कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८४६

कटुसका अरू दुई प्रजाति

कमल मादेन

केही दशकअघिसम्म बजारमा अहिलेजस्तो फलफूल बेचिँदैनथ्यो । बरु सिजनमा जंगली फल किन्न पाइन्थ्यो । पहाडतिरबाट आउनेहरूले कटुस ल्याइदिन्थे । बाल्यकालमा कटुसको बियाँ खाएको अझै सम्झना छ ।

कटुसका अरू दुई प्रजाति

स्नातकोत्तर तहको शोधका लागि मैले कोसी अञ्चलमा पाइने खान हुने जंगली फलको सर्वेक्षण गरेको थिएँ । त्यस क्रममा १० प्रजाति जंगली फलको पोषकतत्त्व निकालेको थिएँ । ढाल्ने कटुसको बियाँमा प्रोटिन, चिल्लो पदार्थ र खनिज क्रमशः ५.८, ०.५० र १.४८ प्रतिशत थियो । कटुसको बियाँमा यतिका रासायनिक पदार्थ रहनु खानका निम्ति लाभदायक छ । सन् २०२२ मा प्रकाशित ‘प्लान्ट्स अफ नेपाल’ पुस्तकमा कटुसका पाँच प्रजाति नेपालमा पाइएको जानकारी छ । ‘हिमाल’ को गत माघ अंकमा सो पुस्तकमा समावेशबाहेक थप एक प्रजाति पूर्वी नेपालबाट संकलन भई बेलायतमा संग्रह गरिएको उल्लेख छ । यसबाहेक पनि थप दुई प्रजातिको चर्चा यहाँ गरिँदै छ ।

लीलानाथ शर्मा र देवेन खरेलले केही महिनाअघि इलाममा नेपालका निम्ति दुई नयाँ कटुस प्रजाति फेला पारेको सुनेपछि तस्बिर र विवरणका निम्ति अनुरोध गरें । उपलब्ध दुईमध्ये एक सन् १८०२ मा काठमाडौं उपत्यकामा संकलन भई त्यसबारे जानकारी १८२५ मै प्रकाशित भएको थियो । त्यसउप्रान्त प्रकाशित सामग्रीहरूमा सो प्रजाति समावेश छैन । कुनै दुर्लभ प्रजाति सामान्यतः १ सय वर्षपछि वा ठाउँविशेषमा लोप भैसकेको ठानिएर पुनः भेटिए त्यसलाई ‘रिडिस्कभरी’ भन्ने चलन छ । यस कारण, यो कटुस प्रजाति रिडिस्कभरी हो ।

क्वर्कस र क्यास्टानोप्सिस

बेलायतको इस्ट इन्डिया कम्पनीको प्रतिनिधिका रूपमा बुखानन ह्यामिल्टन काठमाडौं उपत्यका आएका थिए । उनले स्वयम्भू र नारायणहिटी दरबार परिसरमा संकलन गरेको एक कटुस प्रजातिलाई क्वर्कस केटुंगिया नाम दिए । उता भारतमा विलियम रक्सबर्घले त्यही प्रजातिको नमुना संकलन गरी क्वर्कस अर्माटा नामकरण गरेर सन् १८१९ मा जानकारी प्रकाशित गरेका थिए । डेभिड डनले नेपालबाट संकलन गरेका वनस्पतिका नमुनाहरू समेटेर ‘प्रोडोमस फ्लोरा नेपालेन्सिस’ पुस्तक सन् १८२५ मा प्रकाशित गरे । पुस्तक लेख्दा डनले क्वर्कस केटुंगिया र क्वर्कस अर्माटाका नमुना अध्ययन गरेका थिए । उनले दुवै नमुना एकै प्रजाति रहेको ठहर गरी नेपालको नमुनालाई पनि रक्सबर्घबाट नामकरण गरिएको क्वर्कस अर्माटा लेखे । किनभने ह्यामिल्टनले नामकरण गरेको क्वर्कस केटुंगिया उक्त नमुना टाँसिएको हर्बेरियम सिटमा मात्र लेखिएको थियो (प्रोडोमस फ्लोरा नेपालेन्सिस, पृ. ५६) ।

