कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

छलाङवाद र निरन्तरतासहितको गतिशीलता

आफ्नो देशको सभ्यताका राम्रा बुँदाहरू र मनोवैज्ञानिक सुरक्षाका आयामहरूलाई तिरस्कार गर्दा दिगो र गुणात्मक विकास र स्थिरताको सट्टा समाजमा आक्रोश, निष्क्रियता र निराशा संस्थाकरण हुँदै जाने यथार्थता मार्क्सवादका नाममा स्थापित हुने छलाङवादी प्रवृत्तिले स्पष्ट गरेको छ ।
प्रकाशचन्द्र लोहनी

वैचारिक दृष्टिले राप्रपा निरन्तरतासहितको गतिशीलता (संवर्द्धनवाद) को अवधारणा बोकेको दल हो । सामान्यतया निरन्तरता र गतिशीलता परस्पर विरोधी शब्दका रूपमा देखा पर्छन् ।

छलाङवाद र निरन्तरतासहितको गतिशीलता

‘गतिशीलता’ ले परिवर्तन र भविष्यलाई जोड दिन्छ भने ‘निरन्तरता’ ले विगतको यथार्थतालाई पनि राष्ट्रनिर्माण र समाज रूपान्तरणमा याद राख्नुपर्ने तथ्य औंल्याउँछ । यी दुई परस्पर विरोधी देखिने तत्त्वहरूको एकताबाटै गतिशील स्थिरतासहितको आधुनिक र समावेशी समाज निर्माणको परिकल्पना गर्न सकिन्छ । यही नै नरम संवर्द्धनवादको मुख्य सैद्धान्तिक सूत्र हो ।

मानव सभ्यता विकासका क्रममा गतिशीलता शब्द राजनीतिक, सामाजिक, आर्थिक र प्राविधिकजस्ता सबै पक्षसँग जोडिन आउँछ । यी चारै तत्त्व एकअर्कासँग सम्बन्धित छन् । यद्यपि कुन तत्त्व प्रमुख हुन्छ, यसै भन्न सकिँदैन तथापि जब यी चारै तत्त्वबीचको अन्तरसम्बन्ध बढ्दै जान्छ, त्यस बखत ‘छलाङवाद’ अथवा क्रमभंगताको वातावरणले प्रोत्साहन पाउँछ ।

३०० वर्षयताको इतिहास हेर्दा, छलाङवादी प्रवृत्ति बारम्बार समाज परिवर्तनको विशेषताका रूपमा देखा परेको छ । यसको मुख्य कारण राज्य र नागरिकबीचको अन्तरसम्बन्ध र नागरिकहरूबीचको आपसी सम्बन्ध संरचनामा आएको व्यापक वैचारिक परिवर्तन हो । तर छलाङवादको ऐतिहासिक अनुभवले के देखाएको छ भने, क्रान्तिकारी नारासहितको छलाङवाद अन्ततोगत्वा या त राष्ट्र विनाशको कारक बनेको छ या बिस्तारै निरन्तरतासहितको गतिशीलतामा रूपान्तरित हुन प्रयासरत देखिन्छ । यद्यपि यो यात्रा सजिलो देखा परेको छैन । यसको ज्वलन्त उदाहरण हाम्रै देश हो ।

