उत्तेजनाको लप्कोमा फसिरहेको समाज

यो समाजलाई कसरी अगाडि बढाउने भन्ने सुसंगठित कार्यदिशा र नेतृत्वकर्ताको अभाव एकपछि अर्को गरी उदाउने र अस्ताउने उत्तेजनाका कारोबारीहरूले पूर्ति गर्न सक्दैनन् ।
यादव देवकोटा

हाम्रो समाजको चेतनाको ‘ब्लुप्रिन्ट’ भाग्यवादी छ । जीवनमा जे–जस्ता दुःखहरूको घेराबन्दी छ, त्यसबाट त्राण पाउन यहाँको सामाजिक सत्ता व्यवस्थाले उनीहरूको दिमागमा भरिदिएको छ एउटै चेतना- ‘भाग्यको खेल ! कर्मै यस्तो !’

उत्तेजनाको लप्कोमा फसिरहेको समाज

नागरिकहरू यहाँका शासक–राजनीतिको अकर्मण्यता र सामाजिक–आर्थिक–सांस्कृतिक उत्पादन प्रणालीले गरेको दोहन र शोषणको परिणाममा आफूमाथि थोपरिएका गरिबी, दरिद्रता, अन्याय, अत्याचार, अपमान, शोषण, विभेदलाई भाग्य र कर्मको जिम्मा लगाएर शासक र राजनीतिका ‘मठ, विहार, चर्च, मस्जिद’ हरूमा गच्छे अनुसार जयजयकार गर्दै लामबद्ध छन् ।

आफू र आफ्नो समाजको शिरमाथि थोपरिएका जति पनि दुःखका पहाडहरू छन्, तिनलाई फुटाउन अति कडा परिश्रम र सिंगो समाजको सामूहिक र एकताबद्ध मिहिनेत र विवेक जरुरी छ भन्नेमा विश्वास नगरी आ–आफ्ना मठका ‘पण्डित’ हरूले जादु गरिदिन्छन् अनि शिरबाट भाग्य र कर्मको कालो छाया हटाइदिन्छन् भनेर लागेका लाग्यै छन् । एउटा मन्दिर धाएर नभए अर्को मन्दिर । एउटा भाकलले नभए अर्को भाकल । त्यसले नभए धर्मै रूपान्तरण । दुःखको स्रोत एकातिर छ, समाधान अर्कातिर खोजेको छ । जति मठ फेरे पनि या धार्मिक पार्टी बदले पनि दुःख मेटिने होइन । जहाँ पनि फेला पर्ने ‘रङ नम्बर’ नै हो । म, तपाईं–हामी सबैले हिँडिरहेको बाटो यही हो; भोगिरहेको नियति यही हो ।

समाज र जीवनमा उपस्थित संकटको समाधान गर्ने योग्यताको निर्माण आफैंभित्र गर्न नसकेपछि समाज त्यसबाट त्राण पाउन चमत्कारको खोजीमा भौंतारिन्छ । चमत्कार गर्न सक्ने तागतको स्रोत आफैं हुँ भन्ने भुलेर अरू कसैले चमत्कार गरिदिने आशामा अनेकन् नायकको खोजी, परीक्षण र भरोसामा आफ्ना दुःखहरूको निदानको बाटो समपर्ण गर्छ । त्यसरी स्थापित नायकहरू आफैं अनेकतिर भौंतारिँदै आफ्नै जीवनको दुःख धुन राजनीतिको मठ या मस्जिद या चर्चमा आइपुगेको हुन्छ । रमिता हेर्ने लालसा बोकेकाहरूको मनोभावनाको दोहन गरेर जसरी जादुगरले उनीहरूको गोजी रित्याउँछ, त्यसै गरी चमत्कारको भोकले ग्रस्त समाजको मनोभावना दोहन गरेर एउटा चमत्कारी अघि आउँछ राजनीतिको आवरणमा । समाजलाई दोहन गर्छ र किनारा लाग्छ । फेरि अर्को चमत्कारी आउँछ, नयाँ भेषमा पहिलेको भन्दा चर्को चमत्कारको खात लिएर । उसले पनि त्यसै गर्छ । एकपछि अर्को चमत्कारको आसमा बाँचिरहेको ‘चमत्कार भरोसे’ समाज झन्झन् संसारकै हीनतर र दरिद्र समाजका रूपमा स्खलित भइरहन्छ ।

