सहकारी ठगीमा गृहमन्त्रीमाथि छानबिन समिति नबनेसम्म दुवै सदन चल्न सक्दैन : सिटौला

वैशाख २८, २०८१

कान्तिपुर संवाददाता

Both Houses cannot function until an inquiry committee is formed on the Home Minister in cooperative fraud: Sitaula

काठमाडौँ — राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म दुवै सदनको बैठक सञ्चालन गर्न नदिने बताएका छन् । 

शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै नेता सिटौलाले गृहमन्त्रीमाथि लागेको ठगी आरोप माफीयोग्य नभएको र गृहमन्त्रीका विषयमा प्रहरीले निष्पक्ष भएर छानबिन गर्नै नसक्ने दाबी गरे । 

शुक्रवार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले समेत संसदीय छानबिन समिति नबनेसम्म दुवै सदनको बैठक चल्न नदिने भन्ने निर्णय गरेको भन्दै नेता सिटौलाले संसदीय छानबिन समिति बनाउन उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नै बाधक बनिरहेको आरोप लगाए ।

उनले महान्यायाधिवक्ताले इतिहासमै नभएको सरकारका मन्त्रीलाई क्लिन चिट दिने काम गरेको भन्दै आपत्ति समेत जनाए । उनले भने, ‘हामीले पटक-पटक कहिले प्रधानमन्त्रीको र कहिले सभामुखको समन्वयमा हामीले उहाँलाई भेटेका छौँ । हामीले स्वयं गृहमन्त्रीसँग पनि कुरा राखेका छौँ । तपाईंले संसदीय छानिबन समिति बनाएर क्लिन चिट लिनुस् भनेका हौँ । हामी सहयोग पुर्‍याउन चाहन्छौँ । अर्बौं घोटालाको कुरा छ । अर्बौं अपचलनको कुरा छ । गृहमन्त्रीमाथि लागेको यति ठूलो आरोपमा छानबिन नै नगरी क्लिन चिट दिन कसरी मिल्छ ?'

उनले कांग्रेसले सो प्रकरणमा जोडेर गृहमन्त्रीको राजीनामा नमागेको दाबी गरे । 'अहिले त हामीले राजीनामा पनि मागेका छैनौँ । संसदीय छानबिन समिति बनाऔँ, सत्तापक्ष तपाईंहरु नै हुनुहन्छ भनेका हौँ। छानबिन समिति बनाउनु हुँदैन भन्नेमा सबैभन्दा पहिला त म गृहमन्त्री नै देख्दछु । किन बनाउनु नहुने हो? निर्दोष हो भने छानबिन समितिले यतिकै दोषी बनाउने त होइन,' उनले भने ।

कान्तिपुर

Link copied successfully