कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

कांग्रेस गण्डकी सम्मेलनको प्रस्ताव : एकै व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने

सत्ता गठबन्धनको प्रमुख घटक कांग्रेसका सभापति शेरबहादुर देउवा अब छैटौं पटक प्रधानमन्त्री बन्ने दौडमा छन् ।
प्रकाश धौलाकोटी

काठमाडौँ — नेपाली कांग्रेसको गण्डकी प्रदेश सम्मेलनले एकै व्यक्ति दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गर्न प्रस्ताव  गरेको छ । पुस ३ र ४ गते प्रदेश राजधानी पोखरामा भएको सम्मेलनमा प्रदेशका ११ जिल्लाका कांग्रेस नेता कार्यकर्ता सहभागी थिए । सम्मेलनले पार्टीको विधान र संविधानमा संशोधन गरेर एकै व्यक्ति दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गर्नुपर्ने निर्णय गरेको छ । सो निर्णय अब कांग्रेसको आगामी महासमिति बैठकमा प्रस्तावका रूपमा पेस हुनेछ । 

कांग्रेस गण्डकी सम्मेलनको प्रस्ताव : एकै व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने

सत्ता गठबन्धनको प्रमुख घटक कांग्रेसका सभापति शेरबहादुर देउवा अब छैटौं पटक प्रधानमन्त्री बन्ने दौडमा छन् । ३ पुसमा सभापति देउवाले नै पोखरा पुगेर प्रदेश सम्मेलनको उद्घाटन गरेका थिए । तर सम्मेलनले सभापति देउवा नै फेरि प्रधानमन्त्री बन्न नहुने संकेत गर्दै एकै व्यक्ति दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गर्न माग गरेका हुन् ।

सम्मेलनपछि प्रदेश कार्यसमितिले जारी गरेको घोषणापत्रमा सम्मेलनले एउटै व्यक्ति दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गर्नुपर्ने निर्णय गरेको उल्लेख छ । प्रदेश सभापति शुक्रराज शर्माले सम्मेलनमा व्यक्तिभन्दा पनि विधि र व्यवस्थाप्रति संवेदनशील भएर सम्मेलनमा छलफल भएको बताए । ‘एकै व्यक्तिले पटक–पटक अवसर पाउनुहुन्न । जतिसुकै सक्षम भए पनि एकै व्यक्ति दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्नुहुन्न भनेर छलफल भयो, सम्मेलनले सर्वसम्मत निर्णय गरेको छ,’ उनले भने ।

सम्मेलनले पहिले पार्टीको विधानमा र त्यसपछि संविधानमा यस्तो व्यवस्था मिलाउनुपर्ने माग गरेको छ । प्रदेश सभापति शर्मा पार्टीमा नेता शेखर कोइरालानिकट हुन् । पार्टीमा महामन्त्री गगनकुमार थापासहित शीर्ष नेताहरूले सार्वजनिक रूपमै सभापति देउवालाई अब फेरि प्रधानमन्त्री हुनबाट रोक्नुपर्ने बताउँदै आएका छन् ।

गण्डकी सम्मेलनको उद्घाटन सत्रमै अर्का महामन्त्री विश्वप्रकाश शर्माले सभापति देउवाले अब मार्गप्रशस्त गर्नु उपयुक्त हुने प्रस्ताव गरेका थिए । शर्माले त्यही प्रस्ताव सार्वजनिक मञ्चबाट निरन्तर राख्दै आएका छन् । केही दिनअघि काठमाडौंमा भएको कांग्रेसको बाग्मती सम्मेलनमा पनि महामन्त्री शर्माले पाँच पटक प्रधानमन्त्री भइसकेका सभापति देउवाले छैटौँ पटक प्रधानमन्त्री बन्दा अर्को मेडल पाउने सम्भावना नरहेको भन्दै मार्गप्रशस्त गरिदिनुपर्ने बताएका थिए ।