बारम्बार आफ्ना अपेक्षाहरूमा धूलोको खात लागेर कुरूप हुँदै जान थालेको समाजसँग उत्तेजना र आक्रोशको भकारी बाँकी रहन्छ । अझै पनि त्यस्तो समाज आफैंभित्र समाधानको योग्यता निर्माण गर्ने र सामाजिक अन्तरविरोधहरूले पैदा गरेको संकटको सामना गर्न सामूहिक तागतका साथ प्रतिरोध गर्ने बाटोमा नलागी अरूमाथि दोष थोपरेर बस्छ । अरू कोही आई चमत्कार गरेर सारा बेथिति, विसंगति, पछौटेपन, दरिद्रता हटाइदिने आधारहीन विश्वासको पखेटा हालेर उड्ने कल्पनामा डुबिबस्न छोड्दैन । आफ्नो कोरा कल्पनाको बाधकका रूपमा उसले समाजका सारा अवयवमाथि आक्रोशको केन्द्रीकरण गर्छ ।

उसले मिडियालाई खराब देख्छ । अदालतलाई खराब देख्छ । राजनीतिलाई खराब देख्छ । कर्मचारीलाई खराब देख्छ । सेना–प्रहरीलाई खराब देख्छ । आफूलाई मात्रै असल देख्छ । आजको दिनमा जुन हालतमा मिडिया, अदालत, फौजी संरचना, समाज, राजनीति छन्, ती आफ्नै सामाजिक योग्यताका प्रतिविम्ब हुन् भन्ने नै मान्दैन । मिडिया, अदालत, राजनीति, नोकरशाही, सेना, प्रहरी जहाँसुकैका भए पनि त्यहाँ पुगेका मानिसहरू यही समाजको सामाजिक–आर्थिक–सांस्कृतिक चेतना र चरित्र बोकेका पात्रहरू हुन् भन्ने नठानी, बेग्लै लोकबाट आएर हामीजस्ता असल र भव्य मानिसहरूको संसारमा भयानक उपद्रव र कुरूपताको खाल चलाइरहेका छन् भनेजसरी उनीहरूमाथि उत्तेजना प्रदर्शन गरिरहेका हुन्छन् ।

कतिसम्म भने, यो देश यतिसम्म दयनीय भएको, कुरूप भएको सडकमा ठेलागाडा चलाउनेले गर्दा हो भनेर तिनैमाथि खनिन्छन् । सहरको बेहाल भएको सडकको एउटा कुनामा कान कोर्ने र तौल जोख्ने मेसिन राखिबसेको वृद्धले गर्दा हो या सडकमा मकै पोलेर गुजारा चलाएको झुत्रेझाम्रे मानिसले हो भनेर हूलहुज्जत गर्छन् । सडकमा लछारपछार पारेर रुवाउँदै लतार्छन् । धनी, बलिया र शक्तिशालीसँग आँखा जुधाउनेसम्म पनि तागत नभएपछि हीनतर समाज आफूभन्दा या आफुजस्तै अर्को निरीहमाथि उत्तेजना स्खलन गराएर आफ्नो औकात प्रदर्शनीको गुजारा चलाउँछ ।

अनि यस्तै निराशा, कुण्ठा, आक्रोश र उत्तेजना बोकेर भौंतारिएको र भड्किएको समाजको सामाजिक मनोभावनाको दोहन गर्दै अनेकन् उत्तेजक पात्र राजनीतिको आवरणमा आफ्नो मनोकामनाको मार्ग चौडा बनाउन अघि आउँछन् ।

लोकप्रियतावाद : उत्तेजनाको स्वाभाविक मुकाम

यसरी समाज मौजुद राजनीतिक, आर्थिक, सांस्कृतिक, सामाजिक उत्पादन प्रणालीको चरम अयोग्यताका कारण या त चरम निराशामा छ या उग्र असन्तोषको भुङ्ग्रोमा । समाजको अवनति र व्यक्तिगत जीवनका तमाम दुःख सिंगो सामाजिक योग्यता र व्यक्ति स्वयंको कष्टसाध्य संघर्षबाट मात्रै समाधानको बाटामा अग्रसर हुन्छ भन्ने नमानी कुनै जादुयी नायक आई छुमन्तर गरेर मेटाइदिने भ्रमपूर्ण आशाको च्यादरमा निमग्न सुतिबसेका नागरिकहरू एकपछि अर्को ‘देवदूत’ ले दुःखको पहाड नफोडिदिएपछि निराशा र आक्रोशको दलदलमा फसिबसेका छन् । परिणाममा नरम ‘देवदूत’ ले दुःख हरण गरिदिएन भनेर उग्र ‘देवदूत’ लाई थापना गर्ने हडबडी र धपेडीमा छन् ।

