कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

४६ सय ३९ मेगावाटका सात ठूला आयोजना भारतीय कम्पनीको पकडमा

अन्य देशको लगानी भएका आयोजनाको बिजुली नकिन्ने भारतीय निर्देशिकाका कारण चिनियाँ कम्पनी बाहिरिँदै, नेपाली जलस्रोतमा भारतीय एकाधिकार बढ्दै
भारतीय कम्पनीलाई निर्माण गर्न दिँदा बिजुली पनि भारतीय बजारमा खुला रूपमा जाने सर्त राख्नुपर्छ ।- सूर्यनाथ उपाध्याय, जलस्रोतविद्
भारतको निर्देशिकाका कारण भारतीय लगानी अनिवार्यजस्तै छ, समयमा बनाउने हो भने रोयल्टी आउँछ ।- देवेन्द्र कार्की, पूर्वऊर्जा सचिव
कमल धिताल

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा थप दुई जलविद्युत् परियोजनामा हस्ताक्षर भएसँगै नेपालका सात ठूला परियोजना भारतीय कम्पनीका हातमा पुगेका छन् । यी आयोजनाबाट ४ हजार ६ सय ३९ मेगावाट विद्युत् उत्पादनको लक्ष्य छ । लगानी अन्य मुलुकको भएमा विद्युत् खरिद नगर्ने निर्देशिका ल्याएको भारतले नेपाली जलस्रोतमा करिब–करिब एकाधिकार जमाउन लागेको छ । 

४६ सय ३९ मेगावाटका सात ठूला आयोजना भारतीय कम्पनीको पकडमा

पछिल्लो पटक गत बिहीबार नयाँदिल्लीमा दुई मुलुकका प्रधानमन्त्रीको उपस्थितिमा ६ सय ७९ मेगावाटको तल्लो अरुण र ४ सय ८० मेगावाटको फुकोट कर्णाली जलविद्युत् आयोजनामा सम्झौता भएको छ । यी आयोजना भारत र नेपालका सरकारी कम्पनीहरूको जोइन्ट भेन्चर (जेभी) मा निर्माण हुन लागेका हुन् । भारतीय लगानीमा बन्न लागेका अन्य पाँच आयोजनामध्ये चार भारतीय सरकारी स्वामित्वका एनएचपीसी र एसजेभीएन कम्पनीले लिएका छन् । निजी कम्पनी जीएमआरले जिम्मा लिएको माथिल्लो कर्णाली अलपत्रजस्तै छ ।

भारतीय कम्पनीले बनाउने भनेका सातमध्ये चार अर्थात् पश्चिम सेती, सेती नदी–६, अरुण चौथो र फुकोट कर्णाली आयोजना सरकारले बिनाप्रतिस्पर्धा दिएको हो । पश्चिम सेती र सेती नदी–६ जलविद्युत् आयोजना शेरबहादुर देउवा नेतृत्वको सरकारका पालामा सिधै वार्ता गरेर जिम्मा दिइएको हो । अरुण-४ मा भने नेपाल विद्युत् प्राधिकरणले ५१ प्रतिशत सेयर साझेदारीसहित एसजेभीएनलाई भित्र्याएको हो । फुकोट कर्णालीमा नेपाल सरकारको विद्युत् उत्पादन कम्पनीले ५१ प्रतिशत सेयर साझेदारीमै एनएचपीसीलाई भित्र्याइएको छ ।

पश्चिम सेती आयोजना अन्य मुलुकका कम्पनी हुँदै भारतीय कम्पनीसम्म पुगेको हो । यो आयोजना निर्माणको जिम्मा २६ वर्षअघि अस्ट्रेलियाली कम्पनी ‘स्मेक’ लाई दिइएको थियो । तर, पटकपटक म्याद थप्दा पनि कम्पनीले आर्थिक स्रोत जुटाउन नसकेपछि ०६८ साउनमा सम्झौता खारेज भयो । त्यसपछि सरकारले चिनियाँ कम्पनी ‘थ्री गर्जेज’ लाई दियो । थ्री गर्जेजसँग सन् २०१४ मा निर्माण सुरु गरी २०१९ डिसेम्बरमा काम सक्ने सम्झौता थियो ।

काम अगाडि नबढेपछि सरकारले ०७५/७६ को बजेटमार्फत यो आयोजना स्वदेशी लगानीमै निर्माण गर्ने घोषणा गर्‍यो । तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा ‘पश्चिम सेतीलाई नेपालभित्रकै स्रोत परिचालन गरी निर्माण सुरु गरिने’ उल्लेख थियो । तर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले ०७९ मा उक्त आयोजना बिनाप्रतिस्पर्धा भारतीय कम्पनी एनएचपीसीलाई दियो ।