छलाङवाद : फ्रान्सेली क्रान्ति

छलाङवाद रोमाञ्चकारी सपना हो । अहिले जे छ त्यो खराब छ, त्यसलाई आमूल नष्ट गरौं र नयाँ संसारको निर्माण गरौं भन्ने सपना छलाङवादको मूल बाटो हो । यो अस्त्रको निर्माण सर्वप्रथम नयाँ वैचारिक चिन्तनको शृंखलासँगै सुरु हुन्छ र यसले मानिससामु आफ्नो यथार्थताप्रति नयाँ चेतना पैदा गरी नयाँ रोमाञ्चकारी भविष्यको चित्र पेस गरिदिन्छ । फ्रान्समा सन् १७७९ मा भएको क्रान्ति यही यथार्थताको अनुपम उदाहरण थियो र छलाङवादको नौलो प्रयोग थियो । यसको वैचारिक जग रुसो, भोल्तेयर र अन्य चिन्तकले खडा गरे भने यसलाई बल दिने काम सामन्ती शासकहरूले आफ्नो व्यवहारबाट प्रदर्शन गरे । फ्रान्सका अन्तिम राजा लुईको शासनकालमा जथाभावी कर र शासकीय भ्रष्टाचार एकातिर बढ्दै थियो भने अर्कातिर देशको सबैभन्दा ठूलो जमिनदारका रूपमा रहेको चर्चको शोषणले जनता आक्रोशित हुँदै थिए । क्रान्तिको समयमा देशका १ प्रतिशत धनीका हातमा ५० प्रतिशत सम्पत्तिको स्वामित्व थियो (पिकेटी, पृ. ३४) । तर यतिले मात्रै क्रान्ति हुने थिएन । विद्रोह हुन्थ्यो होला, क्रान्ति आधारभूत रूपमा फरक हुन्छ । विद्रोहले इन्जिनको सानो पार्टपुर्जा फेर्ने आकांक्षा राख्छ भने क्रान्तिले इन्जिन नै फेरेर नयाँ र भिन्न इन्जिनको कल्पना गर्छ । त्यस बखतको महत्त्वपूर्ण पक्ष के थियो भने, राज्य र जनताको सम्बन्धबारे अठारौं शताब्दीका चिन्तकहरूले संसारमा सबै कुरा विज्ञानमार्फत जान्न सकिने अनि यसै कारण परम्परा र परम्परागत संस्थाहरू ध्वस्त गरेर मात्र जनताकेन्द्रित नयाँ युगको सुरुआत गर्न सकिने अठोटबारे तर्क पेस गरेका थिए । प्रश्न पुर्जा फेर्ने कुरामा सीमित थिएन, पूरा इन्जिन नै फेर्ने परिकल्पना थियो । राज्य र जनताको सम्बन्धबारे नयाँ वैचारिक चिन्तन, शासक वर्गको भ्रष्टाचार र शोषण, धर्मका नाममा चर्चको शोषण र आर्थिक अराजकताजस्ता सबै तत्त्वको संयोजनले पुराना संस्था, संरचना र संस्कृति सबै ध्वस्त गरेर नयाँ युगको कल्पनाका रूपमा फ्रान्सेली क्रान्ति देखा पर्‍यो । यो सही अर्थमा छलाङवाद अर्थात् क्रमभंगताको युग थियो ।

बेलायतबाट छलाङवादी क्रान्तिलाई गम्भीर तरिकाले नियाल्ने चिन्तकका रूपमा एडमन्ड बर्क देखा परे । निरन्तरतासहितको गतिशीलताको वैचारिक तर्क गर्दा बर्कलाई हेर्नैपर्ने हन्छ । क्रान्तिका नाममा निस्केको छलाङवादले अन्ततोगत्वा प्रजातन्त्रको हत्या गर्ने, राजसंस्थाको विनाश गर्ने र त्यसका ठाउँमा अधिनायकवाद स्थापित हुने अनि युरोप लामो लडाइँमा फस्ने भविष्यवाणी बर्कले आफ्नो किताब ‘रिफ्लेक्सन अन रेभोलुसन इन फ्रान्स’ मा गरेका थिए जुन यथार्थमा देखियो । राज्यशक्तिको प्रयोगमा ऐतिहासिक परिवेश चटक्कै मास्न खोज्दा राम्रो नतिजा ल्याउन नसकिने उनको ठम्याइ थियो । बर्क परिवर्तनविरोधी थिएनन् तर परिवर्तनका क्रममा क्रमभंगता र छलाङवादलाई बोकेर हिँड्ने सोचका कारण सकारात्मक परिवार्तन आउनुको साटो अवसरवाद र अराजकतावादले जरो गाड्छ र प्रजातन्त्र ध्वस्त हुन्छ भनेका छन् । बर्कले यो तर्क बेलायतको आधारभूत संरचना र मूल्यमान्यता जोगाएर गरिएको परिवर्तन र फ्रान्सको छलाङवादका नाममा घटित स्थितिसँग तुलना गरेका छन्, जुन आज पनि सान्दर्भिक छ । निरन्तरतासहितको गतिशीलताको चिन्तनमा बर्कको लेखन कोसेढुंगाका रूपमा रहेको छ ।