आफूहरूलाई संसारकै सबैभन्दा हीनतर र दरिद्र मानिसका रूपमा बाँच्न विवश बनाएर नेता र शासक बन्दै अट्टहास गरिरहेका पात्रहरूप्रति हामीलाई यो हालतमा पुर्‍याउने यिनै हुन् भनेर समाजमा मौजुद पार्टी, नेता, व्यवस्था, संरचनाप्रति आक्रोशले विस्फोटक बाटो पकड्नु स्वाभाविकै पनि छ । यस्तो आक्रोशको परिधिमा सामान्य सामाजिक दृष्टिमा समेत न्याय महसुस नगराउने अदालत र यसका फैसलाप्रति मानिसमा स्वाभाविक असन्तोष छ । देशको यो स्तरको बेहाललाई नजरअन्दाज गरेर समाजमा केही पनि भएको छैनजस्तो गरी पार्टी, नेता, शासकहरूका स्तरहीन बकबकलाई उतारेर ‘भन्नुभयो पत्रकारिता’ गरिरहेका सञ्चारमाध्यमप्रति पनि मानिसहरूको उत्तिकै असन्तोष र आक्रोश छ ।

यी सारा अवयवप्रति समाजको, यहाँका मानिसको आलोचना, आक्रोश या असन्तोष तत् संरचनाप्रतिको घृणाको जगमा सृजना भएको होइन; बरु तत् अवयवप्रतिको अपेक्षा, निष्पक्षता, जनतातिर फर्किएको सक्रियता प्राप्त नगर्दा उत्पन्न निराशाको उत्कर्ष हो । यसको समाधान गाली, आलोचना, असन्तोष प्रकट गरिरहेको तप्कासँग जुध्नु या ओठे जवाफ फर्काउनु होइन; बरु नेता, शासक, शासकीय संरचनातिर फर्किएको पत्रकारितालाई जनतातिर फर्काउने र निरन्तर कर खपतकर्ताहरूको, राजनीतिक धन्दाबाजहरूको ‘मिडिया अडिट’ गरिरहनु हो । प्रेस स्वतन्त्रताको एक थान नारा लगाएका भरमा सञ्चारमाध्यममाथि उठेका प्रश्नहरूबाट सञ्चारजगत्ले छुट पाउन सक्दैन । अदालतको मानहानिको तरबार चलाएर न्यायालयप्रतिको जनआक्रोश मत्थर हुन सक्दैन । राष्ट्रसेवकको एक थान पदावली भिरेका भरमा भ्रष्ट तत्त्वका रूपमा स्थापित नोकरशाहीतन्त्रले ‘क्लिन चिट’ पाउन सक्दैन । राजनीतिका नाममा यी सारा अकर्मण्य एकाइहरूको गठजोड मिलाएर धन्दा चलाइरहेका मानिसहरूले उन्मुक्ति पाउन सक्दैनन् । तर, कोही पनि कसैप्रति जवाफदेह बन्नु नपर्ने उदेकलाग्दो अवस्थाबाट नेपाली समाज गुज्रिरहेको छ ।

परिणाममा समाजका तमाम अवयवको अकर्मण्यतामा उत्पन्न संकट र त्यसले मानिसमा फैलाएको असन्तोष र उत्तेजक मनोभावनाको दोहन गरेर आफ्नो स्वार्थमा साँध लगाउन उत्तेजनाका थोक बिक्रेताहरू राजनीतिको आवरणमा अघि आएका छन् । उत्तेजनाका यस्ता थोक बिक्रेताहरूले आफूबाहेक अरू सबै गलत भन्ने भाष्य निर्माण गर्छन् र समाजमा वितरण गर्छन् । उनीहरूले त्यसलाई आकार दिन भन्ने गर्छन्, ‘म एक्लै छैन । मेरो पछाडि सारा मानिस छन् ।’ आफूले गरेको अपराधलाई छोप्न अरूका केही कमजोरी टिपेर त्यसमाथि आफ्ना आवेगात्मक आरोपहरू घालमेल गरी निकृष्ट हमला गर्छन् । उल्टो आफूलाई फसाउन सारा एकजुट भएको चतुर तर ठग भाष्यको कवच पहिरिन्छन् । बलात्कार आरोपीले या उसका समर्थकले समेत यही तरिका अपनाउँछन् । फलानोलाई या मलाई फसाउन यस्तो गरिएको हो भन्ने । उल्टो पीडितमाथि आरोप लगाउने, चौतर्फी हमला गर्ने । यही नै हो उत्तेजनालाई जग बनाएर अघि आउने चर्चावादी राजनीतिको, राजनीतिज्ञको सामाजिक चेतनाको जग ।

