कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५

नेपालको मूलधारको राजनीतिमा कर्णाली कहाँ छ ?

तृप्ति शाही

वीरेन्द्रनगर — सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले उद्यानमा जारी 'कर्णाली उत्सव कुडा कर्नालीका' को पाचौं संस्करणमा आइतबार नेपालको मूलधारको राजनीतिमा कर्णालीलाई हेर्ने नजरमाथि बहस भयो । नेकपा एमालेका उपहासचिव प्रदीप ज्ञवाली र कांग्रेस नेता प्रदीप पौडेल बहसमा सहभागी थिए । छलफलमा सहभागी दुई नेतालाई सहजकर्ता बबिता बस्नेतले सोधिन् : नेपालको मूलधारको राजनीतिमा कर्णाली कहाँ छ ?

नेपालको मूलधारको राजनीतिमा कर्णाली कहाँ छ ?

एमाले उपमहासचिव ज्ञवालीले कर्णालीको प्रभाव केन्द्रको राजनीतिमा पनि परेको बताए । बिस्तारै मेनस्टिम राजनीतिले कर्णालीका पीडा बुझ्दै गरेको उनको भनाइ थियो । उनले पछिल्लो समय कर्णालीलाई हेर्ने नजर समेत बिस्तारै बद्लिँदै गएको बताए ।

कर्णाली पहिलेको तुलनामा परिवर्तन भएको पनि उनले बताए । 'मानव विकास सूचकाङ्कका हिसाबले कर्णालीसँगै मधेस र सुदूरपश्चिम प्रदेश निकै पछाडि छन्' उनले भने, ‘ अब हामीले पोलिसीहरु बनाउँदा यी ठाउँलाई बढी फोकस गरेर । रोजगारीका सिर्जनाहरु कसरी गर्न सकिन्छ ? उत्पादकत्वको वृद्धी कसरी गर्न सकिन्छ ? नागरिकको जिवनस्तर कसरीमाथि उठाउँन सकिन्छ भन्ने हिसाबले बनाउन जरुरी छ ।’

सम्भावनाको ढोका खुल्न लागेको तर उघ्रिनसकेको प्रदेशका रुपमा आफूले कर्णालीलाई बुझेको उनले बताए । अब कर्णालीलाई असाध्यै सम्भावना भएको प्रदेशको रुपमा हेर्दै सम्भावनाकाे ढोका खोल्दिने हो भने कर्णाली अघि बढ्छ भन्ने ठानेको बताए । प्रदेशमा भएको सम्भावनालाई हेरेर विकासको ढोका खोलिदिने बाटोमा दलहरु हिँडेमा कर्णाली समृद्ध हुन समय नलाग्ने उनले बताए ।

कांग्रेस सांसद प्रदीप पौडेलले कुनै पनि चिजलाई सही ढंगले चिन्न आवश्यक रहेको बताए । उनले भने,'कर्णालीबासीले पनि कर्णालीलाई सहि ढंगले चिन्नुभएन । केन्द्र र प्रदेशले पनि कर्णाली जे हो त्यो ढंगबाट चिनेन । चामल पठाइदियो भने कर्णालीलाई सुविधा हुन्छ भन्ने संघको पहिलेबाटैको बुझाइ गलत छ ।’

कर्णालीमा उत्पादन हुने अन्न सबैभन्दा पौष्टिक भए पनि भाष्य गरिब र विपन्नले खाने हो भनेर बनाइएको बताए । कर्णाली गरिब नभएर गरिब हो भनेर चिनाइएको उनको भनाई थियो । कर्णालीले कर्णालीलाई मात्र नभएर देशलाई समृद्ध बनाउन सक्छ । यो देशमा सबैभन्दा बढी जलविद्युत् उत्पादन कर्णालीमा हुन्छ । उनी भन्छन्, 'कर्णालीमा देशको सबैभन्दा उचाईको बस्ती छ । यो देशका धेरै रारालगायतका तालहरु कर्णालीमा छन् । पर्यटकहरु आकर्षित गर्ने प्राकृतिक बरदानका चिजहरु छन् । व्यवसायिक कृषि खेती गर्ने हो भने अनेकौं सम्भावना छ । जडिबुटीको सम्भावना छ । भूगोललाई विकसित गर्ने हो भने अनेकौं सम्भावनाहरु छन् ।’

पौडेलले कर्णालीको स्रोत पहिचान गरी त्यसअनुसार योजना बनाएर अघि बढ्न सकियो भने कर्णालीलाई देशकै समृद्ध बनाउन सकिने औंल्याए । उनले संघीय व्यवस्थाले कर्णालीलाई समृद्ध बन्न अवसर सिर्जना गरेको बताए । कर्णालीमा राजनीतिक दलहरुले प्रतिबद्धता गरेअनुसार विकास भएको आभास आफूले गर्न नपाएको कांग्रेस नेता पौडेलले बताए ।

प्रकाशित : फाल्गुन ६, २०८० १५:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?