कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२४

हरेक वर्ष यसरी डुब्छ काठमाडौं

सहरी क्षेत्रमा कंक्रिटका संरचना विशेषगरी पिच र ढलान हुने भएकाले वर्षाको पानी जमिनमुनि छिर्न नसक्दा बाढी तथा डुबानको समस्या
बुधबार लुम्बिनी र सुदूरपश्चिमका तराई र चुरे भएर बहने स–सना नदीहरुमा आकस्मिक बहावको जोखिम
गोविन्द पोखरेल

काठमाडौँ — लगातारको वर्षाका कारण काठमाडौं उपत्यका भएर बग्ने नदीमा जल सतहले खतराको तह नाघ्दा तटीय क्षेत्रहरु डुबानमा परेका छन् । मंगलबार वाग्मती, मनोहरा, धोबीखोला, विष्णुमती लगायतका नदीले खतराको जल सतह नाघ्दा उपत्यकाका विभिन्न स्थान डुबानमा परेका छन् ।

हरेक वर्ष यसरी डुब्छ काठमाडौं

काठमाडौं आसापासका क्षेत्रहरूमा भारी वर्षा हुँदा उपत्यका हुँदै बग्ने खोलाहरूमा खतराको तह नाघेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका सिनियर हाइड्रोलोजिस्ट सुनिल पोखरेलले सोमबार रातिदेखि नै नदीमा खतराको तह नाघेको बताए । उनले कान्तिपुरसित भने, ‘सोमबारदेखि नै धादिङ, बुढानीलकण्ठ, नुवाकोट,आसपासका क्षेत्रमा एकै पटक वर्षा हुँदा जमिन धेरै नै स्याचुरेटेड भइसकेको थियो जसले गर्दा पानी जमिनको सतहमुनि पुग्न पाएन । ’

हरेक वर्षजसो काठमाडौंलगायत देशका अधिका‌ंश सहरी क्षेत्र वर्षायाममा डुबानमा पर्ने गरेका छन् । एक घन्टासम्म लगातार वर्षा हुँदा समेत काठमाडौंका केही क्षेत्रहरू जलमग्न हुने गर्छ । यस्तै, पानी बहने र सार्वजनिक कुलो/पैनीहरूको मर्मत नहुँदा पनि पानीकाे निकास कम हुने गर्छ ।

काठमाडौंमा एक घन्टामा ३० मिलिमिटर वर्षा हुँदा जलमग्न हुने गर्छ । जवकि अन्य क्षेत्रमा एक घन्टामा ६० एमएम वर्षा हुँदा जलमग्न हुन्छ ।

जल तथा मौसम विज्ञान विभागले सोमबार रातिदेखि नै नगरकोट, बुढानीलकण्ठ क्षेत्रमा भारी वर्षा भएको जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार सोमबार दिउँसो ३ बजेदेखि मंगलबार अपराह्नसम्म काठमाडौं उपत्यका र आसपासका जिल्लाहरूमा भारी वर्षा हुँदा जल सतह खतराको तह नाघेको हो ।

स्वचालित मौसम मापन केन्द्रको तथ्यांक हेर्दा बुढानीलकण्ठस्थित केन्द्रमा ८४.६ मिलिमिटर, सुन्दरीजलस्थित केन्द्रमा ९२.२ मिमी, कीर्तिपुरमा ४७.६, नगरकोटमा ९८.६, ललितपुरको लेलेमा ६९.८, गोदावारीमा ४७ , पनौतीमा ५८.४ , पाँचखालमा ४४.८ , धुनिबेंसीमा ४८ र नुवाकोटको ककनीमा ७१.४ मिमी वर्षा मापन गरिएको थियो ।