शक्तिमा पुग्ने यस्तो चर्चावादी अगुवाले सारा ध्यान, तागत लगाएर स्थायी अभियान नै चलाउँछ- आफ्ना मानिसलाई आफू सत्ता–सस्थांपन नभएको विश्वास दिलाउन (बेन्जामिन मोफिट्ट, द ग्लोबल राइज अफ पपुलिज्म) । सत्तामा गएको यस्तो चर्चावादी शासकले छानेर मन्त्रालय लिन्छ । सामाजिक सत्तामाथि सबैभन्दा हैकम जमाउने मन्त्रालय । फेरि पनि आफ्ना मानिसहरूमा भने आफू सत्ता–संस्थापनको हिस्सेदार नभएको भ्रम दिन भाषण ठोक्छ, ‘म सत्तामा प्रतिपक्षको भूमिका निर्वाह गर्छु ।’ यसो भन्ने चर्चावादीहरू नेपाली राजनीतिमा पनि भेटिनु संयोग मात्रै होइन, चर्चावादी राजनीतिको स्थानीय पटाक्षेप मात्रै हो ।

उसका समर्थकहरूले लेख्छन्, भन्छन्, ‘मलाई मन परेको मान्छेलाई प्रश्न गर्ने तँ अरूको बारे प्रश्न गर्ने बेला कहाँ थिइस् ? अरूलाई प्रश्न नगर्ने, हाम्रो मान्छेलाई गर्ने ? अरू मान्छेलाई तैंले कस्तो खबरदारी गरेको थिइस् र हाम्रो मान्छेलाई खबरदारी गर्छस् ?’ उनीहरूका तर्क यस्तै हुन्छन् । अनि यिनैले भनिरहेका, लेखिरहेका पनि हुन्छन्, ‘अरू सबै चोर भए, हामी असल हौं । अरूको राजनीति खराब भयो, हामी सफा राजनीतिका हिमायती । हामी नयाँ र सफा राजनीतिका पक्षपाती ।’ जब त्यस्तो दाबी गर्नेमाथि प्रश्न उठ्छ, अनि तिनै मुख उज्याउँदै अघि सर्छन्, ‘अरू खराब हुँदा तैंले के बोलेको थिइस् र अहिले हामीमाथि प्रश्न गर्छस् ?’

समर्थकहरूले पनि त्यही गर्छन्, जो तिनका अगुवाले या चेतना प्रतिनिधिले गर्छन् । मिडियालाई गाली । लेखक, बुद्धिजीवीलाई गाली । आफू मात्रै ठीक, अरू सबका सब गलत । अरू सारा संरचनालाई गाली गरेपछि आफू स्वतः योग्य भइने भाष्य उनीहरूले वितरण गरिरहेका हुन्छन् । योग्य हुन आफैंसँग कुनै अतिरिक्त योग्यता चाहिँदैन उनीहरूका लागि । गाली नै योग्यता हुन्छ ।

चर्चावादी राजनीति (लोकप्रियतावाद) जहिल्यै संस्थापन र राजनीतिक व्यवस्थापनविरुद्ध चर्को नारा लगाएर अघि आउँछ । यो वैकल्पिक कार्यक्रमसहित समाज रूपान्तरणको होइन, अरूको आलोचनाको भरमा राजनीतिको गुजारा चलाउने धन्दामा लीन हुन्छ । जुन समाजले आफूलाई अघि बढाउनका लागि आवश्यक नीतिगत चेतनाको सर्वथा खडेरी भोगिबसेको हुन्छ, ऊसँग उत्तेजना मात्रै बाँकी रहन्छ । उत्तेजनाको चरममा पुगेको समाजले आफ्नो प्रतिनिधि पनि आफूमध्येको सबैभन्दा चरम उत्तेजक पात्रलाई छान्छ । समाजको चरित्र जस्तो छ, उसको अगुवा, प्रतिनिधि उस्तै हुने हो । किनभने समाजले आफ्नो प्रतिनिधि आफ्नो स्वार्थ समूहभित्रबाटै, आफूमध्येबाटै, आफूजस्तै पात्रलाई नै छान्ने हो ।

