कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेसको दायित्व

धनराज गुरुङ

काठमाडौं — २०३३ पुस १६ गते नेपाली कांग्रेसका तत्कालीन अध्यक्ष बीपी कोइराला आफ्नो आठ वर्षदेखिको प्रवासी जीवनमा पूर्णबिराम लगाएर स्वदेश फिर्ता भएका थिए ।

कांग्रेसको दायित्व

बीपी आफ्नो प्रवासी जीवनबाट दिक्क भएर नभई नेपालको राष्ट्रिय अस्तित्व नै संकटमा परेकाले देशभित्रका सम्पूर्ण शक्ति मिलेर संकटमा परेको राष्ट्रिय अस्तित्व जोगाउने मूल ध्येयका साथ स्वदेश फिर्ता भएका थिए ।

सबल राष्ट्रियताका लागि बीपीले अपनाएको राष्ट्रिय मेलमिलापको राजमार्गमा अविचलित हिँड्ने र हिँडाउने प्रतिबद्धता हो– राष्ट्रिय मेलमिलाप दिवस । बीपीले देखाएको राष्ट्रिय मेलमिलापको मार्गदर्शनलाई समयसापेक्ष बुझ्न निम्न कुरामा स्पष्ट हुन जरुरी छ ।

दुईमुखे स्वरूप : बीपी लामो समयदेखि प्रवासमा रहे तापनि मुलुकको तत्कालीन परिस्थितिबाट अनभिज्ञ थिएनन् । राष्ट्रियता दिन प्रतिदिन कमजोर बन्दै गइरहेको स्थितिले बीपीलाई चिन्तित तुल्याइरहेको थियो ।

एकातिर निरंकुश शासन सत्ताविरुद्धको संघर्ष जारी राख्नुपर्ने अवस्था थियो भने अर्कोतर्फ त्यही निरंकुश शक्तिसँग मिलेर राष्ट्रिय अस्तित्व जोगाउनुपर्ने बाध्यता थियो कांग्रेसको अगाडि । उक्त परिस्थितिलाई बीपीले राष्ट्रियता र प्रजातन्त्र/लोकतन्त्रको दुईमुखे स्वरूपका रूपमा चित्रण गरेका थिए ।

तसर्थ राष्ट्रियताका लागि ‘राष्ट्रिय मेलमिलाप’ र प्रजातान्त्रिक/लोकतान्त्रिक अधिकारका लागि ‘संघर्ष’ भन्ने दुईमुखे नीति अवलम्बन गरे बीपीले । त्यसबेला बीपीले अवलम्बन गरेको दुईमुखे नीति २०७२ सालसम्म आइपुग्दा पनि उत्तिकै सामयिक देखिन्छ ।

हामीले संविधानसभाबाट संविधान त जारी गर्‍यौं । तर त्योसँगै नेपाली समाजमा दृश्य/अदृश्य विभाजनका अनगिन्ती रेखाहरू माकुराको जालोजस्तै गरी हामी आफैंले कोरिदिएका छौं । फलस्वरूप मुलुकको राष्ट्रिय स्वार्थभन्दा जातीय, क्षेत्रीय, धार्मिक, वर्गीय, लिंगीय वा व्यक्तिगत स्वार्थको होडबाजी चलिरहेको छ ।

बीपीले अवलम्बन गरेको दुईमुखे नीतिअनुसार जातीय, क्षेत्रीय, धार्मिक, वर्गीय, लिंगीय वा व्यक्तिगत अधिकारका लागि ‘संघर्ष’ र राष्ट्रिय स्वार्थका लागि ‘राष्ट्रिय मेलमिलाप’ आजको आवश्यकता हो ।

तर अधिकार खोज्ने नाममा हामी यति धेरै स्वार्थी भइसकेका छौं कि राष्ट्रिय स्वार्थप्रति कसैको ध्यान नै छैन । बरु जातीय, क्षेत्रीय, धार्मिक, वर्गीय, लिंगीय वा व्यक्तिगत स्वार्थसिद्धिका लागि विदेशी शक्ति सामुसमेत बिनाहिचकिचाहट लम्पसार पर्न पछि पर्दैनौं । हाम्रो यस्तै क्रियाकलापले गर्दा राष्ट्रियता कमजोर बन्दै गइरहेको छ ।

राष्ट्रियताको सवालमा आन्दोलनरत मधेसी मोर्चाका नेताहरू चुकेको मात्रै नभई निर्वस्त्र भएका छन् । संसारमा विभिन्न स्वरूपका आन्दोलनहरू भइरहन्छन् । तर मधेसी मोर्चाले दुई देशबीचको सिमाना ‘दशगजा’ केन्द्रित अनौठो आन्दोलन गरेर दुनियाँलाई नै तीनछक पारिदिएको छ ।

