कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेसलाई लामिछानेको प्रश्न : अनुसन्धान भइरहेकालाई नहटाउनेले नैतिकता, सुशासनका कुरा गर्ने ?

काठमाडौँ — उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको रकम हिनामिना प्रकरणमा छानबिन गर्न संसदीय समिति गठनको माग गरेपछि प्रमुख प्रतिपक्ष कांग्रेसमाथि नै प्रश्न उठाएका छन् ।

कांग्रेसलाई लामिछानेको प्रश्न : अनुसन्धान भइरहेकालाई नहटाउनेले नैतिकता, सुशासनका कुरा गर्ने ?

अनुसन्धान प्रधावित गर्ने र अनुसन्धानमा भइरहेका मान्छेलाई कुर्सीबाट हटाएर नपठाउने कांग्रेसले कुन आधारमा प्रश्न उठाएको भनेर लामिछानेले प्रश्न उठाएका हुन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकबाट बाहिरिने क्रममा उपप्रधान तथा गृहमन्त्री लामिछानेले कांग्रेसले कस्तो संसदीय अभ्यास गरेको हो भन्ने प्रश्न गरेका थिए । 'जुन ढंगले संसद् अवरोध भएको छ । एउटा पूरक, ठाडो उजुरीमा संसद् अवरुद्ध गर्ने अभ्यास सिकाउन खोजेको छ भने नेपाली कांग्रेस दुधले नुहाएको पार्टी हो कि होइन ? भन्नेकुरा नेपाली जनताले बुझेका छन्,' लामिछानेले भने, 'ठाडो उजुरीमा संसद् अवरुद्ध गर्ने हो भने यसमा अडिरहन आग्रह गर्दछु । हामीले कामले जवाफ दिने हो । कांग्रेसले ४ वर्ष संसद् अवरुद्ध गरोस्, हाम्रो यो अहिलेको संयन्त्रले ४ वर्ष काम गरोस् । अनियमितता गर्ने, अनुसन्धान प्रभावित गर्ने, अनुसन्धान भइरहेका मान्छेलाई कुर्सीबाट हटाएर नपठाउने कांग्रेसले नैतिकता, सुशासनका कुरा गर्ने ?’

लामिछानेले आफ्नो कामले नै बोलिरहेकाले थप व्याख्या गर्न आवश्यक नभएको बताए । 'मैले केही भन्नै पर्दैन नि, कामले बोलिरहेको छैन र ? अस्ति नै पो प्रतिपक्षमा थिएँ, बोल्नुपर्ने थियो, भन्नुपर्ने थियो, अब त सरकारमा छौँ, प्रत्येक दिन गरिएको कामले आफैँ बोलेको छ ।'

आफूमाथि छानबिन गर्न संसदीय समिति माग गरिएको भन्दै अब कसरी राजनीति अगाडि बढ्छ भन्ने हेर्ने लामिछानेले बताए । 'संसदीय छानबिन समिति माग गरिएको छ, त्यो उहाँहरूले माग्ने कुरा हो । माग्ने कुरा आफ्नो ठाउँमा छ, कुन ढंगले जान्छ हेरौँ । विवाद हुनु र गराइनु फरक छ, विवादबाट मुक्त कहिल्यै हुँदैन । हामी काम गर्न अघि बढेका छौँ । कामको संकेत देखिरहनुभएको छ,' उनले भने ।

प्रकाशित : चैत्र ६, २०८० १६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?