २ गते प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा गुरिल्ला कमान्डर प्रचण्ड र बाबुराम एउटै ड्रेसमा सार्वजनिक भए ।

मोहन वैद्य ‘किरण’ र सीपी गजुरेल भारतीय जेलबाट छुटे । बाबुरामप्रति त आग्रही सोच मौलाएकै थियो, प्रचण्ड–बाबुराम जोडीको सक्रियता पनि अरूलाई चित्त बुझेन । एक क्षेत्रको च्याम्पियन अर्को क्षेत्रको पनि दक्ष हुन सक्छ भन्ने थिएन । शान्तियुद्धले कूटनीतिक क्षमताको माग गर्थ्यो । तरिका कुनै पुस्तकमा लेखिएको थिएन ।

बालाजु भेलासम्म आइपुग्दा आग्रहहरू मौलाइसकेका थिए । कोही सिंहदरबार पुगिसकेका, सेना ब्यारेक पसिसकेको, पीएलएबाट वाईसीएलको क्याम्प खडा भइसकेको । माओवादीमा आवेग थियो भने विरोधीहरू कसरी साइजमा ल्याउने भनी मौन गतिविधि चलाइरहेका थिए । मिडियामा द्वन्द्वउद्यमी र आग्रही विचारक, ‘मानव अधिकारवादी’ र ‘नागरिक समाज’ को सक्रियतालाई ख्याल गर्नुपर्ने चेतना विद्रोहीमा रहेन । हरेक विद्रोहीलार्ई सनातनी समाज र प्रभु वर्गले डाँका, हत्यारा, लुटेरा भन्ने गर्छन् । सामान्यजनले लहैलहैमा त्यसैलार्ई पत्याउँछन् । अभिजातका भाष्य, फटाहा र लुटाहा, अन्यायीहरूको सुन्दरतामा विद्रोही अटाउन सक्दैनन् ।

समीक्षा नभएको जनयुद्ध

अवस्था र व्यवस्था वैशाख ११ र १२ मै फेरियो । अभिजातहरूले बिनासमस्या वैशाख ११ र जेठ ४ को सत्ता परिवर्तनलार्ई स्विकारे । अभिजातहरू कहिलेकाहीँ विकसित समझदारीका कारण समाजले स्वीकृत गर्दै गएको विचारलार्ई स्विकार्न बाध्य हुन्छन् तर तुस मौका ढुकिरहेको हुन्छ । अभिजातहरू विद्रोहीलार्ई आदर्शच्युत गर्ने र आफ्नै वर्गमा फेर्ने चतुर्‍याइँ गर्छन् । तर हस्तक्षेपले सामाजिक हलचल र उथलपुथल मच्चाइसकेर समाजलाई क्रमशः फेरिरहेको भने देख्न सकिराखेका हुँदैनन् ।

मानिसहरूमा परिवेशले तयार गरेको आग्रही चस्मा हुन्छ । धर्म, जाति, संस्कृति, राष्ट्रियता र आबद्ध राजनीतिक पार्टी, सिद्धान्त, गुट वा गिरोहको सामीप्यले गर्दा धारणाहरू बन्ने गर्छन् । आग्रही सोचले भिन्न विचारको, गम्भीर र विवेचनात्मक अध्ययनको अनुमति दिँदैन । ज्ञान र सूचनाबाट आतङ्कित भएर आफ्ना तर्क वा कुतर्कहरूको भडास व्यक्त गर्दै सन्तुष्टि लिन्छ । अश्लील गालीमा रमाउँछ । सबैसँग आफूलार्ई सत्य साबित गर्ने तर्कहरू हुन्छन् । डरबाट त छुटकारा मिल्न सक्छ तर लोभ र अहङ्कारको जेलबाट मुक्ति भने अत्यन्तै कठिन हुँदो रहेछ ।

बालाजु बैठकसम्म पुग्दा टुटेका आआफ्ना गुटबीच सम्बन्ध जोड्ने प्रयास भयो । बैठकले ‘मुखमा चुनाव, मस्तिष्कमा विद्रोह’ भनेर आवेग सामसुम पार्ने कोसिस गर्‍यो । सो दस्तावेज कहिल्यै सार्वजनिक भएन । चुनावको टिकट दिने हैसियत भएकाहरू पनि जिल्लिए ।

