अर्थ गुमाउँदै स्ववियु चुनाव- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अर्थ गुमाउँदै स्ववियु चुनाव

हामी जुन प्रवृत्तिका विपक्षमा लडेर आएका थियौं, ठीक त्यही प्रवृत्ति अनुसरण गर्दै हिाडेको अहिलेको विद्यार्थी राजनीति आफैं भयानक वैचारिक संकटमा छ । यस्तोमा स्ववियुमा कसले जितेर के हुन्छ र उत्साहित हुन सकिन्छ  ?
झलक सुवेदी

त्रिवि अन्तर्गतका क्याम्पसहरूमा यही चैत पहिलो साता स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) हरूको चुनाव हुँदै छ । चुनाव हुँदै गर्दा एउटा प्रश्न भने टड्कारो रूपमा उठेको छ- विद्यार्थी युनियनको निर्वाचनले शिक्षण संस्थाहरूमा, विद्यार्थीहरूका हकहितको सवालमा र आम रूपमा विद्यार्थीहरू जोडिने समुदाय र देशमा के फरक पार्छ ?

के विद्यार्थी संगठनहरू र तिनका नेतृत्वले स्ववियु निर्वाचनमा सहभागी हुँदा या तिनले विद्यार्थी युनियनको नेतृत्व गर्दा शिक्षा क्षेत्रको सुधार र समग्रमा आम जनताले सामना गरिरहेका समस्या समाधानमा सहयोग पुग्छ ? के अहिलेका विद्यार्थी संगठनहरूले गरिरहेको राजनीति र आम जनताका समस्याबीच कुनै साइनो पनि छ ? यस आलेखमा यी प्रश्नवरपर रहेर केही छलफल गर्ने प्रयास गरिनेछ । युवा वय विद्यार्थी आन्दोलनमा लागेरै बिताएको र एक पटक स्ववियु सभापतिका रूपमा काम पनि गरेको अनुभवका सापेक्षतामा यो टिप्पणी गर्ने प्रयास गरिएको हो । विद्यार्थी राजनीति र आन्दोलनको आदर्श चरणका सन्दर्भमा यसअघि कान्तिपुर दैनिककै स्तम्भमा हामीभन्दा पछि पृथ्वीनारायण क्याम्पसमै स्ववियुमा निर्वाचित भएर काम गरिसकेकी मित्र सरिता तिवारीले प्रस्ट पार्नुभएकाले त्यसतर्फ यहाँ प्रवेश गरिरहनुपरेन ।

केही वर्षदेखि समाजमा विद्यार्थीले राजनीति गर्न हुन्छ कि हुँदैन भन्ने बहसमा धेरैजसो नकारात्मक उत्तर आउने गरेका छन् । आम मानिस विद्यार्थी संगठनहरूका गतिविधिलाई आफ्ना मातृ संगठनको राजनीति विस्तारको औजारका रूपमा बुझ्छन् । जसरी राजनीतिक दलहरू सत्ता सञ्चालनमा असफल भएर या सरकारमा हुँदा डेलिभरी दिन नसकेर बदनाम छन्, त्यसरी नै तिनका भ्रातृ संगठनका रूपमा विद्यार्थी संगठनहरू विद्यार्थी आन्दोलनका मूल मुद्दाबाट टाढा पुगेकाले बदनाम छन् । पार्टीहरू विद्यार्थी संगठनप्रति र विद्यार्थी संगठनहरू पार्टीप्रति जनताको आकर्षण घटाउन एकअर्कालाई मद्दत गरिरहेका जस्ता देखिन्छन् । यो अवस्था पञ्चायती निरंकुशताका समयमा भन्दा ठीक विपरीत हो, जति बेला विद्यार्थी आन्दोलनले प्रतिबन्धित दलको राजनीति विस्तारलाई भरथेग गरेको थियो र पञ्चायतविरोधी जनमत निर्माणमा योगदान पुर्‍याउने गर्थ्यो ।