उनले सभापति देउवाले अहिले गणेशमानको छोरा प्रकाशमान, महेन्द्रनारायणको छोरो विमलेन्द्र, र त्यो पनि नभए आफ्ना प्रत्यासीहरूलाई प्रधानमन्त्रीका लागि अघि सार्न सुझाव राखे । ‘बीपी कोइरालाले आफू राजनीतिमा सक्रिय हुँदै अबको प्रधानमन्त्री परशुनारायण चौधरी हो भनेर घोषणा गर्नुभएको थियो । गणेशमान सिंहले दशकौँ लामो राजनीति गर्नुभयो, प्रधानमन्त्री पद आइरहेको थियो, तर उहाँले मलाई पर्दैन, मेरो मित्रलाई दिनुहोस् भनेर किसुनजीलाई प्रधानमन्त्री बनाउनुभयो,’ महामन्त्री शर्माले अघि भने, ‘अनि किसुनजी र गिरिजाबाबुले पनि हामी होइन, यो युवालाई मौका दिनुपर्छ भनेर शेरबहादुर देउवालाई संसदीय दलको नेता बनाएर हाम्रो सभापतिज्यू पहिलो पटक प्रधानमन्त्री बन्नुभएकै हो । अब तपाईले पनि मार्गप्रशस्त गर्नु उदाहरणीय हुन्छ । किनभने पाँच पटक प्रधानमन्त्री भइसकेको तपाई अब छैटौँ पटक प्रधानमन्त्री भएर नयाँ मेडल प्राप्त गर्ने अवस्था छैन ।’

शर्माले पार्टीको महामन्त्री उम्मेदवार बन्दै गर्दा राजकीय पदहरूमा ‘वान, टु, थ्री, फोर’ को सुत्र लागू गर्नुपर्ने प्रस्ताव गरेका थिए, गण्डकी र बाग्मती सम्मेलनमा पनि त्यही दोहोर्‍याए ।

‘मैले त प्रस्ताव गरिसकेको छु, कि राजकीय पदमा वान, टु, थ्री, फोर भनेर । वान अर्थात् कोही पनि व्यक्ति एकपटकभन्दा बढी राष्ट्रपति बन्नुहुन्न । टु अर्थात् दुईपटक भन्दा बढी कोही पनि व्यक्ति प्रधानमन्त्री बन्नुहुन्न । थ्री अर्थात् तीनपटकभन्दा बढी कोही पनि व्यक्ति मन्त्री बन्नुहुन्न । फोर अर्थात् चार पटकभन्दा बढी कोही पनि व्यक्ति सांसद बन्नुहुन्न । फाइभ अर्थात् जतिसुकै राम्रो मान्छे भए पनि पाँच पटकभन्दा बढी एकै मान्छेले टिकट पाउनुहुन्न,’ शर्माले भने ।

प्रदेश सम्मेलनहरूमा महामन्त्री शर्माले आफ्नो प्रस्ताव उपयुक्त लागेमा सम्मेलनबाट पारित गरेर महासमिति बैठकमा प्रस्ताव लिएर आउन आग्रह गरेका थिए । त्यहीअनुसार गण्डकी प्रदेशले एकै व्यक्ति दुईपटक भन्दा बढी प्रधानमन्त्री बन्न नपाउने व्यवस्था गर्न प्रस्ताव अघि सारेको हो ।

प्रदेश सम्मेलनले संविधानमा रहेको धर्म निरपेक्षको ठाउँमा वैदिक सनातन, धार्मिक स्वतन्त्रता राख्ने गरी संविधान संशोधन गर्नुपर्ने र समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नुपर्ने प्रस्ताव समेत पारित गरेको छ । त्यस्तै, पार्टी विधानमा भएको लोकतन्त्रको ठाउँमा प्रजातन्त्र लेख्नुपर्ने भन्दै संशोधनका लागि आग्रह गरेको छ ।

