कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

सरकारलाई सांसदको प्रश्न : किसानलाई मल अभाव हुन नदिने योजना के छ ?

काठमाडौँ — जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक प्रदीप यादवले किसानलाई मलको अभाव हुन नदिने योजना के छ ? भनेर सरकारलाई प्रश्न गरेका छन् । 

सरकारलाई सांसदको प्रश्न : किसानलाई मल अभाव हुन नदिने योजना के छ ?

प्रतिनिधिसभाको बुधबारको बैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता माथिको छलफलका क्रममा जसपा सांसद यादवले मधेस प्रदेशमा सबैभन्दा ठूलो समस्याको रुपमा रहेको रासायनिक मलको अभाव हुन नदिने स्पष्ट योजना ल्याउन सरकारसँग माग गरेका छन् ।

त्यसका लागि सरकारले आगामी आर्थिक वर्षमा कस्ता योजना ल्याउन लागेको हो भन्नेबारे संसद्लाई जानकारी दिन पनि यादवले आग्रह गरेका छन् । 'मधेशको सबैभन्दा खतरानाक अवस्था रासायनिक मल हो । किसानको कुरा हामी गर्छौं । चर्को भाषण गर्छौं । सबै अर्थमन्त्रीहरूले रासायनिक मलको अभाव हुन दिँदैनौ भनेर भन्नुहुन्छ । कृषिमन्त्रीजी पनि आएर त्यसै फलाकीहाल्नुहुन्छ । बोल्नमा कोही पनि कम छैन । तर किसानले मल पाउँदै पाउँदैन,' यादवले सोधे, 'के अर्थमन्त्रीजी यसपाली चाँही किसानलाई मलको व्यवस्था गरिदिनुहुन्छ ? त्यसको पनि किसानले नगदै पैसा दिन्छ । पैसा लिएर घुमिराखेको हुन्छ । तर पनि मल पाउँदैन ।'

यादवले वितरणमुखी भन्दा पनि परिणाममुखी बजेट ल्याउनका लागि सरकारसँग आग्रह गरेका छन् । उनले भने, 'वितरणमुखि भन्दा परिणाममुखि बजेट ल्याउन जरुरी छ । सामाजिक सुरक्षा भत्तामा गम्भिरतापूर्वक ध्यान दिन जरुरी छ । अर्बपतिका बुबाआमाले पनि सामाजिक सुरक्षा भत्ता पाइराखेको छ । त्यसकारण गरिब को हो, धनी को हो ? त्यसलाई छुट्टयाएर मात्रै सामाजिक सुरक्षा भत्ता दिन जरुरी छ,’ उनले भने ।

जनकपुर चुरोट कारखाना पुनः सञ्चालनमा ल्याउन पनि सरकारलाई यादवले आग्रह गरेका छन् ।

प्रकाशित : चैत्र ७, २०८० १३:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?