२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

‘श्रम बजारसँग जोड्न नसक्नु शिक्षा प्रणालीको कमजोरी’

काठमाडौँ — विद्यार्थीलाई श्रम बजारसँग जोड्न नसक्नु नै मुलुकको शिक्षा प्रणालीको मुख्य कमजोरी रहेको सरोकारवालाले औंल्याएका छन् । काठमाडौंमा मंगलबार आयोजित ‘कान्तिपुर एजुकेसन समिट २०८०’ को ‘पिरलोमा डिग्रीधारी, सीप न रोजगारी’ सत्रका वक्ताले शिक्षण संस्थाले श्रम बजारका लागि आवश्यक जनशक्तिसमेत उत्पादन गर्न नसकेको गुनासो गरे । 

‘श्रम बजारसँग जोड्न नसक्नु शिक्षा प्रणालीको कमजोरी’

शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का सदस्यसचिव महेश भट्टराईले सरकारले व्यावसायिक शिक्षालाई शब्दमा मात्रै प्राथमिकता दिएको तर व्यवहार र योजनामा कहीं पनि अग्रणी स्थानमा नराखेको बताए । विद्यार्थीलाई सीप मात्रै नभएर समयसापेक्ष सीप दिइनुपर्ने भए पनि त्यो नभएको उनको भनाइ थियो ।

‘सीटीईभीटीमा २०५१ सालमा ९३२ शिक्षक कर्मचारीको दरबन्दी रहे पनि त्यसपछि बढ्न सकेको छैन । स्थापना कालमा ५ स्कुल रहेको सीटीईभीटीमा अहिले ६५ स्कुल बन्दा पनि दरबन्दी भने थपिएन,’ उनले भने, ‘कक्षा ९ देखि १२ मा सरकारले दरबन्दी नै दिएको छैन ।’ प्राविधिक शिक्षकको दरबन्दी थप गर्नुपर्ने प्रस्ताव लैजाँदा शिक्षा मन्त्रालयका पदाधिकारीले ‘सबै करारमा राख्नुपर्छ’ भन्ने जवाफ दिने उनले बताए ।

युवाहरूले महत्वपूर्ण समय विश्वविद्यालयमा खर्चिने तर जिम्मेवारी आइपुग्दा सीप, क्षमता केही नहुने गरेको अनुभव त्रिचन्द्र बहुमुखी क्याम्पसका प्रमुख नीलम श्रेष्ठ प्रधानले सुनाइन् ।

‘२८/२९ वर्षको उमेर स्वदेशका कलेजमा बिताइरहेका हुन्छौं, सकिँदा डिग्री हुन्छ तर सीप, क्षमता केही हुँदैन,’ उनले भनिन्, ‘विदेश जाने हो भने त्यो समयमा पढ्ने कमाउनेसँगै परिवारलाई पनि आर्थिक सहयोग गरिरहेको हुन्छ ।’ समाज, उद्योग, विश्वविद्यालयसँग सम्बन्ध राख्ने सांगठनिक मेकानिजम विकास गरी शिक्षासँगै सीप र रोजगारी दिइनुपर्ने उनले बताइन् । श्रम बजार, समाज, अनुसन्धान, संस्कृतिसँग मिल्दो छ/छैन भन्ने ध्यान दिएर पाठ्यक्रमको विकास गर्न प्रधानले जोड दिइन् ।

श्रम बजारमा निजी क्षेत्रले आफूलाई प्रमाणित गरिसकेको अन्तर्राष्ट्रिय शिक्षा प्रदायक संस्था (आइप्यान) का अध्यक्ष लक्ष्मण केसीले दाबी गरे । ‘निजी क्षेत्रले साँच्चै राम्रो काम गरेको छ,’ उनले भने, ‘हामी सिस्टम कार्यान्वयनमा काम गरिरहेका छौं । आईटी, व्यवस्थापन, फेसन डिजाइनजस्ता विषय पढेका विद्यार्थीले सम्बन्धित क्षेत्रमा जागिर पाइरहेका छन् ।’ सीप भएकाले नेपालमा श्रम नगर्ने भन्दै केसीले श्रमलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नल्याए अझै ठूलो समस्या निम्तिने बताए ।

अबका युवालाई कसैकोमा कसरी जागिर खानेभन्दा पनि कसरी रोजगारी सिर्जना गर्ने भन्ने शिक्षा दिनुपर्ने अमेरिकाको हार्वर्ड विश्वविद्यालयका पूर्वविद्यार्थी विवेक बस्नेतले बताए । उद्योग र कक्षाकोठाबीच सम्बन्ध कायम गर्नुपर्ने उनको भनाइ थियो । ‘शिक्षा के गर्नका लागि दिने हो भन्ने प्रश्न मूल रूपमा खडा भएको छ । म कसैकामा जागिर खान्छु भन्नेभन्दा पनि म कसरी जागिर सिर्जना गर्छु भन्ने कुरा बच्चैदेखि सिकाउनुपर्छ । अर्को कुरा, कक्षाकोठा नै प्रयोगशाला हुनुपर्छ । त्यहाँ सिकाइ हुनुपर्छ,’ उनले भने । २१ औं शताब्दीको प्रविधि र बजारअनुसार क्षमता बिकाउन आफूलाई ‘अपडेट’ गराउनुपर्नेमा उनको जोड थियो ।

प्रकाशित : पुस १८, २०८० ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?