दुईपुस्ते शिक्षणमै कति रमाउने ?

शिक्षक तथा प्राध्यापकलाई बहुज्ञान, बहुसीप तथा बहुअभिवृत्तिको संयोजक बनाउनुपर्छ । अनुभवी पुस्ताको ज्ञान, सीप तथा अभिवृत्ति जान्ने । युवा पुस्ता तथा युवोत्तर पुस्ताको ज्ञान, सीप तथा अभिवृत्तिमा जोड्न जान्ने ।
विद्यानाथ कोइराला

कुन पुस्ते शिक्षण गर्ने ?
हामी दुईपुस्ते शिक्षण प्रणालीमा अभ्यस्त छौं । रोमन अक्षरको यू प्रणाली । किसानी शब्दावलीमा फाली अड्याउने करुवा प्रणाली । शिक्षक एउटा पुस्ता । विद्यार्थी अर्को पुस्ता । पश्चिमी दुनियाँले करुवा प्रणालीमा खोट देख्यो । सन् २००७ मा अमेरिकाको बोस्टन सहरका केही स्कुलका विद्यार्थीले करुवा प्रणाली तोडे । त्यस क्रममा तिनीहरू समुदायमा गए । बहुपुस्तासँग भेटघाट गरे ।

भेटघाटका लागि तिनले केन्द्र (आउट रिच सेन्टर) बनाएका थिए । त्यहाँ विद्यार्थीले बहुपुस्तासँग अन्तर्वार्ता लिए । एउटै प्रश्नमा बहुपुस्ताको उत्तर खोजे । यसबाट धेरै सिकाइ भयो । फलत : तिनले विद्यार्थी तथा बहुपुस्ताबीच सहसिकाइको योजना बनाए । सहकार्य गर्ने योजना ।

शिक्षण विधि के अपनाए ?

करुवा शिक्षण बदल्न बहुपुस्ते शिक्षण चाहिन्छ । यसको उद्देश्य के हुने ? भेटघाटका विषयवस्तु के हुने ? विद्यार्थीले आर्जन गरेका ज्ञान तथा सीपलाई मौजुदा पाठ्यक्रमसँग कसरी जोड्ने ? शिक्षण विधि के हुने ? मूल्यांकन कसरी गर्ने ? परिणाम के हुने ? यी र यस्ता प्रश्नमा आधारित भएर क्यानडा, अस्ट्रेलिया, स्पेन, पोल्यान्ड, टर्कीमा पनि अध्ययनहरू गरिए । ती अध्ययनहरूको नतिजा सुखद देखियो । परिणामत : स्पेन, उत्तरी आयरल्यान्ड तथा पोर्चुगलले बहुपुस्ते शिक्षण सुरु गरे । उरुग्वेले घरघरमा कथा सुने–सुनाएको कुराबाट कक्षाकोठाको पाठमा जोड्ने तरिका अपनायो । स्लोभानियाले परियोजनाका रूपमा बहुपुस्ते शिक्षण विधिको अभ्यास गर्‍यो ।

विषयवस्तु के राखे ?

निभ्स लिसेनले सन् २०२१ मा गरेको अध्ययनले भन्छ— मानिस तथा वातावरणको सहसम्बन्धको कुरा सिकाउन बहुपुस्ते सिकाइ उपयोगी हुन्छ (ओपेन जर्नल अफ एजुकेसनल रिसर्च सन् २०२१, ५.१) । परियोजना दिएर तथा अनुसन्धान गराएर औपचारिक कक्षाका लागि । कुरा बुझ भनी पठाए अनौपचारिक कक्षाका लागि । सोही अध्ययनले दिगो विकासका विषयवस्तु सिकाउन पनि यो विधि उपयोगी भएको पहिल्याएको छ । यसका लागि कथन प्रणाली (न्यारेटिभ मेथड) को उपयोग गरेको छ । प्राप्त नतिजाले भन्छ– यसबाट कृषिको दिगो विकास सम्भव भयो । पर्यावरणको दिगो विकासका कुरा जानियो । समाजमा भएका परिवर्तन जान्नका लागि पनि यो शिक्षण विधि उपयोगी सावित भयो । महिलालाई हेर्ने दृष्टिकोणमा आएको परिवर्तन बुझ्न । खानपानमा आएको फेरबदल जान्न । रहरसहनमा आएको परिवर्तन बुझ्न । संस्कृतिमा आएको निरन्तरता, अतिक्रमण तथा संक्रमण जान्न । समावेशिताको स्थिति बुझ्न ।

कुन क्षेत्रमा कसरी रूपान्तरण भइरहेछ भन्ने कुरा जान्न पनि बहुपुस्ते शिक्षण प्रणाली उपयोगी भएको कुरा सोही अध्ययनले देखाएको छ । कृषिको रूपान्तरण । खानपानको रूपान्तरण । चाडबाडको रूपान्तरण । बजारीकरणको रूपान्तरण । उपभोक्तावादको रूपान्तरण । यसरी विविध क्षेत्रको रूपान्तरणका विषयवस्तु सिक्न तथा सिकाउन यो शिक्षण विधि लागू गरिएको देखिन्छ ।

उपयोगिता के छ ?

