कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रास्वपा सांसद् श्रेष्ठले दर्ता गराए डेंगुुबारे संकल्प प्रस्ताव

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विराजभक्त श्रेष्ठले डेंगु रोग नियन्त्रण, रोकथाम र उपचारलगायत पूर्वसावधानीको समयमै तयारी एवं पहल गर्नका लागि विशेष छलफल माग गर्दै संसद्‍मा संकल्प प्रस्ताव दर्ता गराएका छन् ।

रास्वपा सांसद् श्रेष्ठले दर्ता गराए डेंगुुबारे संकल्प प्रस्ताव

सांसद श्रेष्ठले नेपालमा गत वर्षको सरकारी तथ्यांकअनुसार ७७ जिल्लामा नै गरी करिब २८१०९ जनामा डेंगुको संक्रमण देखिएको र कुल संकमितहरुमध्ये ३८ जनाको मृत्यु हुनुका साथै सबैभन्दा बढी संक्रमण र मृत्यु वाग्मती प्रदेश र काठमाडौं जिल्लामा भएको देखिएको पनि दर्ता गराएको प्रस्तावमा उल्लेख गरेका छन् ।

'यस विषयमा सदनमा गम्भीर बहस हुन आवश्यक छ । यो सरुवा रोगको नियन्त्रण, रोकथाम, उपचारलगायत पूर्वसावधानीको समयमै तयारी एवं पहल गर्न सरकारलाई जिम्मेवार एवं उत्तरदायी बनाउनको लागि संसद्बा‌ट निर्देशन जारी हुन आवश्यक देखिएको छ,' प्रस्तावमा उल्लेख छ, 'तसर्थ यस विषयमा गरिमामय संसद्मा विशेष छलफल हुन र नेपाल सरकारलाई आवश्यक निर्देशन दिने प्रयोजनका लागी यो संकल्प प्रस्ताव प्रस्तुत गरेको छु ।'

उनले संकल्प प्रस्ताव पेस गर्नुको कारण र औचित्यबारे स्पष्ट पार्दै डेंगुले महामारीको रुप लिन सक्ने प्रवल सम्भावना रहेको तथा विश्व स्वास्थ्य संगठनले नेपाललाई यो रोगको जोखिमयुक्त मुलुकको सूचीमा राखेको पनि बताएका छन् । साथै, यो रोगको लागी खासै प्रभावकारी (स्पेसिफिक) औषधि हालसम्म पत्ता लागी नसकेको र रोगसँग जुध्नु भन्दा रोगको कारणलाई निवारण गर्नु उपयुक्त एवं प्रभावकारी हुने देखिएको उल्लेख गरेका छन् ।

सांसद श्रेष्ठका अनुसार संसद्‍ले सरकारलाई डेंगु रोगको विषयमा ब्यापक जनचेतना जगाउनका लागि प्रभावकारी कार्यक्रमहरु संचालन गर्न, रोग सार्ने लामखुट्टे नियन्त्रण कार्यको लागि जनस्वास्थ्य निरीक्षकहरुलाई देशभर परिचालन गर्न निर्देशन दिनुपर्ने पनि आफ्नो प्रस्तावमा उल्लेख छन् । साथै संसद्ले वर्षायाम सुरु हुनुअगावै महामारी रोकथाम एवं प्रतिकार्यको लागि आवश्यक तयारी गर्न, गरिब विपन्न र पिछडिएको समुदाय लक्षित विशेष कार्यक्रमहरु सन्चालन गर्न, रोग नियन्त्रणमा स्थानीय तहहरुलाई उनीहरुको उत्तरदायित्व र जिम्मेवारीबोध गराउन तथा उपचारका लागि विद्यमान अस्पतालहरुको क्षमता वृद्धि गर्न पनि निर्देशन दिनुपर्ने माग गरेका छन् ।

प्रकाशित : जेष्ठ २१, २०८० १६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?