कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

यसकारण वाग्मतीका मेयर थापाविरुद्ध साढे ५ करोड भ्रष्टाचारको मुद्दा

अख्तियार दुरुपयोग गरी परिवार तथा नातेदारका नाममा कम्पनी खडा गरी भ्रष्टाचारको रकम व्यवस्थापन गरेको, निर्माण कम्पनी, च्याउ फर्म, सहकारी, जग्गालगायतमा लगानी गरेको अभियोग
मातृका दाहाल

काठमाडौँ — गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा सर्लाहीको वाग्मती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । गत स्थानीय तह निर्वाचनमा माओवादीबाट वाग्मती नगरपालिका प्रमुखमा निर्वाचित थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार ५ करोड ३३ लाख ५३ हजार १ सय ९० रुपैयाँ बिगो कायम गरेर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

यसकारण वाग्मतीका मेयर थापाविरुद्ध साढे ५ करोड भ्रष्टाचारको मुद्दा

बिगो कायम गरिएको रकम बराबरको धन घरजग्गा खरिद, कम्पनी स्थापना, सहकारीलगायतमा लगानी गरेको भेटिएको छ ।

२०७४ को स्थानीय तह निर्वाचनमा पनि थापा वाग्मतीबाटै नगर प्रमुखमा निर्वाचित भएका थिए । थापा सार्वजनिक पदमा आएयता स्रोत नखुलेको रकमबाट बढे–बढाइएको चलअचल सम्पत्ति पनि जफत गर्न मागदाबी लिइएको अख्तियारका प्रवक्ता नरहरी घिमिरेले बताए । प्रतिवादी बनाइएका थापा सर्लाहीको मानव निर्मित भरत तालका सञ्चालक पनि हुन् । अख्तियारले थापाकी श्रीमती रेश्मीकुमारी घिमिरे (थापा), भाइ रामकुमार र भाइबुहारी द्वारिका राउतलाई समेत सम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी बनाएको छ । नगर प्रमुख थापाले सार्वजनिक पदमा आएपछि गैरकानुनी सम्पत्ति परिवार र आफन्तमार्फत व्यवस्थापन गरेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ ।

सार्वजनिक पदको दुरुपयोग गरी थापाले परिवार र नातेदारका नाममा कम्पनी खडा गरेर भ्रष्टाचारको धन व्यवस्थापन गरेको, गैरकानुनी सम्पत्ति सहकारी र जग्गामा लगानी गरेकोलगायत विषयमा उनीविरुद्ध उजुरी परेको थियो । त्यसपछि करिब १ वर्षदेखि उनीविरुद्ध अनुसन्धान अघि बढाइएको थियो । अनुसन्धानका क्रममा अख्तियारले थापा र उनको परिवारको सम्पत्तिको खोजबिन थालेको थियो । अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोगपत्रमा थापा गत निर्वाचनबाट नगर प्रमुख भएयता १३ करोड २० लाख ३ हजार ३ सय ९१ रुपैयाँ बराबरको चलअचल सम्पत्तिको कारोबार गरेको देखिएकोमा ७ करोड ८६ लाख ५० हजार २ सय १ रुपैयाँ बराबरको मात्रै स्रोत खुलेको हो । अख्तियारले स्रोत नखुलेको सम्पत्तिलाई नै बिगो कायम गरेको छ ।

थापा नगर प्रमुख रहेकै बेला २०७५ असार ३२ मा बुहारी द्वारिकाले मनोकामना बहुउद्देश्य सहकारीबाट २० लाख ९२ हजार ७ सय २४ रुपैयाँ ऋण लिएकी थिइन् । पछि उक्त सहकारीको ऋण तिरेको देखाइएको छ । तर त्यसको स्रोत भने खुलेको छैन । थापाले पनि सोही मितिमा १६ लाख १४ हजार ४ सय ७५ रुपैयाँ र आमा कृष्णमाया थापाले एक महिनापछि साउन ३२ मा १७ लाख ९ हजार ६ सय ८८ रुपैयाँ सहकारीमा ऋण तिरेको देखाइए पनि यसको समेत स्रोत खुलेको छैन । साउन ३१ मै बुहारी द्वारिकाले पनि सोही सहकारीमा १७ लाख ९ हजार ६ सय ८८ रुपैयाँ ऋण तिरेको देखाइए पनि स्रोत खुलेको छैन । २०७७ असोज ६ मा थापाका भाइ रामकुमारले रौतहटको जुडिबेलामा सरकारी न्यूनतम मूल्य कायम गरी ५२ लाख २५ हजारमा १० कट्ठा जमिन खरिद गरेकोमा यसको स्रोत कतैबाट नखुलेको अख्तियारको अनुसन्धानले देखाएको छ ।