म अहिले पनि विद्यार्थीहरूले राजनीति गर्नुपर्छ भन्ने धारणा राख्छु । यस्तो राजनीति जसले समाजमा राज्यसृजित वैचारिकी र बेथितिले उत्पन्न गरेका समस्याहरूविरुद्ध दबाब उत्पन्न गरोस्, लोकतन्त्रलाई बलियो बनाओस् अनि समाजलाई थप स्वतन्त्र र एकताबद्ध पार्ने काममा सहयोग गरोस् । यस्तो राजनीति जसले विभेदकारी अवस्थाहरूबाट उत्पीडनमा परेका वर्ग, समुदाय र क्षेत्रले यस्तो उत्पीडनबाट स्वतन्त्रतातर्फको पाइला चाल्नमा सहयोग पाऊन्Ù राज्य सञ्चालकहरूबाटै आसेपासे पुँजीवादको विकासमार्फत सीमित वर्गलाई माथि उचालेर आमजनलाई भुइँमा थचार्ने एवं देशलाई अविकास र गरिबीको दुश्चक्रमा राखिरहने खेलोफड्कोको विपक्षमा वैचारिक वर्चस्व निर्माण गरोस्Ù आफ्नै मातृसंस्थाहरूका विकृत राजनीतिक अभ्यासलाई चुनौती देओस्Ù वर्गीय, जातीय तथा लैंगिक विभेदका विपक्षमा उभियोस्Ù बढ्दो अन्धराष्ट्रवाद र पुरातनवादी चिन्तनलाई खण्डन गरोस् ।

यी सन्दर्भलाई आधार मानेर विद्यार्थी राजनीति नियाल्दा अवस्था निराशालाग्दो छ । २०४६ को आन्दोलनपछि, राजा ज्ञानेन्द्रको अल्पसमयको तानाशाही कालमा बाहेक, विद्यार्थी संगठनहरूले नेपाली समाजले सामना गरिरहेका अर्थराजीतिक चुनौतीहरूका विषयमा कुनै सार्थक हस्तक्षेप गरेनन् । नेपालको समग्र विकास र परिवर्तनका लागि सामाजिक–सांस्कृतिक क्षेत्रमा चाहिएको रूपान्तरण र त्यसलाई छेकबार हालीरहेको मूल्यपरम्परामाथि तिनले हस्तक्षेप गर्ने प्रयास गरेनन् । क्याम्पस प्रशासनसँग मिलेर या दबाब दिएर स्रोतको दोहन गर्ने, क्याम्पस या विश्वविद्यालय बन्द गराएर आफ्ना नाजायज माग पूरा गराउने, निजी विद्यालय सञ्चालकहरूसँग मिलेर या धम्क्याएर आर्थिक फाइदा लिने अनि बढीमा आफू आबद्ध दलका राजनीतिक स्वार्थ अनुरूप विश्वविद्यालय सञ्चालनलाई सहज बनाउने या बाधा पुर्‍याउनेमा तिनका गतिविधि सीमित हुँदै गए ।

शिक्षामा आमजनका बालबालिका र युवाहरूको पहुँच सुनिश्चित भएको छैन । कुनै युवाले शिक्षालयबाट समाजमा प्रवेश गरेपछि दिन सक्ने योगदानको स्वरूप निर्धारण गर्ने शिक्षाको गुणस्तरका प्राविधिक र मानवीय पक्षहरू प्रस्ट छैनन् । यसले गर्दा एकातिर रोजगारीका लागि बजारको मागअनुरूप गुणस्तरीय शिक्षा नभएकै कारण पनि कतिपय स्नातकोत्तर पढेका विद्यार्थी आफ्ना समवयका साक्षर युवाहरूसँग श्रम बेच्न अरब या अरू देशमा पुग्नुपरिरहेको छ । अर्कातिर, विश्वविद्यालयबाट बाहिरिएको जनशक्तिले नै नोकरशाही संयन्त्रमा गएपछि या न्यायालयमा पुगेपछि अथवा राजनीतिका उच्च पदमा आसीन भएपछि आफ्ना पदीय दायित्वविपरीत चलेर देशलाई नोक्सान पुर्‍याइरहेको छ । व्यक्तिगत स्वार्थ पूरा गर्न जस्तोसुकै बेइमानी गर्ने आचरण राजनीतिक नेतृत्वमा मात्र छैन, समाजको हरेक क्षेत्रमा मौलाउँदै गएर रोग नै बनिसकेको छ । शिक्षाका सिद्धान्तहरू र विद्यालय या विश्वविद्यालयले उत्पादन गर्ने जनशक्तिको नैतिक पक्षसँग जोडिएको विषय हो यो ।

