कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

लैंगिक पहिचान : मनोरोग होइन, स्वानुभूति हो

विपरीतलिंगी व्यक्ति र सम्बन्धलाई उचित मान्ने र समलिंगी वा समग्र नन–बाइनरी व्यक्ति वा समुदायलाई अनुचित अनि अप्राकृतिक ठान्नेहरूले ‘लैंगिकता पनि मानवनिर्मित भाष्य हो, लैंगिक पहिचान यौनको सामाजिक व्याख्या हो जुन परिवर्तनशील छ’ भनेर मनन गर्नु अपरिहार्य छ ।
प्रणेता

जब मिडियामा ‘यौनिक तथा लैंगिक अल्पसंख्यक’ समुदाय/व्यक्ति सम्बन्धी सामग्रीहरू प्रकाशन तथा प्रसारण गरिन्छन् तब ‘बाइनरी’ (द्विसांख्यिक) समुदायको एक तप्काले सामाजिक सञ्जाल या अन्य माध्यमबाट उनीहरूको यौनिकतामा प्रहार गर्छ ।

लैंगिक पहिचान : मनोरोग होइन, स्वानुभूति हो

अपमानपूर्ण अभिव्यक्ति बर्साउँछ र उनीहरूको यौनिकता (सेक्सुआलिटी) लाई तुच्छ वचनको कोर्रा लगाउँछ । ‘तिमीहरू हामीजस्तै महिला वा पुरुष होइनौ, मानिस होइनौ’ भन्ने भावमा पराईकरण (अदरिङ) समेत गर्छ । नेपालको संविधानले ‘नन–बाइनरी’ (गैरद्विसांख्यिक) समुदायलाई ‘यौनिक तथा लैंगिक अल्पसंख्यक’ शब्दावलीले सम्बोधन गरे पनि उसले ‘यो जनसंख्या अल्पसंख्यक होइन’ भन्ने तर्क गर्छ ।

पुरुष वा महिलाको लैंगिकताबाहेक पारम्परिक लैंगिक भिन्नतासँग सम्बन्धित नरहेका र महिला वा पुरुष दुवै लैंगिकता नरहेका, दुवै रहेका वा मिश्रण जनाउने लैंगिक पहिचानहरूको विविधतालाई ‘नन–बाइनरी जेन्डर आइडेन्टिटी’ भनिन्छ । गाउँघरमा ‘महिला र पुरुष नछुट्टिएको’ भनिन्छ तर हरेक समाजमा यी दुईबाहेक लैंगिक पहिचान भएकाहरू पनि छन् । उनीहरूलाई बुझाउने शब्द हो— नन–बाइनरी ।

क्वेयर युथ ग्रुप र क्याम्पेन फर चेन्जद्वारा प्रकाशित ‘यौन अभिमुखीकरण, लैंगिक पहिचान तथा यौन विशेषता (यौभिकयौता)ः आधारभूत अवधारणा’ (२०७७) शीर्षक पुस्तक अनुसार, यो समुदायले संविधानमा आफूहरूलाई जनाउन प्रयोग गरिएको शब्दावली ‘सीमान्तकृत यौन अभिमुखीकरण, लैंगिक पहिचान तथा यौन विशेषता (यौभिकयौता) का व्यक्ति’ लाई ‘पिपल अफ मार्जिनलाइज्ड सेक्सुअल ओरिएन्टेसन, जेन्डर इक्वालिटी एन्ड सेक्स क्यारेक्टरिस्टिक ः पोमसोजिसेक’ शब्दावलीले प्रतिस्थापन गर्नुपर्ने माग राखेको छ ।

