१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

हिमपातले ‘सुविकाल’

उच्च पहाडी क्षेत्रमा हिमपात हुँदा खडेरीले अनिकाल हुने चिन्तामा रहेका किसानमा खुसियाली

काठमाडौँ — मुगुको सोरु गाउँपालिका–६ का धनलाल लुवार बिहीबार सेताम्ये हिउँ परेपछि उत्साहित बनेका छन् । पुसदेखि हिउँको प्रतीक्षा गर्दै बसेका उनलाई हिउँ परेपछि सुविकाल (सुखद समय) हुने आस पलाएको हो । ‘खडेरीले अनिकाल हुने चिन्ताले कहिले हिउँ पर्ला भनेर मन आत्तिएको थियो,’उनले भने, ‘आँगन सेतो हुने गरी हिउँ पर्दा मनै खुसी भयो ।’

हिमपातले ‘सुविकाल’

जिमा गाउँका भूमिप्रसाद भट्टले जति धेरै हिउँ आयो, उति धेरै जेठबाली र फलफूलको सुविकाल हुने बताए । ‘वर्षा र हिउँ परेपछि धूलो हटेर रुघाखोकीको बिराम पनि कम हुन्छ,’ उनले भने । बुधबार रातिदेखि ताल्चा, रारा, मुर्मा, सोरुकोट, बाम, रोवा, मुन्दु टोप्ला, मुगु, झयारी, खमाले, डोल्फू, किम्रीलगायत मुगुका सबैजसो उच्च पहाडी बस्तीमा हिमपात भएको छ ।

लामो समय हिउँ नपर्दा यहाँका किसानले डरैडरले स्याउको बगैंचा व्यवस्थापन गरेका थिए । हिउँले जमिन चिसो राखेर स्याउ बगैंचामा सिँचाइको काम गर्ने भएकाले जुम्ला चन्दननाथ–८ का भैरबहादुर धराला निकै खुसी छन् । कर्णालीको जुम्ला, हुम्ला, मुगु र डोल्पालगायतका जिल्लामा यो वर्ष पहिलो हिमपात भएको हो । बुधबार रातिदेखिको हिउँ र पानी पर्ने क्रम बिहीबार रातिसम्म जारी छ ।

मुगुको पर्यटकीय गन्तव्य रारामा आधा इन्च हिउँ जमेको छ । पातारासी, काञ्जिरोवा, भुरीचुला र चिमारामालिका हिमालहरू सेताम्य भएका छन् । हुम्लाको सिमकोट बजार क्षेत्रमा आधा इन्चसम्म हिउँ जमेपछि बजार क्षेत्र सेताम्य देखिएको छ । हिमपात र वर्षाले नेपालगन्जदेखिको हवाई उडान नभएको नागरिक उड्डयन प्राधिकरण राराका प्रमुख सन्तोष गौतमले बताए । जुम्ला,डोल्पा, हुम्ला र डोल्पामा हुने सबै हवाई सेवा ठप्प भएका छन् ।

हिमपातका कारण मध्य पहाडी लोकमार्गको रुकुम पूर्वदेखि बागलुङ खण्डमा आवतजावत अवरुद्ध भएको छ । भूमे गाउँपालिका–१ लुकुमदेखि माथि बागलुङको सिमाना पाथीहाल्नेसम्म हिउँ परेकाले सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका निरीक्षक हरि भट्टराईले बिहीबार साँझसम्म हिउँ परिरहेकाले तत्काल सडक खुल्ने सम्भावना नरहेको बताए । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–१ सामागाउँ र७ छेकम्पार क्षेत्रमा हिमपातका कारण फोन सेवा अवरुद्ध भएको छ ।

उता, बझाङको साइपाल, खप्तड क्षेत्र, बाजुराको बडीमालिकालगायत ठाउँमा दुई–तीन फिटसम्म हिउँ जमेको स्थानीयले बताएका छन् । सुर्मा, छविसपाथीभेरा, मस्टा, थलारा, खप्तडछान्ना, दुर्गाथली, केदारस्युँ, तल्कोट गाउँपालिका तथा जयपृथ्वी र बुंगल नगरपालिकाका विभिन्न ठाउँमा हिउँ जम्न थालेको छ । बाजुराको पोरखे, दहकोट, मानोकोट, पिनालेख, रजाली, बसाला, पाण्डुसेन, सदरमुकाम मार्तडीलगायतका ठाउँ पनि सेताम्मे छन् ।

बझाङको मस्टा गाउँपालिकामा जमेको हिउँ । तस्बिर : वसन्तप्रताप सिंह/कान्तिपुर

हिमपातका कारण बझाङमा विद्युत् सेवा अवरुद्ध भएको छ । बैतडीको श्रीभावरदेखि बझाङको बित्थडबीचमा पर्ने खण्डमा राष्ट्रिय प्रसारण लाइनमा खराबी आउँदा बुधबारदेखि नै विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण बझाङ वितरण केन्द्रका सुपरभाइजर रूपक थापाले बताए । हिमपातले जाडो बढेपछि बझाङका अधिकांश विद्यालय बन्द भएका छन् ।

घाम नलागेका कारण कतिपय स्थानीय तहमा रहेका नेपाल टेलिकमका टावरमा रहेका सौर्य प्रणालीले काम नगर्दा साइपाल, तलकोटलगायतका क्षेत्रको टेलिफोन र इन्टरनेट सेवासमेत अवरुद्ध छ । ‘माघ मध्यसम्म पनि वर्षा नहुँदा धेरैजसो छरेको बीउ उम्रिन सकेको थिएन,’ साइपालका दीपक बोहराले भने, ‘ढिलै भए पनि हिउँ पर्न थालेको छ । अब बचेको खेतीपाती सप्रिन्छ कि भन्ने आशा पलाएको छ ।’

प्रकाशित : माघ १९, २०८० ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?