कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

पार्टी अध्यक्षले भनेको व्यक्ति स्वकीय सचिव नराख्दा सांसदबाट हटाउन खोजियो : लाभ

काठमाडौँ — जनमत पार्टीकी सांसद गोमा लाभ सापकोटाले अध्यक्ष सीके राउतले भनेका व्यक्तिलाई आफ्नो स्वकीय सचिव नराख्दा कारबाही गर्न खोजिएको बताएकी छन् । सांसदले राख्न पाउने स्वकीय सचिव पनि पार्टीले भनेको व्यक्तिलाई राख्दा आफूलाई सहज नहुने भएकाले आफ्नैअनुसार राखेको बताइन् । 

पार्टी अध्यक्षले भनेको व्यक्ति स्वकीय सचिव नराख्दा सांसदबाट हटाउन खोजियो : लाभ

जनमत पार्टीले लाभलाई पार्टीको साधारण सदस्यबाट निष्कासन गरिएकाले सांसदबाट हटाउन भन्दै संसद् सचिवालयमा पत्र पठाएका छन् । फागुन दोस्रो साता जनमतले लेखेको पत्र सभामुख देवराज घिमिरेले अध्ययन गरिरहेका छन् । सभामुख घिमिरेले फागुन २७ मा उक्त पत्र प्राप्त गरेको र जनमतका अध्यक्ष सिके राउतसँग पनि छलफल गरेको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

पत्र प्राप्त भएको तर निर्णय भइनसकेको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । उनले भने, 'सो सम्बन्धमा चिठी प्राप्त भएको छ, सभामुखले अध्ययन गर्दै हुनुहुन्छ ।'

सांसद सापकोटाले भने पार्टी निर्णयहरू पालना गरिरहेको र संसद् तथा संसदीय समितिमा आफूले पार्टीले भनेअनुसार काम गरिरहँदा पनि कारबाही गर्न खोजिएको बताइन् । 'मैले पार्टीको लागि नराम्रो गरेको छैन । संसद्‍मा पनि भूमिका निभाएकी छु,' उनले भनिन्, 'उहाँले सत्तापक्षमा भोट हाल्नु भन्नुभयो हालेकै छु, विपक्षमा भोट हाल्नु भन्नुभयो हालेकी छु । संसद्‍मा र समितिमा पनि गएर पार्टीका कुरा राखेको छु ।'

आफूलाई कारबाही गर्न खोजेपछि अध्यक्ष राउतसँग कुरा गर्नका लागि समय पनि नदिइएको लाभले बताइन् । जनमतका एक नेताले भने अध्यक्ष राउतले मनोमानी निर्णय गरेको जानकारी दिए । पार्टी संस्थागत रूपमा चल्नुपर्नेमा अध्यक्ष राउतले एकपक्षीय निर्णय लिने गरेको र त्यसबारे पार्टी कमिटीमा कुनै जानकारी नै नदिने गरेको ती नेताले बताए ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ३४ अनुसार पार्टीको साधारण सदस्यबाट सांसदलाई निष्कासन गरेमा पदमुक्त हुन्छ । पार्टीले निर्णय गरेर संसद् सचिवालयलाई निर्णयबारे जानकारी गराउनुपर्ने र सभामुखले त्यसको जानकारी संसद्‍मा जानकारी गराएपछि सांसद पदमुक्त हुने व्यवस्था छ ।

प्रकाशित : चैत्र ४, २०८० १७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?