आन्दोलनरत मधेसी मोर्चाका नेताहरूले संविधानसभाबाट दशगजासम्म पुग्दा नीतिगत पाँच गल्ती गरेका छन् ।

१. संविधान लेखनका क्रममा संविधानसभाभित्रै रहेर आफ्नो अधिकार स्थापित गराउन अन्तिम घडीसम्म प्रयास नगरी बीचैमा संविधासभा बहिष्कार गर्नु ।

२. दुई देशबीचको सिमाना दशगजा केन्द्रित आन्दोलन गर्नु ।

३. दशगजा केन्द्रित आन्दोलनको बहानामा भारत सरकारले नेपालमाथि नाकाबन्दी गरेपछि दशगजा केन्द्रित आन्दोलनलाई तत्काल स्थगन नगर्नु ।

४. समस्या समाधानका लागि संविधान जारी पक्ष (कांग्रेस, एमाले र एमाओवादी) सँगको वार्तालाई प्राथमिकता दिँदै गम्भीर भएर संवाद गर्नुको सट्टा दिल्लीधामतिर जाने र समस्या समाधानको सूत्र पनि त्यहीं खोज्ने प्रकृति देखाउनु ।

५. ‘राष्ट्रियता कमजोर भएका बेला जसरी बीपीले राष्ट्रियताका लागि ‘राष्ट्रिय मेलमिलाप’ र प्रजातान्त्रिक/ लोकतान्त्रिक अधिकारका लागि ‘संघर्ष’ भन्ने दुईमुखे नीति अवलम्बन गरेका थिए, त्यसरी नै मधेसी मोर्चाका नेताहरूले पनि राष्ट्रियताका लागि ‘राष्ट्रिय मेलमिलाप’ र मधेसको अधिकारका लागि ‘संघर्ष’ भन्ने दुईमुखे नीति अंगीकार गर्न नसक्नुले उनीहरूको राष्ट्रवाद निर्वस्त्र बनेको छ ।

 अब मधेसी मोर्चाका नेताहरूले आफूले गरेका गल्तीबाट सिकेर बीपीले देखाएको दुईमुखे नीतिलाई पछ्याउँदै दशगजा केन्द्रित आन्दोलनलाई नेपाली भूमि केन्द्रित गर्न सकेमा उनीहरूको निर्वस्त्र बनेको राष्ट्रवादले लाज छोप्ने टालो पाउने थियो कि !

यसरी नेपालको राष्ट्रिय अस्तित्व अत्यन्तै संकटमा परिरहेको वर्तमान अवस्थामा कांग्रेसले ‘राष्ट्रिय मेलमिलाप दिवस’ मनाउँदै गर्दा राष्ट्रियताको सन्दर्भमा बीपीले भनेका निम्न ५ मूलभूत कुरालाई कांग्रेसले गम्भीर रूपमा मनन् गर्न आवश्यक छ ।

१. स्वार्थपरायणता, साम्प्रदायिकता, व्यक्तिवादी मनोवृत्ति र विदेशपट्टि आमुख हुने प्रवृत्तिले राष्ट्रियताको हत्या गर्छ । २. व्यक्तिगत खतरा राष्ट्रको अस्तित्वको खतराको सामु नगन्य हुन्छ । ३. राष्ट्र रहेन भने हामी रहन्नौं । ४. राष्ट्रियता खतरामा परेका बेला आपसी मतभिन्नतालाई बिर्सेर राष्ट्रभित्रका सम्पूर्ण शक्ति एक हुनुपर्छ । ५. राष्ट्र बचाउने जिम्मेवारी सबैको हो ।

आफ्नो निहित स्वार्थपूर्तिका लागि बीपीको उक्त मार्गदर्शनबाट विचलित हुने छुट कांग्रेस नेतृत्वलाई छैन । राष्ट्रिय अस्तित्व बचाउनका लागि आवश्यक परे कांग्रेस नेतृत्वले सबै कुरा त्याग्न तयार हुनुपर्छ ।

अन्यथा राष्ट्रिय मेलमिलाप दिवस मनाउनुको कुनै अर्थ रहँदैन । प्रत्येक वर्ष पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवस मनाउँदैमा कांग्रेसले राष्ट्रप्रति आफ्नो दायित्व पूरा गरेको ठहरिँदैन ।

कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवस मनाउनुको औचित्य तब मात्रै पुष्टि हुन्छ जब राष्ट्रियता संकटमा परेका बेला त्यसको रक्षार्थ अग्रमोर्चामा उभिन्छ ।

पुनव्र्याख्याको अनाश्यक बहस : जब राष्ट्रिय मेलामिलापको प्रसंग आउँछ, तब कांग्रेसभित्र राष्ट्रिय मेलमिलापको पुनव्र्याख्या गर्नुपर्ने कुरा उठ्ने गर्छ । खासगरी २०६२।६३ को जनआन्दोलनबाट राजतन्त्रको अन्त्य भएपछि राष्ट्रिय मेलमिलापको पुनव्र्याख्या गर्नुपर्ने बहस चल्न थालेको हो ।

राष्ट्रिय मेलमिलापको पुनव्र्याख्या आवश्यक छ वा छैन भन्ने कुरा यो कार्यनीति लिएर बीपी स्वदेश फिर्ता हुँदै गर्दाका बखत ‘राष्ट्रियता खतरामा परेका बेलामा आपसी मतभिन्नतालाई बिर्सेर राष्ट्रभित्रका सम्पूर्ण शक्ति एक हुनुपर्छ’ भन्ने भनाइले नै प्रस्ट पार्छ ।

तत्कालीन अवस्थामा मुलुकमा वास्तवमा राजतन्त्र र कांग्रेस दुइटा राजनीतिक शक्ति थिए । तसर्थ ‘राष्ट्रियता खतरामा परेका बेलामा राष्ट्रभित्रका सम्पूर्ण शक्ति एक हुनुपर्छ’ भन्नुको अर्थ कांग्रेस शक्ति र राज शक्ति मिलेर राष्ट्रिय अस्तित्व जोगाउनुपर्छ भन्ने नै थियो ।

तर अहिले एकातिर राज शक्तिको अन्त्य भइसकेको अवस्था छ भने अर्कोतर्फ जनताले जनमतद्वारा कांग्रेस र कम्युनिस्टलाई राष्ट्रभित्रको शक्तिका रूपमा स्थापित गरिदिएको अवस्था छ । यदि कांग्रेस र कम्युनिस्ट नै राष्ट्रभित्रका प्रमुख शक्तिहरू हुन् भने राष्ट्रियता खतरामा परेका बेला यी दुई शक्ति मिलेर राष्ट्रियताको पक्षमा उभिनुपर्छ कि पर्दैन ?

आखिर राष्ट्र रहे न हामी रहन्छौं । राष्ट्र नरहे हामी कहाँ रहन्छौं ? २०३३ सालमा राष्ट्रिय अस्तित्व जोगाउनका लागि कांग्रेसले राजासँग मेलमिलापको हात बढाएकै हो ।

 यतिखेर राष्ट्रिय अस्तित्व जोगाउनका लागि कांग्रेसले कम्युनिस्टसँग मेलमिलापको हात अगाडि बढाउनुपर्ने यथार्थलाई नजरअन्दाज गर्न मिल्दैन ।

आर्थिक समृद्धिका लागि राष्ट्रिय मेलमिलाप : बीपीले राष्ट्रियताको सन्दर्भमा लिएको राष्ट्रिय मेलमिलापको नीतिलाई अब राष्ट्रको समृद्धिसँग जोड्न आवश्यक छ । आर्थिक परनिर्भरता रहेसम्म राष्ट्रियता बलियो हुन सक्दैन ।

राष्ट्रियताको सपना बोकेर सुतेको युवक भोलिपल्ट बिहान उठेर पोकोपुन्तरो बोकेर विदेशी नियोगमा भिसाको निवेदन लिन लामबद्ध हुन पुग्नुपर्ने बाध्यता विद्यमान छ । जबसम्म यो देशको पानी बगेर खेर जान्छ र जवानी उडेर विदेशिन्छ तबसम्म हाम्रो राष्ट्रवाद खोक्रो रहन्छ । खोक्रो राष्ट्रियता बलियो हुँदैन ।

मुलुकको आर्थिक समृद्धिका लागि राष्ट्रभित्रको सम्पूर्ण शक्ति एकमत, एकसाथ चल्नुपर्छ । समृद्ध राष्ट्रका लागि एकीकृत राष्ट्रिय दृष्टिकोण बनाउन आवश्यक छ । जसले हाम्रो आर्थिक परनिर्भरताको अन्त्य गर्न सकोस् । तसर्थ राष्ट्रको आर्थिक समृद्धिका लागि राष्ट्रिय मेलमिलाप उत्तिकै अपरिहार्य बनेको छ ।

प्रकाशित : पुस १६, २०७२ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?