मौसम विज्ञान विभागले वर्षाको मापनको आधारमा त्यसलाई विभिन्न प्रारुप दिएको छ । १० मिमीभन्दा कम वर्षा हुँदा हल्का वर्षा, १० देखि ५० मिमीभन्दा कम वर्षा हुँदा मध्यम वर्षा, ५० देखि सयभन्दा कम वर्षा हुँदा भारी वर्षा, सयदेखि २ सय मिमीभन्दा कम वर्षा हुँदा धेरै भारी वर्षा र २ सयन्दा बढी वर्षा हुँदा अति भारी वर्षाको रुपमा विभागले व्याख्या गरेको छ ।

यस्तै, एक घन्टामा ६० एमएम, ३ घन्टामा ८० एमएम, ६ घन्टामा सय एमएम, १२ घन्टामा १२० एमएम र २४ घन्टामा १४० एमएम वर्षा हुँदा आकस्मिक बाढी एवं पहिरो जाने खतरा हुने गर्छ । ती क्षेत्रमा उक्त परिणामको वर्षा हुँदा पानीले जमिन भिजाएर पहिरो जानसक्ने सम्भावना हुने विभागले जनाएको छ ।

काठमाडौंलगायतका सहरी क्षेत्रमा एक घन्टामा ३० मिलिमटर वर्षा हुँदा जलमग्न हुने भएकाले पछिल्लो २४ घन्टामा धेरै नै वर्षा मापन भएकाले धेरैजसो क्षेत्र डुबानमा परेका हुन् । सहरी क्षेत्रका सतहहरूमा कंक्रिटका संरचना र जताततै पिच र ढलान हुने भएकाले वर्षा भएको पानी जमिनमुनि छिर्न नसक्दा बाढी तथा डुबानको समस्या हुने गर्छ ।

यसैबीच विगत २४ घन्टामा मधेश प्रदेशका भू–भागहरूमा धेरै भारी र अति भारी वर्षाका घटनाहरू भएका छन् । सिन्धुली, धनुषा, मकवानपुर र पश्चिम बाँके र बर्दिया जिल्लाका केही वर्षा मापन केन्द्रहरूमा अति भारी वर्षाका घटनाहरू भएको मौसमविद् अधिकारीले जानकारी दिए । कर्णाली र सुदूरपश्चिममा कम वर्षा मापन गरिए पनि अन्य प्रदेशहरूमा धेरै वर्षा भएको उनले बताए ।

यसैबीच राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले भारी वर्षासँगै आएको बाढीका कारण कुनै मानवीय क्षति भने नभएको बताएका छन् । उनले बितेको २४ घन्टामा देशभर बाढीका कारण तीन स्थानमा सडक अवरुद्ध भएको जनाउँदै प्रतिकार्य चुस्तदुरुस्त बनाइएको बताए ।यसबीचमा भक्तपुरमा ४ जना मानिसलाई उद्धार गरिएको पनि उनले ताए ।

यसैबीच, विभागले सर्लाही, रौतहट र सिन्धुली भएर बग्ने नदीमा बाढी आउने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ । विभागले ती जिल्लाहरू भएर बग्ने नदीहरूमा जल सतह खतरा तहभन्दा माथि हुने जनाउँदै तटीय क्षेत्रमा रहेकाहरूलाई उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहन आग्रह गरेको हो ।

ती स्थानहरूमा आकस्मिक बहावको जोखिम रहेको विभागका वरिष्ठ हाइड्रोलोजिस्ट पोखरेलले जानकारी दिए । यस्तै, विभागले बबई र कमला नदीको जल सतह सतर्कता तह आसपास रहेको जनाएको छ । वाग्मतीको पधेरादोभानको सतह पनि खतरा तह आसपास रहेको जनाउँदै सतर्कता अपनाउन आग्रह गरिएको छ ।

विभागले बुधबार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई र चुरे भएर बहने स-साना नदीहरूमा सतह बढ्ने तथा केही स-साना नदीहरूमा आकस्मिक बहावको जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो ।

प्रकाशित : श्रावण २३, २०८० १९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?