विभिन्न देशहरूमा गरिएका अध्ययनहरूले भन्छन्— बहुपुस्ते शिक्षणले विद्यार्थीलाई सर्जक बनाउँछ । बालविकास शिक्षा, विद्यालय शिक्षा, विश्वविद्यालय शिक्षा, समुदाय तथा तेस्रो उमेरको विश्वविद्यालय (थर्ड एज युनिभर्सिटी) लाई एकसाथ जोड्छ । तेस्रो उमेरको विश्वविद्यालयमा विश्वभरका सेवा निवृत्तहरूले सिक्ने सिकाउने गर्छन् । हिजो आमनेसामनेको सिकाइ थियो यो । अहिले अनलाइन शिक्षण सिकाइमा गएको छ । नेपालमा पनि यसका अभ्यासीहरू छन् । बहुपुस्ते शिक्षाको यही उपयोगिता बुझेर अस्ट्रेलियाले स्याहारसुसार गृह (केयर होम) देखि विश्वविद्यालयसम्म जोड्न नातिनातिना साथी (ग्रायन्ड फ्रेन्ड्स कार्यक्रम) सञ्चालन गरेको छ । क्यानडा, जापान, अस्ट्रेलिया, स्पेन, दक्षिण अफ्रिकाको अध्ययनले भन्छ– यो शिक्षण विधि अपनाउँदा सबै पुस्ताले एकसाथ सिक्छन्, सिकाउँछन् । पुरानो पुस्तालाई हामी बुढिएका रहेनछौं भन्ने सन्देश जान्छ । युवा तथा बालबालिकालाई हामी पनि सिकाउन सक्ने रहेछौं भन्ने विश्वास बढ्छ । उनीहरूको शब्दावलीमा नातिनातिनी पुस्ता तथा हजुरबा–हजुरआमा पुस्ताको सहज सम्बन्ध बन्छ । अर्थात् दुवै थरी सिक्ने सिकाउने साथी बन्छन् । यो कुरालाई रुटलेजले सन् २०१७ मा निकालेको ‘जर्नल अफ इन्टरजेनरेसनल रिलेसनसिप’ मा प्रकाशित लेखले पनि पुष्टि गरेको छ ।

छिमेकी देश के भन्छन् ?

युज्जा हुवो तथा जाने गोल्ले (चाइना इकोनोमिक रिभ्यु अंक ७१, फेब्रुअरी २०२२) ले चीनमा बहुपुस्ते शिक्षण अभ्यासको विश्लेषण गरे । उनीहरूको अध्ययनले भन्छ– यो विधिले पुस्तैपिच्छेका महिलाहरूको बदलिँदो अनुभव सिकाउँछ । तत्कालीन महिला तथा पुरुषहरूको सम्बन्ध बुझ्न सक्षम बनाउँछ । हजुरबा तथा हजुरआमा र नातिनातिनी दुवैले सिक्न–सिकाउन पाउँछन् । नातिनातिना पुस्तालाई यो शिक्षण तरिकाले झनै फाइदा पुग्छ । यही उपलब्धिका आधारमा चीनले बहुपुस्ते शिक्षण तरिका अपनाएको छ । उसको अनुभवअनुसार दुईपुस्ते अर्थात् बाबुआमाले छोराछोरीलाई सिकाउने करुवा शिक्षण प्रणालीभन्दा तीन पुस्ताले एकैसाथ पढ्ने पढाउने शिक्षण प्रणाली बढी उपयोगी हुन्छ (लि. एम तथा केओ जे, सन् २०२२ को स्कुप्स प्रिभ्यु, मल्टिजेनरेसनल मोबिलिटी इन चाइना इन दि ट्वान्टीफस्ट सेन्चुरी) । त्यसैगरी बहुपुस्ते शिक्षण प्रणालीले आमाबाबुको शिक्षालाई पनि सघाउँछ (रिभ्यु अफ डेभलपमेन्ट इकोनोमिक्स अंक २३.१, सन् २०१९) । यो शिक्षण विधिले गाउँ तथा सहरको दूरी घटाउँछ (चाइना एन्ड दि वर्ल्ड इकोनोमी, अंक २१.२, सन् २०१३) ।

भारत तथा इन्डोनेसियामा गरेको अध्ययनले देखाउँछ कि बहुपुस्ते शिक्षण सिकाइले विद्यार्थीहरूको शैक्षिक उपलब्धि बढ्छ । लैंगिक दूरी घट्छ । अभिभावक शिक्षाको पनि काम गर्छ । विद्यार्थीले घरको वातावरण विद्यालयमैत्री भएको पाउँछ (विश्व बैंक, ‘अन्डरस्ट्यान्डिङ दि ड्राइभर्स अफ इन्टरजेनरेसनल एजुकेसनल मोबिलिटी इन डेभलपिङ कन्ट्रिज’, २०२१) । सोही अध्ययनले भनेको छ— यो शिक्षण विधिले ज्ञानको स्थानान्तरणमा मद्दत गर्छ । ज्ञान, विज्ञान तथा प्रविधिको पुनरुत्पादन (रिप्रोडक्सन) मा सघाउँछ । शैक्षिक रूपान्तरणका लागि पनि परिवेश सिर्जना गर्छ ।

नियमित कक्षा बिथोलिए के गर्ने ?