सन् १८०२ मा संकलन गरिएको कटुस प्रजातिबारे १८२५ यता चर्चा नहुनुको एउटा कारण त्यसको वैज्ञानिक नाममा परिवर्तन भएर पनि हुन सक्छ । हिजोआज बाँझ र कटुस क्रमशः क्वर्कस र क्यास्टानोप्सिस जातिमा समावेश छन् । सन् १७५३ मा नामकरण भएको क्वर्कस अर्थात् बाँझलाई संसारभरि ‘ओक ट्री’ भनेर चिनिन्छ । खस्रु र फ्लाँट भन्ने रूख पनि क्वर्कस जाति अन्तर्गतकै हुन् । यिनको काठ कफी रंगको हुन्छ । कटुस पनि पहिले क्वर्कस जातिमै थियो । सन् १८४२ मा मात्र कटुसलाई अलग गरी क्यास्टानोप्सिस नामकरण गरियो । यसकारण ह्यामिल्टन र रक्सबर्घले जे–जे नाम राखेका भए पनि सन् १८४२ पछि यसको नाम क्यास्टानोप्सिस अर्माटा भयो ।


क्यास्टानोप्सिस् अर्माटा अर्थात् दोराङ्गे कटुस । रेखाचित्र : विलियम रक्सबर्घ

पहिले बाँझ र कटुस दुवैलाई क्वर्कस जाति मानिनुको कारण अध्ययनको कमी थियो । हुन त बाँझ र कटुसका फूल, पात र फल मिल्दाजुल्दा देखिन्छन् । नियालेर हेर्दा मात्र फरक छुट्टिन्छ । यी दुवै जातिको फूल मसिनो र झुन्डमा हुन्छ । बाँझको फूल झुन्ड तलतिर झुन्डिएको हुन्छ भने कटुस जातिको ठडिएको । फूल सधैं रहन्न । सधैंभरि रहने पातबाट भने सजिलै चिन्न सकिन्न । केहीबाहेक अधिकांशको पातको वरिपरि घेरामा करौंतीको दाँतजस्ता आकृति हुन्छन् । क्वर्कस जातिका केही प्रजातिको पात चिरिएको, किम्बुको जस्तो हुन्छ । तर, एउटै बोटमा रहेको पातको आकृति केही फरक पर्ने भएका कारण यसलाई मात्रै पहिचानको कडी बनाउन सकिन्न ।

फलको आकारमा फरकपन छ । बाँझको फलको आधा वा त्योभन्दा केही कम भाग उदाङ्गै हुन्छ । फलको मुनिको केही भाग हरियो वा खैरो रंगको कप आकृतिबाट ढाकिएको हुन्छ । जबकि कटुसको फल अर्थात् नट हरियो ससाना काँडादार झुसले ढाकिएको हुन्छ । तर औले कटुसको फलमा यस्तो संरचना हुँदैन । यसको फल झन्डै बाँझकै हो भन्ने हुन्छ । कटुस जातिको वनस्पतिलाई चिन्कापिन भनिन्छ । सामान्यतः, कटुसको काठ कामलाग्दो मानिन्न । हिजोआज भने फर्निचरका लागि प्रयोग हुने गरेको छ । बाँझ र कटुस पाउने भौगोलिक उचाइ उस्ताउस्तै हो । बाँझको रूख अग्लो र काण्डको गोलाइ निकै ठूलो हुन्छ । कुनै भने झाडीदार मात्र हुन्छ ।

दोराङ्गे कटुस । तस्बिर : देवेन खरेल

क्यास्टानोप्सिस अर्माटा

शर्मा र खरेलले फेला पारेको क्यास्टानोप्सिस अर्माटालाई दोराङ्गे कटुस भनिँदो रहेछ ।