२०७८ को जनगणना अनुसार यौभिकयौताका व्यक्तिहरू कुल जनसंख्याको ०.०१ प्रतिशत अर्थात् २,९२८ छन् । जनगणनाको नतिजाले वा संविधानको शब्दावलीले ‘अल्पसंख्यक’ देखाए पनि यो समुदाय ‘लुकेर’ बाँचिरहेको तीतो यथार्थ छ । अर्थात्, महिला र पुरुषभन्दा भिन्न पहिचानको अनुभूति गर्ने र सोही अनुरूप चिनिन चाहने अधिकांश व्यक्ति खुल्न सकेका छैनन् । खुलेपछि झेल्नुपर्ने चुनौती चानचुने र गर्नुपर्ने संघर्ष सामान्य छैन । खुलिसकेका व्यक्तिहरूप्रति बाइनरी समुदायको ठूलो हिस्साले गालीबेइज्जतीपूर्ण प्रतिक्रिया दिने गरेको छ । यो बुझ्न पछिल्ला केही घटनामा केन्द्रित हुनुपर्ने हुन्छ ।

केही दिनअघि कलाकार उत्सव रसाइलीले आफू समलिंगी पुरुष (गे) भएको बताउँदै आफ्नो वास्तविक लैंगिक पहिचान सार्वजनिक गरे । तर सामाजिक सञ्जालमा यस प्रसंगलाई लिएर ‘छक्का, नपुंसक’ जस्ता शब्दमार्फत अपमानजनित प्रहार मात्रै भएन, ‘ठमेल बसाइँ सर्’ वा ‘उदयपुरको हिजडालाई जारी तिरेर बिहे गर्’ जस्ता कमेन्टसम्म ओकलिए । सार्वजनिक पहिचान स्थापित भएकाले उत्सवप्रति लक्षित घृणित बोली सार्वजनिक रूपमै छताछुल्ल भयो । सामान्य व्यक्तिले आफ्नो लैंगिक पहिचान महिला/पुरुषबाहेकको भएको भनेर खुलेर प्रस्तुत भएबापत समाजमा दैनन्दिन दमन, उत्पीडन, विभेद, घृणा, उपहास तथा लाञ्छनायुक्त बोली–व्यवहार खपेर बाँच्नुपरेको यथार्थलाई उत्सवजस्ता प्रतिनिधि पात्रलाई प्रयोग गरिएका प्रतिक्रियाहरूले छर्लंग्याइदिएका छन् । हेलाहोचोयुक्त त्यस्ता सार्वजनिक अभिव्यक्तिहरूले आम मानिसमा नन–बाइनरी व्यक्तिप्रतिको बुझाइ र दृष्टिकोण कति नकारात्मक छ भन्ने पनि उजागर गर्छन् ।

एउटा ‘राष्ट्रिय’ मिडियामा ‘बिहे गरेको ६ महिनापछि श्रीमती पुरुष भएपछि‘’ शीर्षक दिएर खबर प्रकाशित भयो । त्यहाँ नन–बाइनरी व्यक्तिको लैंगिक पहिचानबारे किञ्चित् सोचविचार नगरी सामग्री प्रकाशन गर्ने हतारो देखियो । यस्तो हतार गर्नुपूर्व उल्लिखित व्यक्ति पारलैंगिक महिला (ट्रान्स वुमन) हुन सक्छिन् भनेर सोचिनु/सोधिनुपर्थ्यो ।

असार १३ गते सर्वोच्च अदालतले ‘यौनिक तथा लैंगिक अल्पसंख्यक’ जोडीले विवाह दर्ता गर्न पाउने गरी आवश्यक व्यवस्था गर्न अन्तरिम आदेश दिएपश्चात् राप्रपा नेपालका अध्यक्ष तथा पूर्वगृहमन्त्री कमल थापाले सामाजिक सञ्जालमार्फत त्यसको आलोचना गरे । समलिंगी विवाहलाई वैधानिकता दिँदा सामाजिक विकृति उत्पन्न हुने भन्दै उनले लेखे, ‘समलिंगी विवाह (होमोसेक्सुअल म्यारिज) प्राकृतिक नियम, सामाजिक मान्यता र संस्कारविपरीत छ । विवाह महिला र पुरुषबीचको पवित्र सम्बन्ध हो ।’