नगर प्रमुख थापाले नै श्रीमतीको नाममा २०७७ असोज १ मै ऋषिपथ मसरुम (च्याउ) फर्म स्थापना गरी ४० लाख लगानी गरेको देखाएका छन् । यसको पनि कुनै स्रोत खुलेको छैन । थापासहित २ जनाका नाममा २०७७ माघ १७ मा सर्लाहीको हरिवनमा १ बिघा ६ कट्ठा ११ धुर जग्गा सरकारी मूल्यांकन ५१ लाख ७२ हजार ७ सय ५० रुपैयाँ कायम गरेर खरिद गरेकोमा पनि स्रोत खुलेको छैन । भाइ रामकुमारकै नाममा वाग्मती सहकारीबाट लिइएको १० लाखको ऋण चुक्ता रकमको स्रोत पनि उनले देखाउन सकेनन् । ग्लोबल आईएमई बैंकबाट लिएको १७ लाख २४ हजार ७ सय ३० रुपैयाँ २०७८ असार ३१ मा चुक्ता गरेको देखिन्छ । नगर प्रमुख भएकै बेला थापाले भाइ रामकुमारका नाममा त्रियोग पेट्रोलियम प्रोडक्सन डिस्ट्रिब्युटर्स प्रालि र आरबीजेएस कन्स्ट्रक्सन एन्ड सप्लायर्समा गरेको भनिएको लगानी ६१ लाख ३२ हजार ४ सय ५० रुपैयाँ पनि अवैध सम्पत्तिबाट भएको अख्तियारको ठहर छ ।

द्वारिकाले चुक्ता गरेको यो रकमको पनि स्रोत खुलेको छैन । छोरा पढ्ने काठमाडौंको एक बोर्डिङ स्कुलका लागि तिरेको रकमकै पनि स्रोत खुलेको देखिँदैन । नगर प्रमुख थापा र उनको परिवारका सदस्यहरूका नाममा विभिन्न बैंक वित्त संस्थामा देखिएको नगद २२ लाख ८६ हजारको पनि स्रोत खुलेको छैन । अनुसन्धानमा सामेल अख्तियारका एक अधिकारीका अनुसार थापाले आफू पदमा रहँदा पदको दुरुपयोग गरी आर्जन गरेको धन जग्गा, सहकारी, निजी कम्पनीलगायतमा व्यवस्थापन गरेको देखिन्छ । यसमध्ये जग्गा, सहकारी र बैंकको ऋण चुक्तासहित विभिन्न १४ वटा कारोबारको ३ करोड ५७ लाख ६८ हजार ६ सय ३२ रुपैयाँ बराबरको शतप्रतिशत स्रोत नखुलेको हो ।