बहुपुस्ते शिक्षणले नियमित समय तालिका बिथोलिन सक्छ । यसरी बिथोलिएको समय तालिका मिलाउन भर्ना समय तालिका (वाटरफल स्केजुल) लागू गर्ने गरिएको छ । यो संस्कृतिअनुसार विद्यार्थीलाई अनुकूल हुने समय पहिचान गरिन्छ । बिहान, दिउँसो वा राति जुन बेला पनि तिनको समय मिल्न सक्छ । सोही समयमा शिक्षकको सहकार्यमा कक्षा सञ्चालन गर्ने/गराउने गरिन्छ । यसका लागि समर्पित शिक्षकको जरुरी छ । विद्यार्थीको लगनशीलता पनि उत्तिकै जरुरी छ । भर्ना समयमा चल्ने कक्षाहरू आमने–सामने स्वरूपका पनि हुन सक्छन् । अनलाइन कक्षाका पनि हुन सक्छन् । रेकर्डेड कक्षाका पनि हुन सक्छन् । स्वाध्याय शिक्षणका पनि हुन सक्छन् । परियोजनामार्फत विद्यार्थीलाई सिक्ने सिकाउने अवसर दिन पनि सकिन्छ । लघु अनुसन्धान गराउन पनि सकिन्छ । समस्यामा आधारित कार्यहरू पनि गराउन सकिन्छ । सत्य घटनामा आधारित कक्षा पनि सञ्चालन गर्न सकिन्छ ।

नेपालले के गर्न सक्छ ?

सर्जक भएर सोच्ने तथा नवीन सोचमा जाने रहर हुने हो भने नेपालले अनेकन कार्यहरू गर्न गराउन सक्छ । त्यसो गर्नाले बहुपुस्ते शिक्षाको संस्कार बन्छ । स्कुलको तहमा । विश्वविद्यालयको तहमा । तेस्रो उमेर समूहको विश्वविद्यालयको तहमा । तलका बुँदाहरूले यो भनाइलाई थप पुष्टि गरेका छन् ।

क) अभ्यासको खोजी : साउँभन्दा ब्याज प्यारो । यो नेपाली उखानले भन्छ— हजुरबा–हजुरआमाले छोराछोरीभन्दा नातिनातिनालाई बढी माया गर्छन् । संयुक्त परिवारवाला नेपालीको अनुभूति हो यो । तेल भिसामा विदेशिने हजुरबा तथा हजुरआमाले पनि यही कुरा सम्झाएका छन् । मधेशको लोरी गाउने आमा तथा हजुरआमा पुस्ताले सोही कुरा बताएका छन् । कथा सुनाउने हिमाल, मधेश तथा पहाडको संस्कारले पनि यही कुरालाई इंगित गरेको छ । यसको अर्थ हो— हामीले हाम्रा संस्कारको खोजी गरे हुन्छ । उद्देश्यको खोजी । विषयवस्तुको खोजी । शिक्षण विधिको खोजी । मूल्यांकनको खोजी । परिणतिको खोजी । यस्ता खोजीहरूले भन्छन्— हामीसँग बालबालिकालाई संस्कार दिने संस्कृति छ । आ–आफ्नै जातको । जातिको । धर्मको । परिवेशको । यो पुर्ख्यौली सम्पदाको खोजी गर्न सक्छ नेपालले । प्राध्यापकमार्फत । शिक्षकमार्फत । जनप्रतिनिधिमार्फत । सेवा निवृत्त व्यक्तिहरूमार्फत । निष्पक्ष अध्ययनकर्ता समूहमार्फत ।

ख) शिक्षक–प्राध्यापकको तयारी : शिक्षक तथा प्राध्यापक तयारी अर्को कुरा हो । यसका लागि कम्प्युटर एप्स बनाउनु जरुरी छ । फेसबुकमा सन्देश पठाउने तरिका अपनाए पनि हुन्छ । सबै शिक्षक तथा प्राध्यापकहरू यसमा अभ्यस्त छन् । मोबाइल बोक्ने ७३ प्रतिशतसँग त स्मार्ट फोन पनि छ (जनगणना, २०७९) । यसो गर्नाले शिक्षक तथा प्राध्यापकहरू तयार हुन्छन् । पालिका तथा क्याम्पसमै पनि संवाद कार्यक्रम सञ्चालन गर्न सकिन्छ । जानकारी लिने रूपमा । जानकारी दिने रूपमा । जानकारी लिने भनेको बहुपुस्ताबीचको संवाद के विषयमा हुन्छ ? यो प्रश्नले विषयवस्तु चिनाउँछ । विषयवस्तु प्रस्तुत गर्ने शैली चिनाउँछ । त्यस क्रममा कुन पाठ जोड्न/जोडाउन सकिन्छ भन्ने सुझ दिन्छ । सुझका आधारमा कार्यक्रम तय गर्ने बाटो दिन्छ । कसरी सन्दर्भ, विषयवस्तु तथा विधि जोड्न सकिन्छ भन्ने चिन्तन पलाउँछ । कसरी पढाइको मूल्यांकन गर्ने भन्ने कुराको जानकारी हुन्छ ।