सार्वजनिक पद धारण गरेको व्यक्तिबाट यस खाले धारणा बाहिरिनुले समाज मात्र नभएर राज्य तहमा पहुँच राख्ने व्यक्तिमा समेत नन–बाइनरीद्वेषी मानसिकता रहेको छर्लंग हुन्छ । यस्तो मानसिकताले महिला र पुरुषमध्ये कुनै पनि नहुनुलाई समस्या र चुनौती ठान्छ । एक चर्चित लेखकले समयौनिक (होमोसेक्सुअल) सम्बन्धका बारेमा पंक्तिकारसँगको कुराकानीमा भनेका थिए, ‘मति बिग्रिएर त्यस्तो हुने हुन् कोही !’

उपर्युक्त अभिव्यक्तिहरू लैंगिक पहिचान र यौनिकताबारे पुरातन मान्यताका उपज हुन्, जहाँ विषम यौनिकता (हिटेरोसेक्सुआलिटी) लाइ सामान्य अनि प्राकृतिक मानिन्छ, तर समयौनिकता (होमोसेक्सुआलिटी) मा आधारित सम्बन्धलाई अप्राकृतिक, अपवित्र अनि सामाजिक विकृति निम्त्याउने कारक मानिन्छ । किनकि समाज विषम यौनिकता समिभाव (हिटेरोनर्म्याटिभिटी) अवधारणामा आधारित छ । विषम यौनिकता समिभाव यस्तो धारणा हो जसले विषम यौनिक यौन झुकाव/अभिमुखीकरण (सेक्सुअल ओरिएन्टेसन) लाई सामान्य मान्छ, जसले लैंगिक द्वैतवादलाई स्विकार्छ । अर्थात्, विषम यौनिकता समिभावले विपरीतलिंगी, महिला र पुरुषबीचको, विवाह तथा यौनसम्बन्ध मात्र सबैभन्दा उपयुक्त हो भन्छ । विषम यौनिकतालाई सहजै लिइने समाजमा महिला र पुरुषको दाम्पत्य जीवनलाई मात्र सहर्ष स्विकारिन्छ । परिवार र समाजद्वारा विषम यौनिकतालाई सामान्यीकरण गरिएको छ ।

यस्तो विचारप्रेरित समाजमा समलिंगी र उनीहरूको विवाहले सामाजिक विकृति निम्तिने डर (होमोफोबिया) व्याप्त छ जुन कमल थापाहरू र (अ)सामाजिक सञ्जालमार्फत बेलाबेला बाहिरिन्छ । अनि उनीहरूद्वारा शरीर र अन्तर्मनको तालमेल नमिलेको अनुभव गरेर मिलाउन संघर्षरतहरूलाई ‘समाज बिगार्ने’ विशेषण दिइन्छ ।

होमोफोबिया विषम यौनिकताकै प्रभाव हो । जो व्यक्ति समयौनिक पुरुष (गे), समयौनिक महिला (लेस्बियन), द्वियौनिक व्यक्ति (बाइसेक्सुअल पर्सन) जस्ता पहिचान भएका व्यक्तिका रूपमा चिनिन्छन्, उनीहरूप्रतिको नकारात्मकता हो— होमोफोबिया । देखिरहेकोभन्दा फरक सम्बन्ध बन्नुलाई, सबैजस्तै नहुनुलाई असामान्य मान्ने र भन्ने थिति नै होमोफोबिया हो, जसले विभेदलाई मलजल र पुरस्कृत गर्छ । अनि नन–बाइनरी वर्गका लागि अपमान र हेयले भरिएको कष्टकर जीवनयापन गर्नुपर्ने अवस्था उत्पन्न हुन पुग्छ । नन–बाइनरी समुदाय र व्यक्ति मन नपराउनु वा उनीहरूलक्षित पूर्वाग्रहपूर्ण अभिव्यक्ति गरिनु त्यही मानसिकताबाट निक्लिएको होमोफोबिक टिप्पणी हो । सधैंभरि पुरुष र महिलाको प्रेम/विवाहित जोडी देखिरहेको मान्छेले समलिंगी प्रेम र विवाहलाई असामान्य ठान्छ ।

