कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२४

काठमाडौंका १०७ स्थान बाढी र डुबानको उच्च जोखिममा

बर्षातको पानी, ढल ओभरफ्लो हुँदा, खहरे खोला, पानीको बहाव बढ्दा, वर्षाको पानीको निकास पूर्ण रूपमा नहुँदा, भेल र ढल निकास नहुँदा काठमाडौंका १ सय ७ स्थान डुबानमा
गोविन्द पोखरेल

काठमाडौँ — काठमाडौं महानगरपालिका क्षेत्रका १ सय ७ स्थान बाढीको उच्च डुबानमा रहेको पाइएको छ । महानगरपालिकाले प्रारम्भिक रुपमा विभिन्न वडाहरुको डुबानग्रस्त क्षेत्रको लगत तयार गर्दै १ सय ७ स्थानको पहिचान भएको हो ।

काठमाडौंका १०७ स्थान बाढी र डुबानको उच्च जोखिममा

बर्सातको पानी, ढल ओभरफ्लो हुँदा, खहरे खोला, पानीको बहाब बढ्दा, वर्षाको पानीको निकास पूर्ण रुपमा नहुँदा, भेल र ढल निकास नभएका कारणले गर्दा महानगरका धेरै जसो क्षेत्रहरू डुबानमा पर्ने गरेको महानगरको विपद् व्यवस्थापन विभागका प्रमुख देवेन्द्र पोखरेलले जानकारी दिए । पोखरेलका अनुसार प्रारम्भिक रूपमा वडाहरूबाट ९५ स्थानमा डुबानको समस्या झेलिरहेका छन् । बाँकी विवरणहरू महानगर आफैंले तयार गरेको हो ।

महानगरपालिकाको विपद् व्यवस्थापन विभागका महाशाखा प्रमुख समेत रहेका नगर प्रहरी उपरीक्षक विष्णु जोशीका अनुसार वडा नम्बर १ मा हुँदै बग्ने टुकुचा खोलानजिक नारायणहिटी दरबारको उत्तरतर्फ धोबीधारा सडक, नक्साल भगवतीबहाल चोक, केशरमहल र जमल क्षेत्रमा वर्षासँगै ढल ओभरफ्लो हुँदा डुबान हुने गर्छ ।

वडा नम्बर ४ मा विभिन्न ७ स्थानमा खहरेसँगै आउने ढलले डुबान हुने गर्छ । गत साउन २ गते सो वडामा पर्ने इच्छुमती मार्ग–चिनियाँ दूतावास पश्चिम,तल्लो बालुवाटार क्षेत्र ढलका कारण डुबानमा परेको महानगरको विपद् व्यवस्थापन विभागले उपलब्ध गराएको विवरणमा उल्लेख छ । साउन १ गते बर्सातसँगै खहरे खोलाका कारण वडा नम्बर ६ मा पाटीटार, सरस्वती नगर, शान्तिनगर, रामनगरलगायतका स्थानमा डुबानमा परेको थियो । वर्षाका कारण कुमारी गाल, गौरीघाट, गंगाहिटी, गोपीकृष्ण, साततले एरिया क्षेत्रमा डुबानमा पर्दै आएको छ । विपद् व्यवस्थापन विभागका अनुसार वडा नम्बर ८ मा पर्ने पन्चकन्या टोल र गुहेश्वर टोल क्षेत्रमा बौद्ध हुँदै आउने आकाशे पानीका कारण डुबानमा पर्ने गरेको छ ।

यस्तै, वडा नम्बर १६ मा पर्ने सोह्रखुटे गणेस्थान मार्गभित्रको क्षेत्र, ऐराहिटी, ढुंगेधारा क्षेत्र, खरिबोट क्षेत्र वर्षा हुनेबित्तिकै डुबानमा पर्ने गर्छ । विष्णुमती नदीमा बहाव बढ्दा १६ र १७ नम्बर छुट्याउने नयाँ पुलदेखि प्रहरी बिटसम्म, क्वाःबहाल, ढल्कोस्थित बुद्ध गल्ली क्षेत्र डुबानमा पर्ने गर्छ । कालोपुलदेखि रातेपुलसम्म डिल्लीबजार पिपलबोटदेखि सेतोपुल क्षेत्रसम्म वर्षातको पानी पूर्ण रुपमा निकास नहुँदा जनतामार्ग, पञ्चकुमारी मार्ग, पवन मार्ग, सहिद मार्गलगायतका क्षेत्रमा डुबानमा पर्छन् ।

