टर्कीमा रोजगारी दिने भन्दै ठगी गरेको आरोपमा पक्राउ

वैशाख ३१, २०८१

कान्तिपुर संवाददाता

Arrested on charges of fraud by claiming employment in Turkey

काठमाडौँ — टर्कीस्थित युएन मिसन कार्यालयमा रोजगारी दिलाउने भन्दै चार करोड ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका-५ का ४२ वर्षीय विनोद श्रेष्ठलाई पक्राउ गरी सोमबार प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । 

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले भने, 'टर्कीको युएन मिसन कार्यालयमा वर्क परमिटमा कामदार पठाउने, त्यहाँ गएपछि आकर्षक तलब हुने प्रलोभनमा पारी मीनबहादुर कार्कीलगायत एक सय २४ जना व्यक्तिबाट चार करोड ३४ लाख उठाएपश्चात् सम्पर्कविहीन भई फरार रहेको उजुरीका आधारमा पक्राउ गरेका हौँ ।'

आरोपित श्रेष्ठले चुच्चेपाटीस्थित जमघट रेस्टुरेन्टमा पीडितहरुसँग भेटेर सुरुमा ५० हजार र भारतमा लगेर प्रतिव्यक्ति तीन लाख लिएको अनुसन्धानबाट खुलेको  उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्द पन्थीले बताए ।

उनका अनुसार पीडितहरुबाट लिएको रकमले आरोपित श्रेष्ठले चाबहिलमा सालो नाता पर्ने सुजन भुजेलका नाममा  तीन करोड ५० लाखमा घर किनेको भेटिएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोबाट ठगी मुद्दामा अनुसन्धानमा परी श्रेष्ठकी पत्नी सुरुची भुजेल र सालो सुजन भुजेल पुर्पक्षका लागि कारागारमा पठाइसकिएको प्रहरीले जनाएको छ ।

श्रेष्ठलाई काठमाडौँ महानगरपालिका-७ चावहिलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले बताए । 

कान्तिपुर

Link copied successfully