कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

अमेरिका र नेपालमा व्यवसायको बिँडो

चितवनका नवराज र पुष्पराज अमेरिकामा ग्यास, होटल, रियलस्टेट र अपार्टमेन्ट व्यवसायमा सक्रिय छन् । पछिल्लो समय भने उनीहरू नेपालमा होटल व्यवसायमा लागेका छन् । 

भैरहवा — अमेरिकाबाट वर्षमा एक पटक नेपाल आउनु नियमित कर्म नै बनिसक्यो । प्रत्येक वर्ष आफ्नो ‘होलिडे’ र नेपालमा चाडबाडको अवसर पारेर जन्मभूमि आउँथे । यहाँ आएपछि गृहजिल्ला चितवनमा मन अडिँदैन । परिवारका सदस्य र साथी बटुलेर उनी मुलुकका विभिन्न गन्तव्य पहिचान गरेर यात्रामा निस्किन्छन् ।

अमेरिका र नेपालमा व्यवसायको बिँडो

‘पहिले वर्षमा एक पटक आउँथे,’ चितवनको माडीस्थित ब्रहमपुरीमा जन्मिएका पुष्पराज सुवेदीले भने, ‘यस वर्ष चार पटक आइसके ।’ पहिले बिदा मनाउन र पारिवारिक भेटघाटमा आउँथे । यस पटक व्यावसायिक सिलसिलामा धेरै पटक आउनुपरेको उनले बताए । चितवन निकुञ्जले घेरिएको माडी उपत्यकामा जन्मिए पनि बाल्यकाल भरतपुरमा बित्यो । भरतपुरको कल्याणपुरस्थित स्मल हेभन विद्यालयबाट २०६५ सालमा एलएलसी उत्तीर्ण उनलाई आफ्नो रहनसहन र बाल्यकालको स्मरणले पनि मुलुक डोर्‍याइरहन्छ ।

उनका अनुसार मुलुकमा एसएलसीसम्म अध्ययनका क्रममा उनले पोखरा मात्रै घुमेका थिए । बाँकी भूगोलको सौन्दर्य वर्णन सुनेका उनले घुम्ने अवसर पाएका थिएनन । आफ्नो अपूरो धोको अहिले पूरा गरिरहेका छन् । अमेरिकी राज्य विस्किन्सनका स्थायी बासिन्दा उनी नेपाल आउँदा विभिन्न स्थान घुम्छन् । अहिलेसम्म इलाम, मुस्ताङ, मुक्तिनाथ, कास्कीको मार्दी घुमिसकेका छन् । पछिल्लोपटक साइकिलिङ गर्दै लमजुङको घलेगाउँ घुमेको सम्झनाले उनलाई धीत मारेर आराम गर्न दिएको छैन ।

‘अहिलेसम्म पूर्वी र मध्य नेपाल घुमियो,’ उनले भने, ‘अब पश्चिम नेपाल घुम्ने योजना छ ।’ उनी एक्लै विरलै घुम्छन् । निकट सहयात्री उनका दाइ नवराज हुन् । अमेरिकामा बिदा मिल्यो कि दाजुभाइ मुलुक आएर नयाँ गन्तव्यमा पुगिहाल्छन् । ‘आउँदो सिजन राराताल पुग्ने योजना छ,’ पुष्पले सुनाए, ‘यति राम्रो मुलुक घमेर अघाइँदैन, पुग्न पर्ने धेरै ठाउँ बाँकी नै छन् ।’

परिवारमा शैक्षिक माहोल थियो । बुबा बुद्धिसागर सुवेदी त्रिभुवन विश्वविद्यालयअन्तर्गत प्रध्यापनमा थिए । उनले त्रिभुवन विश्वविद्यालयअन्तर्गत मीनभवन क्याम्पस पढाउँथे । आफ्नै इन्स्टिच्युट पनि थियो । सन् २००३ मा बुद्धिसागरलाई डाइभर्सिटी भिसा (डीभी) पर्‍यो । ‘डीभी परेपछि बुबा अमेरिका जानुभयो,’ पुष्पले भने, ‘त्यसको ६ वर्षपछि दाइ, आमा र म पनि गयौं ।’ अमेरिका जाने बेला पुष्पले एसएलसी उत्तीर्ण गरेका थिए । दाइ नवराज १२ कक्षा उत्तीर्ण गरेर बसेका थिए ।

‘आमा गृहिणी हुनुहुन्थ्यो,’ उनले भने, ‘यहाँ पनि नराम्रो थिएन । बुबा एक्लैले व्यवसाय थालेर संघर्ष गरिरहनुभएको थियो । त्यसैले हामी पनि गयौं ।’ अमेरिका पुगेपछि दाजुभाइले पढाइलाई अगाडि बढाएको उनले बताए । पढाइ पूरा नहुन्जेल बुबाले व्यवसायमा हात हाल्न नदिएको उनको भनाइ छ । पुष्पले एरोस्पेस इन्जिनियरिङमा स्नातकोत्तर पूरा गरे । दाइ नवराजले कम्प्युटर साइन्समा स्नातकोत्तर पूरा गरेका छन् ।