ग) पाठ्यक्रम तथा पाठ्यपुस्तक मिलान : बहुपुस्तीय पढाइले विद्यार्थीको सन्दर्भीय ज्ञान बढाउँछ । त्यो ज्ञानले विद्यार्थी पाठ्यपुस्तकमा अटाउँदैन । दिइएको पाठ्यक्रममा पनि अटाउँदैन । यसका लागि शिक्षक तथा प्राध्यापकलाई करुवा शिक्षणबाट बाहिर ल्याउनुपर्छ । बाहिर ल्याउन समय तालिका बदल्नुपर्ने हुन्छ । परियोजना कार्य दिनुपर्ने हुन्छ । अनुसन्धान गर्नुपर्ने हुन्छ । पाठ्यक्रमसँग जोड्नुपर्ने हुन्छ । पाठ्यपुस्तकसँग मिलाउनुपर्छ । परीक्षा प्रणालीसँग भिडाउनुपर्ने हुन्छ । अनि अपेक्षाअनुसार विद्यार्थीको गुणस्तर तथा गरिखाने सीप भए/नभएको कुराको परीक्षण गर्नुपर्छ । यो कामका लागि शिक्षक तथा प्राध्यापकलाई सघाउनुपर्ने हुन्छ ।

घ) बहुज्ञानमा विश्वास : पुस्तापिच्छेको ज्ञान, सीप तथा अभिवृत्तिमा फरकपना भेटिन्छ । यो स्वाभाविक पनि हो । यो स्वाभाविक चिन्तनलाई सधैं बासी बन्ने पाठ्यपुस्तकले समावेश गर्न सक्तैन । त्यही स्वरूपको पाठ्यक्रमले पनि समावेश गर्न सक्तैन । त्यसमाथि पनि सानो क्षेत्रफलमा धेरै विविधता भएको देश नेपालमा शिक्षक तथा प्राध्यापकबाहेक अरूले बहुज्ञान, सीप तथा अभिवृत्तिलाई एकसाथ संकलन गर्न सक्तैनन् । जगेर्ना गर्न पनि सक्तैन । विकसित बनाउन पनि सक्तैनन् । पाठ्यवस्तुमा जोड्न पनि सक्तैनन् । यसैले शिक्षक तथा प्राध्यापकलाई बहुज्ञान, बहुसीप तथा बहुअभिवृत्तिको संयोजक बनाउनुपर्छ । पुर्खाको शब्दमा त्रिकालदर्शी । भूत, भविष्य तथा वर्तमान जानेको । यो लेखको सम्बन्धमा भन्दा अनुभवी पुस्ताको ज्ञान, सीप तथा अभिवृत्ति जान्ने । युवा पुस्ता तथा युवोत्तर पुस्ताको ज्ञान, सीप तथा अभिवृत्तिमा जोड्न जान्ने । यो कुरामा शिक्षक तथा प्राध्यापकलाई जानकार बनाउनुपर्छ ।

ङ) बहुज्ञान, बहुसीप तथा बहुप्रविधि जोड्ने कला : बहुपुस्ताका ज्ञान, सीप, तथा प्रविधिमा धर्मशास्त्रीय ज्ञान हुन्छ । विज्ञानको ज्ञान हुन्छ । संस्कारको ज्ञान हुन्छ । अनुभवीय ज्ञान हुन्छ । यी ज्ञान, विज्ञान, प्रविधिहरू जोड्ने कला शिक्षक तथा प्राध्यापकमा हुनुपर्छ । यसका लागि शिक्षक तथा प्राध्यापकहरू योजक बन्नुपर्छ । ज्ञानको योजक । विज्ञानको योजक । प्रविधिको योजक । त्यसैले तिनलाई योजक कलामा पारंगत बनाउनुपर्छ । मिल्ने ज्ञान, सीप तथा प्रविधि खोज्नमा । नमिल्ने ज्ञान, सीप तथा प्रविधिउपर शोध गर्नमा । परीक्षण गर्नमा ।

निचोड के त ?