शिक्षामा साधारण परिवारका सन्तानहरूको पहुँच सहज छैन । निरपेक्ष गरिबीको रेखामुनि, सरकारी तथ्यांक अनुसार पनि २१ प्रतिशत परिवार छन् । तिनको सम्पूर्ण ऊर्जा दैनिक आवश्यकता पूरा गर्नमा केन्द्रित हुन्छ । तिनका सन्तानले सहरमा होस् या गाउँमा, हाइस्कुलसम्मको शिक्षासम्म पूरा गर्न सकिरहेका हुन्नन् । १ कक्षामा भर्ना भएकामध्ये ३६ प्रतिशत मात्र एसईईमा सामेल हुने गरेका छन् । बाँकी ६४ प्रतिशतले १२ कक्षा पास नगर्दै पढाइ छाड्नुपरेपछि तिनको श्रम उत्पादकत्व न्यून हुन्छ । यसले उनीहरूमध्ये धेरैको आफ्ना बाबुआमाकै जस्तो गरिबीको चक्रमा जीवन बित्ने सम्भावना बढी हुन्छ ।

अर्कातिर, विद्यालय शिक्षाको गुणस्तर विभाजित छ । निजी विद्यालय र सार्वजनिक विद्यालयबीच, सहर र गाउँका विद्यालयबीच, सुगम र दुर्गम क्षेत्रका विद्यालयबीच यस्तो विभाजन उच्च छ । शिक्षामा देखिने यस प्रकारको विभाजनले हुर्कने बेलामै विद्यार्थीहरूबीच मनोवैज्ञानिक र वर्गीय विभाजन सृजना गरिदिएको छ । हजारौं विद्यार्थी हरेक वर्ष प्ल टुपछि नै अस्ट्रेलिया या अमेरिकातिर ओइरिएका छन् । किन भागिरहेका हुन् तिनीहरू कलिलै उमेरमा देश छाडेर ? कसले बाध्य पारेको हो तिनलाई ? यसमा हाम्रो आर्थिक–राजनीतिक अवस्था कति जिम्मेवार छ अनि शैक्षिक वातावरणको दोष कति हो ? त्रिविमा शैक्षिक क्यालेन्डरको दुर्दशा, विद्यार्थी भर्नादरमा आइरहेको कमीसमेतका अनेक समस्या छन् ।

राजनीतिले नै लथालिंग बनाएका यस्ता संस्थाहरूको सुधारका लागि विद्यार्थीहरूले रचनात्मक हस्तक्षेप गर्नुपर्ने हो । आलोचनात्मक चेतको विकास गर्ने अनुसन्धानात्मक काम र बहस छाडी विद्यार्थीहरू संस्थाकै दोहन गरेर उल्टो विश्वविद्यालय धराशायी बनाउने भूमिकामा जान्छन् । यस्तोमा तिनले स्ववियु निर्वाचनमा जित्नु पनि विश्वविद्यालय थप कमजोर बनाउने उपायबाहेक के हुन सक्छ ?

स्वास्थ्य शिक्षाको सुधारका विषयमा अभियान चलाइरहेका डा. जीवन क्षेत्रीले सन्तानलाई डाक्टरी पढाउनुभन्दा पहिले ध्यान दिनुपर्ने पाँच कुरा भनेर एउटा सार्वजनिक अपिल गरेका थिए । उनले चिकित्सा शिक्षाको अवस्था र ठगी धन्दाका विषयामा गम्भीर कुरा उठाएका छन् । यस्ता विषयमा विद्यार्थी संगठनहरू बोल्ने गरेका छैनन् । बोले भने पनि तिनले लोकाचारका लागि बोल्छन् ।

किन देशभित्र सहज जीवनयापन गर्ने गरी आयस्ता गर्न सकिने रोजगारीको अभाव रहेको हो ? हाम्रो सरकार र त्यसलाई सञ्चालन गर्ने राजनीतिक दल र नेतृत्व नै यो अविकास र अवसरहीनताका लागि जिम्मेवार छ भनेर मान्ने हो भने त्यसलाई उत्तरदायी बनाउने गरी दबाब दिने काम पनि विद्यार्थी संगठनहरूको हुनुपर्ने हो ।

विश्वविद्यालयहरूको नेतृत्वमा कांग्रेस, एमाले र माओवादीनिकट व्यक्तिहरू नियुक्त हुन्छन् । तिनले आलोपालो विश्वविद्यालय बिगार्ने गरेका छन्, दोहन गर्ने गरेका छन् । विद्यार्थी संगठन, कर्मचारी युनियन र प्राध्यापक संगठनहरू विश्वविद्यालय दोहन गर्ने औजार बनेका छन् । स्ववियुमा जो आए पनि दोहनलाई नै निरन्तरता दिने हुन् भने तिनलाई किन जिताउने भन्ने प्रश्न उठ्छ । के विद्यार्थी संगठनले यस्ता प्रश्नहरूको जवाफ दिनु पर्दैन ?

