कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५६

दीपेश र राहुलसँग सम्बन्ध बनाएर भरिया तस्करलाई नागरिकता

सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपतिका छोरा तानिए, पूर्वसभामुखका छोरा हिरासतमै
पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेश र पूर्वसभामुख महराका छोरा राहुलसँग तस्करीको सुन भित्र्याउने चिनियाँ गिरोहको सम्बन्ध
गिरोहले भरिया बनाएका चार विदेशीलाई काभ्रे र काठमाडौंबाट नेपाली राहदानी र नागरिकता
मातृका दाहाल

काठमाडौँ — पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन र पूर्वसभामुख कृष्णबहादुर महराका छोराहरूसँग ‘निकट सम्बन्ध’ बनाएर संगठित गिरोहले सुन तस्करी गर्ने गरेको देखिएको छ । चीन, हङकङ, दुबईलगायत मुलुकबाट तस्करीको सुन भित्र्याउने चिनियाँ गिरोहले पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेश र पूर्वसभामुख महराका छोरा राहुलसँग सम्बन्ध विस्तार गर्दै तस्करी गरेको खुलेको हो । 

दीपेश र राहुलसँग सम्बन्ध बनाएर भरिया तस्करलाई नागरिकता

उनीहरूसँग सम्बन्ध रहेका तस्करले भरिया बनाएका विदेशीलाई काभ्रे र काठमाडौंबाट नेपाली नागरिकता र राहदानीसमेत बनाइदिएको भेटिएको छ । ‘नेपाली नागरिकता र राहदानी बनाएको हुन सक्ने अन्य धेरै विदेशी हुन सक्छन्, यसबारे अनुसन्धान भइरहेको छ,’ प्रहरी प्रधान कार्यालय स्रोतको भनाइ छ, ‘दीपेश र राहुलसँग चिनियाँ सुन तस्कर दावाजिन र तिब्बती मूलका बेल्जियम नागरिक दावा छिरिङबीच सम्बन्ध देखिन्छ । यी दुई तस्करले भरियालाई नेपाली नागरिकता र राहदानी बनाइदिएको भनेर बयानका क्रममा खुलेको छ ।’

दावाजिन र दावा छिरिङ एउटै नेटवर्कका तस्कर हुन् । तर नेपालमा फरक–फरक सुन तस्करीको घटनामा संलग्न रहेको अनुसन्धानका क्रममा खुलेको छ । ‘उनीहरूमाथि छुट्टाछुट्टै रूपमै अनुसन्धान भइरहेको छ,’ अनुसन्धानरत सीआईबीका एक अधिकारीले भने, ‘तथ्य र प्रमाणले दुवैको नेटवर्क एउटै रहेको देखाउँछ ।’ दावाजिन विद्युतीय चुरोट (भेप) र दावा छिरिङ ब्रेक सुलगायतका उपकरणहरूमा सुन लुकाएर ल्याएको फरक–फरक कसुरमा संलग्न रहेको खुलेको छ । दावाजिन फरार छन्, दावा छिरिङ ब्रेक सुको सुन तस्करी प्रकरणमा पक्राउ परिसकेका छन् । दुवैको नेटवर्क केलाउँदा पूर्वसभामुख र पूर्वउपराष्ट्रपतिका छोरासँग सम्बन्ध रहेको अनुसन्धानले देखाएको स्रोतको दाबी छ ।

पछिल्लो पटक २०७९ पुस १० मा विद्युतीय चुरोटमा ९ केजी सुन ल्याउने नाइके दावाजिन हुन् । उनीसँग पूर्वसभामुख महरा र उनका छोरा राहुलसँग सम्बन्ध रहेको पुष्टि भइसकेको छ । त्यही प्रकरणमा राहुललाई सीआईबीले भदौ १३ मा पक्राउ गरेको थियो । सीआईबी स्रोतका अनुसार यो प्रकरणमा पूर्वसभामुख महरा पनि निगरानीमा छन् ।