रुस र छलाङवाद

छलाङवादको अर्को ठूलो प्रयोग मार्क्सवादी दर्शनको जगमा रुसमा भयो । सत्रौं शताब्दीपछि प्रविधिको विस्तार र औद्योगिक क्रान्तिको वेग पहिले बेलायतमा अनि त्यसपछि अमेरिका र युरोपमा बढ्दै गएपछि त्यसका सकारात्मक र नकारात्मक दुइटै पक्ष देखा परे । नयाँ र परिवर्तनमुखी औद्योगिक संरचनासँगको संघर्षमा जमिनमा आश्रित सामन्ती वर्ग असफल हुँदै गयो । अब औद्योगिक मजदुर हुन पुगेका श्रमिकहरूको आर्थिक अवस्थाबारे कस्तो नीति लिने ? नयाँ खडा हुँदै गएको अर्थ संरचना अन्तर्गतको भागबन्डा अर्थात् ज्याला, ब्याज र पुँजीको प्रतिफल कसरी तय गरिने ? यी प्रश्नहरूबारे विभिन्न विचार र दृष्टिकोण पेस भए तर यस क्रममा मजदुरमाथिको शोषण बढ्दै गयो । यसै परिवेशमा मार्क्सवादको जन्म भयो । मूलतः मार्क्सको भनाइमा औद्योगिक व्यवस्थाको जग जब बलियो हुँदै जान्छ, मजदुर (सर्वहारा) र उद्योगपतिबीचको सम्बन्धले वर्गीय चरित्र लिन्छ । यो अन्तरविरोधले संघर्षको रूप लिन्छ एवं अन्ततोगत्वा पुँजीवादको अन्त्य र अर्थव्यवस्थाको सामाजिकीकरणको स्वर्ण युग सुरु हुन्छ । यो व्याख्या वास्तवमा क्रमभंगता र छलाङवादको वैचारिक आधारका रूपमा देखा पर्‍यो ।

मार्क्सले आफ्नो जिन्दगीको अन्तसम्ममा आफूले पेस गरेको कल्पना अव्यावहारिक हुन सक्ने देखिसकेका थिए । हुन पनि मजदुरको ज्याला घटेन, मजदुरका पक्षमा धेरै सामाजिक सुरक्षाका कार्यक्रम आए र यसको नेतृत्व जर्मनीका बिस्मार्कले गरे । सन् १८८९ मा युरोपमा वृद्धहरूका लागि सामाजिक सुरक्षाको व्यवस्था गर्ने पहिलो राष्ट्र जर्मनी भयो, बिस्मार्ककै नेतृत्वमा । सेवापछि पेन्सन र स्वास्थ्य सुरक्षाको व्यवस्था गरियो एवं आय सुरक्षाका लागि विभिन्न सामाजिक बिमाका कार्यक्रमहरू लागू गरिए । यसै क्रममा बेरोजगार बिमा पनि सन् १९२७ मा लागू गरियो । जर्मनीभन्दा अलि पछि बेलायतमा पनि सन् १९०८ मा पेन्सन सम्बन्धी कानुन लागू भयो र १९४८ सम्म आइपुग्दा बेभरिज रिपोर्टका आधारमा व्यापक सामाजिक सुरक्षा कार्यक्रम लागू भयो । परम्परावादी र मार्क्सवादी क्रान्तिको उम्मेदवार बेलायतमा प्रजातान्त्रिक अवधारणा अन्तर्गत नै राजनीतिक सुधार भयो । मताधिकारको दायरा बढाउँदै लगियो र मार्क्सको छलाङवाद ओझेलमा पर्‍यो ।

रुसमा लेनिनले मार्क्सवादको सैद्धान्तिक जग समातेर कृषिमा आधारित सामन्ती र औद्योगिकीकरण व्यापकता नभाएको अवस्थामा पनि सत्ता पल्टाए, राजपरिवारको हत्या गरे र एकदलीय अधिनायकवादी शासन कायम गरे । तर यो राजनीतिक र वैचारिक छलाङवादको मूल्य चर्को थियो । लेनिनपछि स्टालिनको शासनमा जमिन किसानबाट खोसियो । यसमा असन्तुष्टि व्यक्त गर्ने लाखौं किसान मारिए वा साइबेरियाका यातनागृहहरूमा पठाइए । एकदलीय प्रजातान्त्रिक केन्द्रीकरणका नाममा एक जना स्टालिनको शासन चल्योÙ बोल्न नपाइने र पार्टीले जे भन्छ, त्यो सामन्तवाद अन्तर्गतको सेवकले जस्तै स्वीकार गर्नुपर्ने र नगरे मृत्युवरण गर्नुर्पर्ने परिपाटी बस्यो । सन् १९३६ सम्म आइपुग्दा स्टालिनले क्रान्तिमा साथ दिने आफ्ना अधिकांश सहकर्मीको हत्या गरिसकेका थिए ।

