कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

सशस्त्र द्वन्द्वका घाइते- ‘गिट्टी कुट्छन्, जीवन धान्छन्’

कालीकोट — खाँडाचक्र नगरपालिका–२, वसन्तबाडा वरपर झुरुप्प दलित बस्ती छ । गाउँमा करिब तीन सय घर छन् । कर्णाली राजमार्गको घुम्तीसँगै सडकछेऊमा एउटा छाप्रो छ । गाउँका अगुवा ५० वर्षीय देवसिंह विकले त्यही छाप्रोमा सानो किराना पसल चलाएका छन् । 

सशस्त्र द्वन्द्वका घाइते- ‘गिट्टी कुट्छन्, जीवन धान्छन्’

पसलसँगै सडकछेऊमा ढुंगा गिट्टीका थुप्रा छन् । देवसिंह किन्ने मान्छे आउँदा पसलतिर जान्छन्, नभए त्यही ढुंगाका थुप्रामाथि चढेर गिट्टी फुटाउन थाल्छन् । उनकी जहानले पनि त्यहीँ गिट्टी कुट्छिन् । उसो त छोराछोरी पनि मजदुरी गर्ने भइसकेका छन् ।

‘जग्गाजमिन धेरै छैन, आफूले गरेको उत्पादनले तीन महिना पनि खान पुग्दैन,’ देवसिंहले छाप्रोतिर देखाउँदै भने, ‘यो छाप्रो हालेको छु, तर यसको पनि भर छैन । त्यसैले यही गिट्टी कुट्छु । बालबच्चा छन्, खानुपर्‍यो, लाउनुपर्‍यो, काम त जे भएपनि गर्नैपर्‍यो ।’

०५५ सालमा माओवादीमा लागेका देवसिंह त्यसपछि भूमिगत भए, करिब आठ वर्ष पूर्णरुपमा माओवादीमा बिताए । ‘म माओवादीमा नलागेको भए यसबेला मुम्बईतिर मजदुरी गर्दै हुन्थेँ होला, या कतै तराईतिर काम गर्दै हुन्थेँ होला,’ देवसिंह भन्छन्, ‘द्वन्द्वमा घाइते भएँ, पार्टीमा लागेर धेरै सिकियो, गाउँमा पनि बदलाव भयो । त्यसपछि विदेश जान मन लागेन ।’

उनी दायाँ कान राम्रोसँग सुन्दैनन् । सशस्त्र द्वन्द्वका बेला बारुदको छर्राले लागेको थियो । ‘यो कानले कामै गर्दैन, उपचार गर्न सकिएन । सशस्त्र द्वन्द्वका बेला बारुदले लागेको, कानको जाली फुट्यो भन्छन्,’ कानमा लागेको चोटको खत देखाउँदै उनले भने, ‘घाइते भइयो, तर केही पाइएन । सरकारले घाइतेको सूचीमा पर्नेलाई मात्रै दिने रहेछ ।’

सशस्त्र द्वन्द्वका घाइते उनी नेताहरूले सशस्त्र द्वन्द्वपछि गरेको व्यवहारदेखि भने निकै असन्तुष्ट छन् । नेताहरूले आफू नजिककालाई मात्रै सुविधा र अवसर दिएको उनको आरोप छ । तर, अहिले पनि उनी सशस्त्र द्वन्द्वप्रति भने गर्व गर्छन् । सशस्त्र द्वन्द्वमा कालीकोटमा दासको जीवन बाँचिरहेका दलितलाई गरेर खान पाउने अधिकार दिलाएको उनी बताउँछन् ।


सशस्त्र द्वन्द्व सुरु हुनुभन्दा पहिले दलितहरुमाथि अन्याय र अत्याचारको सीमा नै थिएन गाउँमा । आफूहरुका लागि बाबु, बाजेले धेरै दुःख झेल्नुपरेको उनले बताए । ‘सामन्तहरुले दास बनाएका थिए, कमारा, डुम भन्थे, बोलीपिच्छे हेप्थे, बाबुबाजेहरुले त्यस्तो सहेका पनि हुन्,’ उनी भन्छन्, ‘हामीले बुझ्नेबेलासम्म त विरोध गर्नुपर्छ भन्ने भइसकेको थियो । सहनुहुदैन भन्ने चेत थियो, त्यही भएर सशस्त्र द्वन्द्वमा लागियो ।’

माओवादीले सशस्त्र द्वन्द्व थाल्दा स्कुल पढ्दै थिए । खरको छानो भएका छाप्रे स्कुल । तर त्यो बेला स्कुलमै छोइछिटो हुन्थ्यो, शिक्षकहरुले पनि पानी छोयो भएर पिट्थे । स्कुलमा दलितले राम्रो पढेको कसैले रुचाउदैन थिए । ‘बुवाले मजदुरी गरेर पढाउनुहुन्थ्यो । तर धेरै पढ्न सकिएन, पढ्ने बातावरण नै भएन,’ पुराना कुरा सम्झिँदै देवसिंहले भने, ‘७ सम्म पढेपछि म पनि बुवासँगै भारत जान थालेँ ।’ उनी दुई वर्षसम्म भारतमा मजदुरी गर्न गए । यता माओवादी द्धन्द्ध चर्किदै गयो, गाउँमा प्रभाव बढ्दै गयो । त्यसपछि उनी पनि गाउँ फर्किएर माओवादीमा लागे ।

‘त्यो बेला भारतबाट फर्किदा अलिअलि पैसा हुन्थ्यो । तर गाउँमा दलितले राम्रो लुगा लगाउनुहुदैन थियो । दलितले चस्मा लगायो भनेर खोसेर फ्याँकिदिन्थे । राम्रो चप्पल लगाएको मन पराउदैथिए,’ उनी भन्छन्, ‘सशस्त्र द्वन्द्वका कारण अहिले गाउँमा त्यस्तो कुराहरु फेरि सहनुपरेको छैन । ठकुरीसाबहरूले डुम, कमारा भनेर हेप्ने हिम्मत गर्दैनन् । वास्तवमा दलितले पनि सम्मानपूर्वक बाँच्न पाउनुपर्छ भनेर सबैलाई सिकाएको सशस्त्र द्वन्द्वले नै हो ।’

त्यहीकारण देवसिंह अहिले पनि माओवादीभित्रै संघर्ष गरिरहेका छन् । जिल्ला कमिटी सचिवालय सदस्य उनी यसअघि ०७४ को निर्वाचनबाट वडा सदस्य निर्वाचित भए । यसपटक उनले वडाध्यक्षमा दाबी गरेका थिए । तर उनलाई पार्टीले टिकट दिएन । ‘हाम्रो वडामा दलितमात्रै झण्डै ६० प्रतिशत छन् । तर पार्टीले दलितलाई टिकट दिदैन,’ उनी भन्छन्, ‘पहिलेको जस्तो छोइछिटो गर्ने चलन अहिले कम भयो । तर दलितलाई अवसर दिने बेला वा राजनीतिक पहुँचमा पुर्‍याउनुपर्‍यो भनेपछि ब्राह्मणवादी सोच अघि आइहाल्छ ।’

कालीकोट देशकै सबैभन्दा धेरै दलितको बसोबास भएको जिल्ला हो । त्यति मात्रै होइन, गरिबी, कुपोषण र चेतनाको हिसावले समेत कमजोर सूचक भएको जिल्ला हो । तर स्थानीय सरकारले दलितका लागि काम गर्नै चाहँदैनन् । जिल्लाको गरिबी हटाउन दलितको जीवनस्तर माथि ल्याउनुपर्छ भन्दा सुनुवाई नहुने गरेको उनी बताउँछन् ।


‘सशस्त्र द्वन्द्वले धेरै सुधार ल्यायो । त्यसपछि केही वर्ष दलितको शशक्तिकरणका लागि गाविसहरुले पनि बजेट दिन्थे,’ देवसिंह भन्छन्, ‘संविधान लेखियो, दलितलाई संविधानले विशेषाधिकार दिएको छ । तर व्यवहारमा तीन तहकै सरकारले लगानी गर्न चाहेको देखिदैन ।’

उनी आफैँ वडा सदस्य हुँदा उनले वडामा दलितको शशक्तिकरण, क्षमता विकास र स्वरोजगारीका लागि काम गर्ने प्रयास गरे । पार्टीभित्र पनि दलितलाई केन्द्रमा राखेर स्थानीय नीति, कार्यक्रम र योजना बनाउन दबाब दिँदै आएका छन् । तर त्यसको सुनुवाई नहुने गरेको उनको गुनासो छ ।