पहिलो पटक सबै वडाहरूबाट डुबानग्रस्त हुने क्षेत्रहरूको प्रराम्भिक लगत तयार गरिएको बताउँदै विभागीय प्रमुख पोखरलेलले हालसम्म डुबान हुने घरहरूको संख्या नभएको बताए । ‘बल्लतल्ल सबै वडाहरूबाट डुबानग्रस्त क्षेत्रको विवरण ल्याएर लगत तयार भयो,’ देवेन्द्रले कान्तिपुरसित भने, ‘अब कति घर डुबानमा परे, कति जोखिममा छन् भन्ने विवरण हामीसँगै छैन ।’ मध्य मनसुनको समयमा पनि महानगरले विपद्सँग जुध्ने त्यस किसिमको तयारी गरेको पाइएको छैन । महानगरले जुद्ध वरुणयन्त्र मार्फत नगर प्रहरीलाई परिचालन गरेर खोज तथा उद्धार कार्यमा संलग्न गराउँदै आएको छ । महानगरले विपद् तथा डुबानको घटनामा सहजीकरण गर्नका लागि नगर प्रहरी परिचालन गरिएको उनले जानकारी दिए ।

विपद्को पूर्वतयारी तथा प्रतिकार्यका लागि भनेर महानगरले विपद् व्यवस्थापन कोष पनि बनाएको छ । कुनै स्थानमा तत्काल डुबान भए तत्कालनै राहत वितरण भने महानगरले गरेको छैन । यस्तै, स्तरसम्म विपद् व्यवस्थापन समिति गठन गरिएपछि उनीहरूलाई त्यससम्बन्धीको ज्ञान नै नभएको पाइएको छ । विपद् व्यवस्थापन विभागका अनुसाार हालसम्म सो समितिमा रहेका सदस्य तथा पदाधिकारीहरलाई विपद् र त्यस सम्बन्धीको कुनै सामान्य जानकारी एवं प्रशिक्षण नै दिइएको छैन । ‘वडा तहसम्म विपद् व्यवस्थापनसम्बन्धी समिति बनाइएको रहेछ तर त्यससम्बन्धी प्रशिक्षण दिइएको छैन रैछ,’ पोखरेलले भने ।

महानगर क्षेत्रभित्र प्राकृतिक तथा गैरप्राकृतिक विपद्बाट सर्वसधारणको जीउज्यान र सार्वजनिक, निजी तथा व्यक्तिगत सम्पत्ति, प्राकृतिक एवं सांस्कृतिक सम्पदा र भौतिक संरचनाको संरक्षण गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका सबै क्रियाकलपाको समन्वयात्मक र प्रभावकारी रूपमा कार्यान्वयन गर्न भन्दै २०७५ सालमा ‘काठमाडौं महानगरपालिका विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन’ ल्यााएको छ ।

हाल महानगरले विपद् जोखिम तथा न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धमा वार्षिक कार्ययोजना बनाइरहेको छ । ‘एउटा कार्यायोजना तथा नीति त बनाइएको छ तर विस्तृत रूपमा विवरणहरू छैन । अब यो नयाँ कार्ययोजनामा सबै विषयहरू समावेश हुन्छन्,’ पोखरेल भन्छन् ।

उसो त काठमाडौंमा भारी वर्षा भएर डुबानको स्थिति आए सुरक्षित स्थानमा पीडितहरूलाई राख्ने ‘रिह्याबिलिटेसन सेन्टर’ छैन । महानगरले पार्क तथा खुला क्षेत्रहरू निर्माण गरिरहे पनि भारी वर्षा आउँदा पीडितहरूलाई राख्न त्यस्ता स्थान उपयुक्त मानिदैन । तिनको विकल्पमा महानगरले विद्यालय तथा पार्टी प्यालेसहरू प्रयोग गर्ने रणनीति अख्तियार गरेको देखिन्छ ।

‘हामीसँग त्यस्तो ठूलो विपद् आएर सुरक्षित स्थानमा पीडितहरूलाई राख्ने ठाउँ छैन । त्यसको विकल्पमा पार्टी प्यालेसहरूमा राख्ने भनेर एक किसिमको समझदारी भएको छ,’ विभागीय प्रमुख पोखरेले भने । यस्तै, विद्यालयहरू पनि प्रयोग गर्न सकिने उनको भनाइ छ । महानगरले डुबान हुन सक्ने घरहरूको सर्भे पनि गर्ने तयारी गरेको उनले जानकारी दिए ।

‘अहिलेसम्म हामीलाई कति घरमा बाढी पस्छ र कति प्रभावित हुन्छन् भन्ने जानकारी छैन । तर अब तथ्यांक संकलन गरेर तयारी गर्छौं,’ विभागीय प्रमुख पोखरेलले भने । विपद् व्यवस्थापन विभागमा कम कर्मचारी हुँदा काम गर्न नसकेको उनको गुनासो छ । अहिले एक जना निर्देशकसहित ५ जना मात्रै कर्मचारी भएकाले काम गर्न गाह्रो भएको उनले बताए ।

प्रकाशित : भाद्र १, २०८० १७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?