कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रिय समस्या समाधान गर्न हामी एक ठाउँमा उभिन आवश्यक छ : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय समस्या समाधान र जनताको चाहना सम्बोधन गर्नका लागि सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने बताएका छन् । संसद्मा भएका राजनीतिक दलहरूका आ-आफ्ना विचारधारा भए पनि देशमा देखा परेका समस्या समाधान गर्नका लागि सबै एक ठाउँमा उभिनुपर्ने बताएका हुन् ।

राष्ट्रिय समस्या समाधान गर्न हामी एक ठाउँमा उभिन आवश्यक छ : प्रधानमन्त्री

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रतिनिधिसभाको शनिबारको बैठकमा प्रधानमन्त्री दाहालले जनताको हितमा काम गर्नका लागि सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने आह्वान गरेका हुन् । संसद्मा सत्तापक्ष र प्रतिपक्षका आ-आफ्ना भुमिका रहेपनि राष्ट्रिय समस्या समाधान गर्ने क्रममा भने एक ठाउँमा उभिनुपर्ने उनको भनाइ थियो ।

‘यही सदनभित्र सत्तापक्ष र प्रतिपक्षका आफ्ना-आफ्ना भुमिका छन् । सिद्धान्ततः त्यो कुरा हामी बुझ्छौँ पनि तर राष्ट्रिय समस्या समाधान गर्ने दृष्टिकोणले जनताको आवश्यक्ता र चाहनालाई सम्बोधन गर्ने दृष्टिकोणले हर्ने हो भने हामी कतै न कतै हामी एक ठाउँमा उभिन आवश्यक छ । कहीँ न कहीँ हामीले समझदारी र सहमति कायम गर्न आवश्यक छ,' उनले भने, 'प्रधानमन्त्रीको हैसियतले मैले हुनतः केही तीता, नमिठा पनि भएका छन्, पहिलो गठबन्धनबाट दोस्रोमा आइपुग्दा त्यसका मनोभावनाहरु छन् । तर त्यो भन्दा माथि राष्ट्र र जनता हो, त्यसकारण जनताका हीतमा काम गर्न एक हुनुपर्छ ।’

प्रधानमन्त्री दाहालले आफ्नो ठाउँबाट गर्नुपर्ने त्याग गरेको बताउँदै अहिले देशका अघि रहेका समस्या र चुनौतिको समाधान गर्न राष्ट्रिय सहमति आवश्यक रहेको उल्लेख गरेका हुन् ।

संसद्मा उपस्थित सबै राजनीतिक दल र सांसदहरूको स्वामित्व हुने र अपनत्व लिन सक्ने गरी नीति तथा कार्यक्रम ल्याएको प्रधानमन्त्रीको भनाइ थियो । 'सबै दल र सांसदहरूको अपनत्व र स्वामित्व कुनै न कुनै रूपमा यो नीति तथा कार्यक्रममा प्रतिबिम्बित भएको भन्ने आत्मसाथ गर्न जरुरी छ । यो निति तथा कार्यक्रम विगतको भन्दा फरक पृष्ठभूमि र सन्दर्भसहित आएको छ भन्ने बुझ्न जरुरी छ,' उनले भने ।

आफू अहिले निर्वाचन पछिको दोस्रो सत्ता गठबन्धनको नेतृत्वमा रहेपनि प्रधानमन्त्री चयन भने पहिलो गठबन्धनबाट भएको बताए । त्यसैले प्रधानमन्त्रीमा आफ्नो लगानी छ, आफ्नो पनि योगदान छ भनेर मान्न प्रतिपक्षी दलहरूलाई दाहालले आग्रह गरेका थिए ।

प्रकाशित : जेष्ठ १३, २०८० १९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?