कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

घूसको रकमले जग्गा खरिद

मातृका दाहाल

काठमाडौँ — अख्तियार दुरूपयोग अनुसन्धान आयोगले लुम्बिनी विकास कोषका इन्जिनियर सरोज भट्टराईविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनी कोषको योजना प्रमुख रहेका बेला ठेकेदारबाट घूस लिएको आरोपमा अख्तियारले मुद्दा दायर गरेको हो ।

घूसको रकमले जग्गा खरिद

कोषको निर्माणसम्बन्धी ठेक्का लिएका व्यापारी सफिक अहमदबाट इन्जिनियर भट्टराईले तेस्रो व्यक्तिमार्फत ८० लाख रुपैयाँ लिएको आरोप अख्तियारको छ ।

अख्तियारका अनुसार घूससहितको रकमबाट भट्टराईले आमा जनकनन्दनीका नाममा भक्तपुरको गुन्डुमा छुट्टाछुट्टै कित्ताका २ रोपनी ९ आना र २ आना १ पैसा जग्गा किनेका थिए । त्यसैले भट्टराईसँगै उनकी आमालाई पनि प्रतिवादी बनाएर मुद्दा दायर गरेको अख्तियारले जनाएको छ । उनीहरूविरुद्ध जनही ८० लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेले ठेकेदारबाट घूस लिएर जग्गा किनेको पुष्टि भएपछि मुद्दा दायर गरिएको बताए । भट्टराईसहितका अरू केही व्यक्तिमाथि गैरकानुनी सम्पत्ति आर्जनमा अनुसन्धान भइरहेको र त्यही क्रममा उनले घूस लिएर जग्गा किनेको अतिरिक्त प्रमाण भेटिएपछि अहिले यो प्रकरणमा मात्र मुद्दा दायर भएको हो । बाबुल निर्माणका अहमदले बैंकको बाबुल निर्माण सेवा र अर्घाखाँची बाबुल जेभीको खाताबाट तेस्रो व्यक्तिमार्फत भट्टराईले दिएको अख्तियारको भनाइ छ ।

भट्टराईले घूस रकम जग्गा खोजिदिने र जग्गा बेच्ने व्यक्तिका नाममा जम्मा गर्न लगाएको अख्तियारले जनाएको छ । घूस रकम सिधै आफूले बुझ्दा शंका उब्जिने भन्दै भट्टराईले जग्गा बेच्ने आइते तामाङ र जग्गा खोजिदिने नानीकाजी थापाको बैंक खातामा जम्मा गर्न लगाएको अख्तियारको अनुसन्धानबाट खुलेको हो । अख्तियारमा अहमदले दिएको बयानमा ठेक्काको काम पाएबापत आफूले इन्जिनियरले भनेअनुसार नै तोकिएका व्यक्तिका खातामा रकम जम्मा गरिदिएको उल्लेख छ । भट्टराईले तामाङका नाममा दर्ता रहेको जग्गा आमा जनकनन्दनी भट्टराईका नाममा २०७९ वैशाख २७ मा किनेको मालपोत अभिलेखबाट देखिन्छ ।

जग्गाको भुक्तानी बिचौलिया नानीकाजी थापा र जग्गाधनी तामाङकै नाममा जम्मा भएको थियो । जग्गा खरिदको अघिल्लो दिन बाबुल निर्माण सेवाको खाताबाट अहमदले वैशाख २६ मा थापाका नाममा ३० लाख र २२ गते १० लाख रुपैयाँ जम्मा गरेका थिए । अहमदले सोही खाताबाट जग्गाधनी तामाङको सल्लाघारीस्थित कृषि विकास बैंकको खातामा ९ लाख ९९ हजार रुपैयाँका तीनवटा चेकबाट २९ लाख ९९ हजार रुपैयाँ जम्मा गरेका थिए । सोही दिन तामाङको खातामा थापाले चाबहिलस्थित कृषि विकास बैंककै खाताबाट थप ९ लाख ९९ हजार रुपैयाँ जम्मा गरेको अख्तियारले जनाएको छ ।

भट्टराई आव २०७५/७६ अघिसम्म कोषमा योजना प्रमुख थिए । भट्टराई कै पालामा अहमदले १ अर्ब २२ करोडको ठेक्का पाएका थिए । त्यही बेला भट्टराईले ठेकेदारबाट लिएको घूसको विवरण बाहिरिएपछि अख्तियारले अनुसन्धान गरेको थियो । अख्तियारले घूसबाट खरिद गरिएको जग्गा जफत गर्न पनि मागदाबी गरेको छ । जग्गा खोज्ने थापाले अख्तियारलाई दिएको बयानमा चिनजानका आधारमा भट्टराईलाई जग्गा खोजिदिएको र उनले भनेअनुसार नै आफूले रकम तामाङलाई उपलब्ध गराइदिएको बयान दिएका छन् । भट्टराईले आफैंले जग्गा खरिद गर्ने भनेको तर पास हुँदा आमाका नाममा कायम भएको देखिएको तामाङले बयान दिएका छन् ।

जग्गाधनी तामाङले भने उक्त जग्गा एक करोड ७२ लाख रुपैयाँमा जनकनन्दनीलाई बिक्री गरेको बयान दिएका छन् । जग्गा पास गर्दा भने भट्टराईले ३८ लाख मात्रै उल्लेख गरेको देखिन्छ । ठेकेदार अहमदले इन्जिनियर भट्टराईले भनेअनुसार नै आफूले तामाङ र थापाको बैंक खातामा ८० लाख रुपैयाँ जम्मा गरिदिएको बयान दिएका छन् ।

‘मैले लुम्बिनी विकास कोषमा निर्माणको काम गरेको हुँदा कोषमा योजना प्रमुखका रूपमा कार्यरत भट्टराईले भनेअनुसार आइते तामाङ र नानीकाजी थापाको खातामा हालिदिएको हो,’ उनले बयानमा भनेका छन् । प्रतिवादी भट्टराईले निर्माण व्यवसायीसँग चिनजान रहेको तर आर्थिक कारोबार आफू स्वयंले नगरेको दाबी गरेका छन् । भट्टराईकी आमा जनकनन्दनीले ठेकेदारबाट सापटी लिएको रकमले जग्गा किनेको जिकिर गरेकी छन् ।

प्रकाशित : चैत्र २६, २०८० ०६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?