काउन्सिलको निर्देशनपछि सिधाकुराले स्थगन गर्यो 'फेक' भिडियो सामग्री
काठमाडौँ — सिधाकुरा डट कमले आफ्नो अनलाईन र यूट्यूव च्यालनमा प्रकाशन प्रसारण गरेको 'द डार्क फाइल' नाम श्रृंखलाबद्ध सामग्री स्थगन गरेको छ । प्रेस काउन्सिल सोमबार सिधाकुराका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नविन ढुंगानालाई कार्यालयमा बोलाएर उक्त सामग्रीबारे सोधपुछ गरेको थियो ।
उक्त सोधपुछका क्रममा उनीहरुले काउन्सिलले यसअघि नै पत्र पठाएको र उक्त पत्र कार्यान्वयन गर्न तयार रहेको बताएका थिए । त्यस लगत्तै सिधा कुराले सामग्रीको प्रकाशन र प्रशारण स्थगन गरेको सूचना आफ्नो वेबसाइटमा राखेको छ ।'सिधाकुरामा प्रकाशित ‘द डार्क फाइल’ श्रृंखलाका समाचारको सम्बन्धमा प्रेस काउन्सिलबाट प्राप्त पत्रअनुसार अध्ययन र अनुसन्धान प्रक्रिया अघि बढेका कारण हाललाई सो श्रृङ्खलाका प्रकाशित सामाग्रीको प्रकाशन र प्रसारण स्थगन गरिएको छ' सिधाकुराको वेवसाइटमा छ ।
'हामीले यो अडियोसहितको सामाग्री प्रसारण हुनासाथ प्रथम दृष्टिमै अपुष्ट र शंकास्पद ठानेका थियौं । काउन्सिलको प्रारम्भिक अनुगमनले तथ्यगत रुपमा त्रुटिपूर्ण र असन्तुलित देखिएपछि त्यसलाई नरोक्दा थप आघात पुग्ने ठानी निर्देशन दिएका थियौं । प्रविधिको दुरुपयोग हुन नदिन यो घट्नाले सबैलाई सिकाएको छ' काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले भने ।
सिधाकुराले आफ्नो वेवसाइटमा राखेको प्रकासन र प्रसारण स्थगनसम्बन्धी जानकारी
काउन्सिलले उक्त समाचार आएकै दिन त्यसलाई २४ घण्टाभित्र हटाउन निर्देशन दिएको थियो । आचारसंहिताको गम्भीर उल्लंघनमा भएको देखिएपछि काउन्सिलले भ्रामक सामग्री हटाएर जवाफ दिन आउनु भनेको थियो । त्यसपछि सिधाकुराको टिम सोमबार काउन्सिल पुगेको थियो ।
उक्त सामग्रीबारे सोमबारै सर्वोच्च अदालतले पनि २४ घण्टाभित्र सामग्री हटाउन निर्देशन दिएको छ ।