कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७२

पुष्पकमलकी राजनीतिक सारथि सीताले लिइन् बिदा

दाहालको करिब पाँच दशक लामो राजनीतिक जीवनमा सीता जीवनसाथी मात्र थिइनन्, हरेक कठिन घडीमा प्रमुख भरोसा पनि बनिन्
बबिता शर्मा

काठमाडौँ — प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालले पत्नी सीतालाई अन्तिम बिदाइ गरेका छन् । दुई छोरी रेनु र गंगालाई पछि लगाएर पशुपति आर्यघाटमा सीताको पार्थिव शरीरमा दागबत्ती दिँदा उनका हात कापिरहेका थिए । 

पुष्पकमलकी राजनीतिक सारथि सीताले लिइन् बिदा

प्रधानमन्त्री पत्नी सीताको बुधबार बिहान ६९ वर्षको उमेरमा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो । उनी दुर्लभ रोग पार्किन्सनबाट पीडित थिइन् । नर्भिकबाट उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडामा लगिएको थियो । मन्त्रिपरिषद्को आकस्मिक बैठकले उनको निधनप्रति नेपाल सरकारका तर्फबाट दुःख तथा समवेदना प्रकट गर्ने र ‘फर्स्ट लेडी’ को हैसियतमा राजकीय सम्मान दिने निर्णय गरेको थियो । बुधबारै उनको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपालको झन्डा ओढाएर सम्मान अर्पण गरेका थिए ।

उनको काजकिरिया कसरी गर्ने भन्ने बिहीबार टुंगो लाग्ने दाहालका प्रमुख स्वकीय सचिव सन्तु दराईले जानकारी दिए । उनका अनुसार समवेदना र श्रद्धाञ्जली व्यक्त गर्न शुभेच्छुकहरूका लागि असार २९ सम्म बिहान ८ देखि १० र अपराह्न ४ देखि ६ बजेसम्म बालुवाटारस्थित प्रधानमन्त्रीको सचिवालयमा समय व्यवस्थापन गरिएको छ ।

दाहालसँगको पाँच दशक लामो वैवाहिक जीवन सीताका लागि उतार–चढावपूर्ण रह्यो । उनले दुःखको सागर पनि भेटिन्, शक्ति, सान, मान र साधनस्रोतको शिखर पनि चुमिन् । सशस्त्र युद्धकालमा जोखिमपूर्ण जीवन बाँचेर शान्तिप्रक्रियामा आएपछि तीन पटक राजकीय मान सम्मान पाइन् । उनले दुःखसँग जहिल्यै संघर्ष गरिन्, आत्मसमर्पण गरिनन् ।

औपचारिक अध्ययनको अवसर मिलेन तर सबै खालका व्यवहारको सामना गरिन् । माओवादी राजनीतिका लागि सीता आफैं ठूलो अध्यापक बनिन् किनकि माओवादी आन्दोलन र प्रधानमन्त्री दाहाललाई आजको स्थानसम्म ल्याइपुर्‍याउन उनले पर्दाभित्र बसेर महत्त्वपूर्ण भूमिका खेलिन् ।

२०११ असार २१ गते कास्की जिल्लाको हेम्जामा जन्मिएकी उनी ८ वर्षको हुँदै परिवार चितवन, सुन्दरबस्तीमा बसाइँ सरेको थियो । दाहालसँग उनको २०२६ सालमा विवाह भएको थियो । विवाह हुँदा उनी १५ वर्षकी थिइन् । त्यसपछि सीताको जीवनमा आरोह–अवरोहका असीमित घुम्ती आए । परिवारका होस् वा राजनीतिका हरेक अग्निपरीक्षामा खरो उत्रिइन् ।


सशस्त्र युद्धका कठोर दिनमा परिवार सकुशल रह्यो तर २०७० चैत १३ मा जेठी छोरी ज्ञानुको क्यान्सरका कारण निधन भयो । छोरी ज्ञानुको निधनपछि पहिलोपटक गहिरो चोट लाग्यो । चार वर्षपछि पुनः अर्को बज्रपात आइलाग्यो । २०७४ मंसिर ३ मा दाहाल दम्पतीले छोरा प्रकाशलाई पनि गुमायो । पुत्रशोकले शिथिल बनेकी सीता त्यसपछि सक्रिय भूमिकामा आउन सकिनन् । उपचारका लागि देश–विदेश पुर्‍याए पनि निको भएन । प्रकाशको निधन भएकै अस्पतालमा सीताले अन्तिम सास लिएकी छन् ।

सीताको पहिचान माओवादी केन्द्रीय सल्लाहकार र प्रधानमन्त्री दाहालकी पत्नीका रूपमा छ । उनी सांसद, मन्त्री वा अन्य राजकीय भूमिकामा भने रहिनन् । तेस्रो पटक प्रधानमन्त्री बनेका दाहाल केही गरेर देखाउने अठोटमा छन् । उनी प्रधानमन्त्री बन्दा सीता अर्धचेत अवस्थामा थिइन् ।

