एक सयको नोटमा चुच्चे नक्सा छाप्ने निर्णयबारे ओलीले मागे राष्ट्रपतिको जवाफ

वैशाख २८, २०८१

कान्तिपुर संवाददाता

Oli asked for the president's answer about the decision to print the Chukchi map on the 100 note

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले एक सयको नोटमा नेपालको चुच्चे नक्सा छाप्ने निर्णयकोविरुद्ध विज्ञ सल्लाहकारले अभिव्यक्ति दिएको भन्दै राष्ट्रपति रामचन्द्र पौडेलसँग जवाफ मागेका छन् ।

राष्ट्रपतिका सल्लाहकार चिरञ्जीवी नेपालले नोटमा नक्सा छाप्ने निर्णयबारे विभिन्न सञ्चार माध्यममा दिएको प्रतिक्रियाप्रति संकेत गर्दै अध्यक्ष ओलीले पार्टीको संसदीय दलको बैठकमै यसबारे प्रतिवाद गर्न सांसदहरूलाई निर्देशन दिए ।

'नेपालले नोटमा नेपालको नक्सा छाप्छुभन्दा अर्को देश कराएको सुनियो । किन अर्को देश कराएको ? किन करायो होला भन्दै गर्दा त राष्ट्रपतिका विज्ञ सल्लाहकार उत्तेजित भएका रहेछन् । कसका मान्छे र कस्ता मान्छे त्यहाँ जागिर खाएर बसेका छन् ? अध्यक्ष ओलीले भने,'नेपालले नेपालको नक्सा छाप्दा  अर्को देश रिसाउँछ भन्ने मान्छे राष्ट्रपतिको सल्लाहकार हुन मिल्छ ? सल्लाहकारको यो भनाइ राष्ट्रपतिको हो कि होइन हामी उहाँलाई सोध्न चाहन्छौं ।' 

अध्यक्ष ओलीले नेपालको राष्ट्रहितविपरीत र विद्वेष भएका व्यक्तिहरूले राष्ट्रपति कार्यालयमा गुँड बनाएर बसेको ओलीले आरोप लगाए । 'नेपालको यति अहित चिताउने । राष्ट्रिय भावनामा यस्तो विद्वेष भएका  व्यक्तिले राष्ट्रपति कार्यालयमा गुँड बनाउने यो के भएको हो ? राष्ट्रपतिले यही भनाइबाट सुन्नुहोस् । यो साधारण कुरा होइन । राष्ट्रपतिका सल्लाहकार राष्ट्रपतिको आवाज हो कि  हामी सोध्न चाहन्छौं ।'

राष्ट्रपतिको सल्लाहकारको भनाइलाई एमालेले गम्भीर रूपमा लिएको र जवाफ मागिने पनि ओलीले स्पष्ट पारे । 'राष्ट्रपतिको विज्ञ सल्लाहकार उफ्रिन्छ भने यो तमासा होइन ? त्यस्ता मान्छे राख्न मिल्छ ? यो प्रश्न हामी संसद्‍मा गम्भीरताका साथ उठाउँछौं । प्रधानमन्त्री जवाफ दिनुहुन्छ कि राष्ट्रपति आफैंले जवाफ दिनुहनुछ ?,' ओलीले भने, 'कि सल्लाहकार जहाँको हो त्यहीँ पठाउनुहुन्छ ? के गर्नुहुन्छ ?'

नेपाल सरकारले गुमेको भूभाग समेटेर नक्सा जारी गरेको र त्यसलाई संविधानको अंग बनाएपछि प्रयोगमा ल्याएको ओलीको भनाइ थियो । उनले त्यो नक्सा नेपालका रुपैयाँ र सिक्कामा छाप्नैपर्ने बताए । 

नेपालको नक्सा नेपाली रुपैयाँमा छापिने भयो भन्दा राष्ट्रपति निवासबाट अभिव्यक्ति आउनु चिन्ताजनको भएको ओलीको भनाइ थियो । 'नेपालको नक्सा नेपाली नोटमा राखेर छापिने भयो भन्दा राष्ट्रपति निवास कराउँछ । कस्तो राष्ट्रपति निवास ? कस्ता सल्लाहकार ? के भएको यो देश ? अनि हामी नेपाली ट्वाँ परेर हेरेका छौं,' ओलीले भने, 'नेपालको यतिसम्म अहित चिताउने, यतिसम्म राष्ट्रिय भावनामा न्यूनता वा विद्वेष भएका व्यक्तिहरू राष्ट्रपति निवासमा गुड बनाउने ? राष्ट्रको प्रमुखको कार्यालय त्यहाँ सर्पको गुँड के भएको यस्तो ।'

यो कुरामा राष्ट्रपतिले ध्यान राख्नुपर्ने र गम्भीर हुनुपर्ने ओलीको सुझाव थियो । उनले भने, 'यस विषयमा हामी दह्रैगरी छिनोफानो खोज्नेछौं । राष्ट्रपतिज्यू के भन्नुहुन्छ  ? झुक्किएर राख्नुभएको हो कि फेरि पनि डिफेन्ड गर्नुहुन्छ यो कुराको ? राष्ट्रपतिको त्यो भनाइ हो कि ? राष्ट्रपतिका विज्ञ सल्लाहकार राष्ट्रपतिको आवाज बोल्नका लागि त्यहाँ राखिन्छ यो राष्ट्पतिको आवाज हो कि होइन ?,' ओलीले सोधेका छन् ।

कान्तिपुर

Link copied successfully