समाजमा विभेद विद्यमान छ । महिलामाथि हुने हिंसा, हत्या र बलात्कारका घटना दिनदिनै सार्वजनिक भइरहेका छन् । र आर्थिक उदारीकरणका कारण सरकारले स्वास्थ्य सेवामा लगानी कम गर्दै लगेपछि स्वास्थ्य सेवामा पहुँच घटेको छ । उपचार महँगो छ र दूरवर्ती इलाकामा युवती आमाहरू सुत्केरी व्यथाले मर्ने क्रम जारी छ । साना किसानहरू बिचौलियाका कारण उत्पादनको मूल्य नपाएर दूध र तरकारी सडकमा फालिरहेका छन् र सहरमा दूध महँगो भएर श्रमजीवी परिवारका साना नानीहरूलाई दूध खुवाउन नसक्ने अवस्थामा तिनका बाबु–आमा पुगेका छन् ।

हालै देशभर मिटरब्याजपीडित किसानहरू आन्दोलनमा छन् । लघुवित्तहरूले सर्वसाधारणलाई शोषण गरेर आत्महत्या गर्न बाध्य बनाए भन्ने आवाज उठिरहेका छन् । यस्ता विषयले विद्यार्थीहरूका अभिभावक नै पीडित भएका हुन् भने त्यसबारे आवाज नउठाउने संगठन कसरी विद्यार्थीको संगठन हुन्छ ?

विद्यार्थी वर्ग त्यही समुदायबाट आउने भएकाले त्यसले आफ्नो परिवारका समस्यालाई आवाज दिने काम गर्नुपर्ने हो । एउटै थलोमा जम्मा हुने, व्यक्तिगत रूपमा करिअरका विषयमा बाहेक पारिवारिक जीवनका दैनिक झमेला कमै सामना गरिरहेका र विद्रोही स्वभावका हुने भएकाले १८ वर्षमाथि ३० वर्ष नपुग्दैका युवा विद्यार्थीहरूबाट राज्यका गलत नीतिका विपक्षमा दबाब सृजना गर्ने आशा समाजले गरेको हुन्छ । तर केहीयताका घटना हेर्दा विद्यार्थीहरूमा त्यो ऊर्जा, त्यस्तो विचारधारात्मक प्रभाव र सक्रियता समाप्तप्रायः भएको देखिन्छ ।