राष्ट्र र राज्य निर्माणका क्रममा आफ्नो देशको सभ्यताका राम्रा बुँदाहरू र मनोवैज्ञानिक सुरक्षाका आयामहरूलाई तिरस्कार गर्दा दिगो र गुणात्मक विकास र स्थिरताको सट्टा समाजमा आक्रोश, निष्क्रियता र निराशा संस्थाकरण हुँदै जाने यथार्थता मार्क्सवादका नाममा स्थापित हुने छलाङवादी प्रवृत्तिले स्पष्ट गरेको छ । रुसको मार्क्सवादी छलाङवादमा आधारित नयाँ युग ७० वर्ष पनि टिकेन र जुन राजपरिवारलाई लेनिनको सत्ताले हत्या गरेको थियो, त्यसको चिहान खोतलेर त्यहाँ रहेका अवशेषहरूलाई ठूलो इज्जतका साथ चर्चमा समाधिस्थ गरियो । कम्युनिस्ट शासनले निषेध गरेको अर्थोडक्स चर्च अर्थात् धर्म अहिले फेरि बलियोसँग स्थापित भएको छ र जनताको जीवनको अभिन्न अंग भएको छ । मार्क्सवाद अन्तर्गतको मूलधार हराएको छ । इतिहासमा देखिएको मार्क्सवाद अन्तर्गत बीसौं शताब्दीको सुरुमा गरिएको यो प्रयोग असफल भएर निरन्तरतासहितको गतिशीलताको नयाँ सम्भावनाको खोजीमा छ । यद्यपि रुसमा प्रजातन्त्रको सार के हुने भन्ने अझ प्रस्ट भइसकेको छैन । आज बहुदलीय चुनाव भने पनि रुस धर्ममा आस्था राख्ने तर प्रजातन्त्रका नाममा दलाल पुँजीपतिहरूबाट समर्थित एकदलीय अधिनायकवादमा यात्रा गरिरहेको छ । प्रजातन्त्रका नाममा केही सीमित अथाह धनी वर्गद्वारा समर्थित र संरक्षित एकदलीय अधिनायकवाद रुसको यथार्थता हो । त्यही कारण सैनिक प्रविधिमा आफ्नो प्रभुत्व कायम गर्न सफल भए पनि रुसी अर्थतन्त्र प्रतिस्पर्धी उत्पादकत्व वृद्धिमा पछि पर्दै गएको छ । हालै गरिएको एक अध्ययन अनुसार रुसी अर्थतन्त्रको उत्पादकत्व वृद्धि समष्टिमा सन् २०१३ देखि नकारात्मक हुँदै जान थालेको छ । थोरै ठूला कम्पनीहरूको हालीमुहाली बढ्दै गएको छ, जसका कारण ८२ प्रतिशत उत्पादन १० प्रतिशत कम्पनीमा केन्द्रित भएको छ ।

छलाङवाद र चीन

फ्रान्स र रुसपछि एउटा ठोस वैचारिक जगलाई समातिएको छलाङवादको रोचक प्रयोग चीनमा देखियो । मार्क्सवादलाई मार्गनिर्देशनका रूपमा व्याख्या गरेर युद्ध र क्रान्तिका माध्यमले राष्ट्रको सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा क्रमभंगताको दृष्टिकोणलाई अगाडि बढाउने माओको प्रयास ऐतिहासिक रहेको छ । सन् १९४९ मा सत्ताकब्जापछि माओले ‘नयाँ मान्छे’ को परिकल्पना गरे । खाली कागजमा जे पनि लेख्न सकिन्छ भन्ने चिन्तन बमोजिम माओले पुराना सांस्कृतिक मान्यता र धरोहरहरूमाथि आक्रमण गरे । सफा कागजमा लेखिएको जस्तै अबको चीनमा लेखिने इतिहास सबै नयाँ हुनेछ र नयाँ संसार बनाउन सकिनेछ भन्ने उनको अठोटलाई मूर्त रूप दिन सामाजिक सन्तुलन र सम्बन्धलाई मार्गदर्शन मान्ने कन्फुसियसको शिक्षालाई नयाँ चीनमा सखाप पार्ने नीति लिइयो । रोमाञ्चकारी छलाङवादको यो बेजोड उदाहरण थियो ।