‘अहिले पार्टी पनि बिग्रियो । अब त ‘मुख बिक्नेको कनिका पनि बिक्छ, मुख नबिक्नेको चामल पनि बिक्दैन’ भनेजस्तै अवस्था छ । पार्टीभित्र पहुँच हुनेले सबैथोक लिए, हामीले पुहँच पुर्‍याउन सकिएन,’ उनी भन्छन्, ‘पार्टीमा योगदान मात्रै गर्नेलाई अवसर पाउन कठिन छ । नेताहरुले योगदान हेरेरभन्दा आसेपासेलाई च्यापेका छन्् ।’

संघीयतापछि आफूले आफ्नै गाउँका दलितहरूको उत्थान र शशक्तिकरणका लागि कतिपय काम गर्ने प्रयास गरेपनि सहयोग नपाएको उनले बताए । उनका अनुसार गाउँमा सबैजसो दलितको घर मजदुरीले चलेको छ । अधिकांशलाई आफूले गरेको उत्पादनले तीन महिना पनि खान पुग्दैन । त्यसपछि उनीहरू कि मजदुरी गर्न भारत पुग्छन्, कि गाउँमै सानो तिनो मजुदरी गरेर गर्जो टार्छन् ।

उनी भन्छन्, ‘मजदुरी गरेर साँझविहानको जोहो हुन्छ । तर बिरामी पर्दा राम्रो उपचार गर्ने अवस्था छैन, छोराछोरीको राम्रो शिक्षा दिक्षा त झन् टाढाको कुरा भयो । दलितहरूलाई अझैपनि पढ्नुपर्छ, छोराछोरीलाई पढाउनुपर्छ भन्ने चेतनानै छैन ।’

उनले दलितहरूको क्षमता विकासका लागि स्थानीय तहलाई लगानी गर्न ध्यानाकर्षण गराएपनि कुनै सुनुवाई नभएको बताए । त्यसो त उनी अहिले नगरस्तरीय नागरिक कार्यसमूहका सदस्य समेत हुन् । तर स्थानीय तहस्तरमा नागरिकको बोली सुनुवाई हुन छोडेको उनको भनाइ छ । ‘जो शक्तिशाली छ, उसको कुरा सबैतिर सुनुवाइ हुन्छ, तर सामान्य नागरिकको दुःखपीडामा कसैले साथ दिदैन, स्थानीय सरकारले पनि साथ दिदैन,’ उनी भन्छन्, ‘सबैलाई बेथितिविरुद्ध मुख बन्द गरेर बस्ने मान्छे चाहिएको छैन ।’

छोरीसँगै एसईई उत्तीर्ण

जीवनका महत्वपूर्ण आठ वर्ष पार्टीमा बिताएका उनी अहिले तीन छोरा र तीन छोरीका बाबु हुन् । सशस्त्र द्वन्द्वमा लाग्दा छुटेको पढाइ बिहे गरेर छोरी हुर्किएपछि छोरीसँगै पढेर एसईई लेखेको उनले बताए । ‘पहिले पढ्ने पाइएन, अहिले थोरै पढेको भएन हुनेरहेछ भन्ने भएपछि छोरीसँगै एसईई उत्तीर्ण भएँ,’ उनले भने ।

उनले ठूली छोरी देवीतारासँगै ०७४ मा एसईई लेखे । त्यसपछि छोरीले अघिको पढाइ गर्दैछिन् । उनले भने समय र पैसा दुवै पुर्‍याउन नसकेको छोडेको बताए ।


उनका जेठा छोराले पनि गतवर्ष एसईई लेखे । ‘कक्षा–११ मा भर्ना गरेर छोरो मुम्बई गएको छ, अब परीक्षा दिनेबेला आउँछ,’ देवसिंहले भने, ‘यहाँ बाह्रै महिना कक्षा हुन्छ, धेरै केटाकेटी भर्ना गरेर मजदुरी गर्न जान्छन्, परीक्षामात्रै लेख्छन् ।’ पार्टीमा त्यतिका समय बिताएर गरिखाने शरीर बिग्रिए पनि अहिले पार्टीका नेताहरु सत्ता र शक्तिमा हुँदा कुनै सहयोग नपाएको उनको गुनासो छ ।

प्रकाशित : चैत्र २६, २०८० २१:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?