कार्यसम्पादनमा लुम्बिनी प्रदेश सबैभन्दा कमजोर

दरबन्दीको ५० प्रतिशत कर्मचारी व्यवस्थापन, चालु वर्षको विकास बजेट २५ प्रतिशत मात्र खर्च

चैत्र २७, २०८०

घनश्याम गौतम

Lumbini province is the weakest in performance

बुटवल — लुम्बिनी प्रदेश सरकारले स्थापनाको ६ वर्ष पुग्दा पनि कर्मचारी अभाव झेलिरहेको छ । प्रदेशका आफ्नै कर्मचारी तयार गर्ने र अभाव पूर्ति गर्ने उद्देश्यले ४ वर्षअघि प्रदेश लोकसेवा आयोग गठन गरेको थियो । तर, संघीय ऐन नबन्दा प्रदेशले पनि प्रशासनतर्फका कर्मचारी नियुक्त गर्ने काम गर्न सकेको छैन । प्राविधिकतर्फ भने विज्ञापन गरेरै केही कर्मचारी सिफारिस गरेको छ ।

लुम्बिनीमा दश मन्त्रालय, प्रदेश सभा, प्रदेश योजना आयोग, लोकसेवा आयोग, प्रदेश पूर्वाधार विकास प्राधिकरण, सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठान, प्रदेश प्रशिक्षण प्रतिष्ठान, मुख्य न्यायाधिवक्ताको कार्यालय र ६ वटा निर्देशनालय छन् । सबै मन्त्रालय, निर्देशनालय, लोकसेवा आयोग र कार्यालयमा कर्मचारी अभाव छ । संघीय सरकारले निजामती कर्मचारी ऐन समयमै ल्याउन नसक्दा प्रदेश सरकारमा कर्मचारी अभावको प्रभाव परिरहेको प्रदेश लोकसेवा आयोगका अध्यक्ष प्रा. डिलाराम भट्टराईले बताए । लुम्बिनी प्रदेश सरकारले भने प्रदेश निजामती कर्मचारी विधेयक पारित गरिसकेको छ । ‘अहिले लुम्बिनी प्रदेशमा दरबन्दीको ५० प्रतिशत मात्र कर्मचारी उपलब्ध छन्,’ उनले भने, ‘हामीले अहिलेसम्म प्राविधिक सेवा तर्फका केही कर्मचारी सिफारिस गरेका छौं ।’ निजामती कर्मचारी ऐन बने पनि नियमावली र कार्यविधि बन्ने क्रममा रहेको उनले बताए ।

लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कर्मचारी प्रशासनतर्फका अधिकृत श्यामलाल न्यौपानेका अनुसार लुम्बिनी प्रदेश सरकारका लागि ३ हजार ८ सय ३९ स्थायी दरबन्दी स्वीकृत छ । तीमध्ये अहिले १ हजार ९ सय ४० जना मात्र कार्यरत छन् । यो संख्या आवश्यकताको झण्डै ५० प्रतिशत हो । कर्मचारी अभावले सरकारको कार्यप्रगति, योजना निर्माणदेखि बजेट कार्यान्वयनसम्म प्रभावित भएको छ । वित्तीय हस्तान्तरण सिफारिसका लागि महत्त्वपूर्ण मानिने कार्यसम्पादन मूल्यांकनमा पनि लुम्बिनी प्रदेश ७ प्रदेशको तुलनामा सबैभन्दा कमजोर देखिएको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न १० सूचकलाई आधार मानेर गरेको मूल्यांकनमा कोशी प्रदेश पहिलो र लुम्बिनी प्रदेश सातौं नम्बरमा छन् । विद्युतीय पोर्टल सञ्चालनको सूचकलाई छाडेर तोकिएको ९० अंकभारमा कोशीले ३०.८९ प्रतिशत ल्याएर प्रदेशमा पहिलो बनेको छ भने सबैभन्दा कमजोर लुम्बिनीको अंकभार १६.९९ प्रतिशत छ ।

लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. नहकुल केसीले कर्मचारी अभावले सरकारकै कार्यम्पादनमा असर पारिरहेको बताए । ‘योजना निर्माण, त्यसको कार्यान्वयनदेखि कार्यसम्पादनमै मज्जाले असर गरिरहेको छ,’ उनले भने, ‘कर्मचारी अभावले कुनै पनि योजना र कामले गति लिन नसकिरहेको अवस्था छ ।’ प्रदेशमा आवश्यक कर्मचारीमध्ये मुस्किलले ५० प्रतिशतमात्रै व्यवस्थापन भएको उनले बताए ।

लुम्बिनी प्रदेशका मन्त्रालय र मातहतका निकायमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कर्मचारी व्यवस्थापन गर्दै आएको छ । तर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै कर्मचारी अभाव छन् । कर्मचारी प्रशासन शाखाका अधिकृत न्यौपानेका अनुसार मुख्यमन्त्री कार्यालयमा सचिव ३ जनाको दरबन्दीमध्ये २ जना कार्यरत छन् । उपसचिवमा ८ जनाको दरबन्दीमा एक जना मात्र छन् । अधिकृत ९ जनाको दरबन्दीमा ६ जना मात्र कार्यरत रहेको उनले बताए ।