ज्ञान सर्वत्र छ । विज्ञान पनि सर्वत्र छ । प्रविधि पनि सर्वत्र छ । तिनलाई चिन्ने र खोज्नेहरू पनि कुनै न कुनै पुस्तामा छन् । करुवा शिक्षण शैलीमा अभ्यस्त शिक्षक तथा प्राध्यापकहरूले ती सबै ज्ञान, सीप तथा प्रविधिमा जानकारी राख्दैनन् । बहुपुस्ते शिक्षण कलाको प्रयोग गर्नाले सबै पुस्ताका जानकारहरू एकै बिन्दुमा आउँछन् । तिनका ज्ञान, सीप तथा प्रविधिले अनेकन पुस्तक पढ्न बाध्य गर्छन् । वेभ सर्फिङ गर्न बाध्य गर्छ । नवीन लेखहरू खोज्न कर लगाउँछ । सर्जक बन्न बाध्य पार्छ । यसो गर्नासाथ विद्यार्थीहरू स्वत : एक्काइसौं शताब्दीका बन्न थाल्छन् । आत्मआलोचक । समालोचक । सर्जक । सहकार्यी । अन्तरपुस्ता सञ्चारक । यसबाहेक अहिले शिक्षक तथा प्राध्यापकको संख्या पुगेन भन्ने समस्याको पनि तत्स्थानमा समाधान भेटिन्छ । आमने–सामने तरिकाबाट । आधुनिक प्रविधि प्रयोगबाट ।

त्यस्तैगरी शिक्षक एवं प्राध्यापक निर्णायक बन्नुपर्छ । अन्तर्वार्तामार्फत बहुपुस्ता जोड्ने कि ? कथा भन्ने संस्कारलाई सबैको साझा अभ्यास बनाउने कि ? परियोजना कार्य गराउने कि ? सत्य घटनामा आधारित तरिका (फेनोमेनोलोजिकल विधि) अपनाई पढाउने कि ? निश्चित विषयमा मात्र बहुपुस्ते शिक्षण सिकाइको अभ्यास गर्ने कि ? सबै विषयमा यो विधिको उपयोग गर्ने कि ? दिगो विकास यसरी सम्भव रहेछ भनी यसलाई शिक्षाको अभिन्न अंग बनाउने कि ? रूपान्तरण पनि यही तरिकाबाट सम्भव छ भनी अगाडि बढ्ने कि ? यी र यस्ता अनेकन प्रश्नहरूको उत्तर खोज्नुपर्ने हुन्छ । प्रश्न हो– करुवा शिक्षण विधिमै रम्ने रमाउने कि बहुपुस्ताको ज्ञान, सीप तथा प्रविधि जोडेर विद्यार्थीलाई सन्दर्भसँग सिक्ने एवं सन्दर्भसँग जोड्ने वा जोडिन सक्ने बनाउने ? निर्णायकको किटानी सोचको पर्खाइमा म जस्ताहरू प्रतीक्षार्थीहरू छौं ।

प्रकाशित : चैत्र १६, २०७९ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्

लोकतन्त्रको पक्षमा उभिएको विश्व समुदाय

पछिल्ला केही वर्षमा हामीले लोकतन्त्रको संरचना कमजोर हुँदै गएको देखिरहेका छौं । हामीले यसलाई भत्किन दियौं भने विश्वभरका नागरिकहरू आफ्नो भविष्य स्वयं निर्धारण गर्ने अवसरबाट विमुख हुनेछन् ।
डिन आर थम्पसन

यो साता विश्वभरका देशहरू विश्वव्यापी प्रणालीको सुव्यवस्थामा लोकतन्त्रको महत्त्वमाथि जोड दिन र लोकतन्त्रले हाम्रा नागरिकहरूका पक्षमा नतिजा ल्याउँछ भन्ने सुनिश्चित गर्ने हाम्रो साझा प्रतिबद्धताको मूल्यांकन गर्न भेला हुँदै छन् ।

गणतन्त्र कोरिया, गणतन्त्र जाम्बिया, कोस्टारिका, नेदरल्यान्डस् र संयुक्त राज्य अमेरिकाले संयुक्त रूपमा आयोजना गर्न लागेको ‘लोकतन्त्रका लागि शिखर सम्मेलन’ को यो दोस्रो संस्करणले करिब १२१ देश र तिनका नेताहरूका साथै नागरिक समाज र निजी क्षेत्रका नेतृत्वकर्ताहरूलाई एकै ठाउँमा ल्याउँदै छ । उनीहरूको लक्ष्य हो— हाम्रो विश्वले हाल सामना गरिरहेका साझा कठिनाइहरूको सम्बोधन गर्ने; गत वर्षका वाचा र घोषणाहरूबारे भएका प्रगतिको प्रदर्शन गर्ने; र विश्वव्यापी लोकतान्त्रिक नवीकरणमा सहभागी हुने प्रतिबद्धता पुनः व्यक्त गर्ने ।

यसो गर्नु किन महत्त्वपूर्ण छ ? अमेरिकी राष्ट्रपति जो बाइडेनका शब्दमा भन्दा, ‘लोकतन्त्र पक्षधर विश्वव्यापी समुदायका रूपमा हामीलाई एकताबद्ध गर्ने हाम्रा मूल्यहरूका पक्षमा हामी उभिनुपर्छ ।’ हाल बहुसंख्यक मानिसहरू स्वशासनको आधारभूत अधिकारबाट वञ्चित छन् । उनीहरू निरंकुशता, अधिनायकवाद र तानाशाहीहरू— धेरै त झूटा निर्वाचनमार्फत् स्वतन्त्रता बहाल रहेको देखाउने मुखौटो लगाएका र ‘लोकतन्त्र’ भन्ने शब्दलाई नै दूषित बनाएका नेताहरू— का अधीनमा बाँचेका छन् । पछिल्ला केही वर्षमा हामीले लोकतन्त्रको संरचना कमजोर हुँदै गएको देखिरहेका छौँ । हामीले यसलाई भत्किन दियौँ भने विश्वभरका नागरिकहरू आफ्नो भविष्य स्वयम् निर्धारण गर्ने अवसरबाट विमुख हुनेछन् ।