राजनीतिक क्षेत्रमा पछिल्लो पटक समयको गतिलाई उल्टो बाटामा हिँडाउने प्रयासले शक्ति आर्जन गर्दै गएको छ । महिलामाथि हुने यौनजन्य हिंसा र बलात्कारलाई सही ठहर्‍याउने, त्यसको विरोधमा आवाज उठाउनेलाई डलरवादी भनिदिने, सामाजिक सञ्जालमा खेदो खन्ने र ‘म फलानीलाई बलात्कार गर्नेलाई पुरस्कृत गर्छु’ भन्ने तर तिनले कारबाही बेहोर्नु नपर्ने अवस्था देखिएको छ । धार्मिक–जातीय बहुसंख्यकले अल्पसंख्यकलाई धम्की दिने, धर्मनिरपेक्षता र धार्मिक स्वतन्त्रताका विपक्षमा धम्की दिने, कथित सांस्कृतिक परम्परा र जातीय श्रेष्ठताका नाममा विज्ञानलाई चुनौती दिँदै पुरातनपन्थी विचारको पक्षपोषण गर्ने काम बढ्दै गएको छ । यस्तो विचार बलशाली हुँदै जाँदा हामीले अहिले उपभोग गरिरहेका र लामो समय संघर्ष गरेर प्राप्त गरेका अधिकारहरू खोसिने हुन् । आफ्नै इतिहासको रक्षाका लागि पनि विद्यार्थी संगठनहरू जहाँ विभेद छ त्यसका विपक्षमा बोल्न, जहाँ समाजको चेतनालाई पछि फर्काउने प्रयास भएको छ त्यसलाई रोक्नका लागि अनि समाजको अग्रगति र पूर्ण स्वतन्त्रताका पक्षमा उभिनुपर्ने हो । यसका लागि आलोचनात्मक चेतनासहितको कार्यकर्ता पंक्ति उत्पादन गर्ने, हिंसात्मक हैन रचनात्मक कामहरूका माध्यमबाट समाजमा नयाँ वैचारिक कथ्य स्थापित गर्ने र गति दिने काममा लाग्नुपर्ने विद्यार्थीहरू अहिले खुकुरी लिएर संस्था कब्जा गर्न हिँडेका देखिन्छन् । हामी जुन प्रवृत्तिका विपक्षमा लडेर आएका थियौं, ठीक त्यही प्रवृत्ति अनुसरण गर्दै हिँडेको अहिलेको विद्यार्थी राजनीति आफैं भयानक वैचारिक संकटमा छ । यस्तोमा विद्यार्थी युनियनमा कसले जितेर के हुन्छ र उत्साहित हुन सकिन्छ ? आफ्नो इतिहासप्रति गर्व गर्दागर्दै पनि अहिलेको अवस्थाले खिन्न मात्र बनाउँछ र भन्न मन लाग्छ— जसलाई प्रश्न गर्नुपर्ने हो, उसैको दलाली गरेर जीविका चलाउने विद्यार्थी नेता र संगठन आवश्यक छैनन् ।

प्रकाशित : चैत्र ३, २०७९ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्

दर्कनैपर्ने त्यो पानी !

लोकतन्त्रलाई साँचो अर्थमा आम मान्छेको जीवन रूपान्तरणको ऊर्जामा परिणत गर्न अलि ठूलै मुसलधारे वर्षाको आवश्यकता छ । त्यस्तो वर्षा कहिले होला ? पर्खनुमा रोमाञ्चकता कम, पीडा ज्यादा हुन्छ ।
उज्ज्वल प्रसाई

पानी पर्न खोज्छ, सक्दैन । बादल ड्याम्म लाग्छ, घाम हराएर दिन अँध्यारिन्छ, छाता नबोकी हिँडेका मान्छेहरूका अनुहार कताकति सिमसिम पानीले छुन थाल्छ, तर केही बेरको सुरसार यसै हराएर जान्छ, पानी पर्दैन ।

गर्जन डरलाग्दो सुनिन्छ, चट्याङचुटुङ बढ्तै गर्दा पनि, दर्केला भनेको पानी उतैकतै बिलाउँछ । दुई दिनअघि साँझ यस्तै अवस्था थियो, रात परेपछि हुरी चल्यो । इन्द्रबहादुर राईको कथाजस्तो रातैभरि पनि चलेको होइन त्यो हुरी । तर, अब दर्केला भनेको पानी त्यही हुरीले उडाएर सम्भवतः आकाशतिरै फर्काइदियो । दर्के पानीले नबगाएसम्म हिउँदभरि काठमाडौंको हावामा जमेर तैरिरहेको विषाक्त धूवाँले आम मान्छेलाई अस्वस्थ बनाइरहने भयो ।

पानी दर्किन जति सकस मानिरहेको छ, आम मान्छेका जीवनमा लागेका दुःखका बादल फाट्न त्यसभन्दा कठिन भइरहेको छ । महँगीका दाह्रानंग्रा साह्रै बिखालु छन्, लघुवित्तहरूले दिएका दुःख र हैरानीका कहर उस्तै, मिटरब्याज असुल्ने साहुले दिएका धम्की ध्वनि प्रदूषणभन्दा ज्यादा विषाक्त छन् । चामल र दाल, फलफूल र तरकारी, मासु र अण्डा, घरभाडा र गाडीभाडा — सबै पहिलेभन्दा महँगा भएका छन् । बालबालिकाका आवश्यकता दिन–प्रतिदिन बढेका छन्, उनीहरू पढ्ने विद्यालयको शुल्क त्यसरी नै महँगिएको छ । मासिक आय खस्केको छ, व्ययका प्रकार र आयतन भने तनक्क तन्केका छन् । दुःखले जोहो गरेका हजारका एक–दुई नोट घरबाट ननिस्कँदै सकिन्छन् । गोजी रित्याएर घर फर्कंदा झोलामा केही दिनलाई पुग्ने सामल पनि बटुलिएको हुँदैन । दीर्घरोगी भएका घरका कहर सम्झिएर साध्य छैन । सहरको विषाक्त हावाले साबिकमा स्वस्थ र गरिखाइरहेका मान्छेका नाक, कान, घाँटी र फोक्सो नै विषाक्त बनाइदिएर हप्तौंसम्म अस्वस्थ बनाइदिएको छ । तिनका काम अवरुद्ध भएका छन्, आम्दानीमा असर गरेको छ ।