सुन तस्कर दावा छिरिङसँग सम्बन्ध रहेको पाइएपछि सीआईबीले सोमबार पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेशसँग बयान लिएको छ । दावा गत साउन २ मा सिनामंगलबाट बरामद भएको करिब ६१ केजी सुन प्रकरणका नाइके हुन् । उनी साउन १४ मा ठमेलबाट पक्राउ परेका थिए ।उनकी पत्नी अमला रोकामगर त्यसयता फरार छिन् । फरार हुनुअघिसम्म अमला उपराष्ट्रपति पुनकै घरमा रहेको स्रोत बताउँछ । ६१ केजी प्रकरणमै सीआईबीले दीपेशसँग सोमबार ‘बयान कागज’ गराएर बोलाएको बेला उपस्थित हुने गरी छाडेको छ ।

दावा र दीपेशको बाक्लो सम्पर्क र उठबस भएको अनुसन्धानले पुष्टि गरेको र त्यही क्रममा बोलाएर कागज गराइएको सीआईबी स्रोतको भनाइ छ । स्रोतका अनुसार दावाले दीपेशलाई ‘दिप्स सालो’ भनेर मोबाइल नम्बर सेभ गरेको पनि भेटिएको छ । दावालाई दीपेशले भेटमा भिनाजु भनेर सम्बोधन गर्ने गरेको पाइएको छ । पूर्वउपराष्ट्रपति पुनसँग पनि दावाको भेटघाट/सम्बन्ध रहेको स्रोत बताउँछ । दावाले भनेजस्तो उनको भेट सामान्य मात्रै नभएको प्रहरी अनुसन्धानबाट खुलेका तथ्य र प्रमाणले नै स्पष्ट हुन्छ । पुन उपराष्ट्रपति भएकै बखत दावासहित पुनका छोरा दीपेश २०७६ माघ १ मा हेलिकोप्टरमार्फत गोसाइँकुण्ड घुम्न गएका थिए ।

सुन तस्करी गराउन चिनियाँलाई नेपाली नागरिकता

रोल्पाकी अमला रोकामगरसँग विवाह गरेर सुन तस्कर दावाले माओवादीका नेताहरूसँग सम्पर्क बढाएका थिए । अमला माओवादी कार्यकर्ता हुन् । दावासँग विवाह गरेपछि उनको अस्वाभाविक आर्थिक हैसियत बढेको र सुन तस्करीबाट दावाले कमाएको पैसा नै अमलाका नामबाट लगानी गरेको हुन सक्ने स्रोत बताउँछ । देशका दुई उच्च पदस्थ पूर्वपदाधिकारीसँग सम्पर्क र सम्बन्धकै आडमा ५ जना सुन तस्करले काभ्रे र काठमाडौंबाट नागरिकता र राहदानी पनि लिएको भेटिएको छ । अमला रोकासँग विवाह गरेर तस्करीको सञ्जाल विस्तार गरेका दावाले काभ्रेबाट २०७४ पुस २० मा निमा तामाङका नाममा वंशजको नागरिकता लिएका थिए । नागरिकता जारी हुँदा काभ्रेको प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिंखडा थिए । तर, कसरी विदेशीलाई नेपाली नागरिकता दिइयो भन्नेमा गृह मन्त्रालयले उनीसँग अनुसन्धान गरेको छैन ।

तिब्बती मूलका बेल्जियन नागरिक दावालाई नागरिकता दिनुअघि पेस गरिएको मुचुल्का पनि काभ्रे प्रशासनको ढड्डाबाट गायब बनाइएको छ । त्यही नागरिकताका आधारमा राहदानी लिन खोजेपछि उनी प्रहरी निगरानीमा परेका थिए । त्यसको सुइँको पाएर केही समय उनी सम्पर्कविहीन भएका थिए । उनका नाममा बेल्जियमबाट जारी जीए–४५९७३६४ नम्बरको राहदानी छ । उनकै हुलिया र सम्पर्क व्यक्ति अमला रोका उल्लेख गरेर काभ्रे प्रशासनले निमा तामाङका नाममा ‘३०–०१–७४–११८६८’ नेपाली नागरिकता जारी गरेको थियो । त्यसपछि दावा र दावाजिनकै सेटिङमा अरू थप ४ चिनियाँका नाममा पनि काभ्रे र काठमाडौंबाट नागरिकता र राहदानी जारी भएको भेटिएको छ ।

