कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

बालबालिकाको कान र सुनाइको हेरचाह

ढुण्डीराज पौडेल

बोली एवं मनोवैज्ञानिक विकासका लागि शैशवकालमै सुन्ने क्षमताको विकास अपरिहार्य हुन्छ । शिशु जन्मेको ६ महिनासम्ममा सुन्ने क्षमता विद्यमान नरहे समयमै बोलीको उच्चतम विकास अवरुद्ध हुन्छ ।

बालबालिकाको कान र सुनाइको हेरचाह

दुई वर्षसम्म पनि बालकले सुन्न नसके, तत्पश्चात् विभिन्न उपचार पद्धतिबाट सुन्ने क्षमता हासिल भए पनि बोली विकासका निम्ति अपरिहार्य स्नायु पद्धतिको लचकता पुन:स्थापित हुन सक्दैन र बोलीसँगै सामाजिक एवं मनोवैज्ञानिक विकास हुन सक्दैन । त्यसैले सकभर जन्मनेबित्तिकै नभए केही महिनामै श्रवण क्षमताको जाँच गर्नुपर्छ । शल्यक्रिया (कक्लियाको आरोपण) गर्नुअघि आवश्यक र उपयुक्त श्रवणयन्त्र जडान गर्न सके बोल्ने क्षमताको संरक्षण गर्न सकिन्छ ।

नेपालमा जन्मजात बहिरोपनको यकिन तथ्यांक उपलब्ध नभए पनि, विकसित मुलुकहरूमा आनुवंशिक एवं अन्य कारणले १ हजार नवजात शिशुमध्ये ३ जनामा सुन्ने क्षमतामा ह्रास भएको अनुमान गरिएको छ । यही अनुपात अनुसार पनि हाम्रो तथ्यांकको अनुमान गर्न सकिन्छ । सामाजिक, मनोवैज्ञानिक या बोलीको विकासमै अवरुद्ध पार्ने स्तरको श्रवण क्षमतामा ह्रास आउन पुगे नेपालमा जनसंख्याको ठूलो पंक्ति सुन्न र बोल्न नसक्ने अवस्थामा रहने सम्भावना हुन्छ । जन्मजात सुस्तश्रवण भएका शिशुहरूको भरपर्दो तथ्यांक निकाल्न पनि राष्ट्रिय रूपमै जाँचपडताल कार्यक्रम सञ्चालन गर्नुपर्ने हुन्छ । यस्तो कार्यक्रमले उपचारात्मक उपायहरू अपनाएर श्रवण क्षमताको बचाउ गर्न सहयोग पुर्‍याउँछ । यसैले विश्व स्वास्थ्य संगठनले ‘वैश्विक नवजात शिशुको श्रवण परीक्षण कार्यक्रम’ सञ्चालन गर्न सुझाएको छ ।

नेपालबाहेक भारतसहितका विभिन्न अल्पविकसित देशहरूमा समेत यो कार्यक्रम सञ्चालनमा आउँदै छ । नेपालमा भने स्वास्थ्य मन्त्रालयअन्तर्गत वीरबाहेक अरू अस्पतालहरूमा शिशुको सुनाइ परीक्षणका निम्ति आवश्यक ओएई, बेराजस्ता उपकरण एवं दक्ष जनशक्तिको पनि व्यवस्थापन गर्न सकिएको छैन । केही मेडिकल कलेज एवं कर्पोरेट अस्पतालहरूमा यस्तो सेवा उपलब्ध छ । तर दैनन्दिनीका लागी गर्जो टार्न मुस्किल पर्नेहरूका लागि पीडाबाहेकको स्वास्थ्य समस्या गौण हुन्छ । अर्को सुस्तश्रवण भएकालाई प्रदान गरिने सहायता पाउन पनि सकस छ । ३५ डेसिबललाई आधार बनाउनुपर्नेमा थ्रेसहोल्ड ६५ डेसिबल तोकिएको छ जसले गर्दा श्रवण सम्बन्धी अपांगताको कोटिमा रहेका व्यक्तिहरू सहायताबाट वञ्चित छन् ।

नवजात शिशुमा सुन्ने क्षमतामा ह्रास आउने मुख्य कारण भित्री कानको खराबी हो । पचास प्रतिशतमा यस्तो रोग आनुवंशिक कारणले हुन्छ भने बाँकमा गर्भावस्थामा संक्रमण, रासायनिक विषाक्तता, आयोडिन, थाइरोइड हर्मोनको कमी आदि कारण देखिएका छन् । तीन दिनभन्दा बढी विशेष उपचारका लागि सघन कक्षमा गरिएका≤ एन्टिबायोटिकसहितका विभिन्न औषधि प्रयोग गरिएका≤ अनुहार, जिब्रो, आँखा, छाला र मृगौलामा खराबी तथा अस्वाभाविक रोदनको आवाजजस्ता लक्षण देखिएका शिशुहरूमा सुस्तश्रवण या बहिरोपनको आशंका गर्नुपर्छ । बाबुआमा या अन्य छोराछोरीमा जन्मजात बहिरोपन देखिए सावधान भई परीक्षण गर्नुपर्ने हुन्छ । यस्ता शिशुहरूलाई जोखिमको कोटिमा राखी श्रवण परीक्षण गर्न आवश्यक हुन्छ ।