पार्टी महासचिव देव गुरुङले जारी गरेको शोक वक्तव्यमा सीताको निधनले सिंगो पार्टी स्तब्ध भएको उल्लेख छ । ‘सीता दाहालको निधनबाट पार्टी, जनता र राष्ट्रका लागि अपूरणीय क्षति भएको छ, उहाँले नेपालको कम्युनिस्ट आन्दोलनमा अत्यन्त महत्त्वपूर्ण र अविस्मरणीय योगदान पुर्‍याउनुभएको छ, सिद्धान्तप्रतिको निष्ठा, उन्नत राजनीतिक चेतना, पार्टी, जनता र राष्ट्रप्रतिको निःस्वार्थ एवं असीमित समर्पण उहाँका विशेषता हुन्,’ वक्तव्यमा छ, ‘उहाँ आफ्ना योगदानमार्फत चीरकालसम्म स्मरणीय र भावी पुस्ताका लागि प्रेरणाको स्रोत रहनुहुनेछ ।’

माओवादीका अनुसार सीता ०२८ सालदेखि कुनै न कुनै रूपमा कम्युनिस्ट आन्दोलनमा आबद्ध भइन् । जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा बसिन् । पञ्चायतकालमा भूमिगत जीवन बिताइन् । सशस्त्र युद्ध सुरु भएसँगै उनी भूमिगत राजनीतिमा सक्रिय बनिन् । पार्टीको मुख्य नेतृत्वमा पति पुष्पकमल दाहाल भएकाले उनी सधैं सल्लाहकारको भूमिकामा रहिन् । ०६५ मा दाहाल पहिलोपटक प्रधानमन्त्री भएका बेला तत्कालीन प्रधानसेनापति रुक्मांगत कटवाललाई कारबाही गरेपछि प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्‍यो । राजीनामा दिएपछि दाहाल निकै तनावमा थिए, त्यसबेला सीताले उनलाई बल दिएकी थिइन् ।

जीवनका सुरुवाती दिन र युद्धकालमा अनेकौं अभावको सामना गरे पनि माओवादी शान्तिप्रक्रियामा आएपछि उनले भौतिक असुविधाको सामना गर्नुपरेन तर पारिवारिक पीडाले एकपछि अर्को च्याप्दै लग्यो । छोरालाई बुबाको राजनीतिक विरासत थमाउने उनको चाहना पूरा भएन ।

०७० मा जेठी छोरी ज्ञानुको क्यान्सर र ०७४ मा छोरा प्रकाश हृदयाघातका कारण निधन भइसकेको थियो । सम्बन्धविच्छेद नगर्दै अर्को विवाह गर्दा प्रकाश केही वर्ष बाहिर बस्नुपर्‍यो । शान्तिप्रक्रियापछि पारिवारिक झमेलाले पनि सीतालाई छाडेन । सीता गम्भीर बिरामी रहेकै अवस्थामा परिवारले गत बिहीबार उनको ६९औं जन्मदिवस मनाएको थियो भने वैशाख २७ मा दाहालले वैवाहिक वर्षगाँठ मनाएका थिए ।


युद्धकालदेखि शान्तिप्रक्रियासम्म माओवादीभित्र जहिल्यै वादविवाद भइरहन्थ्यो, नेताहरू झैझगडा गरिरहन्थे । विवाद समाधानमा सकेसम्म सीता समन्वयकारी भूमिका खेल्थिन् । ‘जनयुद्धका आँधीमय वर्षहरूमा सिंगो पार्टीको अभिभावकका रूपमा पार्टीभित्रका चुनौती, संकट र विवाद समाधानका निम्ति समन्वयकारी भूमिका निर्वाह गर्नॅभएको थियो,’ महासचिव गुरुङको वक्तव्यमा छ । नेकपाका महासचिव नेत्रविक्रम चन्दले लेखेका छन्, ‘उहाँले जनयुद्धमा खेलेको क्रान्तिकारी भूमिकालाई आउने पुस्ताले स्मरण गरिरहनेछन् ।’

सरकारका प्रवक्ता रेखा शर्माले जारी गरेको विज्ञप्तिमा २०२८ सालदेखि नेपाली कम्युनिस्ट आन्दोलनमा आबद्ध रही समाज रूपान्तरणका लागि भएका सशस्त्र संघर्षलगायत आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी सीताको निष्ठा, त्याग र संघर्षमय जीवनका उदाहरणीय पक्षलाई सबैले आत्मसात गर्न सक्नु सच्चा श्रद्धाञ्जली हुने विश्वास व्यक्त गरिएको छ ।