भारतमा सुन तस्करी गरेर सजाय भुक्तान गरेका तीन जनालाई दावा र दावाजिनकै योजनामा राहदानी र नागरिकता दिलाइएको खुलेको हो । स्रोतका अनुसार सेग फा दिङका नाममा चीनबाट ३० नोभेम्बर, २०१८ मा ‘ईई–७२९५३७९’ नम्बरको राहदानी जारी गरेको देखिन्छ । उनका नाममा काभ्रे प्रशासनले राम लामा उल्लेख गरेर ‘३०३०४१–२२५४’ को नागरिकता र त्यसकै आधारमा २३ डिसेम्बर, २०२१ मा ‘१२५८९४५७’ नम्बरको राहदानी जारी भएको छ । उक्त नागरिकता र राहदानी जारी हुँदा काभ्रेको प्रजिअ शिवराम पोखरेल थिए । अर्का चिनियाँ नागरिक नेङकाइ लिका नाममा चीनले सन् २०१८ नोभेम्बर ३० मा ‘ईई–७२९५२२२’ नम्बरको राहदानी जारी गरेको छ । तर, उनका नाममा काभ्रे प्रशासनले सोनाम लामाका नाममा ‘३०३०४२–२२५४’ नम्बरको वंशजको नागरिकता र त्यसकै आधारमा २०२१ डिसेम्बर २३ मा ‘१२५८९४५६’ नम्बरको राहदानी जारी गरेको छ ।

चिनियाँ नागरिक वेन ती सुङ लिका नाममा चीनमा २०२२ मार्च ८ मा ‘३६०३८७६६०’ नम्बरको राहदानी जारी भएकोमा नेपालमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट छिरिङ लामाका नाममा ‘२७३२०६४४९२१’ नम्बरको वंशजको नागरिकता र त्यसकै आधारमा २०२२ जनवरी १६ मा ‘१२६२३०४५’ नम्बरको राहदानी जारी भएको छ । चिनियाँलाई नेपाली नागरिकता र राहदानी दिलाउन जिल्ला प्रशासनदेखि राजनीतिक तहसम्मलाई मिलाएको देखिएको स्रोत बताउँछ । हाल प्रहरी नियन्त्रणमा रहेका तीन चिनियाँले आफूहरू भारतमा रहेकै बेला दावाजिन र दावाले बोलाएर आएको स्वीकार गरेका छन् । नेपालमा उनीहरूले नै ‘नेपाली नागरिकता र राहदानी बनिसकेको’ भनेर बोलाएको र स्थलमार्गबाट आफूहरू उनीहरूले भने जसरी आएको बयान दिएका छन् ।

‘हामी चिनियाँ नागरिक हौं । भारतमा पक्राउ परेर छुटेपछि नेपाली नागरिकता र राहदानी बन्छ, आउनु भनेर बोलाए, त्यसपछि गाडीमा यता आएका हौं । आइसकेपछि उनीहरू (दावाको समूह) ले नै नागरिकता र राहदानी दिएको हो, अरू कुरा थाहा छैन,’ प्रहरी नियन्त्रणमा रहेका सुन तस्करका एक भरियाले भनेका छन् । तर, तस्करका नाइके दावाले भने अझै पनि आफू तस्करी र फर्जी विवरणका आधारमा नागरिकता र राहदानी बनाउने काममा सामेल नभएको जिकिर गरिरहेको स्रोतको भनाइ छ । ‘तथ्यले भने दावाको संलग्नता स्पष्ट देखाउँछ,’ सीआईबी अधिकारीको भनाइ छ । उनले अमलासँग विवाह गरेपछि पूर्वराष्ट्रपतिको परिवार लगायतसँग भेट हुने गरेको स्विकारेका छन् ।