विषम यौनिकता समिभावले सबै मानिस उस्तै (सिस जेन्डर) हुन्छन् भन्ने मान्यता राख्छ । अर्थात्, शिशु जन्मँदा केटी/बालिका भनी इंगित गरिन्छ र निजको स्वानुभूतिको लैंगिक पहिचान पनि महिला नै हुन्छ भने ऊ ‘सिस वुमन’ ठहरिन्छे । मलाई जन्मिँदाखेरि ‘छोरी भई’ भनेछन् । आजसम्म ममा त्यसबाहेकको अनुभूति भएन, त्यसैले म ‘सिस वुमन’ हुँ । कसैलाई परिवार र समाजले छोरो/बालक भनेका थिए र आज पनि तपाईं आफू ‘पुरुष’ नै हुँ भन्नुहुन्छ वा अनुभूति गर्नुहुन्छ भने तपाईं ‘सिस म्यान’ हुनुहुन्छ । तर बोलीचालीमा पुरुष वा महिला मात्र भनिन्छ । समाजले यत्ति दुइटा लैंगिक पहिचानलाई वैध मानेको छ ।

विषम यौनिकता समिभाव प्रेम–यौन सम्बन्ध सधैं महिला र पुरुषबीच मात्र हुन्छ भन्ने वैचारिकीमा आधारित छ, जसले विषम लैंगिकतालाई पूर्वनिर्धारित/जन्मजात (डिफल्ट) यौन झुकाव मान्छ, जसले यौनिकता र आकर्षण अभिव्यक्त गर्ने एक मात्र सामान्य वा प्राकृतिक तरिका विषम लैंगिकता नै हो भन्ने मान्यता राख्छ । समाज र ‘सामाजिक’ भनिएका बाइनरी पात्रहरू (महिला–पुरुष) को सोच यसै खाले मान्यताबाट निर्देशित छ । विषम यौनिकतामा आधारित सम्बन्ध वा विपरीतलिंगीबीचको वैवाहिक सम्बन्धबाट बच्चा जन्माउनुलाई पवित्र मानिने सामाजिक मानसिकताले समयौनिक विवाहलाई ‘अपवित्र’ को ठप्पा लगाइदिन्छ । यही मानसिकताले ‘नन–बाइनरी जेन्डर मार्कर’ लाई ‘असामान्य’ करार गरिदिने मात्र नभएर उनीहरूको पहिचानलाई स्वीकारसमेत गर्दैन । उनीहरू सम्बन्धी यस्तो सोचाइ त्यसैको परिणति हो । लैंगिकता र यौनिकताप्रतिको सामाजिक भाष्य कुण्ठापूर्ण र संकुचित छ । नेपाली भाषा परम्परामा लिंग शब्दले ‘सेक्स’ र ‘जेन्डर’ दुइटैलाई जनाउने भएकाले भाषिक अन्योल पनि छ ।

