१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

इतिहासकार चित्तरञ्जन नेपालीको निधन

हिमेश

काठमाडौँ — नेपालका पहिलो पुस्ताका इतिहासकार चित्तरञ्जन नेपालीको सोमबार निधन भएको छ । भीमसेन थापा र रणबहादुर शाहबारे उनले लेखेका दुई कृति असाध्यै लोकप्रिय र चर्चित छन् । उनले नै पहिलो पटक नेपाली इतिहासका यी दुई प्रमुख पात्रबारे लेखेका थिए र त्यसपछि मात्र उनीहरूबारे थप अध्ययन सुरु भएको मानिन्छ ।

इतिहासकार चित्तरञ्जन नेपालीको निधन

नेपाल भाषा एकेडेमीका पूर्व चान्सलर पनि रहेका नेपालीको ९४ वर्षको उमेरमा निधन भएको हो । उनको चाबहिलको ओम अस्पतालमा उपचार भइरहेको थियो । उनको वास्तविक नाम भने नारायणप्रसाद राजभण्डारी हो । साहित्यकार पनि रहेका नेपालीले लेखनमा आफ्नो वास्तविक नाम भने प्रयोग गरेनन् ।

नेपाली २०१३ मा पहिलो पटक मदन पुरस्कार विजेता पनि हुन् । उनलाई ०१५ सालको श्रेष्ठ सिरपाः पनि प्रदान गरिएको थियो । ‘जनरल भीमसेन थापा र तात्कालीन नेपाल’ का लागि उनलाई यो पुस्कार दिइएको थियो । यस्तै उनको अर्को कृति ‘श्री ५ रणबहादुर शाह’ छ । नेपालको परराष्ट्र सम्बन्धबारे पनि गहन अध्ययन गरेका नेपालीले नेपाल-चीन सिमाना सन्धिबारे पनि पुस्तक लेखेका छन् ।

‘नेपालमा इतिहास लेखनमा चित्तरञ्जन नेपालीको अनुपम योगदान छ । भीमसेन थापा र रणबहादुर शाहबारे उनका दुई पुस्तक सर्वाधिक महत्त्वपूर्ण छन्,’ इतिहासकार शंकर थापाले बताए । यस्तै नेपाल भाषामा पनि उनको केही मौलिक कृति छन् र उनले नै चर्चित ‘गंकी’ उपन्यास नेपालीमा अनुवाद गरेका थिए ।

‘नेपाल भाषा साहित्यमा चित्तरञ्जन नेपालीको उत्तिकै योगदान छ । विशेषतः नेपाल भाषा एकेडेमीका चान्सलरका रूपमा उनले भाषा र साहित्यका लागि धेरै काम गरे,’ पत्रकार सुरेश मानन्धरले भने । नेपाली नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य पनि रहे । यस्तै निर्वाचन आयुक्तका रूपमा ०५१ देखि दुई वर्ष काम पनि गरे ।

प्रकाशित : आश्विन ३०, २०८० १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?