माओले बीसौं शताब्दीमा मार्क्सवादको प्रयोग नयाँ मानव सृजना गर्ने प्रयासमा लगाए । ‘जनताका लागि प्रजातन्त्र, प्रतिक्रियावादीका लागि अधिनायकत्व’ (सेलक्टेड वर्क्स अफ माओ त्सेतुङ, भोलम ५, पृ. ३९१) चिन्तनको सेरोफेरोमा सुरु गरिएको माओको छलाङवादी नीतिले सन् १९६० को दशकमा चीनमा भयानक भोकमरी निम्त्यायो, लाखौं मानिस मरे । अझ त्यतिले नपुगेर ‘नयाँ मानव’ सृजना गर्ने माओको अर्को छलाङवादी अभियान ‘महान् सांस्कृतिक क्रान्ति’ ले चिनियाँ राज्य र अर्थ व्यवस्थालाई धराशायी हुने स्थितिमा पुर्‍यायो । माओको मृत्युपछि देङ स्याओपिङको नयाँ नीतिले यो छलाङवादमाथि रोक लगायो र भीरबाट खस्न लागेको व्यवस्थालाई बचायो । फेरि एक पटक अर्थ व्यवस्थामा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा निजी क्षेत्रको पुनर्बहाली गराइयो र चिनियाँ सभ्यताको महत्त्वपूर्ण परम्परागत मान्यतालाई पुनर्जीवित तुल्याउने काम भयो । आज चीनको नरम शक्ति (सफ्ट पावर) का रूपमा र चिनियाँ सभ्यताको प्रतीकका रूपमा विश्वभरि कन्फुसियस केन्द्रहरू स्थापना गर्न चीन सरकार आफैं लागिपरेको छ । आजको चीनमा राज्यको वैधानिक सिद्धान्त मार्क्सवाद छ, शासन पद्धति एकदलीय छ र अर्थतन्त्र प्रतिस्पर्धात्मक बजार अर्थतन्त्रको बाटामा धेरै अगाडि पुगिसकेको छ भने सांस्कृतिक परिवेश सयौं वर्ष पुरानो कन्फुसियस बौद्ध दर्शनमा अडेको छ । यस अर्थमा चीन रोमाञ्चकारी मार्क्सवादमा आधारित छलाङवादको जोखिमपूर्ण अनुभवबाट अब फेरि निरन्तरतासहितको गतिशीलताको बाटाको खोजीमा छ ।