त्यस्तो प्रतिनिधि जोसँग समाज रूपान्तरणको ठोस नीतिगत कार्यदिशा हुनै नपर्ने । समाजका असन्तुष्टिहरूको तुष्टीकरण गरेर त्यसैमा खेलेर राजनीतिको जीविका चलाउने । त्यस्तो पात्रले समाजलाई दिन सक्ने भनेको उत्तेजना मात्रै हो । आफू भए ठीक । नभए या आफूमाथि प्रश्न उठे त्यसको जवाफ दिने होइन उल्टै अरूलाई गाली, बेइज्जती, अपमान गर्ने । समाजलाई ध्रुवीकृत गर्ने । घृणाको बिस्कुन फिँजाउने । चरम लोकप्रियतावादी दक्षिणपन्थी विषालु हावाले समाजलाई डस्ने । बाँकी सारा खराब, म एक्लो असल भन्ने आत्मालापको दुन्दुभि फुकेर सिंगो समाजमा ध्वनि प्रदूषण मच्चाउने । चिच्याउने । जति चिच्यायो उति ठूलो भइन्छ भन्ने स्थापित गर्ने ।

फेसबुकलाई नै सञ्चारमाध्यम ठान्ने र फेसबुकका स्टाटसलाई नै समाचार (त्यो पनि अन्तिम सत्य) ठान्ने सूचना साक्षरता भएको समाजमा मानिसहरूलाई भड्काउन गाह्रो हुने कुरै भएन । सारा सामाजिक संरचनाहरूप्रति अविश्वास, आक्रोश र निराशा बटुलेर बाँचेकाहरूलाई उत्तेजनाको सानो झिल्कोले पनि सल्काउन र दनदनी बाल्न नसक्ने कुरै भएन । सम्हाल्न र अघि बढाउन गाह्रो हो, समाजको असन्तोष टिपेर जलाउन र भड्काउन सजिलै सकिन्छ । तिनको असन्तोष, आक्रोश र निराशामाथि खेलेर जीवन नै लिनेदिने स्तरमा उत्तेजित गराउन पनि सकिन्छ भनी पुष्पकमल दाहाल, बाबुराम भट्टराईहरूले दसवर्षे द्वन्द्वमार्फत प्रस्ट पारिसकेका छन् । उनीहरूले नै थप प्रस्ट पारेका छन्, हताशा, निराशा र अन्योलबाट रचनात्मक रूपान्तरण र सृजनात्मक निर्माणको नेतृत्व गर्न भने भड्काउने र लडाउने ध्वंसवादी योग्यताले पुग्दैन ।

उसो त उत्तेजनाको राँको दनदनी बालेर रन्किएको भीडको नीति नै हुँदैन भन्ने पनि सत्य होइन । हुन्छ नै । त्यस्तो भीडको नेतृत्व गर्ने नीतिहीन हुन्छन्, त्यसो मात्रै पनि होइन । तर, सवाल भीडको नेता बन्ने नीतिले समाजलाई कता लैजान्छ भन्ने हो । नीति त भीडलाई मौजुद उत्तेजनात्मक अवस्थाबाट निकालेर चेतना एवं सामाजिक–राजनीतिक–सांस्कृतिक साक्षरताले लैस गराउने र सिंगो सामाजिक परिपाटीलाई रूपान्तरणको मार्गमा अभिसरित गराउनका लागि आवश्यक हुने हो ।

चाँडो र जसरी पनि धनी बन्ने या लुटपाटबाट गुजारा चलाउने चेतनाले डामिएको भीडले लुटपाट मच्चाइरहेको छ । तपाईं त्यो लुटपाट गर्ने भीडको हिस्सा बनेर त्यसको नेतृत्व गर्न पनि सक्नुहुन्छ । आफ्नो नेतृत्वलाई वैचारिकी दिन र त्यसमाथि प्रश्न गर्नेहरूको तेजोवध गर्न ‘देश लुट्ने भ्रष्टाचारीको बारेमा तैंले हिजो के बोलेको थिइस् र आज मोबाइल पसल लुट्नेको बारेमा बोल्छस्’ भन्न पनि सक्नुहुन्छ । तर, के त्यसले लुटपाटमै ओर्लनुपर्ने हालतमा विघटित भएको सामाजिक यथार्थहरूको रूपान्तरण हुन्छ र समाज अघि बढ्छ त भन्दा बढ्दैन । ठीक यहीँनेर चाहिने हो सही नीति, सही नेतृत्व । विकृत सामाजिक मनोभावनाको दोहन गरेर त्यसको अगुवा प्रतिनिधि बन्ने कि त्यसलाई रूपान्तरण गरेर अघि बढाउने नीतिको नेता बन्ने भन्ने सवाल ठीक यस्तै घडीमा प्रखर भएर आउने हो ।