अमेरिकामा उनीहरूको ग्यास, होटल, रियलस्टेट र अपार्टमेन्टको व्यवसाय छ । ‘थुप्रै हन्डर सहेर बुबाले व्यापार स्थापित गर्नुभयो,’ पुष्पले भने, ‘पढाइ सकिएपछि दाजुभाइले सघाउन थाल्यौं ।’ आफ्नो संलग्नतापछि व्यवसाय फस्टाएको उनले बताए । सन् २०२२ पछि दाजुभाइले व्यवसाय हेरिरहेको उनले बताए । ‘अहिले बुबाको सामाजिक जीवन सुरु भयो,’ उनले भने, ‘हामीले बिजनेस ह्यान्डिल गरिरहेका छौं ।’ अहिले अमेरिकामा होटलतर्फ हायात प्लेस, ह्याम्टन इन, होलिडे इन र क्यान्डलवुड स्वीट्स सञ्चालनमा छन् । विभिन्न चार राज्यमा २५ वटा ग्यास स्टेसन छन् । यिनमा केही साझेदार पनि छन् । यसबाहेक एकल लगानीको रियलस्टेट र अपार्टमेन्टको व्यवसाय फस्टाइरहेको छ । विविधतालाई ध्यान दिएर व्यवसाय विस्तार गरिरहेको उनी बताउँछन् । अहिले अमेरिकामा उनका प्रतिष्ठानमा एक सय कामदार छन् ।

बुबा बुद्धिले दाजुभाइलाई एउटै मन्त्र सिकाएका थिए– ‘कि लर्न इट, कि अर्न इट’ । यो मन्त्र सुनेपछि बुबाको बाटो पछ्याएको उनको भनाइ छ । विदेशमा कमाएपछि मुलुकमा केही गर्नुपर्छ भन्ने कुराले उनलाई चिमोटिरहन्थ्यो । त्यसैले अमेरिकाको आर्जनलाई नेपालमा ल्याएर होटल व्यवसायमा लगानी गरेका छन् । त्यही मेसोमा रूपन्देहीको तिलोत्तमा–१५ स्थित पाँचतारे टाइगर प्यालेस रिसोर्ट खरिद गर्ने कुरा आयो । ‘यस्तो प्रस्ताव आएपछि तीन बाबुछोरा बसेर सल्लाह गर्‍यौं,’ उनले भने, ‘अनि बुबा र म रिसोर्ट हेर्न आयौं । होटल हेरेपछि एकदमै राम्रो लाग्यो ।’ वैदेशिक लगानीमा निर्माण भएको होटल जोगाउन सकिएन भने पछुतो हुने र मुलुकमा लगानीको वातावरण पनि बिग्रिने डर थियो । ‘त्यसैका कारण पनि रिसोर्ट हेरेको आठ महिनापछि खरिद गर्ने निर्णय गरेका हौं,’ पुष्पले भने, ‘अहिले यहाँ देखिएका ९० प्रतिशत समस्या हल भइसके ।’

दाजुभाइ मिलेर व्यवसाय हेरिरहेका छन् । पुष्प यहाँ भएकाले दाइ नवराजले अमेरिकाको व्यवसाय सम्हालेका छन् । ‘दाजुभाइबीच राम्रो बुझाइ छ,’ उनले भने, ‘दुवै जना मिलेर ‘ग्रो’ गर्ने हो भन्ने बुझेका छौं ।’ हरेक दिन पुष्पले यहाँको कार्यप्रगति दाइलाई सुनाउँछन् । उताबाट दाइले दैनिक अपडेट सुनाउँछन् । ‘म एक वर्षमा चार पटक नेपाल आइसकें,’ पुष्पले भने, ‘फेमिली अन्डरस्ट्यान्डिङ नहुने हो भने व्यावसायिक सफलता मिल्दैन ।’ पुष्पले अमेरिकामा १४ वर्ष बिताए । त्यहाँ र यहाँको काम गर्ने कल्चर फरक रहेको उनी सुनाउँछन् । पछिल्लो समय नेपालमा विदेश जाने लहर चलेकाले कामदार नटिक्ने समस्या रहेको पुष्प बताउँछन् ।

‘म विदेश जानेलाई हतोत्साहित बनाउन चाहन्न,’ उनले भने, ‘तर, यहाँ सम्भावना छ, विदेशमा सीप सिकेपछि फर्किएर मुलुकमा केही गर्नुस् भन्छु ।’ अहिले टाइगर प्यालेस रिसोर्टमा विदेशको हस्पिटालिटी क्षेत्रमा काम गरेर फर्किएका कर्मचारी रहेकाले सेवा दिन सहज भएको उनले बताए । पाँचतारे होटल गएर खान र बस्न सकिँदैन भन्ने नेपालीमा रहेको मानसिकता हटाउन चाहेको उनले बताए ।

‘यस्तो मानसिकता हटाउन नेपाली र छिमेकी मुलुक भारतका पर्यटकलाई लक्षित गरेर कार्यक्रम ल्याउँछौं,’ उनले भने, ‘होटललाई नेपाली र भारतीयको विवाह गन्तव्यस्थल बनाउने उद्देश्य छ ।’ त्यसका लागि लगत्तै ८० कोठाको नयाँ भवन निर्माण गर्ने उनको तयारी छ । ‘एक हजार जना अट्ने हल पनि बनाउँदै छौं,’ उनले भने, ‘विवाह, कर्पोरेट र परिवारसहितका पर्यटकलाई आकर्षित गर्न खोजिरहेका छौं ।’

प्रकाशित : चैत्र २७, २०८० ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?