कर्मचारी अभावले समग्र कार्यसम्पादनमा समस्या भएको भन्दै तत्काल व्यवस्थापन गर्न प्रदेश मन्त्रालयका सचिवहरूले डेढ महिनाअघि नै प्रतिवेदन बुझाएका थिए । त्यसको पनि सरकारले सुनुवाइ गर्न सकेको छैन । प्रदेशमा रहेका १०९ स्थानीय तहले पनि कर्मचारी व्यवस्थापन गर्न सकेका छैनन् । कर्मचारी अभावले स्थानीय तहले पनि करारमा कर्मचारी राखेर काम चलाइरहेका छन् । लुम्बिनीका १ सय ९ स्थानीय तहमध्ये २६ स्थानीय तह निमित्तकै भरमा चलेका छन् ।

कर्मचारी अभावकै कारण प्रदेश सरकारले लक्ष्य अनुसार बजेट खर्च गर्न सकेको छैन । चालु आवको ८ महिना सकिंदा विकास तर्फको खर्च २५.४१ प्रतिशत मात्र छ । लुम्बिनी प्रदेशका कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख दीपक ज्ञवालीले फागुन मसान्तसम्ममा पुँजीगततर्फ ५ अर्ब १३ करोड ४६ लाख ७५ हजार रुपैयाँ मात्र खर्च भएको बताए । सरकाले आव २०८०/०८१ का लागि पुँजीगततर्फ २३ अर्ब २५ करोड ६९ लाख रुपैयाँ विनियोजन गरेको थियो । ‘समय अनुसार खर्च प्रतिशत कम नै देखिन्छ,’ उनले भने, ‘कर्मचारी अभावकै कारण अधिकांश योजना ठेक्का प्रक्रियामै जान नसकेको भन्ने सुनेको छु ।’

लुम्बिनी प्रदेशको लोकसेवा आयोगले अघिल्लो आवमा खुल्लातर्फ १ हजार १ सय ३८ र बढुवातर्फ ४ सय १५ गरी १ हजार ५ सय ५३ पदका लागि ५५ वटा विज्ञापन गरेको थियो । जसमा १ लाख ८० हजार १ सय ७६ जनाले आवेदन दिएका थिए । आयोगका अनुसार १ हजार १ सय ५० वटा परीक्षा केन्द्रमा १ लाख १२ हजार ५ सय ५० जना परीक्षार्थीले लिखित परीक्षा दिएका थिए । तीमध्ये प्राविधिक तर्फका केही कर्मचारीको नतिजा प्रकाशित भएर कार्यक्षेत्रमा सिफारिस भएको र केही प्रकाशित हुने क्रममा रहेको आयोगले जनाएको छ ।

लुम्बिनीमा २०७६ साउन २८ गते प्रदेश लोकसेवा आयोग गठन भएको थियो । आयोगको कार्यक्षेत्रमा प्रदेश सरकारका मन्त्रालय तथा मातहतका कार्यालय, निकाय र १ सय ९ स्थानीय तह छन् । तर, आयोगको कार्यक्षेत्र रहेका कार्यालयमा पनि कर्मचारी पूर्ति हुन सकिरहेका छैनन् । आयोगले निकालेका ५५ विज्ञापनमध्ये ३ वटाको कार्यसम्पादन सकिएर सिफारिस भइसकेको र अन्यको लिखित परीक्षा सकेर अन्तर्वार्ताको क्रममा रहेको आयोगका अध्यक्ष भट्टराईले बताए । ‘स्वास्थ्य सेवातर्फ कविराज पाँचौं तहमा १ र विज्ञापन स्वास्थ्य सेवातर्फ पाँचौं तहको हेल्थ असिस्टिेन्टमा १० गरी ११ जनालाई प्रदेश निजामती सेवामा सिफारिस गरेका छौं,’ उनले भने, ‘प्रदेश निजामती सेवा ऐन र स्थानीय सरकारी सेवा ऐन समयमै नबन्दा कर्मचारीको नियुक्ति, सरुवा, बढुवा तथा अन्य वृत्ति विकासमा असर परिरहेको छ ।’

आयोगले आवश्यक जनशक्ति माग गरी दरबन्दी स्वीकृतिका लागि सरकारकालाई अनुरोध गरे पनि स्वीकृत नहुँदा कर्मचारी अभाव भएको र आयोगले नै प्रभावकारी काम गर्न नसकेको उनले बताए । अप्राविधिक (सहायकस्तर पाँचौं) २ सय ४३, अप्राविधिक (सहायकस्तर चौथो) १ सय १०, प्राविधिक (सहायकस्तर पाँचौं) ५ सय ९३ र प्राविधिक (सहायकस्तर चौथो) ६ सय ७ गरी १ हजार ५ सय ५३ पदका लागि विज्ञापन गरेको थियो । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशका लागि अति आवश्यक कानुनहरू संघीय सरकारले समयमै नबनाउँदा संघीयता कमजोर बन्दै गएको बताए । ‘संघीयता कार्यान्वयनका लागि केन्द्र सरकार संवेदनशील बन्न सकेको छैन,’ उनले भने, ‘यो समस्या समयमै समाधान भएर कर्मचारीको व्यवस्थापन नभए थप जटिलता आउन सक्छ ।’

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully