१५.४४°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८७

सहारा पाएपछि फेरियो दैनिकी

अभिभावक नभएपछि बिचल्लीमा परेका चार बालक संरक्षण संस्थाको रेखदेखमा हुर्कंदै
मेनुका ढुंगाना

काठमाडौँ — मंसिर तेस्रो साता : अछाम र डोटीको सिमानाको नदी किनारमा चार बालकहरू भेटिएका थिए । कहिले जंगल त कहिले कसैको घरमा आश्रय लिइरहेको बताउने चारै बालकका आङमा गतिला लुगा थिएनन् । भोक र प्यासले गलेका थिए । 

सहारा पाएपछि फेरियो दैनिकी

चैत दोस्रो साता : टोखास्थित हाम्रो बाल संरक्षण धरोहर नामको गैरसरकारी संस्थाको होस्टलमा अन्य ५० बालबालिकासँगै यी चार बालकहरू भेटिए । स्कुल जाने ड्रेसमा भेटिएका उनीहरूको अनुहारमा बेग्लै खुसी देखिन्थ्यो । राम्रो खाना, आवास र स्याहारले उनीहरू प्रफुल्ल देखिन्थे ।

पाँच महिनामै बदलिएको यो दृश्य हो, १३ वर्षीय जया दमाईं, १० वर्षीय राजेश दमाईं र ७ वर्षीय जुम्ल्याहा शिव र शंकर दमार्इंको । डोटीको दुर्गम गाउँ बोगटान गाउँपालिका–३ चोनकाँडामा उनीहरू हजुरबाको संरक्षकत्वमा हुर्किरहेका थिए । शिव र शंकर गर्भमा आएको ६ महिनामा कामको खोजीमा भारत पसेका बाबुराम उतै बेपत्ता भए । आमा मनसराले ७ महिनाका जुम्ल्याहा छोरासहित चार छोराहरूलाई छोडेर अर्को बिहे गरेपछि उनीहरूको दुःखको दिन सुरु भएका थिए । बाजेले यी चारमध्ये ७ महिनाका २ नातिलाई भातको माड खुवाएर बचाए । ज्येष्ठ नागरिक भत्ताको भरमा हुर्काए ।

एक वर्षअघि बाजेको मृत्यु भएपछि बालकहरूको बिचल्ली भयो ।गाउँका मान्छे मिलेर अन्त्येष्टि गरिदिए । घरमा खानेकुरा सकिएपछि चारै दाजुभाइ माग्दै हिँड्न थाले । जेठो जयाले भाइहरूलाई डोर्‍याउँदै कहिले कता लान्थे, कहिले कता । करिब एक वर्षसम्म उनीहरू भौंतारिएर हिँडे । जे पाइन्छ, त्यही खाए । जहाँ रात पर्छ, त्यतै बसे । कहिले कपडाविहीन भएर कहिले चप्पलविहीन भएर, कहिले भोकै, कहिले प्यासै हिँडेर उनीहरूले आफूलाई जेनतेन बचाए । उनीहरूले कति रात जंगलमा बिताए, कति रात भोकभोकै गुजारे, त्यसको कुनै हिसाब छैन ।

उनीहरूबारे मंसिर २० मा ‘हजुरबाको मृत्युपछि चार बालकको बिचल्ली’ शीर्षकमा कान्तिपुरमा समाचार प्रकाशित भयो । यही समाचारलाई पछ्याउँदै काठमाडौंको टोखास्थित हाम्रो बाल संरक्षण धरोहरकी संस्थापक विनिता अर्याल अछाम पुगेर उनीहरूको जिम्मेवारी लिइन् । मंगलसेन नगरपालिका, स्थानीय प्रहरी र डोटीको बोगटान फुडसिल गाउँपालिकाको सहयोगमा सबै कागजात तयार गरेर उनले मंसिर २८ गते उनीहरूलाई काठमाडौं ल्याइन् ।

करिब एक वर्ष सहाराविहीन भएर भौंतारिएका यी चार भाइको दैनिकी अहिले बदलिएको छ । सफा लुगा र हँसिलो अनुहार अनि लेखपढ गर्ने उत्सुकता । उनीहरू संस्थाले सञ्चालन गरिरहेको होस्टलमा अन्य ५० अभिभावकविहीन बालबालिकासँगै बस्छन् । अरूजस्तै बिहान ५ बजे उठ्छन् । ८ बजेतिर स्कुल जानलाई तयार हुन्छन् । चारै जनालाई नर्सरीमा भर्ना गरिएको छ ।

ठूलो परिवारमा बस्न पाएकामा जया असाध्यै खुसी छन् । ‘मेरो उमेरका धेरैजसो अहिले पनि इन्डिया जान्छन्, मेरा भाइहरू नभएको भए म पनि गइसक्थें होला । तर यिनीहरूलाई छोडेर कतै जान सकिनँ,’ उनले सुनाए । जयाले पहिलोचोटि प्लेन चढेर काठमाडौं आउन पाउँदा, राजधानी देख्न पाउँदा र यहाँ मीठो खानेकुरा खान पाउँदा खुसीको सिमाना नभएको बताए । संस्थाकी सञ्चालक अर्यालले फरक–फरक खालको पृष्ठभूमिबाट आएका बालबालिकालाई पारिवारिक माहोलमा राखेर हुर्काइरहेको बताइन् । ‘यहाँ हुर्किरहेका ५० जना बालबालिकाको कथा फरक–फरक छ । तर हामी सबैलाई समान तरिकाले हुर्काइरहेका छौं,’ उनले भनिन् ।

प्रकाशित : चैत्र १४, २०८० ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?