कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७०

कतार उड्दै रुद्रकली र खगेन्द्र

चितवन — कतारका अमिर शेख तमिम विन हमाद अल थानीको स्वागतमा संघीय राजधानी काठमाडौं व्यस्त रहेका बेला चितवनमा पनि कतारका लागि खास तयारी चलिरहेको छ । नेपालीको प्रमुख रोजगार गन्तव्य रहेको कतार जाँदै छन्, सौराहाको खोरसोरमा हुर्केका पोथी हात्ती रुद्रकली र भाले हात्ती खगेन्द्रप्रसाद । सरकारले यी दुवै हात्ती कतार सरकारलाई उपहारस्वरूप पठाउन लागेको हो ।

कतार उड्दै रुद्रकली र खगेन्द्र

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी रहेका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले आफूहरूलाई कतारलाई उपहार दिने सम्भावित हात्ती छनोट गर्न भनेपछि रुद्रकली र खगेन्द्रप्रसाद छनोटमा परेको बताए ।

‘यी दुवै हात्ती हामीले पठाउन तयार गरिरहेका छौं,’ उनले भने । निकुञ्ज प्रशासनका अनुसार कतार जाने रुद्रकली ६ वर्ष ६ महिना पूरा भएको छ भने खगेन्द्रप्रसादको उमेर पाँच वर्ष सात महिना पूरा भएको छ । हात्ती जन्मेको साढे दुई/तीन वर्षपछि खोरसोरको प्रजनन केन्द्रमा नै माउतेको इसारामा काम गर्ने र वन बाहिरको वातावरणमा अभ्यस्त बनाउन तालिम दिन सुरु गरिन्छ । यी दुवै हात्ती तालिम प्राप्त हुन् । निकुञ्ज प्रशासनका अनुसार खगेन्द्रप्रसाद माहुतेको इसाराअनुसार ‘पाहुना’लाई फूलमाला पहिर्‍याउने कलामा पोख्त छ । खोरसोरको प्रजनन केन्द्रमा प्रजननका लागि जंगली भाले हात्तीको भर पर्नुपर्छ । रुद्रकली पूजाकलीको र खगेन्द्रप्रसाद कोशीकलीको सन्तान हो । निकुञ्जका अधिकारीहरूका अनुसार दुवैको बाबु जंगली भाले हात्ती ‘रोनाल्डो’ हो । संरक्षण अधिकृत तिवारीका अनुसार बाहिर पठाउने हात्तीका लागि विभिन्न मापदण्डमा ख्याल राख्नुपर्ने हुन्छ । ‘उमेरका हिसाबले पनि बाहिर पठाउन उपयुक्त छ या छैन हेर्नुपर्छ । साह्रै कम उमेरको हात्ती पठाएर पनि भएन, बढी उमेरको हात्ती पठाए त्यहाँको नयाँ वातावरणमा घुलमिल हुन नसक्ला कि भन्ने हुन्छ,’ उनले भने, ‘त्यसैले नयाँ परिवेशमा पनि अनुकूलन हुन सक्ने कुरा ख्याल राख्नुपर्छ ।’

निकुञ्ज प्रशासनका अनुसार कतार लैजाने हात्तीका बारेमा बुझ्न कतारका सरकारी अधिकारीहरू पनि दुई पटक चितवन आएका थिए । निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. विजय श्रेष्ठको टोली पनि कतार पुगेर त्यहाँको अवस्था अवलोकन र अध्ययन गरेर फर्केको थियो । ‘यी दुई टोलीको अध्ययन भ्रमणले हात्ती लान र दिन सकिने निर्क्योल गरेको हो,’ संरक्षण अधिकृत तिवारीले भने । हात्ती पठाउने मिति भने यकिन गरिएको छैन । ‘सायद अमिरको भ्रमणका क्रममा नै हात्ती पठाउनेबारे समझदारी पत्रमा हस्ताक्षर होला र मन्त्रालयले पठाउने मिति तोक्ला,’ उनले भने ।

यी दुवै तालिम प्राप्त हात्तीका माउतेलाई पनि हात्तीसँगै कतार पठाउन निकुञ्जले सिफारिस गरेको छ । संरक्षण अधिकृत तिवारीले हात्तीले माउतेबाहेकको इसारा नमान्ने भएकाले माउतेलाई पनि पठाउन सिफारिस गरिएको हो । चितवन सौराहादेखि उत्तर पश्चिम खोरसोरमा २०४२ सालदेखि हात्ती प्रजनन केन्द्र सञ्चालन छ । चितवन निकुञ्जको स्थापनामा नै सक्रिय रहेका निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत रामप्रित यादवका अनुसार पहिला नेपालमा भारतको आसामतिरबाट जंगलमा बच्चामा समाएका हात्ती किनेर ल्याउने चलन थियो । पछि जंगलका हात्ती किनबेचमा प्रतिबन्ध लाग्यो ।

‘त्यसपछि सरकारी कामकाजलाई आवश्यक पर्ने हात्ती जन्माउने उद्देश्यले खोरसोरमा प्रजनन केन्द्र खुलेको हो,’ उनले भने । रामप्रितले यो केन्द्रमा सुरुमा थाइल्यान्डबाट भाले र पोथी गरी दुई हात्ती उपहार आएको र नेपालले चार गैंडा उपचार दिएपछि भारतबाट १६ हात्ती उपहारमा आएको बताए । निकुञ्जका सूचना अधिकारी तिवारी बर्मा (म्यानमार) बाट पनि दुईवटा हात्ती प्रजनन केन्द्रका लागि उपहार आएको बताए । यो केन्द्रबाट अहिलेसम्म ६२ हात्ती हुर्किसकेका छन् ।

प्रकाशित : वैशाख १२, २०८१ ०६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?