खासमा नन–बाइनरी व्यक्तिलाई बुझ्न यौन विशेषता, लैंगिक पहिचान र यौन अभिमुखीकरण वा यौन झुकावबारे बुझ्नुपर्ने हुन्छ । माथि उल्लिखित ‘यौभिकयौता’ पुस्तक अनुसार, मानिसका दुई खुट्टाबीच रहेको यौनांगका आधारमा यौन विशेषता थाहा लाग्छ । अर्थात्, ‘हरेक व्यक्तिको यौनांग, प्रजनन प्रणालीका अंगहरू तथा गुणसूत्र (एक्सएक्स, एक्सवाई क्रोमोजोम) का ढाँचाबाट छुट्टिने भिन्नताहरूलाई यौन विशेषता भनिन्छ ।’ त्यसपश्चात् व्यक्तिको मस्तिष्क सम्झ्यौं भने लैंगिक पहिचानबारे याद गर्न सहज हुनेछ । सोही पुस्तक अनुसार ‘प्रत्येक व्यक्तिको लैंगिकता सम्बन्धी स्वानुभूति निजको लैंगिक पहिचान हो । कुनै व्यक्ति पुरुष, महिला वा त्यसबाहेक अरू केही हुँ भन्ने अन्तर्मनको बोधलाई नै लैंगिक पहिचान भनिन्छ ।’ कसैलाई प्रेम वा कसैप्रति आकर्षण महसुस गर्नुभएको छ भने ‘मैले उनलाई मन/मुटु दिइसकें’ भन्नुभएको पनि होला । जे होस्, अहिलेलाई मन/मुटु सम्झनुहोला । यहाँ मन/मुटु भन्नुको अर्थ ‘मन पराउनुको भाव’ हो । सोही पुस्तक अनुसार ‘व्यक्तिले मन पराउनुको भाव अर्थात् यौनिक र प्रेमिल आकर्षणलाई यौन अभिमुखीकरण र यौन झुकाव भनिन्छ । कुन लैंगिकताको व्यक्तितर्फ यौन आकर्षण महसुस गरिन्छ भन्ने विषय निजको यौन अभिमुखीकरण वा यौन झुकाव हो । कतिपयले यसलाई यौनिक पहिचान पनि भन्ने गर्छन् ।’ सो अध्ययनबाट थाहा हुन्छ— एक्सवाई गुणसूत्रको ढाँचा हुने, पुलिंगी यौन विशेषता हुने व्यक्तिको प्रेम वा यौन आकर्षण वा यौन झुकाव एक्सएक्स गुणसूत्रको ढाँचा हुने स्त्रीलिंगी विशेषता भएको व्यक्तिसँग मात्र हुन्छ भन्ठान्नु गलत बुझिनु हो ।

केही घटना वा अवस्थामा जन्मँदा यौनांग हेरेर ‘केटा/बालक’ तोकिएको व्यक्तिको अन्तर्मनले ऊ बुझ्ने भएपश्चात् आफू पुरुष हुँ भनेर स्विकार्दैन । बरू उसमा ‘म छोरी हुँ, मलाई छोरी हुन मन छ’ जस्ता विचारहरू आउँछन् । उसमा छोरीका जस्ता सोचाइ र भावनाहरू पैदा हुन्छन् । अनि ऊ ‘पारलैंगिक महिला’ भनेर चिनिन चाहन्छे । त्यस्तै, परिवारले जसको यौनांग हेरेर ‘छोरी/बालिका’ नाम दिन्छ, कालान्तरमा हुर्केर बुझ्ने हुँदाखेरि उसको मनको आवाजले ऊसँग टाँसिएको शरीरलाई ‘महिला’ भनेर अपनाउन सकिरहेको हुँदैन । उसलाई पुरुषका रूपमा प्रस्तुत हुन, त्यस्तै हाउभावमा देखिन अह्राउँछ त्यही मनको आवाजले । अन्ततः उसमा पुरुषका रूपमा चिनिने चाहना प्रबल हुन्छ जसलाई ‘पारलैंगिक पुरुष’ भनिन्छ ।

जन्मनासाथ शिशुको यौनांग हेरेर किञ्चित् अबेर नगरी जन्मका आधारमा उसको लैंगिकताको निर्धारण गरिन्छ ।

