कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तिला गाउँपालिकाका पूर्वप्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

डीबी बुढा

जुम्ला — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको तिला गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र नेपाली सार्कीसहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टचार आरोपमा मुद्दा दायर गरेको छ ।

तिला गाउँपालिकाका पूर्वप्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

उनीहरुविरुद्ध वास्तविक रुपमा भएको कामभन्दा बढी कार्य गरेको भनी देखाइ गैरकानुनी रुपमा हानी पुर्‍याइएको भन्दै अख्तियारले आरोपपत्र दायर गरेको हो ।

विज्ञप्ति निकाल्दै अख्तियारले तिला गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र नेपाली सार्की, इन्जिनियर जनक रोकाय, सवइन्जिनियर प्रेम बहादुर बस्नेत, नाग्मा पार्क तथा उद्यान निर्माण उपभोक्ता समितिका अध्यक्ष नन्द बहादुर बुढा, सचिव अर्जुन बुढा र कोषाध्यक्ष दिलधरा दमाईविरुद्ध अख्तियारले विशेष अदालतमा आरोपत्र दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए ।

जुम्ला तिला गाउँपालिका १ नाग्मा पार्क उद्यान निर्माणमा कम काम गरी प्राविधिकसँग मिलेर कार्य सम्पादन मूल्याङ्कन पूरा भएको देखाएर बिल भरपाई बनाउँदै सरकारी रकमको दुरुपयोग गरेको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आरोपित व्यक्तिहरूले झुटा प्रतिवेदन तयार पारेर ५ लाख ४५ हजार ४ सय १९ रुपैयाँ २४ पैसा उपभोक्ता समितिलाई बढी भुक्तानी दिएको पनि अख्तियारको विज्ञप्तिमा उल्लेख छ । 'भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ग) र (ङ) बमोजिमको कसुर गरेको हुँदा निजहरुलाई बिगो पाँच लाख ४५ हजार चार सय उन्नाइस रुपैयाँ २४ पैसा कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिबाना गरी निजहरुबाट बिगो असुल उपर हुनुपर्ने माग गरिएको छ,' विज्ञप्तिमा उल्लेख छ ।

साथै, उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिम कसुर गरेकोमा सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको कैद र जरिवानासमेतको सजाय मागदाबी गरिएको छ ।

प्रकाशित : जेष्ठ १४, २०८० २०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?