विसं ५० को दशकको सुरुमै विश्व बैंकको समेत लगानीमा बनाउने भनिएको अरुण तेस्रो आयोजना नेपालका राजनीतिक दलको राजनीतिक खिचातानीको मञ्च बनेको थियो । विश्व बैंकले हात झिकेपछि लामो समयसम्म त्यसै रहेको आयोजनामा भारतीय कम्पनी एसजेभीएन भित्रिएको हो । सोही कम्पनीले निर्माणको जिम्मा पाएको तल्लो अरुणका लागि प्रधानमन्त्री दाहालको भारत भ्रमणमा परियोजना विकास सम्झौता (पीडीए) भएको हो । एसजेभीएन भारत सरकार र हिमाचल प्रदेशको ज्वाइन्ट भेन्चर कम्पनी हो ।

भारतीय कम्पनीले पाएका आयोजनामध्ये अरुण तेस्रोमा काम सन्तोषजनक छ । उक्त आयोजनामा करिब ६५ प्रतिशत प्रगति रहेको लगानी बोर्डले जनाएको छ । पश्चिम सेती र सेती नदी–६ मा पनि बोर्डले दिएको समय सीमाअनुसार नै काम भइरहेको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले दाबी गरे । ‘अरुण तेस्रोजस्ता ठूला आयोजना निर्माणमा उल्लेख्य प्रगति हुँदै गएको छ, यसबाट नेपालमा आयोजना निर्माणका लागि वातावरण पनि बन्दै गएको छ,’ उनले भने ।

भारतीय कम्पनीले जिम्मा लिएका आयोजनामध्ये ९ सय मेगावाट क्षमताको माथिल्लो कर्णालीमा भने कुनै प्रगति छैन । माथिल्लो कर्णालीका लागि ०७१ मै परियोजना विकास सम्झौता (पीडीए) भएको थियो । तर, कम्पनीले हालसम्म वित्तीय स्रोत (लगानी) नै जुटाउन सकेको छैन । यसका लागि लगानी बोर्डले पटक–पटक म्याद थप्दै आएको छ ।

नेपाली विद्युत्को सबैभन्दा बलियो बजार भारत रहेकाले आयोजना निर्माण जिम्मा पनि उसैलाई दिनु सकारात्मक रहेको कतिपय विज्ञको तर्क छ । तर, त्योभन्दा बढी भारत स्वयंले पनि नेपाली जलस्रोतमा एकाधिकार जन्माउने नीति लिएको छ । भारतले सन् २०१८ मा पारित गरेको ‘सीमापार विद्युत् व्यापार निर्देशिका’ ऊर्जा सम्झौता नभएका मुलुकको लगानी भएका आयोजनाबाट बिजुली खरिद नगर्ने सर्त राखेको छ । यसको अर्थ नेपालमा भारत, बंगलादेश, भुटानबाहेक मुलुकका लगानीकर्ताले निर्माण गरेका आयोजनाको बिजुली भारतले लाँदैन । त्यही नीतिका कारण नेपाली जलविद्युत्मा भारतबाहेकका अन्य देशको लगानी खुम्चिने भएको छ ।

नेपालको बिजुली भारत र चीनबाहेक मुलुकमा निर्यात सम्भव छैन, बिजुली चीन निर्यात सहज छैन यद्यपि चीन जोड्ने प्रसारणलाइन हालसम्म अध्ययनकै चरणमा छ । त्यस्तै बंगलादेश निर्यातका लागि भारत भूमि र अनुमति चाहिन्छ । बजार सुनिश्चित नहुँदा नेपाली जलविद्युत्का लागि भारतीय लगानी अनिवार्यजस्तै छ । चिनियाँ लगानी भएको बिजुली भारतले नकिन्ने भएपछि यसअघि जिम्मा लिएका आयोजनाबाट चिनियाँ कम्पनी बाहिरिँदै गएका छन् । कतिपय आयोजना चिनियाँबाट खोस्दै नेपाल सरकारले नै भारतीय कम्पनीलाई दिएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली नेपालबाट लैजाने घोषणा गरिसकेका छन् । ४ हजार ६ सय ३९ मेगावाट क्षमताका आयोजना हात पारिसकेको भारतले थप आयोजनामा पनि चासो राखेको छ । ७ सय ५६ मेगावाटको तमोर जलविद्युत् आयोजना चिनियाँबाट खोसेर भारतीय कम्पनीले लैजाने करिब तय भइसकेको छ । तमोरबाट पावर चाइनालाई हटाउन १ महिने स्पष्टीकरण सोधिएको छ । १ हजार ९ सय २ मेगावाट क्षमताको मुगु कर्णाली जलविद्युत् आयोजनामा पनि भारतीय चासो रहेको छ । १ हजार ६१ मेगावाट क्षमताको माथिल्लो अरुण हात पार्न भारतले निकै जोड गरिरहेको छ ।

