१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६

उमेर विवाद : उपरथी ताराध्वज पाण्डेले दिए राजीनामा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली सेनाले उमेरको विषयमा छानबिन सुरु गरेपछि वरिष्ठ उपरथी ताराध्वज पाण्डेले राजनीमा दिएका छन् । पाण्डेले दिएको राजीनामा मन्त्रालयमा आइसकेको रक्षा मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

उमेर विवाद : उपरथी ताराध्वज पाण्डेले दिए राजीनामा

रथी बढुवा हुने प्रक्रियामा रहेका पाण्डेको उमेरलाई लिएर प्रश्न उठेपछि प्रधानसेनापति प्रभुराम शर्माको निर्देशनमा सैनिक मुख्यालयभित्रै बलाधिकृत रथी सीताराम खड्काको नेतृत्वमा छानबिन समिति गठन भएको थियो ।

कानुनका उपरथीसहित तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ । समितिले तीन दिनदेखि काम गरिरहेको स्रोतले जानकारी दियो ।

बलाध्यक्ष रथी सरोजप्रताप राणा कात्तिक दोस्रो साता अवकाशमा गएसँगै एक वर्षपछि नेपाली सेनामा नयाँ प्रधानसेनापति को बन्ने भन्ने टुंगो लागिसकेको छैन । सैनिक ऐनअनुसार नेपाली सेनामा वरिष्ठ उपरथीलाई रथीमा सिफारिस गरिन्छ । सोहीअनुसार वरिष्ठ उपरथी पाण्डेको बढुवाको प्रक्रियामा सैनिक मुख्यालयले प्रक्रिया थालेको थियो ।

सैनिक सेवा नियमावलीअनुसार जंगी अड्डाले पाण्डेविरुद्ध ७ दिने उजुरी पनि आह्वान गरेको थियो । पाण्डेको जन्ममिति फरकफरक भएको नागरिकता र शैक्षिक प्रमाणपत्रसहितको फोटोकपी रक्षा मन्त्रालय र अन्य निकायमा पुगेको थियो । उनको जन्ममिति २०२१ साल र २०२३ साल उल्लेख गरिएका दस्ताबेज बाहिर आएका छन् । सैनिक स्रोतका अनुसार आफूमाथि उठेका प्रश्नलाई लिएर पाण्डेले सेनाभित्र आफ्नो दस्ताबेजमा २०२३ सालकै जन्म रहेको र सबै दस्ताबेजमा एउटा उमेर रहेको दाबी गरेका थिए । बाहिरको दस्ताबेज र उपरथी पाण्डेको भनाइ बाझिएपछि सेनाले छानबिन सुरु गरेको थियो।

उपरथी पाण्डे बढुवा नभएको अवस्थामा मंसिरको दोस्रो साता अवकाशमा जाँदैथिए । अब उनले राजनीनामा दिएपछि उनको स्थानमा अर्का उपरथी अशोक सिग्देललाई बढुवाको बाटो खुलेको छ ।

प्रधानसेनापति प्रभुराम शर्माको ३ वर्षे कार्यकाल अर्को वर्षको भदौ २४ मा सकिँदै छ । त्यसपछि वरिष्ठताका आधारमा पाण्डे प्रधानसेनापति बन्ने लाइन थिए ।

प्रकाशित : कार्तिक २४, २०८० १५:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?