दिन–प्रतिदिन थपिएका मोटर, उसै गरी प्रतिदिन बढिरहेको उपभोगबाट निःसृत फोहोर, प्लास्टिक डढेर निस्केको धूवाँ अनि वरपर फैलिइरहेका इँटाभट्टाबाट अनवरत बगेको मुस्लो ! नदेखिने र सितिमिति थाहा नपाइने प्रदूषणका स्रोत कति होलान् कति ! आम मान्छे सडकमा हुन्छ, वातानुकूलित गाडीमा सयर गर्ने सुविधा उसलाई हुँदैन । घरभित्र हावा सफा पार्ने विद्युतीय ‘एयर प्युरिफायर’ जडान गर्न ऊ सक्दैन । त्यसैले उसैका मुख र नाकबाट सबैभन्दा बढी विषाक्त हावा पस्छ, उसैको घाँटीलाई सबैभन्दा बढी असर पुर्‍याउँछ र उसैको फोक्सो छिटो क्षतिग्रस्त हुन्छ । दुइटासम्म मास्क बेरेर हिँड्दासमेत धूवाँ निलिएकै हुन्छ । बेलुका ठीकै सुतेको मान्छे बिहान उठ्दा घाँटी क्याप्प बनाएर, शरीर कटकटी दुखेर, सास फेर्न गाह्रो भएर अनि ज्वरो आएर काममा जान नसक्ने भएको हुन्छ । पहिल्यै साठी रुपैयाँजति तिरेर किनेको जारको पानी पुनः महँगो एलपीजी बालेर तताउनुपर्ने बाध्यतामा भएको मान्छे अस्पताल धाउन बाध्य बनेपछि, सामान्यजस्तो लाग्ने स्वास्थ्यको गडबडीले हजारका अरू आठ–दस नोटको व्यय गराइदिन्छ । एकातिर काममा अवरोध, अर्कातिर मासिक हिसाबमा नपरेको आकस्मिक खर्च !

अनि आन्दोलन कसले गरिदिन्छ ? यी आम मान्छेका दुःख घटाउन आवश्यक सडक प्रदर्शनमा को सामेल भइदिन्छ ? माइतीघर मण्डलादेखि वानेश्वरसम्म मार्च कसले गरिदिन्छ ? सामाजिक आन्दोलनको उपादेयता बुझेका र किञ्चित् राम्रो आर्थिक अवस्था भएका केही जान्नेसुन्नेहरू अघि लागे पनि आन्दोलनमा जोसजाँगर भर्न, प्रतिरोधलाई साँच्चै प्रतिरोध बनाउन आम मान्छेकै उपस्थिति आवश्यक हुन्छ । आन्दोलनमा जुन मुद्दा उठाउने हो, त्यो खास विषयले जसलाई सबैभन्दा बढी असर गरेको छ, सोही समूहका मान्छे सयौंको संख्यामा सडकमा उत्रँदा मात्रै आन्दोलनको ‘तेवर’ सतहमा देखिने हो । नत्र दुई–चार जना अगुवा मात्रको बलमा न प्रतिरोध प्रभावकारी हुन्छ, न त्यसले सम्बन्धित निकाय वा राज्यबाट उचित सम्बोधन नै पाउँछ । ठूलै प्रदर्शनको ठाँगेले समेत हत्तपत्त नछुने नेतृत्व भएको मुलुकमा दुई–चार दिनको प्रदर्शनले पटक्कै पुग्दैन, आन्दोलन महिनौं लम्बिन्छ ।