कानको संक्रमण : आनुवंशिक, गर्भावस्थामा सृजित विभिन्न संक्रमण, विषाक्त एवम हानिकारक रसायनबाहेक कानको बाह्य, मध्यभागको संक्रमणजस्ता खराबीले पनि सुस्तश्रवण पैदा हुन्छ । जस्तो दुवै कानभित्र कानेगुजी टम्म भरिनु, तेल या झोल पदार्थहरू हाल्नु, पटकपटक रुघाखोकी लागिरहनु या नाक–घाँटीको माथिल्लो भागमा संक्रमण भैरहनु, घरभित्र धूवाँ हुनु, बच्चालाई सुताएर ख्वाउने गर्नु, घरभित्र गरिने धूमपान आदि कारणले जालीभन्दा भित्रको मध्यकानमा पानी भरिने, संक्रमण भई पीप जम्मा हुने र जाली फुट्ने लगायत कारणले दुई वर्षभन्दा मुनिको बच्चामा अस्थायी एवं स्थायी प्रकृतिको सुस्तश्रवण पैदा हुन सक्छ । त्यसैले आवश्यक सावधानी र उपचारको माध्यमबाट यस्ता समस्याको निरूपण हुनु आवश्यक हुन्छ ।

कानको परीक्षण : शिशुहरूमा श्रवण परीक्षण गर्नुअघि कानको लोती, प्वाल एवं जालीको परीक्षण गर्नुपर्छ । कानको छिद्र नै बन्द हुने गरी फोहोर या कानेगुजी जमेको भए श्रवण परीक्षण अघि कान सफा गर्नुपर्ने हुन्छ । कानमा सम्भावित संक्रमणको उपचार पनि गर्नुपर्ने हुन्छ ।

सुनाइको परीक्षण : जन्मजात सुन्ने क्षमतामा ह्रास नआएका शिशुहरूले केही महिनापछि प्रकाशसँगै प्रतिध्वनित ठूलो आवाजउपर आँखा, अनुहार तथा शरीरबाट प्रतिक्रिया जनाउने गर्छन् । तर केही महिनाको पर्खाइ जोखिमपूर्ण हुन सक्छ । त्यसैले अस्पतालमा जन्मिएको भए डिस्चार्ज हुनुअघि र घरमै जन्मिएको भए सकभर एक महिनाभित्रै कान र सुनाइको परीक्षण गरिनुपर्छ ।

कानको दुखाइको उपचार : नेपालमा कानको दुखाइ एवं, संक्रमणबारे जनचेतनाको कमी छ । ‘डाक्टर साब ! बच्चालाई कान दुखेको छ के औषधि राखम् ?’ अथवा ‘बच्चाको कान दुखेको थियो औषधि या घरेलु झोल पदार्थ राख्दा झन् दुख्यो के गर्ने ?’ भनेर अभिभावकले टेलिफोनबाटै चिकित्सकलाई समस्या सुनाउने गर्छन् । कान दुख्ने मुख्य कारण बाह्य एवं मध्यकानको संक्रमणबाटै हो । कान दुख्दा चिकित्सकको सल्लाहमै मात्र उपचार गर्नुपर्छ । घरेलु उपचार गर्नु हुन्न ।

सुनाइको यान्त्रिक परीक्षण : नेपालका कतिपय सरकारी अस्पतालहरूमा नवजात शिशुहरूको सुनाइको परीक्षण गर्न आवश्यक केही लाख रुपैयाँ पर्ने ओटोएकस्टिक इमिसन (ओएई) र बेराजस्ता उपकरण र तिनको परीक्षण गर्ने जनशक्तिसमेत व्यवस्थापन गर्न नसकिएकामा उदेक लाग्छ । कम्तीमा पहिलो जाँच पडतालको उपकरण (ओएई) जुन सानो सामान्य हल्का र सस्तो छ, जसबाट नदुखाई शिशुको सुनाइको प्रारम्भिक

परीक्षण सामान्य तालिमप्राप्त स्वास्थ्यकर्मीबाटै सम्भव छ, को समेत व्यवस्थापन गर्न सकिएको छैन । हालसम्म कक्लिया इम्प्लान्टेसन सेवा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मात्र सीमित छ र महँगो पनि छ । उपचार सेवा सहज र पहुँच बढाउने, केन्द्र एवं मोफसलका अन्य अस्पतालमा समेत सेवा विस्तार गर्नुपर्छ । नेपालमा कक्लियाको इम्प्लान्ट मात्रै होइन लाखौं नागरिकका लागि आवश्यक पर्ने श्रवणयन्त्रको स्तर र मूल्यमा राज्यको पटक्कै ध्यान गएको छैन ।

प्रकाशित : चैत्र १०, २०७९ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?