माओवादी उपाध्यक्ष पम्फा भुसालले सीता जहिले पनि पार्टीको हितमा प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले एउटा इतिहास कोरेर गएको बताइन् । ‘पार्टीको सार्वजनिक राजनीतिमा त्यति आउनुभएन तर के गर्दा पार्टीको हित हुन्छ भन्नेमा उहाँले ठूलो योगदान दिनुभएको छ,’ उनले भनिन्, ‘उहाँ अध्यक्ष प्रचण्डको जीवनसाथी मात्र होइन, राजनीतिक सारथि पनि हो । प्रचण्डको खास सल्लाहकार उहाँ नै हो ।’ पूर्वमाओवादी नेतृ हिसिला यमीले सीतालाई आन्तरिक शक्ति बलियो भएको महिलाका रूपमा सम्झिइन् । ‘उहाँ जस्तोसुकै अवस्थालाई सामना गर्न सक्ने महिला हो,’ उनले भनिन्, ‘हामीले सशस्त्र युद्धमा सहकार्य गर्दा अन्तरसंघर्ष भए पनि मैत्रीपूर्ण सम्बन्ध रह्यो ।’ ०६१ मा दाहाल र बाबुराम भट्टराईबीच अन्तरसंघर्ष उत्कर्षमा पुग्दा सीताले समन्वयकारी भूमिका खेलेकी थिइन् ।

दाहाल र छोरीहरूले दिए दागबत्ती

पशुपति आर्यघाटमा सीताको पार्थिव शरीरमा प्रधानमन्त्री दाहाल, छोरीहरू रेनु र गंगाले दागबत्ती दिएका थिए । सरकारका उच्च अधिकारी, दलका नेताहरू, कूटनीतिक नियोगका प्रतिनिधिहरू र सयौं सर्वसाधारणले उनलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए । कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली, एकीकृत समाजवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपाललगायत नेताहरू सीतालाई श्रद्धाञ्जली अर्पण गर्न आर्यघाट पुगेका थिए । राष्ट्रपति रामचन्द्र पौडेल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सीता दाहालको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीताको निधनको खबरले अत्यन्त दुःख लागेको बताएका छन् । उनले बुधबार बिहान प्रधानमन्त्री दाहाललाई टेलिफोन गरेर दुःख व्यक्त गरेका हुन् । पौडेलले प्रधानमन्त्रीसहित शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।

यसैगरी भारतीय प्रधानमन्त्री मोदीले ट्वीटरमार्फत सीता दाहालप्रति श्रद्धाञ्जली र दाहालको परिवारमा समवेदना प्रकट गरेका छन् । ‘श्रीमती सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको छु, पुष्पकमल दाहालप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्मालाई चिरशान्ति मिलोस् भनी प्रार्थना गर्दछु,’ उनले नेपालीमा लेखेका छन् ।


कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गरी सीताको निधनले स्तब्ध भएको बताएका छन् । ‘माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालकी जीवनसंगिनी, पार्टीकी नेतृ तथा केन्द्रीय सल्लाहकार सीता दाहालको निधनको खबरले स्तब्ध भएको छु,’ उनले लेखेका छन् ।

प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले थापाथलीस्थित नर्भिक अस्पताल पुगेर श्रद्धाञ्जली व्यक्त गरे । उनले प्रधानमन्त्री दाहालसहित परिवारमा समवेदना व्यक्त गरेका छन् । ‘सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालकी जीवनसंगिनी सीता दाहालको निधनको खबरले अत्यन्त दुःखी छु, दिवंगत सीताप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पत्नीवियोगमा रहनुभएका प्रधानमन्त्री दाहाललगायत शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु ।’

काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहले भरतपुर महानगरपालिकाको प्रमुख रहेकी रेनु दाहालप्रति समवेदना व्यक्त गरेका छन् । ‘सम्माननीय प्रधानमन्त्रीसमेत रहनुभएका तपाईंका पिताले सहयात्री, जीवनसंगी गुमाउनुभएको अवस्थामा तपाईंले परिवारमा अभिभावकत्व ग्रहण गर्दै सबैलाई सम्हाल्न सक्ने क्षमता प्राप्त होस् भन्ने कामना गर्दछु,’ उनले भनेका छन् ।

रास्वपा महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले शोक वक्तव्य जारी गर्दै सीता दाहालको निधनले आफूहरूलाई मर्माहत र स्तब्ध बनाएको उल्लेख गरेका छन् । ‘यस दुःखद घडीमा सम्पूर्ण रास्वपा परिवार उहाँको आत्माको चीरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं । साथै शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने हार्दिक कामना गर्दछौं,’ रास्वपाले भनेको छ ।

प्रकाशित : असार २८, २०८० ०६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?