सुन तस्करीबाट आएको रकम गिरोहले क्रिप्टोमार्फत व्यवस्थापन गर्ने गरेको पनि अनुसन्धानबाट पुष्टि भएको छ । क्रिप्टोमार्फत कति रकम बाहिरियो भन्ने विषय अनुसन्धानकै क्रममा रहेको स्रोतको भनाइ छ । तस्करीमा जोडिने सबै पक्षलाई खुला राखेर अनुसन्धान भइरहेको सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले बताइन् । ‘अनुसन्धानमा कुनै कसरत बाँकी राखेका छैनौं । अनुसन्धानको दायरामा आउने कसैलाई पनि छाडिने छैन,’ उनले भनिन्, ‘अनुसन्धानमा के–कसो भइरहेको छ भन्ने विषय उल्लेख गर्न मिल्दैन । तर, सीआईबीले मिहिनेतका साथ तथ्य र प्रमाण संकलन गरिरहेको छ । प्रमाणले जता पुर्‍याउँछ, हामी त्यहीअनुसार अघि बढेका छौं ।’ सम्भवतः अर्को साता प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउने गरी काम भइरहेको उनले बताइन् ।

ब्रेक सु सुन तस्करी प्रकरणको मुद्दा भदौ अन्तिमसम्म अदालतमा दायर गरिसक्नुपर्नेछ । भेप प्रकरणमा भने संगठित अपराधको दफा लगाएर गत साता मात्रै पूर्वसभामुख महराका छोरा राहुल पक्राउ परेका हुन् । पक्राउ परेको मितिले ६० दिनभित्र राहुल जोडिएको कसुरको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाएर मुद्दाको अभियोजन अदालतमा गरिसक्नुपर्नेछ । उनलाई अदालतमा मुद्दा दायर गर्ने समय कात्तिक दोस्रो सातासम्म छ ।

सुन तस्करविरुद्ध प्रमाण जुटाउन सीआईबीले हङकङदेखि भारतसम्म आफ्ना संयन्त्रलाई परिचालन गरेको जनाएको छ । साउन २ बाट सुरु भएको सुन प्रकरणको अनुसन्धान सुरुमा तीन साता राजस्व अनुसन्धान विभागबाट भएकोमा संगठित अपराधका दफा लगाएर सीआईबीले जिम्मा लिएको थियो । स्रोतका अनुसार तस्करी गर्न भरियाका रूपमा प्रयोग गरिएका चिनियाँलाई मूल नाइकेका रूपमा राखिएका दावा र दावाजिनले नेपाली नागरिकता र राहदानी दिलाएको भेटिएको छ । दावा पक्राउपछि भने उनी सम्पर्कविहीन बनेको सीआईबी स्रोतको भनाइ छ ।

सुन तस्करी प्रकरणमा करिब सय जनासँग कागज

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सुन तस्करी प्रकरणमा करिब एक सय जनासँग सोधपुछ गरेको छ । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश र अध्यागमन विभागका निवर्तमान महानिर्देशक झलकराम अधिकारीसहित सय जनालाई अनुसन्धानको दायरामा राखेर सोधपुछ गरिएको सीआईबी स्रोतले जानकारी दियो ।

अध्यागमनका महानिर्देशक अधिकारीको तस्करीका नाइके दावा छिरिङसँग केही वर्षअघिबाटै बाक्लो उठबस र सम्पर्क रहेको पाइएपछि अनुसन्धानका लागि बयान कागज बोलाइएको हो । त्यस्तै पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशसँग पनि सोमबार नै सीआईबीले कागज गराएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार, गृह मन्त्रालय, भन्सारका एजेन्ट, शंकाको घेरामा परेका अन्यसहित अनुसन्धानको दायरामा तानिएका हुन् । ब्रेक सुको आवरणमा भएको सुन तस्करी प्रकरणमा २६ जना पक्राउ परेका छन् । भेप प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल हाल प्रहरी नियन्त्रणमै छन् ।

सोमबार मात्रै प्रहरीले सुन तस्करी प्रकरणमै नेपाल–भारत सीमा क्षेत्रबाट रूपन्देहीका सुमन खरेललाई पक्राउ गरी काठमाडौं ल्याएको छ । उनी नेपालमा भित्रिएको सुन भारतसम्म लैजाने भूमिकामा रहेको खुलेको छ । सुन प्रकरणमै सीआईबीले विमानस्थल भन्सारका २ अधिकृत, भन्सार एजेन्ट, ९ विदेशी नागरिकलाई पक्राउ गरिसकेको छ ।

प्रकाशित : भाद्र २०, २०८० ०६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?