आज हामीलाई ती देशहरूबारे थाहा छ जसका नेतृत्वकर्ताहरू जनताका आकांक्षालाई बेवास्ता गर्छन्; जहाँ समसामयिक राजनीतिक एजेन्डाहरूलाई अघि बढाउन इतिहासलाई विकृत पारिन्छ र राज्य आफ्ना जनताबाट जानकारी लुकाउँछ; जहाँ नागरिकका हरेक गतिविधिको निगरानी गरिन्छ; जहाँ शान्तिपूर्ण असहमतिविरुद्ध गिरफ्तारी र देखावटी सुनवाइ गरिन्छन्; जहाँ व्यक्तिका धार्मिक विश्वास र अभ्यासहरूलाई सीमित वा सम्पूर्ण रूपमा अस्वीकृत गरिन्छ; र जहाँ सरकारी दुरुपयोगविरुद्ध सर्वाधिक प्रभावकारी ओखतीका रूपमा रहेका सञ्चारकर्मी र स्वतन्त्र प्रेसलाई दबाइन्छ ।

अधिनायकवादी सरकारहरू चुनावी परिणाम प्रभावित पार्ने वा अन्य मुलुकमा तनाव बढाउने आशयले दुष्प्रचार फैलाउँछन् । भ्रष्टाचारले जनताका आकांक्षाको मूल्यमा राजनीतिक तथा आर्थिक शक्तिको किनबेच गर्छ । र, कुनै उक्साहटबिना नै रुसी नेतृत्वले एउटा सार्वभौमसत्ता सम्पन्न लोकतान्त्रिक देशविरुद्ध क्रूर र औचित्यहीन युद्ध सुरु गरेको छ, जसले संयुक्त राष्ट्रसंघीय बडापत्रको उल्लंघन गर्नुका साथै अन्तर्राष्ट्रिय शान्तिको आधार बनेका सिद्धान्तहरूको धज्जी उडाएको छ ।

यस वर्षको लोकतन्त्रका लागि शिखर सम्मेलनका संयुक्त आयोजकहरू मान्छन् कि स्वतन्त्रताको रक्षा गर्न लोकतान्त्रिक राष्ट्रहरूले सामूहिक रूपमा काम गर्नुपर्ने समय हो यो । लोकतन्त्रका लागि शिखर सम्मेलनको पहिलो संस्करणमा सहभागी सरकार तथा अधिकारीहरूले स्वदेश र विदेशमा लोकतन्त्रको सुदृढीकरण र सुरक्षाप्रति लक्षित झन्डै ७ सय ५० प्रतिबद्धताहरूको उद्घोष गरेका थिए । अमेरिकाले अझ उत्थानशील लोकतन्त्र निर्माण गर्न सार्थक कदमहरूको घोषणा गरेको थियो । नेपालले ‘लोकतान्त्रिक व्यवस्था र ... आवधिक निर्वाचन तथा सर्वव्यापी मताधिकार, शक्ति पृथकीकरण, नियन्त्रण तथा सन्तुलन, न्यायपालिकाको स्वतन्त्रता, मानवअधिकार तथा मौलिक स्वतन्त्रताहरूको संरक्षण र प्रवर्द्धन, व्यक्तिगत स्वतन्त्रता, प्रेस स्वतन्त्रता र कानुनी शासनप्रति पूर्ण प्रतिबद्धता’ व्यक्त गरेको थियो । सहभागीहरूले शिखर सम्मेलनमा जनाएका प्रतिबद्धताहरूले पूर्णता नपाइसकेका भए तापनि विश्वभरका लोकतन्त्रहरूले १६ महिनाअघि मात्र सम्पन्न प्रथम शिखर सम्मेलनदेखि हालसम्म हासिल उपलब्धिहरूप्रति गर्व गर्नुपर्दछ ।

गत वैशाख र मंसिरमा नेपालले राष्ट्रिय निर्वाचनहरू सम्पन्न गर्‍यो जसलाई पर्यवेक्षकहरूले स्वतन्त्र, निष्पक्ष र समग्रमा शान्तिपूर्ण भएको टिप्पणी गरे । पुरुष तथा महिलाहरू, तेस्रोलिंगी व्यक्तिहरू, वृद्धवृद्धा तथा चुनावमा पहिलो पटकका सहभागीहरू, धनी तथा गरिबहरू, अपांगता भएका र नभएका व्यक्तिहरू, र विभिन्न जात, धर्म र समुदायका सदस्यहरू सबैले आफ्नो मतदान गरे । उनीहरूको मतले सत्ताको हस्तान्तरण शान्तिपूर्ण रूपमा भयो पनि ।