जस्तै— जन्मँदा शिशुको यौनांग शिश्न छ भने ऊ छोरा/पुरुष हो र उसले केटी मन पराउँछ, उसले बुहारी भित्र्याउँछ भनी सोचिन्छ । शिशु योनि लिएर जन्मिएमा ऊ छोरी हो, कोही किशोर/पुरुष छान्छे र कसैकी बुहारी भएर जान्छे भन्ने ठानिन्छ । तर शिशुलाई थाहा नहुँदै दिइएको लैंगिक पहिचान निकट भविष्यमा उसले अस्वीकार गर्ने सम्भावना हुन्छ भनेर सोचिँदैन । बुहारी ल्याउला भनेको छोराले आफूजस्तै अर्को पुरुषप्रति आकर्षित भएर घरजम गर्न सक्छ, आफू समयौनिक पुरुष भएको वास्तविकता बताउन सक्छ । खोजिदिएको वा आफैंले रोजेको केटासँग बिहे गरेर जाली भन्ठानेकी छोरीले आफूजस्तै महिलाप्रति यौन तथा प्रेम सम्बन्ध राख्न सक्छे, आफूलाइ समयौनिक महिला भनेर चिनाउन सक्छे । तर परिवार र समाजमा विपरीतलिंगीहरूको सम्बन्धबाहेक अरू चिताइएको छैन ।

लैंगिकता र यौनिकताको बुझाइ विपरीतलिंगीबीच मात्र सीमित हुँदा जो यस धारणामा अट्दैनन् वा यसै अनुसार चल्न सक्दैनन्, ती लैंगिक तथा यौनिक विविधता भएका व्यक्तिहरू समाजमा हेपिएर, उत्पीडन सहेर बाँच्नुपर्ने अवस्था उत्पन्न हुन्छ ।

समाजको चेतनाले महिला र पुरुषको सम्बन्धलाई मात्र वैधानिक, प्राकृतिक र सुहाउँदो मान्छ जबकि यसको पछाडि कुनै वैज्ञानिक तर्क छैन । एन्ड्रोजेनी अवधारणा अनुसार, वैज्ञानिक आधारबिना लैंगिक द्वैतवाद (जेन्डर डुआलिजम) गलत मात्र होइन कि निकै हानिकारकसमेत छ । लैंगिक द्वैतवादले पुरुष र महिलालाई जैविक रूपमा फरक नभई ‘विपरीत’ लिंगका रूपमा परिभाषित गर्छ ।

एन्ड्रोजिनी ‘एन्ड्रोस’ (पुरुष) र ‘जिनी’ (महिला) बाट बनेको हो । त्यसैले एन्ड्रोजिनस व्यक्तिमा पुरुष र स्त्री दुवैका विशेषताहरू हुन्छन् । यौन झुकावका आधारमा एन्ड्रोजिनस व्यक्ति समयौनिक, विषम यौनिक वा द्वियौनिक जुनसुकै हुन सक्छ । यस अवधारणाले लैंगिक भूमिकाको परम्परागत परिभाषालाई मान्दैन ।

समाजमा पुलिंगी वा स्त्रीलिंगी शरीरका परम्परागत धारणाहरूमा नअटाउने यौन विशेषता (यौनांग, प्रजनन ग्रन्थि तथा गुणसूत्रको ढाँचा) भएका व्यक्तिहरू अन्तरलिंगी (इन्टरसेक्स) हुन् । माथि उल्लिखित पुस्तकलाई आधार मान्दा, अन्तरलिंगी यौन विशेषतामा ४० भन्दा बढी विविधता छन्; जस्तै- बाहिरी यौनांग योनि हुने र आन्तरिक रूपमा अण्डकोष हुने, बाहिरी यौनाङ्ग शिश्न हुने र आन्तरिक रूपमा पाठेघर हुने, शिश्न र योनि दुवै हुने एवं एक्सएक्सवाई, एक्सवाईवाई, एक्सओ/एक्सएक्स लगायतका गुणसूत्रीय ढाँचा हुने । तर समाजमा बाक्लो रूपमा एक्सएक्स र एक्सवाई गुणसूत्र सम्बन्धी जानकारी मात्र व्याप्त छ । यसबाहेकका अन्तरलिंगी व्यक्तिहरूलाई सामाजिकीकरणको प्रक्रियामा चिनाइँदैन वा बुझाइँदैन । र जब यी व्यक्तिहरू आफैं चिनिन्छन्, उनीहरूलाई मानवोचित व्यवहार गर्नुको सट्टा पराईकरण गरिन्छ । उनीहरूको यौनिकतामाथि कदमकदममा प्रश्न मात्र उठाइँदैन, अपमानपूर्ण वचन पनि लगाइन्छ ।