नगर प्रमुख थापा र उनकी श्रीमती, आमा, भाइ–बुहारीलगायतमार्फत भएका १० वटा कारोबारको रकममध्ये आंशिक स्रोत नखुलेको रकम १ करोड ७५ लाख ८४ हजार ५ सय ५७ रुपैयाँ देखिन्छ । यसरी शतप्रतिशत १४ र आंशिक १० वटा लेनदेन–कारोबारबाट स्रोत नखुलेको कुल सम्पत्ति ५ करोड ३३ लाख ५३ हजार १ सय ९० रुपैयाँ बराबर हुन आउँछ । मेयर बनेपछि विभिन्न १२ वटा कम्पनी र संस्थामा थापाले शंकास्पद लगानी गरेको देखिएको हो । अख्तियारले थापा र उनको परिवारको २०७४ असोज ७ देखि २०७९ माघ २९ सम्मको करिब ५ वर्षको कारोबारलाई अनुसन्धानको दायरामा ल्याएको थियो । अख्तियारले गैरकानुनी सम्पत्तिबाट बढे बढाइएको सम्पत्ति पनि गैरकानुनी नै हुने भन्दै त्यस्तो सम्पत्ति जफत हुने अभियोगपत्रमा उल्लेख गरेको छ । भ्रष्टाचारबाट आर्जित रकमबाटै जग्गा खरिद गरेको देखिएको भन्दै रौतहटको जुडिबेलाको १० कट्ठा र सर्लाही हरिवनको १ बिघा १४ धुर, श्रीमती रेश्मीका नाममा खोलिएको ४० लाख लगानीसहितको च्याउ फर्म पूर्ण रूपमा जफत गर्न मागदाबी लिइएको छ । हरिवनकै ८ कट्ठा जग्गामध्ये ४.३१ प्रतिशत हिस्सा जफत गर्नुपर्ने मागदाबी छ ।

‘हैसियतभन्दा बढी रकम बराबरको आफू र एकासगोल परिवारका सदस्यहरूसमेतको नाममा घरजग्गा, कम्पनीमा लगानी, सेयर खरिद, बिमा प्रिमियम भुक्तानी, सवारीसाधन खरिद लगायतका चल/अचल सम्पत्ति खरिद गरेको, छोराछोरी तथा भतिजाहरूको अध्ययनमा आफ्नो हैसियतभन्दा बढी महँगो खर्च गरेको देखिँदा निजको वैधानिक आयको तुलनामा खर्च एवं लगानीसहितको सम्पत्ति विवरण अमिल्दो र अस्वाभाविक देखिन आएबाट वैधानिक रूपले आर्जित सम्पत्तिको अनुपातमा मनासिब नदेखिने किसिमको निज भरतकुमार थापा र निजको एकासगोल परिवारका सदस्यहरूले अमिल्दो र अस्वाभाविक उच्चस्तरको जीवन यापन गरेको प्रमाणित हुन आएकाले ५ करोड ३३ लाख ५३ हजार १ सय ९० रुपैयाँ बराबरको सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको पुष्टि हुन आयो,’ अख्तियारको अभियोगपत्रमा भनिएको छ ।

थापाले स्रोत नखुलेको सम्पत्ति आफन्तका नाममा व्यवस्थापन गरेको भन्दै अख्तियारले त्यस्तो सम्पत्ति पनि जफत गर्न मागदाबी लिएको छ ।

‘थापाले सार्वजनिक सेवाको पदमा रहँदाका बखत अख्तियारको दुरुपयोग गरी गैरकानुनी रूपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्तिहरूबाट निजको एकासगोल परिवारका सदस्यहरूको नाममा खरिद गरिएका जग्गाहरू, कम्पनी लगानी, सेयर खरिद, जीबन बिमा प्रिमियम भुक्तानी र बैंक खाताहरूमा रकम मौज्दात लगायतमा गरिएका खर्चहरू बराबरको घर/जग्गा खरिद र कम्पनी लगानीको पूरै स्रोत नखुलेको, आंशिक स्रोत नखुलेको, आंशिक स्रोत खुलेको र पूरै स्रोत खुलेको सम्पत्ति र त्यसबाट बढे/बढाएको सम्पत्ति जफत गर्ने प्रयोजनार्थ रेश्मीकुमारी घिमिरे थापा, रामकुमार थापा र द्वारिका राउतलाई प्रतिवादी कायम गरिएको छ,’ अख्तियारको अभियोगपत्रमा भनिएको छ, ‘यसरी स्रोत नखुलेको घरजग्गाहरू र कम्पनीमा भएको लगानीसमेतबाट बिगो असुल र जफत गरी पाउन मागदाबी लिइएको छ ।’

प्रकाशित : चैत्र २९, २०८० ०७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?