नेपाल परिवर्तनका लागि प्रयत्नरत रहेको, समावेशी लोकतन्त्रको आफ्ना संवैधानिक आकांक्षालाई साकार बनाउँदै गएको र आफ्ना सबै नागरिकका निम्ति राम्रो भविष्यको निर्माण गर्दै गरेको देशको एउटा उदाहरण हो । नेपालले राजनीतिक प्रक्रियामा अल्पसंख्यकहरूको सार्थक सहभागिता सुनिश्चित गर्न काम गरिरहेको छ भने आफ्नो सरकारी संरचनामा सरकारले प्रतिनिधित्व गरेका जनता प्रतिबिम्बित भएको निश्चित गर्न उपायहरू अपनाउँदै पनि छ ।

मानवअधिकार र कानुनी शासनका विषयमा, हालसम्म नेपाल सरकारले बलात्कारसम्बन्धी कानुनी हदम्याद बढाउने र तेजाब आक्रमणका दोषीहरूका सजायको व्यवस्थालाई बलियो बनाउनेलगायत कार्य गरी लैंगिक हिंसाको रोकथाम गर्न र लैंगिक हिंसाका घटनाप्रति प्रतिक्रिया जनाउन कानुन पारित गरेको छ । नेपालले तेस्रोलिंगीहरूको मानवअधिकारलाई प्रवर्द्धन गरेको छ जसले नेपाललाई यस मुद्दामा दक्षिण एसियामै अग्रणी बनाएको छ । नेपाल सरकारले नेपालीकै नेतृत्वमा अन्तर्राष्ट्रिय मापदण्डअनुरूपको पीडित–केन्द्रित संक्रमणकालीन न्याय प्रक्रियाका लागि काम गर्न पनि जारी राखेको छ । हालसालै, तत्कालीन सत्तारूढ गठबन्धनका सातै दलले संक्रमणकालीन न्यायलाई नयाँ संसद्को उच्च प्राथमिकतामा राख्ने संकेत दिएका थिए भने यसबारे सार्वजनिक छलफल जारी छ, जसले यो महत्त्वपूर्ण विषयलाई संसद्को एजेन्डामा कायम राख्ने प्रयत्न गर्दै छ । र, न्यायाधीशहरूले कुनै राजनीतिज्ञ वा पार्टी लाइनअनुरूप नभई स्वतन्त्र रूपमा र विधिको शासनअनुकूल निर्णयहरू गरी नेपाली अदालतहरूको न्यायिक स्वतन्त्रता प्रदर्शन गरेका छन् ।

अमेरिकाले पनि आफ्ना प्रतिबद्धताहरू तय गरेको छ । प्रथम शिखर सम्मेलनमा हामीले लोकतान्त्रिक नवीकरणका लागि राष्ट्रपतीय पहल नामक कार्यक्रमतर्फ ४२ करोड ४४ लाख अमेरिकी डलर घोषणा गर्‍यौँ । उक्त पहलले ती परराष्ट्र नीति तथा वैदेशिक सहायता कार्यक्रमहरूको उल्लेखनीय संग्रहको प्रतिनिधित्व गर्दछ, जसले लोकतन्त्रलाई बलियो बनाउने र विश्वव्यापी रूपमा मानवअधिकारको रक्षा गर्ने दिशामा अमेरिकी सरकारको महत्त्वपूर्ण र निरन्तर कार्यलाई विस्तार गर्दछ । उक्त पहलमार्फत् गत वर्ष हामीले स्वदेश तथा विदेशमा स्वतन्त्र प्रेसको सुरक्षा बढाउन, भ्रष्टाचारविरुद्ध लड्न र निर्वाचनप्रतिको निष्ठालाई बलियो बनाउन काम गरेका छौँ । लोकतन्त्रबाट नै विश्वव्यापी चुनौतीहरूको समाधान हुन्छ र जनताको जीवनस्तरमा सुधार आउँछ भन्ने कुरा यी प्रतिबद्धताहरूले प्रस्तुत गर्दछन् । र, आफ्ना चुनौती र समस्याका बाबजुद पनि हामी आत्मचिन्तन र सुधार गर्न सक्षम लोकतान्त्रिक देशहरू हौँ भन्ने कुरा अमेरिका र नेपाल दुवै मुलुकका जीवन्त सञ्चारमाध्यम तथा नागरिक समाजले बारम्बार प्रमाणित गरेका छन् ।

