कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३७

विश्व क्षयरोग दिवस : सामाजिक हेय भावले क्षयरोग निर्मूल हुन सकेन

माधव अर्याल

पाल्पा — आज मार्च २४ अर्थात् विश्व क्षयरोग दिवस । क्षयरोग नेपालमा पनि प्रमुख जनस्वास्थ्य समस्याका रूपमा रहेकाले सरकारले यसलाई पहिलो प्राथमिकता प्राप्त कार्यक्रमअन्तर्गत राखेर सञ्चालन गर्दै आएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले बताए । स्वास्थ्य कार्यालयमा ५ लाख र स्थानीय तहमा कम्तीमा २ लाखका दरले सरकारले बजेट पठाउने गरेको छ । तर प्रभावकारी काम भने हुन सकेको छैन । 

विश्व क्षयरोग दिवस : सामाजिक हेय भावले क्षयरोग निर्मूल हुन सकेन

नेपालले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार सन् १९९६ देखि डट्स (प्रत्यक्ष निगरानीमा औषधि खुवाइने) विधिद्वारा क्षयरोगका बिरामीलाई उपचार गर्ने पद्धति सुरु गरेको उनले बताए । क्षयरोगको सुरूकै अवस्थामा पत्ता लगाउन नसकिएको र रोगले ग्रस्त बनाएपछि स्वास्थ्य संस्था आउने प्रचलनले मृत्युदर बढेको गिरीको भनाइ छ । अहिले पाल्पासहित देशैभर क्षयरोग चुनौतीपूर्ण देखिएको उनले बताए । सरकारले सन् २०३० सम्ममा क्षयरोग उन्मूलन गर्ने लक्ष्य लिएको छ ।

‘सरकारलाई चुनौती भनेकै सामाजिक हेय भावका कारण क्षयरोगी खुल्न नसक्नु हो,’ रिब्दीकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले भने, ‘अझै पनि गाउँमा पहिलो स्टेजका क्षयरोगी भेटिएको छैन । जो बिरामी भएर अन्तिममा बल्ल क्षयरोग जाँच गर्छन् ।’ सरकारले क्षयरोगमुक्त नेपाल घोषणा अभियान सञ्चालन निर्देशिका २०७८ जारी गरे पनि बर्सेनि क्षयरोगका बिरामी थपिने गरेको सरकारी तथ्यांक छ ।

दुई साताभन्दा बढी समयसम्म खोकी लागिरहने, साँझपख ज्वरो आउने, तौल घट्ने, खकारमा रगत देखा परेपछि मात्र क्षयरोगको शंका गर्दै जचाउने प्रवृत्ति छ । क्षयरोग सुरुमै उपचार थाले निको हुन्छ तर लापरबाही गरे पुनः दोहोरिने समस्या रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी टीकाराम अधिकारीले बताए ।

सरकारले क्षयरोगीको निःशुल्क उपचारको प्रबन्ध मिलाएको छ । क्षयरोगको जोखिम समूहमा जेष्ठ नागरिक, बालबालिका, स्वास्थ्यकर्मी, एचआईभी संक्रमित, मधुमेह भएका व्यक्ति, गर्भवती महिला, कैदी तथा बन्दी, अंग प्रत्यारोपण गरेका व्यक्तिलगायत भएको स्वास्थ्य कार्यालयका क्षयकुष्ठ अधिकृत विश्वराज न्यौपानेले बताए । बिरामी आफैंले वास्तै नगर्ने, स्वास्थ्यकर्मीले जाँगर नचलाउने र पालिकाका जनप्रतिनिधिले प्राथमिकता नदिएर पनि समस्या भएको हो ।

क्षयरोग श्वासप्रश्वासको माध्यमबाट सर्ने, माइक्रोब्याक्टेरियम ट्युबरक्लोसिस नामको सूक्ष्म कीटाणुबाट हुने सरुवा रोग भएको डा. गिरीले बताए । क्षयरोग एक जना संक्रमित बिरामीबाट २० जनासम्ममा सर्न सक्छ । क्षयरोगसँग मिल्दोजुल्दो लक्षण देखिनेबित्तिकै परीक्षण गराइहाल्नुपर्छ ।

पाल्पामा पनि क्षयरोगको सङ्क्रमण दर घट्न नसकेको स्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत टुकप्रसाद पोखरेलले बताए । उनका अनुसार पछिल्लो ८ महिनामा २ सय २७ जना क्षयरोगी भेटिएका छन् । अघिल्लो आर्थिक वर्षमा ३ सय ३४ जना भेटिएका थिए । प्रत्यक्ष निगरानीमा उपचार हुने गरे पनि अघिल्लो आर्थिक वर्षमा २५ जनाको मृत्यु भएको उनले बताए ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा क्षयरोगको मृत्युदर ७.३ प्रतिशत रहेको छ । पछिल्लो १० वर्षदेखि एउटै दरमा सङ्क्रमण कायम छ । पछिल्ला वर्षमा पुनः संक्रमण बढेको देखिन्छ । जिल्लाका तानसेन, रामपुर र निस्दीमा संक्रमण बढी देखिएको छ । नौ महिनाको अवधिमा सबैभन्दा बढी तानसेनमा ४५ जना, रामपुरमा ४१ जना, निस्दीमा ३१ जना क्षयरोगी फेला परेका छन् । यस्तै माथागढीमा २३, रैनादेवी छहरामा २५, पूर्वखोलामा १७, रम्भामा १५, रिब्दीकोटमा १० र तिनाउमा १४ जना क्षयरोगी भेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित : चैत्र ११, २०८० १४:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?