छलाङवाद र नेपाल

नेपाली समाजको आर्थिक, राजनीतिक र सामाजिक क्षेत्रमा मार्क्सवाद, लेनिनवाद र माओवादका केही सूत्र बोकेर देशको रूपान्तरणको सपना माओवादीले गरेको हो । पहिलो जनआन्दोलन निरन्तरतासहितको गतिशीलताको अवधारणाभित्रै सञ्चालन भएको थियो, जसको एउटा मुख्य अंग संवैधानिक राजसंस्थाको स्थापना पनि थियो । धेरै हदसम्म त्यो बेलाको संविधानलाई त्यसका निर्माताहरूले ‘संसारकै उत्कृष्ट’ पनि भनेका थिए । निरन्तरता र गतिशीलताबीच संयोजन गर्ने प्रयास कमसेकम कागजमा गरिएको थियो । तर संविधानको गतिशीलता र जीवन्तता त्यसमा के लेखियोभन्दा पनि त्यसलाई प्रयोग गर्नेहरूको नियत कस्तो छ भन्नेमा भर पर्ने हुन्छ । दुर्भाग्यवश, निरन्तरता र गतिशीलताका कतिपय बुँदामा जनताप्रतिको संवेदनशीलता र जनताको उर्लंदो आकांक्षाप्रति जिम्मेवारी देखिएन । अब शासन गर्ने हाम्रो पालो हो र यो मौकामा ‘चौका’ हान्नुपर्छ भन्ने व्यवहारले भ्रष्टाचारलाई बढावा दियो । उच्च मूल्यांकनमा रहेका नेताहरूप्रति नयाँनयाँ भ्रष्टाचार काण्डहरूले गहिरो वितृष्णा जगाए र राज्यको हरेक अंगमा निष्पक्षता र जनताप्रतिको जवाफदेहीको सट्टा पार्टीगत हित र पार्टीमा सम्मिलित समूहको द्रव्यमोहले प्राथमिकता पायो । संविधानमा जे लेखिए पनि व्यवहारमा जनताका सेवकहरू भन्नेहरू नै राज्यका स्रोतसाधनको लुटेराका रूपमा देखिन थाले । पहिचान प्रजातन्त्रको पाएपछि, बीपी कोइरालाले एक पटक भनेजस्तो, सत्ता, स्रोत र साधन ‘सुकिला’ हरूका हितमा केन्द्रित हुन थाल्यो । भर्खरै आन्दोलनमा होमिएका जनताबाट यो विरोधाभास लुकेन र यसको फाइदा माओवादीहरूले लिन पाए ।

माओवादी आन्दोलनको बल मार्क्सवादका नाममा खडा भएको चीनको माओवादमा निहित छलाङवादमा आधारित भएको र यो क्रममा जोसँग पनि हात मिलाउन तयार भएको यथार्थता स्पष्ट छ । त्यस बखत बाबुराम र प्रचण्डका लेखहरू हेर्दा आज आश्चर्य लाग्छ । बाबुरामका भनाइमा नयाँ नेपाल बनाउन पुरानो राज्य व्यवस्था पूरै सखाप पार्नु पूर्वसर्त थियो र यसका लागि सर्वहारा राज्यको रक्षा गर्न र निरन्तर क्रान्ति कायम गर्न नयाँ सेना बनाउनुपर्ने उनको गर्जन थियो । माओवादीहरूले आफ्ना कार्यक्रममा राज्यसताको आधारभूत चरित्र सर्वहारा वर्गको नेतृत्वमा जनवाद तथा जनताको दुस्मनमाथि अधिनायकवाद लागू गर्ने घोषणा गर्ने गर्थे । यो माओले फेब्रुअरी १९५७ मा अन्तरविरोधबारे दिएको भाषणको नक्कल थियो । तर प्रचण्ड पनि कहाँ कम थिए र ! नेपालको आर्थिक रूपान्तरणमा छलाङ मार्न नोकरशाही पुँजीपति र दलालका ठूला उद्योग र कलकारखाना राष्ट्रियकरण गरिनुपर्छ भनी ठोकुवा गर्थे । देश विकास गर्न पुँजीचाहिँ कहाँबाट ल्याउने ? त्यस बखत उनको उत्तर थियो, ‘सामन्त र दलाल पुँजीपतिहरूको राष्ट्रियकरण नयाँ नेपालको मुख्य आर्थिक आधारको स्रोतका रूपमा प्रयोग गरिनेछ’ (‘नयाँ नेपालको रूपरेखा,’ २०६३) । मार्क्सवाद र माओवादमा आधारित छलाङवादका प्रवर्तकहरू आज वैचारिक रूपमा कति निरीह र दरिद्र भएर कहाँ पुगेका छन् भन्ने सबैले देखेका छन् । मूल कुरो २०६२ पछिको छलाङवादले न पुराना राम्रा कुरालाई निरन्तरता दिन सक्यो न एक्काइसौं शताब्दीका चुनौतीहरू स्वीकार गरेर नेपालको अर्थ–राजनीतिक संरचनालाई गुणात्मक विकास संस्थागत गर्न सक्यो । परिवर्तनका नाममा राजसंस्था हटाइयो तर त्यसको स्थानमा दलगत राजनीति मात्र नभई सत्ताको एउटा गुटको हिमायतीका रूपमा राष्ट्रपतिलाई दुरुपयोग गर्ने संस्कार बस्यो । आज मार्क्सवाद र लेनिनवादको ब्रान्ड बोकेर नेपाल दलाल पुँजीपतिहरूका लागि नयाँ स्वर्ग बनेको छ र यसका प्रवर्तकहरू कुरूप मार्क्सवादी (भल्गर मार्क्सिस्ट) को नमुना भएका छन् । सर्वहाराका नाममा नेपालमा आज सबभन्दा पीडित र शोषित किसान र मजदुर भएका छन् । यहाँसम्म कि, असारमा चाहिने मल मङ्सिरमा पनि पाइने ठेगान छैन । तर यसका लागि कोही जिम्मेवार छैन । झन् राष्ट्रपतिको चुनावमा देखिएको धोका र अवसरवादको नांगो रूपले छलाङवादको विकृतिलाई थप स्पष्ट गरेको छ । छलाङवादीहरू भ्रष्टाचार र लम्पसारवादका नाइकेमा रूपान्तरण भएका छन् । मूलतः छलाङवादको विश्रामस्थल आज राजनीतिका केही शक्तिशाली र भ्रष्ट हस्तीहरू, शासनका केही भ्रष्ट प्रशासकहरू र यी दुइटैका मतियार दलाल पुँजीपतिहरूको ‘लौह गठबन्धन’ बन्न पुगेको छ अनि यो आगत अस्थिरताको गम्भीर सूचकका रूपमा देखा परिसकेको छ ।