‘फ्लोरा अफ भुटान’ (भोलम १ पार्ट १, पृ. ८२) मा क्यास्टानोप्सिस अर्माटा र मसुरे कटुस (क्यास्टानोप्सिस ट्राइबुलोइड्स) निकै मिल्दोजुल्दो हुन्छ भनिएको छ । क्यास्टानोप्सिस अर्माटा अर्थात् दोराङ्गे कटुसको फलको काँडा कडा, छोटो र चौडा हुन्छ । विलियम रक्सबर्घले बनाएको तस्बिरमा यसको आकृति गज्जब देखिन्छ । यस्तो काँडा नेपालमा पाइने अन्य कटुस प्रजातिमा छैन । सोही पुस्तकमा लेखिएको छ, ‘क्यास्टानोप्सिस अर्माटाको फलको सबै हिस्सा काँडाबाट ढाकिएको हुँदैन ।’ इलाममा भेटिएको दोराङ्गे कटुसको फल पनि त्यस्तै छ ।

काठमाडौं उपत्यकामा यो वनस्पति सम्भवतः मासियो । समग्र कटुस जातिका वनस्पति दक्षिणपूर्वी एसियामा उद्विकास भएका हुन्, यहीबाट फैलँदै नेपाल प्रवेश भएको हो । नेपालमा पाइने अर्को कटुस क्यास्टानोप्सिस इकिनोकार्पा पनि अन्यत्र विरलै पाइन्छ । मानिसको बढ्दो चापसँगै मासिएको हुनुपर्छ । तर, यसको अभिलेख नै वनस्पति विज्ञले बिर्सनुचाहिँ शोभनीय होइन ।

कटुस र बाँझ फागासी परिवारको हो र एसियन फागासी डटकममा क्यास्टानोप्सिस अर्माटा नेपालमा ह्यामिल्टनले संकलन गरेका थियो भनिएको छ । उनले त्यस बेला यसको नाम क्वर्कस केटुंगिया राखेका थिए भन्ने प्रस्टै जनाइएको छ । तर, नेपाल सन्दर्भमा लेखिएका पुस्तकमा कतै चर्चा नगरिनुलाई के भन्ने ? यसको नमुना कुन संग्रहालयमा छ भन्ने थाहा नभएर पनि यस्तो भएको हुन सक्छ । पुस्तकहरूमा यो प्रजाति भारत, बंगलादेश, म्यान्मार, थाइल्यान्ड र भियतनाममा मात्र पाइन्छ भन्ने लेखिएका छन् । ‘फ्लोरा अफ भुटान’ मा भने दार्जिलिङमा पाइने उल्लेख छ । त्यसैले पनि दार्जिलिङसँग जोडिएको इलाममा यो वनस्पति फेला परेको हो ।

क्यास्टानोप्सिस क्लार्की

शर्मा र खरेलले फेला पारेको अर्को नयाँ प्रजाति क्यास्टानोप्सिस क्लार्की हो । घुँघुस कटुस भनिने यसको बोट सुरिलो हुँदो रहेछ र काठ पनि निकै राम्रो मानिँदो रहेछ । यसको नमुना दार्जिलिङ नजिक कालिम्पोङबाट संकलन भएको जानकारी ‘एनल्स अफ द रोयल बोटानिक गार्डेन कलकत्ता–१८८९’ (भोलम २, पृ. ९५) मा छ । घुँघुस कटुसको पातको आकृति औले कटुससँग केही हदसम्म मिल्छ ।

घुँघुस र औले कटुस हुने भौगोलिक उचाइ भने फरक छ । नेपालमा औले कटुस समुद्री सतहबाट १००–३०० मिटर उचाइसम्म मात्र पाइएको अभिलेख छ । झापास्थित जलथल जंगलमा यो पाइन्छ । घुँघुस कटुस भने समुद्री सतहबाट करिब १ हजार मिटर उचाइमा पाइँदो रहेछ । नेपालको जैविक स्रोतको सूचीमा थप दुई रूख प्रजाति, त्यसमा पनि कटुस थपिनु सुखद जानकारी हो । यी वनस्पतिको थप स्थलगत अध्ययन आवश्यक छ ।

प्रकाशित : फाल्गुन ८, २०७९ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?