न नीति न नेता

नेता नीतिको नेतृत्वकर्तालाई भनिएको हो । समाज रूपान्तरणको नीति । अर्थात्, ऊ चलिरहेको सामाजिक चिन्तनधाराको व्यवस्थाको प्रतिनिधि होइन; त्यसको रूपान्तरणको नीतिको नेतृत्वकर्ता हो । समाजलाई अघि बढ्ने बाटो देखाउने अगुवा हो । एक कदम भए पनि सिंगो सामाजिक परिपाटीको रूपान्तरणका लागि नेतृत्व गर्ने पात्र हो । आजको नेपाली समाजको राजनीतिक दृश्यभित्र नेताको सर्वथा खडेरी छ । समाज जस्तो छ, त्यसको प्रतिनिधित्व गर्ने पात्र मात्रै छन् । सामाजिक चिन्तनधारा, चरित्र र महत्त्वाकांक्षाको परिपूर्तिको पूरककर्ताका रूपमा छनोट भएका प्रतिनिधि पात्र मात्रै छन् ।

यसरी हेर्दा आज आफूलाई नौलो र नयाँ भनाएर राजनीतिलाई गुजाराको टेको बनाउन आइपुगेकाहरू नै पनि भिन्न रुचि, आकांक्षा, स्वार्थ, रुचि, योग्यता भएका भिन्न समूहहरूका प्रतिनिधि मात्रै हुन्; नेता होइनन् । किन पनि भने, तिनले आफैंले प्रतिनिधित्व गर्ने समूहको रूपान्तरणको कुनै नीति र कार्यक्रम अघि ल्याएका छैनन् । त्यसैले यिनले स्वार्थ समूहको प्रतिनिधित्व गर्ने हो । स्वार्थ समूहको नेतृत्व गर्नेले समाजलाई अघि बढ्न दिँदैन । स्वार्थको घेराभित्र रिंग्याई मात्रै राख्छ ।

जस्तो, अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई नै हेरौं । दाहाल संविधानसभाबाट संविधान बनाउने समयसम्म मात्रै नेता थिए, किनकि संविधान कस्तो बनाउने, समाजलाई कता लैजाने भन्ने उनीसँग जस्तो भए पनि नीति थियो; भलै त्यसमा हाम्रा सहमति–असहमति जेसुकै होऊन् । त्यसयता उनीसँग कुनै नीति छैन । जसरी पनि सत्ता नै उनको नीति भएको छ । कुरूप नीति । त्यसैले उनीबाट अब सिंगो देशको रूपान्तरण सम्भव छैन । ओली, देउवा, लिङ्देन आदिहरू पनि एकअर्काको निरन्तरता मात्रै हुन्; रूपान्तरणको अगुवाका रूपमा बाँकी रहेनन्, बरु समाजलाई पछाडि धकेल्ने उल्टो बयलगाडाका रूपमा उपस्थित छन् ।

नीतिसँगै नेताको खडेरी

नेपाली समाजले र यसलाई सञ्चालन गर्ने राजनीतिले आजको दिनमा नीतिको चरम संकट बेहोरेको छ । नीतिमै संकट बेहोरेकाले नेपाली समाजमा नेताका रूपमा मानिसले गणना गर्न सक्ने पात्रको समेत अत्यासलाग्दो खडेरी छ । जति मानिसहरू आज नेताको बर्को ओढेर राजनीतिको रंगमञ्चमा उभिएका छन्, तिनले कुनै पनि दृष्टिबाट नेता बन्ने ल्याकत राख्दैनन् । ती फगत सर्कसका बुख्याँचाजस्ता छन् । अरू नै कसैको निर्देशन शिरोपर गरेर अभिनय गर्न उभिएको जस्तो लाग्ने पात्रहरू । आफ्नै स्वत्व नभएको । अघिल्लो दिन एउटा मञ्चमा उभिएको छ, भोलिपल्ट अर्कै । आज एउटा पात्रको भूमिका निर्वाह गरेको छ, भोलि अर्कैको । अर्थशास्त्रीय शब्दावली प्रयोग गर्ने हो भने, नाफाखोर बजारका दलालजस्ता । कहिले एउटासँग मिलेर लुँड्याएको छ, कहिले अर्कोसँग मिलेर । कोसँग मिल्ने भन्नेमा न त विचारको कुरा छ न कार्यदिशात्मक वैचारिक नीतिको सवाल । बस, सत्ता हातलागी हुनुपर्‍यो ।