यदि राजनीतिक नेतृत्व भ्रष्ट भए पीएलएले प्रतिक्रान्ति रोक्नुपर्छ भनेर प्रशिक्षित भएको संगठन क्याम्पमा चेक खोस्नेसम्मको आपराधिक भूमिकामा देखा परेर कालिबहादुर खामहरू जन्मिँदै गए । पीएलएबाट ठूलो संख्या वाईसीएलमा आए पनि अराजक दस्तामा देखिँदै गएर अनेकौं बदनामी संस्थागत हुँदै गए ।

कमजोरी थाहा पाउने, त्यहीँ खेल्ने र उपयोग गर्ने, अन्तरविरोधका छिद्रहरू खोज्ने र उपयोग गर्ने प्रचण्डको राजनीति रह्यो । उनको कला अरूले पनि नसिक्ने कुरै रहेन । सोचको पेटेन्ट राइट हुँदैन । विचारको मातहत हुनुभन्दा सुविधाको सिद्धान्तमा रमाउनाले समस्या सधैं हल हुन सक्दैनथ्यो । खरिपाटी भेलामा अल्पमतमा परिसकेका प्रचण्ड एउटा चतुरेलाई किनेरै बहुमतमा पुगे, तर धोबीघाट क्रस गर्न समस्या पर्‍यो । आयोजक देखिए पनि प्रायोजक नदेखिएको धोबीघाट जमघट माओवादी पार्टीमाथिको गम्भीर प्रहार थियो । एक हप्ता नटिकेको समीकरणले पार्टी मात्रै फुटाएन, फेरि जोडिँदा कुनै तर्क दिनुपरेन । त्यसपछि त जुट्नु–फुट्नु, गाली रित्याउनु, आफैं नाङ्गिएर दुनियाँलाई तमासा देखाउनु, एकआपसमा भौतिक आक्रमणमा समेत उत्रिनु सामान्य कृत्य बन्दै गए । ‘कम्युनिस्ट’ हरू सजातिलाई गाली गर्न बुर्जुवाभन्दा पोख्त हुन्छन् । हरेक विषयलाई सैद्धान्तिकीकरण गर्दै रौंचिरा त केलाउँथे नै, अब निजी जिन्दगीमै छिरेर आक्रमण गर्न थाले ।

मुहानमै समस्या भएपछि नदी सफा हुँदैन । सबैको महत्त्वाकाङ्क्षाको व्यवस्थापन हुन सकेको थिएन, सक्दैनथ्यो पनि । नयाँ सन्दर्भका पीएलए बन्नुपर्ने बुद्धिजीवी, सांस्कृतिक र मिडिया मोर्चा सबभन्दा फितला र सिंहदरबार म्याराथुनमा अगुवा देखिए । विश्व कम्युनिस्ट आन्दोलनकै समस्या वर्ग–सिफ्ट, विचार र आदर्श–सिफ्ट भएपछिको हविगत त्यही हुन्थ्यो नै । पुरानै तरिकाले नयाँ युद्ध लड्न नसकेपछि नयाँ तरिका विकसित गर्न आवश्यक हुन्थ्यो तर भएन । सूचना र प्रविधिको विकास र पहुँचसँगै जब आन्दोलनलाई साथसाथै लिएर जान सकिँदैन, तब परिणाम यस्तै हुन्थ्यो ।

जनयुद्धविरुद्ध प्रायोजित द्वन्द्व–कारखानाहरू त लामो दिनदेखि चलिरहेका थिए । ती नागरिक समाज, द्वन्द्वपीडित, मानव अधिकार, मिडिया मिसनजस्ता लोकप्रिय आवरणमा थिए । त्यसमा धर्म र संस्कृतिका नाममा अभिजात तप्काको आवेगी खेल थपियो । माओवादीका नारा, विचार, राजनीति र आदर्श व्यवहारमा नदेखिएपछि अरू नायक खोज्दै अराजक भीडको शरणमा पुगे । प्रतिक्रान्तिकारी तप्काले त्यसैमा खेलेर आक्रमण गर्न थाल्यो । जनयुद्धकै बाइप्रोडक्टमा मधेश, जनजाति, थारू ‘विद्रोह’ र नयाँ शक्तिहरू देखा पर्दै गए । एकातर्फ पार्टीमा नैतिक अपिल गर्ने आधार खस्किँदै गयो भने, नेतृत्वमा आदर्शको धरातलले बन्ने इच्छाशक्ति कमजोर हुँदै गयो । पार्टीभित्र मैमत्त र यदुवंशी त थिए नै; आन्दोलनको राप र चापले मत्थर पारेको अभिजात तप्का, द्वन्द्व–व्यवसायी र भू–संवेदनशीलताका खेलाडीसमेत सक्रिय भए । नयाँ चुनौती सामना गर्ने विचारको विकास, त्यसलाई राजनीतिक, सामाजिक र सांस्कृतिकीकरण गर्ने सङ्गठन बनाउन ध्यान दिइएन ।