भारतीय कम्पनीलाई जलविद्युत् आयोजना निर्माण गर्न दिँदा बिजुली पनि भारतीय बजारमा खुला रूपमा जान पाउनुपर्ने सर्त नेपालले राख्नुपर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख एवं जलस्रोतविद् सूर्यनाथ उपाध्याय बताउँछन् । ‘तेस्रो देशले निर्माण गरेको बिजुली भारतले किन्दैन भने त्यसलाई परिवर्तन गर भन्न सक्नुपर्‍यो,’ उनले भने, ‘हाम्रो स्रोतमा हामी नै झुकेर ज्यूज्यू गर्नुपर्दैन । हामीलाई कसरी फाइदा हुन्छ, त्यहीअनुसार संवाद गर्न सक्नुपर्‍यो ।’ मुलुकलाई के–कति फाइदा हुन्छ र त्यो आयोजना कति समयमा सकिन्छ भन्ने अध्ययन गरेर सरकारले सम्झौता गर्नुपर्ने उपाध्यायको भनाइ छ । ‘जुनसुकै देशले बनाए पनि पानी सदुपयोग हुने गरी आयोजना बनाउने हो,’ उनले भने, ‘त्यसमा देशलाई के कस्तो फाइदा र बेफाइदा हुन्छ, राम्रोसँग अध्ययन गरी बजार सुनिश्चित गरिनुपर्छ । समयमा काम गरेन भने कारबाही गर्नुपर्‍यो ।’

ऊर्जा सम्झौता नभएका मुलुकको लगानी स्वीकार्य नहुने भारतको निर्देशिका कारण नेपालमा भारतीय लगानी अनिवार्यजस्तै देखिएको पूर्वऊर्जा सचिव देवेन्द्र कार्की बताउँछन् । ‘हामी भारतलाई गाइडलाइन परिवर्तन गर भन्न सक्दैनौं,’ उनले भने, ‘समयमा बनाउने हो भने देशलाई रोयल्टी आउँछ, दिनु ठीकै हो । तर, जीएमआरले जस्तो होल्ड गरेर राख्नुभएन ।’

नेपाल विद्युत् प्राधिकरण पूर्वकार्यकारी निर्देशक मुकेश काफ्लेले आयोजना निर्माणमा भारतीय लगानी भित्र्याउँदा दीर्घकालीन असरका बारेमा पनि विचार गर्नुपर्ने बताउँछन् । ‘पानी बगेर खेर जानुभन्दा सदुपयोग गर्ने पाटोबाट हेर्दा यो राम्रो हो,’ उनले भने, ‘तर यसको दीर्घकालीन असरबारे पनि अध्ययन हुन जरुरी छ ।’ नेपालमा भारतीय लगानी आउँदा उत्पादित विद्युत् बिक्रीका लागि भारतमा खुला पहुँच हुनुपर्ने उनको भनाइ छ ।

ऊर्जाविद् रामप्रसाद धिताल जलविद्युत् विकासमा भारतलाई साथमा ल्याउन जरुरी रहेको तर सरकार–सरकारबीच (जीटुजी) दीर्घकालीन व्यापारको सम्झौता हुनुपर्ने बताउँछन् । ‘सरकार बलियो रूपमा प्रस्तुत भएर नेपाललाई फाइदा पुग्ने गरी सम्झौता गर्नुपर्छ,’ उनले भने ।

मुलुक आर्थिक मन्दीमा रहेकाले लगानी अत्यावश्यक रहेको उल्लेख गर्दै लगानी बोर्डका पूर्वकार्यकारी अधिकृत राधेश पन्त भारतीय, चिनियाँ वा अमेरिकी जुनसुकैको भए पनि लगानी भित्र्याउनुपर्ने बताउँछन् । ‘ठूला आयोजनामा जोखिम धेरै हुन्छ । कतिपय जोखिम सरकारले मात्रै लिन सक्छ । कतिपयमा अनुमतिकै लागि सरकारले ढिलाइ गरेको हुन्छ । यी सबै विषय समयमै सम्बोधन हुने र समयमै निर्माण हुने गरी जिम्मा दिनुपर्छ,’ उनले भने ।

प्रकाशित : जेष्ठ २५, २०८० ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?