गण्डकी सम्मेलनले पार्टीका केन्द्रीय सदस्यहरू समेत हरेक महाधिवेशनमा वडा तहबाटै प्रतिस्पर्धा गरेर आएपछि मात्रै महाधिवेशनमा भाग लिन पाउने व्यवस्था गर्नुपर्ने निर्णय गरेको छ । हाल कांग्रेसमा केन्द्रीय कार्यसमितिका सदस्यहरूले स्वतः महाधिवेशनमा भाग लिन पाउने व्यवस्था छ । गण्डकी सम्मेलनले विधानको त्यस्तो व्यवस्था खारेज गर्दै हरेक महाधिवेशनमा केन्द्रीय सदस्यहरू पनि वडादेखि नै निर्वाचन प्रक्रियामा भाग लिनुपर्ने व्यवस्था गर्न निर्णय गरेको हो ।

त्यस्तै, पार्टीले नैतिक शिक्षा, निःशुल्क स्वास्थ्य, भ्रष्टचारको अन्त्य र रोजगारी तथा सुशासनलाई पहिलो प्रथमिकतामा राख्नुपर्ने, क्रियाशिल सदस्यको वितरणलाई सरलीकरण गर्ने, पार्टीमा रहेको बहुपदीय पदाधिकारी व्यवस्थालाई खारेज गर्ने, प्रदेश समितिलाई अधिकार सम्पन्न बनाउँदै लैजानुपर्ने र प्रदेश संरचनाका टिकट प्रदेश समितिबाटै वितरण हुनुपर्ने सम्मेलनको निर्णय छ ।

‘कांग्रेसबाट सरकारमा रहँदा वा नरहँदा भएका सबै प्रकारका गल्ती, कमजोरीको आत्माआलोचना गर्दै त्यस्ता गल्ती नदोहोर्‍याउने, सत्ता र शक्तिमा वा लाभको पदमा सधैंभर सीमित मान्छेको हाबी भएको परिस्थितिलाई अन्त्य गरी निश्चित मापदण्ड बनाई वैज्ञानिक प्रणाली लागू गर्नुपर्ने सम्मेलनको निर्णय छ,’ प्रदेश समितिले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘प्रदेश सभापातिहरूको मर्यादाक्रमलाई केन्द्रीय पदाधिकारीसँगै राख्नुपर्ने र पार्टी भित्रको सबै तहमा प्रोटोकलको व्यवस्था गर्नुपर्नेछ ।’

सम्मेलनमा सभापति शुक्रराज शर्माले पार्टीको अवधारणा पत्र प्रस्तुत गरेका थिए भने महामन्त्री किरणबाबु श्रेष्ठले संगठनात्मक प्रतिवेदन र अर्का महामन्त्री विष्णुप्रसाद लामिछानेले राजनीतिक प्रतिवेदन पेस गरेका थिए । त्यस्तै, कोषाध्यक्ष वसन्तकुमार श्रेष्ठले आर्थिक प्रतिवेदन पेस गरेका थिए ।

सम्मेलनले ती प्रतिवेदनहरू पारित गरेको छ भने सम्मेलनका निर्णयहरूलाई पार्टीको सम्पत्तिका रूपमा ग्रहण गरी महासमितिमा प्रस्ताव बनाउन आग्रह गरेको छ ।

कांग्रेसको महासमिति बैठक आगामी फागुन ७ देखि १० गतेसम्म ललितपुरमा हुँदैछ । महासमिति बैठकअघि जिल्ला र प्रदेशले सम्मेलन गरिरहेका छन् । लुम्बिनी, गण्डकी, वाग्मती र मधेशले प्रदेश सम्मेलन गरिसकेका छन् भने अब कोशी, कर्णाली र सुदूरपश्चिमले सम्मेलन गर्दैछन् ।

प्रकाशित : पुस ११, २०८० १७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?