काठमाडौंका सडकमा दिनहुँ निस्कने आन्दोलनकारीको सबैभन्दा ठूलो संख्या तिनै आम मान्छेको छ, जसलाई सास फेर्ने शुद्ध हावा र जिउनका लागि सबैभन्दा आधारभूत आवश्यकता पिउने पानी नै सबैभन्दा महँगो भइरहेको छ । विषाक्त हावाले अस्वस्थ बनाएर काममा बाधा पुर्‍याएको छ, सडक प्रदर्शनमा पुग्नैपर्ने बाध्यताले पनि दैनिक कामलाई नै सबैभन्दा बढी प्रभाव पारेको छ । अनि थोरैतिनो कमाइ गर्ने काम छुटाउँदै, ऋण थप्दै, सारा कष्ट सहेर मुस्किलले समय र जाँगर जुटाई तताएको सडकमा सबैभन्दा अघिल्लो पंक्तिको कुर्सीमा बस्न फुत्त एउटा व्यापारी आइपुग्छ । त्यस्तो व्यापारी आइपुग्छ, जसका लोकतन्त्र र समताविरोधी कुत्सित उद्देश्य छन्, जसलाई मौजुदा संविधानका मुख्य लोकतान्त्रिक उपलब्धि र आम मान्छेअनुकूलका प्रावधान नै सबैभन्दा बढी बिझाउने छन् । कुर्सीमा बस्न मात्र होइन, माइक हात पारेर सबैभन्दा उँचो स्वरमा भेला भएका आम मान्छेका दुःखलाई उसैले ठाडो गिज्याउँछ ।

सडकका आम मान्छेले यसरी दुःख भोगिरहेका बेला काठमाडौंमा अर्को एउटा हिंसात्मक प्रहसन मञ्चन हुन्छ- स्वतन्त्र विद्यार्थी युनियन चुनावको तयारी । आन्दोलनको धीमा धुकधुकीसमेत बन्द भइसकेको, सिद्धान्त र विचार निख्रिइसकेको, निष्ठा र सदाचार सकिइसकेको, आम भरोसा र उदात्त उद्देश्यको सामान्य प्रभाव पनि निमिट्यान्न भइसकेको समूहलाई अचेल विद्यार्थी युनियन भनिन्छ । यदाकदा पेट्रोलको भाउ बढेकामा पाखुरा सुर्केर स्वाङ पार्नबाहेक अन्यत्र कतै देखा नपर्ने सोही विद्यार्थी युनियन चुनावको तयारीमा जुट्यो । चुनावको तयारी भन्नु के हो र, पदको हिसाबकिताब र लेनदेन, स्रोतमा पकड जमाउने खेलको रस्साकस्सी, विद्यार्थी अगुवा भनाउँदाहरूबीचका आपसी इबी र ईखको प्रदर्शन ! त्यसैले प्रतिस्पर्धी संगठनहरूका एजेन्डाभन्दा पहिले खुकुरी र लाठी देखिए । बहस र विमर्शलाई उछिन्दै टाउका फुटाल्ने उपद्रोको प्रदर्शन भयो । खुकुरी र लौरा हुँदै प्रहरी र कस्टडीसम्म पुग्दा चुनावको एकसरो तयारी सकिएको खबर आम मान्छेले थाहा पाए । ती विद्यार्थी युनियनका चुनावमा यसभन्दा थप अरू केके विषय थिए कुन्नि, आम मान्छेले सडकमा उराल्दै आएका मुद्दा भने कतै थिएनन् ।