जनयुद्ध के शब्दशक्ति हो ? आतङ्क हो ? पक्षधरता हो ? जनयुद्धका अधिकांश परिकल्पनाकार अब मौलिक भूमिकामा रहेनन् । युद्ध हाँक्ने पार्टी रहेन । जनमुक्ति सेना रहेन । भौतिक हतियारहरू रहेनन् तर जनयुद्ध शब्द नै वर्चस्वशाली शक्ति र शासक वर्गका लागि अझै किन आतङ्क बनिरहेको छ ? उसका बौद्धिक सिपाही र आग्रही जत्था बीभत्स इतिहास व्यवस्थापनमा किन लागिरहेका हुन्छन् ? शब्द, शब्द मात्रै हुँदैन, ऊसँग इतिहास, सपना, सन्देश र भूमिका हुन्छ र प्रतिबद्धता पनि । कहिल्यै समीक्षा नगरिएको जनयुद्ध कतिलार्ई आफ्नै इतिहास बोझ भइरहेका बेला समाजले नजिक पुर्‍याइदिने दर्शन, दर्शनले प्रभाव पार्ने जिन्दगी, त्यसैले दिशानिर्देश गर्ने सपना, सपनाले गरिरहेको प्रश्नको भारी ! अनि, वर्तमान !

यदि आफूले विगतमा अंगीकार गरेका सैद्धान्तिक, वैचारिक र नैतिक मूल्यमान्यताप्रति इमानदार र प्रतिबद्ध रहेका भए विद्यमान परिर्वनको संवाहक नै बनेका माओवादीहरूले समेत यति ठूलो जनबलिदानमाथि कुठाराघात गरी, हिजोका वर्गवैरीहरूसँग चोचोमोचो मिलाउन सक्दैनथे । कम्युनिस्ट नभए पनि बुर्जुवा आदर्श त रहन्थ्यो ।

जनयुद्धसँग भावना, आदर्श, यथार्थ, पीडा र सपना जोडिएका छन् । यदि सपना भङ्ग भयो, त्यसमाथि सिकार खेलियो र दुर्घटना भयो भने के हुन्छ ? जनयुद्ध के एउटा सानो समूहको लहड थियो ? हुन त सपना, आन्दोलन र परिवर्तनका वेगहरू कहिल्यै सूत्रमा हाँकिँदैनन्; घुम्ती, वेग, महाविपत्ति भएर अघि बढ्छन् । जनयुद्ध त्यस्तै तरिकाले बढ्यो । जनयुद्धको अवस्था र सोचले हरेक विधामा हस्तक्षेप गरेको हुँदा आन्दोलन तुहिँदा, नेता–कार्यकर्ता ध्वस्त हुँदा पनि सामाजिक हस्तक्षेपले पारेका प्रभाव र राजनीतिक इतिहासको क्रमभंगता कसैले सन्दर्भबाट कटाउन सक्नेछैन । इतिहासका व्यवस्थापकहरूले जति बीभत्सताको चित्रण गर्न खोजे पनि सक्नेछैनन् । अहिले पनि त्यो पाटो–पक्षमा अध्ययन–अनुसन्धान हुन सक्छ र हुनुपर्छ पनि ।

जनयुद्ध जैविक माओवादीले बिर्से पनि विरोधीले भने सम्झिरहेका छन् । उपलब्धि ध्वस्त गर्न एकातर्फ इतिहासको व्यवस्थापन, जनयुद्धको बीभत्सीकरण गर्न सूचना, प्रविधि र कला प्रयोग गरेर अंशमा टेक्दै समग्रमा आक्रमण गरिरहेका छन् भने स्थायी सत्ता प्रयोग गरेर छद्मयुद्ध लडिरहेका पनि छन् । रूपमा सम्पूर्ण आक्रमणको केन्द्र प्रचण्ड देखिए पनि त्यो समग्र माओवादीमाथि भएको थियो र हो ।

प्रकाशित : वैशाख १२, २०८० ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?