कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विदेशबाट पनि मतदाता नामावली दर्ताको प्रबन्ध गर्न आयोगको पहल

काठमाडौँ — निर्वाचन आयोगले विदेशमा रहेका नेपालीहरूको मताधिकारका लागि नामावली संकलन गर्ने पहल थालेको छ । आयोगले सरकारले विदेशबाट मतदाता नामावली संकलन गर्नका लागि सैद्धान्तिक सहमति र आवश्यक स्रोत साधन उपलब्ध गराएर कूटनीतिक पहल गरिदिए नामावली संकलन थाल्ने प्रस्ताव अघि सारेको हो ।

विदेशबाट पनि मतदाता नामावली दर्ताको प्रबन्ध गर्न आयोगको पहल

शुक्रबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर त्यसबारे जानकारी गराएको आयोगले दिउँसो राजनीतिक दलका प्रतिनिधिहरुसँग समेत छलफल गरेका छन् । विदेशमा रहेका नेपालीहरुले अनलाइनमार्फत् प्रि-रजिस्ट्रेसनका सम्पूर्ण कार्य गर्ने र सम्बन्धित देशको कूटनीतिक नियोगमा उपस्थित भएर फोटो र औंठाछाप दिएर नामावली दर्ताको प्रबन्ध गर्नेबारे आयोगले छलफल थालेको हो ।

आयोगले पूर्वसूचना दिएर विदेशमा रहेका नेपाली नागरिकले अनलाइनमार्फत् मतदाता नामावलीमा नाम दर्ता गर्न पाउने व्यवस्थाका लागि प्रारम्भिक तयारीसमेत गरिसकेको छ । राजनीतिक दलसँग छलफलका क्रममा आयोगले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्ने प्रयोजनार्थ पहिलो चरणमा विदेशमा रहेका नेपालीहरुको मतादाता नामावली संकलन गर्ने कार्यको सुरुवात गर्ने व्यवस्था मिलाउन लागेको जनाएको छ ।

नामावली दर्ताका लागि आयोगले परराष्ट्र मन्त्रालयसँग समन्वय गरी सम्बन्धित देशको कूटनीतिक नियोगका अधिकृतस्तरका कर्मचारीलाई नाम दर्ता अधिकारी र सहायकस्तरका कर्मचारीलाई दर्ता कर्मचारी तोक्न आवश्यक व्यवस्था मिलाउने, सक्कल नागरिकता साथमा नभएमा राहदानीलाई परिचयपत्रको रुपमा लिइ फोटो र औंठाछाप दिन मिल्ने व्यवस्था मिलाउने, दर्ता किटको व्यवस्थापन, मतदाता नामावली दर्ता सम्बन्धी तालिम सञ्चालन गर्ने, दर्ता भएका मतदाताको विवरणलाई आयोगको सर्भरमा ल्याइ एकीकृत गर्ने लगायत व्यवस्थापकीय कार्यहरु भइरहेको आयोगले जनाएको छ ।

प्रकाशित : जेष्ठ २६, २०८० १३:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?