आम सर्वसाधारणको उपस्थितिमा सडकमा भइरहेका दर्जनौं प्रदर्शनमा स्वतन्त्र भनिएका विद्यार्थी संगठनको स्वतन्त्र, बलियो र स्पष्ट उपस्थिति देखिँदैन । जसका भ्रातृ संगठनका रूपमा ती संगठित भएका छन्, तिनै मातृ दलका अगुवालाई आन्दोलनबारे सचेत तुल्याउने कोसिसमा विद्यार्थी नेतृत्व सहभागी हुने सवालै छैन । न यी संगठनले सडकको कुनै विषयबारे आफ्ना कलेज र विश्वविद्यालयका हातामा विमर्श गराउँछन्, न आम विद्यार्थीलाई त्यसबारे जानकार बनाउँदै परिचालन गर्ने कुनै गतिविधि नै गर्छन् । सडक र आम मान्छेबाट चटक्कै काटिएको तर मौजुदा दलहरू र तिनका नेतृत्वको वारेस बनेको जत्थाले गर्ने गतिविधि आन्दोलन हुँदैन । त्यस्ता गतिविधिलाई राजनीति भन्ने हो भने, त्यो यथास्थिति मजबुत बनाउने, अन्यायलाई संस्थागत गर्ने र लोकतन्त्रलाई सर्वथा कमजोर तुल्याउने राजनीति हो । विद्यार्थी राजनीतिका नाममा कथित युवाको सक्रियतामा भइरहेको यो अलोकतान्त्रिक राजनीतिले काठमाडौंको मौजुदा विषालु हावा थप बाक्लो बनाउन मद्दत गरेको छ । युवा भनिने अवधारणालाई आवश्यकताभन्दा बढी रोमाञ्चक बनाइएको नेपाली आमवृत्तका लागि योभन्दा ठूलो विडम्बना अर्को के होला ?

नेपालमा सबैजसो ठूला दल सत्तामा छन् । संघमा, त्यहाँ नभए प्रदेशमा, वा नगर र गाउँमा ती सत्तासीन छन् । के सत्ता, के प्रतिपक्ष, खास फरक अभ्यास नदेखिने दलीय अभ्यास भएको ठाउँमा, दल भन्नु नै सत्ता हो । त्यसैले भ्रातृ भनिने संगठनमा पनि सत्ताकै मात छ, ध्याउन्न स्रोतदोहनकै छ । सामाजिक आन्दोलनको हिस्सा बन्ने, विषाक्त हावा निल्ने बाध्यतामा भएका आम मान्छेसँगै हातेमालो गरेर समाज परिवर्तनमा सहभागी बन्ने अभिलाषा कतै छैन । त्यसैले सत्ताविहीन त केवल आम मान्छे छन् । जो दलमा आबद्ध छैनन्, जो दलमा आबद्ध लघुवित्तमा छैनन्, जो भ्रातृ भनिने कुनै संगठनको लाभ लिने ठाउँमा छैनन्, जो स्वतन्त्र नामधारी दलका रापतापको छेउछाउमा छैनन्, ती सत्ताविहीन छन् । सत्ताविहीनहरू कसिलो गरी संगठित छैनन्, सम्भवतः कहिल्यै हुन पनि सक्दैनन् । ती खुकुलो खाले समूह र प्रायः एक्लाएक्लै परिचालित हुन्छन् र सडकमा आउँछन् । र त्यसैले साह्रै सजिलै र छिटै उपलब्धि हासिल गर्न पनि सक्दैनन् ।

पानी परेको स्वाङ प्रदर्शन हुने, तर पानी नदर्कने थिति कति रहला ? केही बेर मात्रै पनि मज्जाले पानी दर्कियो भने, हावामा भएको विष पखालिने सम्भावना अधिक हुन्थ्यो । किञ्चित् शुद्ध हावा बहेको अलि उज्यालो दिनले आम मान्छेमा श्रम गर्ने उत्साह थपिदिन्थ्यो । वरपरका पहाड हरिया देखिन्थे, हिमालमा बाँकी रहेको सेतो हिउँ टल्कन्थ्यो । अवरुद्ध भइरहेको घाँटी र नाक मात्रै होइन, काम पनि राम्रोसँग चन थाल्थ्यो । दुःख बेहोर्ने सामर्थ्य वृद्धि हुन्थ्यो, सडक प्रदर्शनमा हिँडिरहने जाँगर पनि कायम रहन्थ्यो । फटाहाहरूले हडप्न खोजेको जुलुसको अघिल्लो स्थान, थुत्न खोजेको माइक र आम मान्छेका दुःखमाथि गर्न खोजेको मजाकको दुष्प्रयत्न रोक्ने हिम्मत केही बढ्ने थियो ।

त्यसो त लोकतन्त्रलाई साँचो अर्थमा आम मान्छेको जीवन रूपान्तरणको ऊर्जामा परिणत गर्न अलि ठूलै मुसलधारे वर्षाको आवश्यकता छ । त्यस्तो वर्षा कहिले होला ? पर्खनुमा रोमाञ्चकता कम, पीडा ज्यादा हुन्छ ।

प्रकाशित : चैत्र ३, २०७९ ०७:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×