आफूलाई गणतन्त्रको प्रणेता पनि भनाउनुपरेको छ, राजतन्त्र स्थापना गर्ने घोषित कार्यक्रम बोकेको पुनरुत्थानवादीसँग मिलेर सत्ताको तर पनि मार्नुपरेकै छ । कम्युनिस्ट भनेको छ, कांग्रेससँग मिलेर पनि सत्ताको तर मारेकै छ । सत्ता नै नीति भएको छ । जसरी पनि सत्ता हातलागी गरेर या यसको गठजोड मिलाएर ‘माल’ को व्यवस्था गर्नु नै राजनीति भएको छ । अनि यिनैले आफूलाई नेता पनि भनाइराख्ने ? नाफाखोर बजारको दलालभन्दा कुनै पनि तवरले भिन्न नदेखिने चरित्र र व्यवहार प्रदर्शन गरिरहेका राजनीतिक बजारका यी ‘प्रो–एक्टिभ एजेन्ट’ हरूले राजनीतिलाई नै सर्कस बनाइदिएका छन् ।

टर्कीको समाजमा एउटा चर्चित कहावत छ, ‘जोकर दरबार पसेकै कारण ऊ राजा बन्दैन, बरु दरबार नै सर्कसमा परिणत हुन्छ ।’ ठ्याक्कै यस्तै भइरहेको छ हाम्रो राजनीतिमा । अनेकन् जोकर राजनीतिमा पसेका छन् । राजनीतिमा पसेकै कारण तिनीहरू नेता बन्ने कुरै भएन, बरु तिनले राजनीतिलाई नै सर्कसमा परिणत गरिदिएका छन् ।

०००

नेपाली समाजले हमेसा नीति र नेतृत्वको खडेरी बेहोरिरहेको निराशाजनक भाष्यले मात्रै पनि हामी डामिएका छैनौं । सामाजिक संकटका अनेकन् घडीमा या समाज रूपान्तरणका अनेकन् घुम्तीमा आवश्यक नीति र नेतृत्वबाट संकटग्रस्त समाजलाई रुपान्तरण गरेर अघि बढाउन अग्रसर भएका अनुभवहरू हामीसँग छन् ।

जस्तो कि, बीपी विचारक थिए । उनीसँग समाज रूपान्तरणको ठोस कार्यदिशा थियो । रूपान्तरित समाजको नेतृत्व गर्ने आधारभूत नीति थियो । त्यो नीति परम्परागत र यथास्थितिवादी, अझ धेरै हदसम्म पुनरुत्थानवादी नीतिसँग टकराइरहेको थियो । परिणामतः पुनरुत्थानवादी तागतको गठजोड गरेर त्यो धारका नेता महेन्द्रले फौजी कू गरे बीपी सरकारमाथि, बीपीहरूको नीति र कार्यदिशामाथि । जेल हालियो बिनाअभियोग, बिनापुर्पक्ष । पछि दुनियाँलाई देखाउन मिल्ने पात्रता भएको कोही भएन भनेर राजाले पञ्चायतको तबेलामा विचार बाँधेर प्रधानमन्त्री खान बोलाए बीपीलाई ।

लोकतन्त्रको आधारभूत सर्तसँग मुलाहिजा गरेर सत्ताको नालीमा चोबल्नका लागि बहुरूपी मखुण्डोको कहिल्यै जुगाड नगरेका बीपीले त्यसलाई आफ्नो नीतिमाथिको हमला माने र अस्वीकार गरे । त्यही लोकतन्त्र र भुइँमा उभिएका मानिसहरूको उन्मुक्तिप्रतिको सम्झौताहीन नीतिमाथिको प्रतिबद्धताले बीपीलाई नेता बनायो ।