देशको आजको स्थितिलाई क्रान्तिपछिको प्रतिक्रान्ति भनी पन्छाउने प्रयास भइरहेको छ । यो अस्त्रले समाजवादी छलाङवादका नाममा उत्पन्न भएको भ्रष्ट भुइँफुट्टा वर्गको नवसामन्तवादी शासन र शोषणलाई छोप्न सक्दैन । अब एउटा नयाँ सन्तुलनको आवश्यकता छ जसले चीन र भारतबीच चेपिएको नेपालको मौलिक पहिचान र अस्तित्वलाई निरन्तरता र गतिशीलताको वैचारिक छहारीमा कायम गर्दै देशलाई उन्नतिको बाटामा लैजान सकोस् । यसरी हेर्दा निरन्तरताका केही स्पष्ट बुँदा छन् । पहिलो, प्राचीन हिन्दु र बुद्ध दर्शन बोकेको नेपालको पहिचानलाई अविच्छिन्न राख्नु हो । दोस्रो, विविधताबीच एकता कायम गर्न राष्ट्रिय एकताका निम्ति नेपालको राष्ट्रियता र राष्ट्रिय सुरक्षाबारे बीपी कोइरालाले प्रस्तुत गरेको विचारलाई निरन्तरता दिनु हो । तेस्रो, २००७ सालदेखिका क्रान्तिका उपलब्धिहरूलाई संस्थागत गर्दै जनताको सर्वोच्चतालाई सिद्धान्तमा मात्र नभएर व्यवहारमा समेत शासनको आधार बनाई देशलाई त्यो ‘लौह गठबन्धन’ बाट मुक्ति दिलाउनु हो । चौथो, नेपाली अर्थतन्त्रको विस्तारमा उदारवादमा आधारित प्रगतिशील पुँजीवादलाई कायम गरेर सबै नेपाली युवालाई नेपालभित्र रोजगारी दिलाउनु हो । पहिला दुई बुँदाले निरन्तरतालाई प्रतिनिधित्व गर्छन् भने पछिल्ला दुई बुँदाले एक्काइसौं शताब्दीमा अगाडि बढ्ने शक्ति र गतिशील स्थायित्व कायम गर्नेछ । यी चारै तत्त्वको संयोजन गतिशील स्थिरतामा अडेको नेपालको नयाँ राजमार्ग हो । अर्थात्, निरन्तरतासहित गतिशीलताको नयाँ दृष्टिकोण हो र संवर्द्धनवादको आधुनिक रूप हो । यही नै राप्रपाको चिन्तन हो र राष्ट्रको आजको आवश्यकता पनि ।

लोहनी राप्रपाका पूर्वअध्यक्ष तथा निर्देशन समितिका अध्यक्ष हुन् ।

प्रकाशित : फाल्गुन २१, २०७९ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?