अमेरिकी सरकारले न्यून तथा मध्यम आय भएका देशहरूमा स्वतन्त्र सञ्चारमाध्यमलाई निरन्तर सहयोग गर्दै आएको छ र चाँडै नै एउटा नयाँ किसिमको बिमा संयन्त्र सुरु गर्नेछ जसले पत्रकार, नागरिक समाजका अभियन्ता र तिनीहरूका संस्थाको रिपोर्टिङलाई मौन बनाउने अभिप्रायले उनीहरूमाथि लगाइने मानहानि, गालीबेइजती र अन्य मुद्दाहरूका विरुद्ध उनीहरूको प्रतिरक्षा गर्न आवश्यक खर्च समेट्नेछ । नेपालको हकमा काठमाडौंस्थित अमेरिकी दूतावासले दुष्प्रचारका विरुद्ध लड्न र पत्रकारितामा रुचि राख्ने सिमान्तीकृत पृष्ठभूमिका व्यक्तिहरूलाई तालिम दिनका लागि मिडिया संगठनहरूसँग साझेदारी गरेको छ । हामीले रिपोर्टिङका लागि भ्रमणहरूको पनि आयोजना गरेका छौँ, जसअन्तर्गत नेपाली पत्रकारहरू अमेरिकी मिडियासँग अन्तरक्रिया गर्न र आफ्नै दृष्टिकोणबाट रिपोर्टिङ गर्न अमेरिका गएका पनि छन् ।

अमेरिकाले भ्रष्टाचारीलाई जवाफदेह बनाउने प्रयत्न बढाएर र उनीहरूका साथै उनीहरूले गलत तरिकाबाट आर्जन गरेको लाभका लागि सुरक्षित आश्रय नदिएर भ्रष्टाचारविरुद्धको लडाइँलाई विस्तार गरेको छ । हामीले नेपाललगायत अन्तर्राष्ट्रिय समुदायका आफ्ना साझेदारहरूसँग भ्रष्टाचार रोकथाम गर्न र विधिको शासनलाई सुदृढ पार्नका लागि सहकार्य गरिरहेका छौँ । हामीले नागरिक समाज, सञ्चारमाध्यम र निजी क्षेत्रलाई सशक्त बन्न मद्दत गरेका छौँ र धम्कीहरूको निर्णायक रूपमा प्रतिकार गरेका छौँ । विदेशमा हामीले भ्रष्टाचार नियन्त्रण र न्यूनीकरण गर्न बलियो सहयोग प्रदान गरेका छौँ ।

मुख्य प्रतिबद्धताको रूपमा अमेरिकाले निर्वाचनप्रतिको निष्ठालाई बलियो बनाउने वाचा गरेको छ । स्वदेशको कुरा गर्दा, राष्ट्रपति बाइडेनको बजेटमा निर्वाचन संरचनाका निम्ति हालसम्मकै ठूलो लगानी प्रस्ताव गरिएको छ । विश्वव्यापी रूपमा चाहिँ अमेरिकी सरकारले निर्वाचनको निष्ठा सुनिश्चित गर्न सञ्जाल विकास गर्न मद्दत गरेको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले यूएसएआईडीमार्फत् लोकतान्त्रिक सिद्धान्तलाई बलियो बनाउन र संघीयतामा नेपालको आफ्नै रूपान्तरणलाई अगाडि बढाउन सरकार, नागरिक समाज र जनतासँग साझेदारी गरी नेपालको लोकतान्त्रिक विकासमा सहयोग गरेको छ ।

विश्वका लोकतान्त्रिक मुलुकहरूले गएको वर्ष जतिसुकै उपलब्धि हासिल गरे तापनि दुष्प्रचार, राजनीतिक तथा सामाजिक अस्थिरता, भ्रष्टाचार र मतदान अधिकार तथा मानवअधिकारको क्षयीकरणजस्ता सम्बोधन गर्नुपर्ने गम्भीर चुनौतीहरू बाँकी नै छन् । यस्ता अवस्थाहरूका कारण सरकारप्रति अविश्वास जाग्न सक्छ र आफ्नो समुदाय तथा देशमा ठूलो योगदान गर्न सक्ने मानिसमा उदासीनता देखिन सक्छ, मतदाता संख्यामा ह्रास आउन सक्छ र सार्वजनिक सेवाप्रति वितृष्णा पैदा हुन सक्छ । लोकतन्त्र भनेको सरकारको सबैभन्दा कठिन रूप हो, तर लोकतन्त्र नै त्यस्तो स्वरूप हो जसले सामान्यतः नागरिक र समुदायलाई ठूलो फाइदा पुर्‍याउने अत्यधिक क्षमता राख्छ । यो कठोर परिश्रमको लायक छ र यसलाई हल्का रूपमा लिनु हुँदैन । लोकतन्त्रप्रतिको नवीकृत प्रतिबद्धतामार्फत् उदाहरण कायम गरेका नेपालजस्ता हाम्रा लोकतान्त्रिक मित्र तथा साझेदारहरूसँग सहकार्य गर्दै हामीले सँगै भोग्ने चुनौतीहरूको सामना गर्ने र हामी सबैका लागि अझै राम्रो, समतामूलक, समृद्ध र लोकतान्त्रिक विश्व निर्माण गर्ने बाटो तय गरेका छौँ ।

थम्पसन नेपालका लागि अमेरिकाका राजदूत हुन् ।

प्रकाशित : चैत्र १६, २०७९ ०७:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×