बीपीपछि महेन्द्रसँग पनि आफ्नो नीति थियो । वैचारिक आलोकमा त्यसले पुनरुत्थानवादी दिशा समातेको थियो । समाजलाई विभाजन गर्ने अनि असहमतहरूलाई लाञ्छना र आरोपको दहमा चोबलेर आफ्नो कुण्ठा समन गर्ने मार्ग अपनाएको थियो । तर पनि उनीसँग समाज सञ्चालन र व्यवस्थापनको नीति त थियो नै । त्यसैले एउटा धारको नेता त उनी निःसन्देह थिए नै ।

पुष्पलाल त्यसै गरी नेपाली समाज रूपान्तरणको सुस्पष्ट कार्यदिशा र नीतिप्रति सम्झौताहीन प्रतिबद्धता भएका नेता थिए । उनैको नीतिले व्यावहारिक आकार लिँदा कालान्तरमा नेपाल गणतन्त्रको बाटामा अभिसरित भयो । त्यसपछि जतिसुकै मन परे पनि या नपरे पनि माओवादी विद्रोह एउटा नीति र नेतृत्वसहित अघि आयो । त्यो जमातसँग विद्रोहको कार्यदिशा त थियो तर विद्रोहपछिको समाज सञ्चालन, व्यवस्थापन र रूपान्तरणको कुनै नीति थिएन । त्यसैले त्यो चर्को अकर्मण्यतामा फस्यो । बरु कांग्रेस–एमालेसँग मौजुद समाजको निरन्तरता अर्थात् टालटुले व्यवस्थापनमार्फत राजनीतिमा आफ्नो गुजारा चलाउने स्पष्ट बाटो छ । त्यसले समाजलाई यथास्थितिको विषालु ग्यासच्याम्बरमा कैद गरेर मन्द विषले जसरी सिध्याउँदै गए पनि तिनीहरूको राजनीतिक गुजारा चलिरहेकै छ ।

माओवादी जमातसँग भने त्यति पनि प्रस्ट बाटो नभएकाले राजनीतिक गुजारा चलाउन पार्टीको नाम र चुनाव चिह्न फेरेर भए पनि विकर्षित मानिसहरूमाथि छलछामका माध्यमले भए पनि राजनीतिको गुजारा चलाउन सकिन्छ कि भनेर पार्टीभित्र जनता झुक्याउने उपायको खोजीमा टाउको खियाउने दुःखले प्रवेश गर्न पुगेको देखिन्छ ।

समाधानको बाटो

नीति र नेतृत्वको संकटमा फसेर, असफलता र दरिद्रताले डामिएर उत्तेजनाको लप्को बोकेर हिँडिरहनु आजको समाजको सबैभन्दा ठूलो संकट हो । एक त आज हामीसँग हाम्रो आगामी यात्राको स्पष्ट ब्लुप्रिन्ट छैन । अर्को त्यस्तो नीतिगत ब्लुप्रिन्ट नै नभएपछि त्यसको नेतृत्वको खडेरी परेको छ । यो समाजलाई कसरी अगाडि बढाउने भन्ने सुसंगठित कार्यदिशा र नेतृत्वकर्ताको अभाव एकपछि अर्को गरी उदाउने र अस्ताउने उत्तेजनाका कारोबारीहरूले पूर्ति गर्न सक्दैनन् । समाजको घाउ एकातिर छ, मल्हम अर्कातिर लगाएर सामाजिक संकटको समाधान हुँदैन । नीति, कार्यक्रम र नेतृत्वमा परेको खडेरी चर्चावादी ‘स्टन्टबाज’, लोकप्रियतावादी दक्षिणपन्थी उत्तेजना प्रतिनिधि/एजेन्टहरूको जुगाडले टार्न सक्दैन ।

हाम्रो समाजले आज आफैंमाथि सबैभन्दा बढी गर्न सक्ने कृपा, दया नै यहीँनेर हो । हौवाको पछि नलागी आफ्ना समस्याहरूको निर्क्योल गर्ने । समाधानका बाटाहरू तय गर्ने । त्यसका लागि आवश्यक नीति र कार्यक्रमहरूको संगठित स्वरूप निर्माण गर्ने । यसलाई अघि बढाउन सामूहिक योग्यता जोडेर आफ्नो आवश्यकतालाई सम्बोधन गर्न सहभागितामा आधारित (ख्याल गर्नुहोला, प्रतिनिधित्वमा आधारित होइन) सामूहिक नेतृत्व प्रणाली क्रियाशील गराउने । आफैंलाई उत्तेजनाको लप्कोले जलाएर खरानी बन्नबाट जोगाउने ।

प्रकाशित : फाल्गुन २६, २०७९ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?