तसर्थ विपरीतलिंगी व्यक्ति र सम्बन्धलाई सबै हिसाबले उचित मानेर समलिंगी वा समग्र नन–बाइनरी व्यक्ति वा समुदायलाई अनुचित अनि अप्राकृतिक ठान्नेहरूले ‘लैंगिकता पनि मानवनिर्मित भाष्य हो, लैंगिक पहिचान यौनको सामाजिक व्याख्या हो जुन परिवर्तनशील छ’ भनेर मनन गर्नु अपरिहार्य छ । आफू र आफ्नो लैंगिक पहिचानलाई ठीकठाक मान्ने महिला र पुरुषहरूले ‘हामीमा रहेको अन्तरलिंगी वा नन–बाइनरी व्यक्तिद्वेषी सोच र व्यवहार हाम्रो आजसम्मको सामाजिकीकरणको उपज हो’ भनेर बुझ्नु जरुरी छ ।

नेपालको संविधानले हरेक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हकसँगै लैंगिक पहिचानसहितको नेपालको नागरिकताको प्रमाणपत्र पाउन सक्ने अधिकारको सुनिश्चितता गरेको छ । साथै मुलुकी देवानी संहिता–२०७४ को दफा ६९(१) मा प्रत्येक व्यक्तिलाई विवाह गर्ने स्वतन्त्रता हुने व्यवस्था छ । यसकारण फरक लैंगिक पहिचान भएकालाई अपमान गर्ने अधिकार कसैलाई छैन ।

फरक लैंगिक पहिचान भएकाहरूको अस्तित्वलाई नकारेर ‘मानसिकरोगी’ करार गरिदिनेहरूले बुझ्नैपर्ने के हो भने, हिंसा सहँदा आत्तिएर ‘अर्को जन्ममा छोरो भएर जन्मन पाऊँ’ वा पुरुषत्वको बोझ उठाइरहँदा हत्तुहैरान भएर ‘अर्को जन्ममा छोरी हुन पाऊँ’ भन्नु क्षणिक भावुकता हो । तर ‘आफ्नो लैंगिक पहिचानअनुरूप चिनिएर शिर ठाडो गरेर बाँच्न पाऊँ, यसबापत अपराधीजस्तो व्यवहार नभोगूँ’ भन्नु चाहिँ क्षणिक भावुकता वा रुवाइ होइन, यो त कसैले नस्विकार्दाको पीडा हो ।

फरक लैंगिक पहिचानसहितका आवाजहरू भित्रभित्रै लुकेर सुसाइरहेका छन् । विभिन्न सामाजिक एकाइ व्यक्तिको यौनिक अनुभूतिको विशाल दायरा दबाउनमा जिम्मेवार छन् । के थाहा, यस्ता दमित लैंगिक पहिचान र यौनिकताहरू तपाईं–हाम्रै परिवारमा पो छन् र खुल्न बाँकी छन् कि ! खुल्ने आँट गरेमा उनीहरूलाई नकार्ने छुट तपाईं–हामीलाई छैन । कसैलाई पनि उसको वास्तविक पहिचानका आधारमा निषेध गर्नुपूर्व गहिरिएर बुझ्नु जरुरी छ ।

प्रकाशित : असार २७, २०८० ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?