कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४८

डाक्टर ड्युटीमा नगएपछि बीपी प्रतिष्ठान झन् अस्तव्यस्त

सात वर्षदेखि पदोन्नति प्रक्रिया रोकिएको भन्दै तीन दिनअघि चिकित्सकहरूले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई सामूहिक राजीनामा बुझाएका थिए
प्रदीप मेन्याङ्बो

सुनसरी — बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहकुलपति स्वास्थ्यमन्त्री र कुलपति प्रधानमन्त्रीलाई सामूहिक राजीनामा दिएर फर्केका करिब १५० जना चिकित्सक नियमित ड्युटीमा नजाने भएका छन् ।

डाक्टर ड्युटीमा नगएपछि बीपी प्रतिष्ठान झन् अस्तव्यस्त

उनीहरू ड्युटीमा नगएपछि प्रतिष्ठानको सबै सेवा प्रभावित भएको छ । प्रतिष्ठानको सघन उपचार कक्ष (आईसीयू), दर्जन बढी ओपीडी, आठ सय जना बिरामी उपचाररत विभिन्न वार्ड, इमर्जेन्सी सेवा, शल्यक्रियादेखि चिकित्साशास्त्रको अध्ययन अध्यापन, परीक्षा, अनुसन्धान र प्रतिष्ठानभित्रै सञ्चालित विभिन्न विभागका क्लिनिकमा उपचार सेवा प्रभावित भएको छ ।

सात वर्षदेखि पदोन्नति प्रक्रिया रोकिएको भन्दै तीन दिनअघि चिकित्सकहरूले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई सामूहिक राजीनामा बुझाएका थिए । प्रतिष्ठानको पदाधिकारी स्तरबाट केही नहुने संकेत पाएपछि सामूहिक रूपमा काठमाडौं गएर प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रतिष्ठानका पूर्वउपकुलपति डा. शेखर कोइराला, कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, लोक सेवा आयोगका अध्यक्षलगायतलाई भेटेर आफ्ना मागबारे ज्ञापनपत्र बुझाएका थिए ।

तीव्र दबाब दिनका लागि चिकित्सकहरूले स्वास्थ्यमन्त्री बस्नेतलाई सामूहिक राजीनामा पत्र बुझाएर धरान फर्किएका हुन् । ‘हामीले सामूहिक राजीनामा दिएकाले ड्युटीमा फर्किन सकेका छैनौं । धरान फर्किए पनि उपचार र पठनपाठनमा सहभागी हुन नसक्ने अवस्थामा छौं,’ प्रतिष्ठानका मेडिसिन विभाग प्रमुख डा. रविन मास्केले भने । उनले प्रधानमन्त्री, स्वास्थ्यमन्त्रीसँगको भेट सकारात्मक रहेकाले चाँडो निकास आउनेमा आशावादी रहेको बताए ।

प्रतिष्ठानमा न्युरो विभागका चिकित्सक डा. भूपेन्द्र शाह ठकुरीले पनि राजीनामा दिएर आएकाले आइतबार बिहान ८ देखि ५ बजेसम्म अनशन, धर्ना बस्ने र कतै पनि सहभागी नहुने बताए । उनले प्रधानमन्त्री दाहालले समस्या समाधानका लागि मुख्यसचिव वैकुण्ठ अर्याललाई जिम्मेवारी दिएको पनि बताए । प्रतिष्ठानका शिक्षक कल्याण समाजका अध्यक्ष डा. सेराज खानले कुलपति तथा प्रधानमन्त्रीले अहिले जारी बढुवा प्रक्रिया अगाडि बढाउन पदाधिकारीलाई निर्देशन दिन स्वास्थ्यमन्त्रीलाई र लोक सेवातर्फको प्रशासनिक विषय समाधानका लागि पहल गर्न मुख्यसचिवलाई जिम्मा दिने बचन दिएको बताए ।

उनले भने, ‘उहाँहरूको पहल सकारात्मक उपलब्धि हो । तर कुलपतिज्यूले भन्नुभएअनुसार प्रक्रिया अगाडि नबढेसम्म हामीले हाम्रो आन्दोलन जारी नै राख्ने निर्णय गरेका छौं ।’ उनले चिकित्सकहरूले आईसीयू, आकस्मिक सेवासमेत छाड्नुपर्ने स्थिति आउन नदिन स्वास्थ्य मन्त्रालय, प्रतिष्ठान पदाधिकारी र कासले चाँडो निकास दिनुपर्ने पनि बताए ।

विद्यार्थी पनि आन्दोलित

शुक्रबारदेखि विद्यार्थी कल्याण समाज पनि आन्दोलित भएको छ । समाजले एमबीबीएस/बीडीएसदेखि एमडी/एमएस, डीएम/एमसीएच, एमएससम्मको अध्ययन अध्यापन हुने प्रतिष्ठानमा पछिल्लो समयमा चिकित्सक शिक्षकहरूको आन्दोलनका कारण पठनपाठन र परीक्षा प्रभावित भएको भन्दै आन्दोलित भएको जनाएको छ । समाज अध्यक्ष डा. ओमशान्ति रजकले भने, ‘आन्दोलित शिक्षकहरूले राजीनामासमेत बुझाएपछि पठनपाठन र आन्तरिक परीक्षासँगै उपचार सेवा पनि प्रभावित भएको छ । यता चिकित्साशास्त्र पढ्ने हामी विद्यार्थी मारमा परेका छौं । शिक्षकहरूको जायज माग तत्काल पूरा गर्न पनि सरकारसँग माग गरेका छौं ।’

प्रतिष्ठानका ३३ विभागमा ६८ जना मात्र प्रोफेसर छन् तर चिकित्सकहरूको आन्दोलनलाई मौन समर्थन गर्दै उनीहरू पनि पठनपाठन र परीक्षामा सहभागी नभएपछि चिकित्साशास्त्रका विद्यार्थीको पठनपाठन, परीक्षा र अभ्यास कक्षा प्रभावित भएको समाजले जनाएको छ । उनले चिकित्सक शिक्षकहरूको आन्दोलनले ‘इन्टर्नल प्राक्टिस र थ्योरी’ का परीक्षा ठप्प भएको बताए । उनले भने, ‘शिक्षकहरूका जायज मागलाई तत्काल सम्बोधन गरेर विद्यार्थीले पढ्न पाउने अधिकार र शिक्षकलाई पढाउने वातावरण तयार गर्न पदाधिकारीसहित सरोकारवाला निकायलाई आग्रह गर्दछौं ।’ प्रतिष्ठानमा करिब १५ सय विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित : आश्विन २७, २०८० ०६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?